इलामका किसान सुन्तला मासेर एभोकाडो लगाउँदै « Khabarhub

इलामका किसान सुन्तला मासेर एभोकाडो लगाउँदै


१२ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाममा एभोकाडो खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै मिहेनतमा धेरै  आम्दानी लिन सकिने भएपछि जिल्लाका किसान यस खेतीतर्फ आकर्षित भएका छन् ।

माइजोगमाई गाउँपालिका–५ सोयाङका लक्ष्मण खत्रीले १२ रोपनी क्षेत्रफलमा एक सयभन्दा धेरै एभोकाडो लगाएका छन् । ‘तीन वर्ष भएका बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेको छ, दुई वर्ष पुराना बिरुवा धेरै छन्, गत वर्ष लगाएका बिरुवा भर्खर सर्दैछन्’, उनले भने ।

जिल्ला सदरमुकामका खगेन्द्र देवानले इलाम बजार नजिकैको सुन्तलाबारीमा एभोकाडो खेती गरेका छन् । धेरै सुन्तला फलेकाले सुन्तलाबारीको नाम रहेको उक्त गाउँमा हाल सुन्तला मासिएर एभोकाडोको पहिचानले कब्जा जमाउन थालेको उनी बताउँछन् । ‘सुन्तला विस्थापित भयो, नयाँ फलका रुपमा एभोकाडो खेती सुरु गरेका छौँ, एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन हुन्छ’, उनले भने, ‘एउटै झ्याङमा ८० हजारको एभोकाडो फलेको तथ्यांक छ ।’

यहाँका अधिकांश किसानले सुन्तलाबारी मासेर एभोकाडो खेती गर्न थालेका छन् । करिब २० रोपनी क्षेत्रफल जमिनमा अढाइ सय बिरुवा रोपिएको देवानले जानकारी दिए । उनी भन्छन्, ‘कम स्याहारले नै उच्चतम् आम्दानी लिन सकिने भएपछि सहज भएको छ ।’

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका देवान सामाजिक तथा राजनीतिक भूमिकाको अलावा कृषि कर्ममा समेत रमाउँदै आएका छन् । ‘हामी राजनीति गर्नेले ढुक्क बसेर खेती गर्न समय नहुँदोरहेछ तर एभोकाडोलाई त्यति धेरै समय दिनु पर्दैन फुर्सदमा खटिँदा मात्र पनि राम्रै उपार्जन छ’, उनले भने ।

जिल्लामा यस वर्ष एभोकाडोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जानकारी दिएको छ । गत वर्ष ४१९ दशमलव २२ मेट्रिक टन एभोकाडो उत्पादन भएको इलाममा यस वर्ष ४२२ दशमलव पाँच मेट्रिक टन एभोकाडो उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख टानी बर्देवाले जानकारी दिए ।

गतवर्ष ५५ हेक्टर जमिनमा खेती लगाइएको थियो भने यस वर्ष ६० दशमलव पाँच हेक्टर जमिनमा खेती गरिएको उनले बताए । उनका अनुसार गतसालको तुलनामा उत्पादकत्व भने घटेको छ । ‘गत वर्ष प्रतिहेक्टर सात दशमलव ६३ मेट्रिक टन एभोकाडोको उत्पादकत्व थियो तर यस वर्ष प्रतिहेक्टर सात दशमलव तीन मेट्रिक टन मात्र रहेको छ’, उनले भने । 

नयाँ फलका रूपमा परिचित एभोकाडो पछिल्लो समय इलामका गाउँगाउँमा समेत विस्तार हुँदै गएको माइजोगमाईका खत्रीले बताए । सो फलबाट किसानले मनग्ये आयआर्जनसमेत गर्न थालेको स्वयम् किसानको भनाइ छ । एक दशक मलेसिया बसेर स्वदेश फर्किएका खत्रीले गाउँको बाँझो जमिनमा लगाएको एभोकाडो खेती यहाँको हावापानीमा फस्टाएको बताए ।  

एभोकाडो कात्तिक मंसिरमा नै पाक्ने भएकाले यसको बजार राम्रो भएको किसान बताउँछन् । सुरुमा तीन सय रुपैयाँ प्रतिकिलो बिक्ने एभोकाडोको बजार भाउ पनि तलमाथि भइरहन्छ । इलाम बजारमा हाल रु दुई सय प्रतिकिलो यसको खरिद बिक्री भइरहेको छ । 

दीर्घरोगीले समेत खान मिल्ने एभोकाडो फल लटरम्म फलेपछि एउटै बोटबाट राम्रो आम्दानी गर्न सकिने बताइएको छ । सुरुमा धनकुटाबाट ल्याएर रोप्न सुरु भएको एभोकाडो पछिल्लो समय प्रायः जिल्लाभर नै खेती विस्तार भइरहेको हो । कुनै लामो त कुनै डल्लो आकारको हुने एभोकाडो धेरै प्रजातिका हुने गरेका छन् । यसकै कुनै फल स्वादिष्ट त कुनै खास स्वाद नहुने गरेको उपभोक्ताको भनाइ छ ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरसम्म यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहीबार  ९ : ३९ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान