तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन : प्रधानमन्त्री « Khabarhub

तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन : प्रधानमन्त्री


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

माओवादीको उपत्यका विशेष प्रदेश समितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताए ।

उनले भने, ‘देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरूवात गरिएको छ । यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरूवात गर्नेछ ।’ उनले सरकारले सुशासनको अभियान दृढतापूर्वक अगाडि बढाएको उल्लेख गर्दै यो अभियान नरोकिने स्पष्ट पारे ।

‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ । यो यहीँ रोकिनेवाला छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचारविरूद्धको अभियान थप तीव्र भएर जान्छ । हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ । तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।’ मुलुकको समृद्धिका लागि गुणात्मक विकासको खाँचो औँल्याउँदै उनले विकासको मोडल फेर्नुपर्ने बताए ।

‘परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन । यसमा गुणात्मक रूपान्तरण जरूरी छ’, उनले भने, ‘असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ । अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।’

सरकारले मुलुक र जनताको हितमा विभिन्न कदम अगाडि बढाएको उल्लेख गर्दै उनले अब छिट्टै जनताले त्यसको प्रतिफल लिन पाउने बताए । उनले भने, ‘कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरू भएको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन । यी कामलाई तपाईंहरूले जनताको बीचमा लैजानुस् ।’

उपत्यका विशेष प्रदेशमा इन्चार्ज वर्षमान पुनले सरकार र पार्टीका कामलाई व्यवस्थित गर्दै पार्टी रुपान्तरण अभियानमा जुट्नु अहिलेको आवश्यकता भएको बताए ।

पार्टीभित्र मतभेद, आलोचना भए पनि गुटगत राजनीति गर्न नपाइने भन्दै उनले गुटबन्दी गर्नेलाई अनुशासनको कारबाही हुने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ११ : ३३ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु