धर्मनिरपेक्षतामाथि प्रश्न : गठबन्धनभित्रै देउवाको विरोध | Khabarhub Khabarhub

धर्मनिरपेक्षतामाथि प्रश्न : गठबन्धनभित्रै देउवाको विरोध



काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार नवलपुरमा पार्टीको जिल्ला अधिवेशनलाई सम्वोधन गर्दा धर्म निरपेक्षताबारे छलफल गर्न सकिने प्रतिक्रिया दिए । सभापति देउवाको अभिव्यक्तिप्रति स्वयं सत्ता गठबन्धन दलकै नेता सन्तुष्ट छैनन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल भने यसबारे मौन छन् ।

सभापति देउवाले धर्म निरपेक्षताको विकल्पमा बोलिरहँदा कांग्रेस नेतृ आरजू राणा देउवाचाहिँ बूढानीलकण्ठ मन्दिर परिसरमा श्रीमद्भागवत् सम्प्ताह ज्ञान महायज्ञको समापन कार्यक्रममा प्रमुख अतिथि बनेर सम्वोधन गरिरहेकी थिइन् ।

कांग्रेस सभापति देउवाले सोमबार नवलपुरमा आयोजित कार्यक्रममा धर्मनिरपेक्षता बारेमा छलफल गर्न सकिने बताएका हुन् । काठमाडौंमा राजतन्त्र र हिन्दु राज्यका लागि प्रदर्शन भइरहेकै बेला देउवाले सार्वजनिक मञ्चमा बोलिएको अभिव्यक्तिलाई सत्ता पक्षकै नेताहरुले असामान्य रूपमा लिएका छन् ।

विभिन्न सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजतन्त्रको सपना नदेख्न पूर्वराजालाई चेतावनी दिँदै आएका छन् । तर, धर्मनिरपेक्षताबारे देउवाले दिएको अभिव्यक्तिले भने गठबन्धन सरकारभित्रै गडबडी उत्पन्न गराएको छ ।

शासन व्यवस्था विरोधी गतिविधि भइरहेको समयमा जिम्मेवार नेताको यस्तो अभिव्यक्तिले सरकार सञ्चालनमै समस्या पर्न सक्ने बताउँछन् माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ।

संविधान निर्माणको समयमा नै धर्मनिरपेक्षताबारे व्यापक छलफल भएको भन्दै पौडेलले संविधान निर्माणमा भूमिका खेलेका दलकै नेताको अभिव्यक्ति संविधान सुहाउँदो नभएको खबरहबलाई बताए ।

संविधान निर्माणका समयमा राज्यले धर्म मान्ने नभई व्यक्तिले मान्ने भएका कारण धर्मनिरपेक्ष शब्द राखिएको तर्क गर्दै पौडेलले भने, ‘संविधानमा लेखिएको विषयमा केही पनि हुँदैन । यो विषयमा माओवादीभित्र कुनै छलफल भएको छैन । सरकारमा पनि यो विषयले प्रवेश पाएको छैन र पाउने सम्भावना छैन ।’

अर्को सत्ता घटक दल जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादव कांग्रेस सभापति देउवाको अभिव्यक्ति असुहाउँदो भएको बताउँछन् ।

राजनीतिक दलहरुले अहिले व्यवस्था भन्दा पनि अवस्था परिवर्तनको मुद्दा बोक्नुपर्नेमा उल्टो भइरहेको यादवको भनाइ छ । आम नागरिकहरु यो व्यवस्थाबाट भन्दा पनि अवस्थाबाट आजित भएको भन्दै यादवले यो परिवर्तनका लागि दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । आफ्नो राजनीतिक दुनो सोझाउन नेताहरूले यस्तो अभिव्यक्ति दिने गरेको भन्दै उनले यस खालका गतिविधिले देशका भलो नहुने बताए ।

प्रधानमन्त्री दाहालमाथि नै प्रश्न

सत्ता घटककै नेता देउवाले संविधानमा रहेको व्यवस्थाविपरीत धर्म निरपेक्षताबारे छलफल गर्न सकिन्छ भनिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल मौन छन् ।

गठबन्धनका नेताले दिएको संविधानविपरीत अभिव्यक्तिबारे गठबन्धन सरकारको औपचारिक धारणा के हो ? यसबारे सरकारको औपचारिक प्रतिक्रिया आएको छैन ।

देउवाको भनाइबारे प्रधानमन्त्री दाहाल पनि मौन छन् । उनले नेतृत्व गरेको माओवादी पार्टी पनि मौन छ । त्यसो त पछिल्लो समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं हिन्दु राष्ट्रको पक्षमा उभिन पुगेको आरोपसमेत लाग्न थालिसकेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गरेको पूजाआजा अनि लगत्तै पशुपतिनाथको दर्शन गर्न गएको घटनालाई प्रधानमन्त्री दाहालमा आएको परिवर्तनका रुपमा हेरिएको छ । त्यसो त उनले मानसरोबर र मुक्तिनाथको समेत दर्शन गरिसकेका छन् ।

के प्रधानमन्त्री दाहाल पनि धर्म निरपेक्षताबारे छलफल गर्नुपर्छ भन्ने देउवाकै लाइनमा हो ? यसबारे माओवादी पार्टी वा उसको नेतृत्वमा रहेको सरकारले प्रष्ट पारेको छैन ।

‘संविधानविपरीत अभिव्यक्ति’

नेपालको संविधानको धारा २ मा भनिएको छ, ‘नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।’

धारा ४ धर्म निरपेक्षताबारे स्पष्ट लेखिएको छ, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’

संविधानमा थप स्पष्टीकरण दिँदै भनिएको छ, ‘यस धाराको प्रयोजनका लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चली आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्ति संविधानविपरीत देखिन्छ । धर्म निरपेक्षतालाई परिवर्तन गर्न संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । संविधानको धारा २६९ अनुसार नेपालको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन ।’

राजावादीलाई हौसला

पछिल्लो समय राजतन्त्र र हिन्दु राज्य चर्चामा रहेका शब्द हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको हिन्दुराज्य र राजतन्त्रको मुद्दालाई एक कदम अगाडि सरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चर्काउँदा यसको चर्चा चुलिएको छ । केही समययता पूर्वराजाले बढाएको सक्रियता र वर्तमान सरकारप्रति आम नागरिकको असन्तुष्टिले राजनीतिक दलहरू दबावमा देखिन्छन् ।

यहीबेला धर्मनिरपेक्षका बारेमा छलफल हुन सक्ने देउवाको भनाइले नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा पेचिलो बन्ने आकलन गरिएको छ । अब पुस १६ गतेदेखि बस्ने कांग्रेसको महासमिति बैठकमा पनि यो विषयले प्रवेश पाउने देखिएको छ । यसबाट नेपाली कांग्रेस हिन्दु राज्यको पक्षमा लाग्न सक्ने आकलन पनि गर्न थालिएको छ ।

तर, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. गोविन्दमानसिंह कार्की यसमा सहमत छैनन् । नेपालका राजनीतिक दललाई नजिकबाट नियाल्दै आएका कार्की भन्छन्, ‘देउवाको यो बोली कांग्रेसको विधि र विधानभन्दा बाहिरको हो । लामो समयदेखि विधि र विधानलाई कुल्चँदै हिँडेको कांग्रेसमा सभापतिको यो अभिव्यक्ति सामान्य हो ।’

धर्म निरपेक्षताबारे कांग्रेस पार्टीको आधिकारिक धारणा हुनका लागि यो विषय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्ने कार्कीको तर्क छ ।

वर्तमान शासन व्यवस्था तथा राजनीतिक दलप्रति आम नागरिकको वितृष्णाका बीच देउवाको यो अभिव्यक्तिले राजावादीहरूको मनोबल बढ्ने कार्कीको तर्क छ । आन्दोलनमा रहेका मानिसहरूलाई यस्तो खालको अभिव्यक्तिले सहयोग पुर्‍याउने कार्की बताउँछन् ।

वर्तमान शासन व्यवस्थाको विपक्षमा रहेका समूहलाई यस्ता खालका अभिव्यक्तिले सहयोग पुग्ने र आफ्ना मुद्दा स्थापित गराउन सहज हुने प्राध्यापक कार्कीको प्रतिक्रिया छ ।

उनी भन्छन्, ‘पटक-पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले सार्वजनिक मञ्चबाटै यो खालको अभिव्यक्ति दिँदा व्यवस्था विरोधी शक्तिलाई मलजल पुग्ने देखिन्छ ।’

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ४५ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने