ओलाङ्चुङगोलावासीलाई घाँसको जोहो गर्न चटारो  « Khabarhub

ओलाङ्चुङगोलावासीलाई घाँसको जोहो गर्न चटारो 


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ।

ओलाङ्चुङगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । 

चौँरी याक पालक परिवार सबै मिलेर एक ठाउँमा घाँस संरक्षण गरेका हुन्छन् । त्यस क्षेत्रमा कसैले पनि  चनर गर्न पाउँदैन । संरक्षण गरेपछि बढेको घाँसलाई सो दिन सबै परिवार मिलेर काट्ने गर्दछन् । 

पशुपालक सबै परिवार जुटेर घाँस सङ्कलन गर्ने (काट्ने) गरिएको र घाँसलाई चार–पाँच दिनसम्म सुकाएर आ–आफ्नो घर गोठमा भण्डारण गरेर राख्ने गर्दछन् । 

राम्ररी सुकाएर घर–गोठमा भण्डारण गरेर राखेको घाँस हिमपातको अवधिभर याक र चौँरीलाई खुवाउनु पर्ने स्थानीय बताउँछन् ।

हिमाली बस्तीका बासिन्दाको मुख्य पेसा नै याक र चौँरी पालन हो । कात्तिक अन्तिमदेखि चैतसम्म नै करिब पाँच महिना बढी हिमपात हुने भएकोले अहिले हिउँदे घाँसको जोहो गर्न थालेको स्थानीयले बताएका छन् । 

हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि चरन क्षेत्रमा हिउँले ढाक्ने र त्यसबेला याक र चौँरीका लागि घाँसको अभाव हुने फक्ताङलुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाले बताए ।

उनका अनुसार हिउँले चरन क्षेत्र ढाक्ने हुँदा हिमपातको मौसममा चौँरी र याकलाई खुवाउने घाँस यही बेला जोहो गर्नुपर्ने बाध्यता छ । हिमपातले गर्दा चरन क्षेत्रको अभाव हुने भएकै कारण हिउँदको मौसममा याक र चौँरी बचाउनलाई अहिले अनिवार्य हिउँदे घाँसको जोहो गर्नुपर्ने अवस्था रहेको ओलाङ्चुङगोलाकै अर्का स्थानीय छेतेन फिन्जो शेर्पाले बताए ।

स्थानीयले सामूहिकरुपमा घाँस सङ्कलन गर्ने गरी घाँसे क्षेत्रको संरक्षण गर्दै आएको र हाल सोही क्षेत्रमा स्थानीय सबै जुटेर घाँस सङ्कलन गरिरहेको फुपुफुटी शेर्पाको भनाइ छ । 

विगतदेखि नै ओलाङ्चुङगोलाका याक र चौँरी पालक किसानले संरक्षण गर्दै आएको घाँसे क्षेत्रमा घाँस सङ्कलन गर्ने गरिएको उनको भनाइ छ ।

कुनै वर्ष हिमपातको मौसम लम्बिने हुँदा यतिबेला भण्डारण गरेर राखेको घाँस खुवाएर याक र चौँरीको प्राण बचाउने गरिएको ओलाङ्चुङगोलाका स्थानीय छिरिङ दोर्जे शेर्पाले बताए । 

मुख्य पेसा र आम्दानीको प्रमुख स्रोत नै याक तथा चौँरी पालन भएकाले ओलाङ्चुङगोलासहित याङ्मा, तोक्पेगोला, फले र घुन्सा क्षेत्रका बासिन्दा हिउँद र बर्खा नै याक र चौँरीको गोठ सम्हाल्ने गर्दछन् । 

घाँस (खुराक) नपाएर वा अन्य कारणले एउटा मात्र याक वा चौँरी मरेमा डेढ लाखसम्म घाटा हुने स्थानीय बताउँछन् ।

साढे दुई वर्षदेखि कोरोना महामारीका कारण तिब्बततर्फ याक र चौँरी बिक्री नभएकाले सङ्ख्या पनि बढेको र हिमपातको मौसममा खुराक पुर्‍याउनलाई समेत हैरानी हुने उनीहरूको भनाइ छ । 

हाल ओलाङ्चुङगोला क्षेत्रमा मात्र सातवटा जति याक र चौँरीको गोठ रहेका छन् । उक्त गोठमा करिब साढे चार सय याकको सङ्ख्या रहेको स्थानीयले बताएका छन् ।

मिक्वाखोला गाउँपालिकाको तोक्पेगोला क्षेत्रमा करिब ३५ वटा याक र चौँरीका गोठ रहेको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु लामाले बताए । 

उनका अनुसार तोक्पेखोला क्षेत्रमा दुई हजार बढी याक र चौँरी रहेका छन् । त्यस्तै याङ्मा, फले र घुन्सा, सिदिङवा गाउँपालिकाको कालीखोला, सिरिजंगा गाउँपालिकाको याम्फुदी क्षेत्रका समुदाय याक पालनमै आत्मनिर्भर हुँदै आएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : ४७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत