मानसिक समस्या किन बढी राखेको छ ? यसको उपचार पद्धति के हो ? यो समस्याबाट गुज्रिरहेकाले मनोपरामर्श र सामाजिक सहयोग पाउँछन् कि पाउँदैनन् ? राज्यले यसलाई प्राथमिकतामा राखेको छ कि छैन ? यो समस्या बालबालिका, किशोर–किशोरी र वृद्धवृद्धा सबैमा देखिन्छ। यसको उपचार पद्धति कस्तो छ ? नेपालमा बढी राखेको मानसिक रोगको विषयमा पाटनस्थित मानसिक अस्पतालका निर्देशक डा. अनन्त अधिकारीसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :
नेपालमा अहिले मानसिक समस्या भएका मानिसका संख्या बढ्यो भनेर तथ्यांकले देखाउँछ। तपाईंको अनुभवले चाहिँ के भन्छ ?
पाटन मानसिक रोगको उपचार गर्ने केन्द्रीय अस्पताल हो। यहाँ मानसिक रोगसँग जोडिएका जटिल समस्या लिएर बिरामी आइपुग्छन् । कोभिड महामारीपछि मानसिक समस्याले अस्पताल आइपुग्नेको संख्या बढेको छ।
यो समस्या कुन उमेर समूह वा कसलाई बढी हुन्छ ?
मानसिक स्वास्थ्यको समस्या पनि स्वास्थ्यको अरु समस्या जस्तै हो। यसले बालबालिका वा किशोर–किशोरी, वृद्ध–वृद्धा, महिला, पुरुष भनेर कसैलाई पनि छोड्दैन। सबै उमेरका मानिसहरूमा मानसिक स्वास्थ्यका समस्याहरू देखिन्छन्। तर मानसिक रोगका लक्षण समस्या अनुसार फरक हुन्छन्। तर बालबालिकाहरूमा किशोर किशोरीहरूमा लामो समय रहने खालका मनोरोगहरू सुरु हुने गर्छन्।
यो रोग हो कि समस्या हो ?
यसलाई स्वास्थ्यको समस्या भन्छौं। मेन्टल हेल्थ पनि फिजिकल हेल्थ जस्तो एउटा स्वास्थ्यको विचार हो। यसमा मन, विचार, सोच, भावनामा परिवर्तन आउने हुन्छ। एउटा सामान्य स्वास्थ्यको संरचनाबाट डाइभर्ट भइसकेपछि यसलाई स्वास्थ्यको समस्या नै मान्नुपर्छ।
यो वंशाणुगत समस्या र परिस्थिति जन्य समस्या भनेर कसरी छुट्याउन सकिन्छ ?
मानसिक रोग लाग्ने कारक तत्त्वहरूमा हामीले शरीरको अरु रोगहरू भन्दा फरक हुन्छन्। यसमा वंशाणुगत गुणको पन केही भूमिका रहन्छ। यसमा जैविक कारक तत्त्वहरू र मनोवैज्ञानिक कारक तत्त्वहरूको रूपमा लिन्छौँ। यसैको सम्मिश्रणबाट नै मानसिक रोग लाग्छ भनेर भनिन्छ। यो जैविक कारक तत्वमध्ये आनुवंशिक गुणले पनि केही भूमिका खेलेको हुन्छ। तर कुनै पुस्तामा मनोरोग थियो भने पछिल्लो पुस्तामा आउँछ नै भन्ने हुँदैन। तर व्यक्ति जोखिममा हुन्छ। आनुवंशिक रूपमा जोखिममा रहेको व्यक्तिलाई सामाजिक, मनोवैज्ञानिक कारक तत्त्वहरू मिलेर आयो भने सामान्य मान्छेमा भन्दा वंशाणुगत रोग लागेका मान्छेहरूमा सम्भावना बढी हुन्छ।
मानसिक रोगको प्रकार कति हुन्छ, कुन स्टेजमा पुगेपछि जटिल भन्ने ?
हाम्रो अस्पतालमा कडा खालका मनोरोग नै लिएर आउनु हुन्छ। देशभरबाट छानिएका बिरामीहरू नै आउने हो। किनकि यो रिफरल सेन्टर हो। समग्रमा देश भरी नै भएका मानसिक रोगको समस्यालाई विचार गर्दा मानसिक रोगको आयतन एकदमै व्यापक छ। तर समग्रमा अन्य समस्या भन्दा फरक समस्या भएपछि नै यहाँ आइपुग्ने हो।
हामीले सामान्य बोलीचालीको भाषामा भन्नु पर्दा एक प्रकारको रोग जसमा बिरामी आफैले आफूमा भएको समस्याको बारेमा थाहा पाउने हुन्छन्। जसमा डिप्रेसन, एन्जाइटी र अनिन्द्राका समस्याहरू हुन्छन्।
अर्को, सुरुदेखि नै कडा खालको रोग कसैकसैमा देखिन्छ। यो भनेको बिरामीले आफूलाई यस्तो भएको छ भन्ने कुरा हेक्का राख्न सक्दैन। यसमा घर परिवारले ध्यान दिनुपर्छ। यो खालको रोगलाई कडा प्रकृतिको रोगको रूपमा लिइन्छ।
उपचार पद्धति पनि फरकफरक हुन्छ ?
उपचार पद्धति पनि फरक फरक हुन्छ। अहिले औषधि उपचारका पद्धतिदेखि लिएर धेरै खालका उपचार पद्धति आइसकेकोले गर्दा कडा खलका मनोरोगको पनि सफल उपचार सम्भव छ।
अस्पतालमा आफै सम्पर्कमा आउने र अभिभावकसँग उपचारको पहुँचमा आउने बिरामीको औसतमा चाप कस्तो छ ?
कडा खालको मनोरोगीहरू आफै उपचारमा आउन सक्दैनन्। त्यसमा अभिभावक छिमेकी, साथीहरूले पहिचान गरेर अस्पतालसम्म उपचारमा ल्याउनुपर्छ। केही समयको उपचारपछि आफ्नो बिरामीको पहिचान आफैले गर्ने अवस्था हुन्छ। त्यसपछिको फलोअपमा आफै आउनुहुन्छ। विक्षिप्तता उत्पन्न नगराउने रोगहरूमा बिरामी आफै अस्पतालमा आउनु हुन्छ।
अहिले कोरोना, आर्थिक मन्दी, बेरोजगारी,गरिबिका समस्याहरू बढी रहेका छन्। यी घटनाक्रमले अस्पताल आउने बिरामीको संख्या बढाएको छ ?
मानसिक रोग लाग्ने तत्त्वमा सामाजिक कारक तत्त्वहरू पनि छन्। यो कुरामा हाम्रो समाजको संरचना, सामाजिक मान्यता, बेरोजगारी, गरिबी, लागूपदार्थको प्रयोग प्रमुख कारणाका रुपमा देखिन्छन्। जसमा आएको विचलनको कारणले गर्दा रोग लाग्न सक्ने सम्भावना लिएर आएका व्यक्तिहरूमा मनोरोगको लक्षण देखिने सम्भावना प्रचुर मात्रामा देखिन्छ। विगत केही वर्षयता भइरहेको मानसिक स्वास्थ्यको ग्राफ माथि जानुमा सामाजिक कारणहरू छन्।
सामाजिक कारण र आर्थिक कारण भन्दै गर्दा उपचारका हिसाबबाट कस्तो बिरामी परामर्शबाट र कस्तो बिरामी औषधिबाट निको हुन्छ ?
सुरुवातका केही लक्षणहरू, तनावसँग सम्बन्धी लक्षणहरू, माइल फ्याक्टर डिप्रेसन र एन्जाइटिको पनि सुरु सुरुका लक्षणहरू हामीले उचित मनोपरामर्श पाएको खण्डमा निको हुन्छन्। केही समयको परामर्शपछि निको हुन्छन्। कडा रूपमा रोग अगाडि बढ्ने व्यक्तिले उपचार पाएर परामर्श पाएन भने औषधि उपचारको जरुरी हुन्छ। केही समयको औषधि उपचार पश्चात् यी रोगहरू कम हुन्छन्। तर यो रोगको कारक तत्त्वको रूपमा रहेको सामाजिक कारणहरूलाई निराकरण गर्न सकिएन भने रोग लगाउने कारक तत्त्व त बाँकी रहन्छ। रोगको उपचारका साथै सामाजिक समस्या कम गर्ने उपायहरू सिकाउनुपर्छ। नत्र समग्रमा मानसिक स्वास्थ्यको समस्यालाई हेर्न सकिँदैन।
पछिल्लो समयमा बालबालिकामा किशोर किशोरीमा जटिल रूपमा यो समस्या बढी राखेको छ। विभिन्न संघ संस्थाका अध्ययनले त्यही देखिन्छ। बालबालिकामा किशोर–किशोरी बढी यो समस्यामा जुध्न पर्नुको कारण के हो ?
समाज विकाससँगै धेरै राम्रा कुरा आए। प्रविधिको विकास भयो। समाजको संरचना नै बदलियो। बाबा आमा काममा जाने हुँदा बालबालिका पहिलाको जस्तो संयुक्त परिवारमा बस्न पाएनन्। श्रीमान् श्रीमतीको सम्बन्धमा समस्या आउन थाल्यो। जसका कारण बच्चाहरूको हुर्काइ पढाइ राम्रो भएन। यस्ता विषयले बच्चाको मनोविज्ञान बिग्रिने भयो। सहने क्षमता पनि कम हुँदै गयो। हामीले यो विज्ञान र प्रविधिले ल्याएका राम्रा कुरालाई लिन सकेनौँ। बालबालिकामा नराम्रो कुराको प्रभाव पर्दै गयो। जसले गर्दा समग्रमा मनोवैज्ञानिक विकासमा समस्या, योग्यतामा समस्या, स्कुलको शिक्षामा समस्या यो धेरै कारणले गर्दा बालबालिका किशोरकिशोरीमा आत्तिने, एकाग्र नहुने , छिटो नै लागूपदार्थको सेवनले गर्दा मानसिक स्वास्थ्यको समस्या भोग्नु परेको हो।
बालबालिकालाई विद्यालय तहमा वा परिवार भित्र रहँदा आत्मविश्वास बढाउने खालका उपचार पद्धति छैनन् ?
केही समय यता मानसिक स्वास्थ्य प्रतिको जनचेतना बढेको छ। तर त्यत्तिले मात्र पुगेन। हामीले विद्यालय तहदेखि नै बच्चाको मानसिक स्वास्थ्य जगेर्ना गर्नुपर्छ। सिकाइमा बच्चाले खुलेर खुसी भएर स्कुल जाने वातावरण बनाउनुपर्छ तर हरेक विद्यालयमा त्यस्तो वातावरण छैन। हरेक बच्चा स्कुल जाने बेलामा कुन बेला जान नपाइएला भनेर खुशी भएर जानसक्ने स्थिति अहिले पनि छैन। त्यसैले सुरुदेखि नै विद्यालयहरूमा काउन्सिलिङहरु पनि राखिएको, नर्सहरु पनि छन्। तर पनि मानसिक स्वास्थ्यलाई नै सर्वप्रिय ठानेर गरेको बच्चाको हुर्काइ हुनुपर्छ भनेर हामी लागिपरेका छैनौँ। यसैगरी परिवार पनि आर्थिक लगायतका विभिन्न कुराहरूका लागि जुधिरहेका हुन्छौँ। तर बच्चालाई समय दिन सकेको हुँदैनौँ। त्यो हिसाबले पनि बच्चाको मनोविज्ञान बिग्रिँदै जाने हुन्छ। विस्तारै यसले बालबालिकालाई डिप्रेसनको सिकारसम्म बनाउँछ। बालबालिकाको यो समस्यालाई ध्यान नदिने हो भने उनीहरुको मानसिक स्वास्थ्यको समस्या झन झन् बढ्ने देखिन्छ।
हामीले आत्महत्या बढ्यो भनेर बहस त धेरै गर्यौं तर मानसिक समस्या बढ्यो भनेर किन बहस गर्दिनौ ?
आत्महत्या मानसिक स्वास्थ्यसँग नै जोडिएर आउने कुरा हो। समाजले आत्महत्यालाई यो अपराध हो, यो कायरले गर्छ भनेर भन्छन्। तर आत्महत्याको पछाडिको कारण नै मानसिक समस्या हो।
तथ्याङ्कले लगभग ८५ प्रतिशत जति आत्महत्याका घटनाको पछाडि कुनै न कुनै खालको मानसिक रोग नै हुन्छ भन्छ। बाँकी १५ प्रतिशतमा पनि जो आवेगमा आएर आत्महत्या गर्छ त्यो पनि एउटा साउन्ड माइनले गरेको हुँदैन। त्यसमा कतिपयको व्यक्तिगत समस्याको कारणले होला यो सबै पनि मानसिक स्वास्थ्यसँग जोडिएर नै आएको हुन्छ। त्यसैले हामीले आत्महत्या आपराधिक रूपमा हेर्ने भन्दा मानसिक स्वास्थ्यको बारेमा खुलेर बहस गर्ने र समयमा नै उपचार गर्ने हो भने आत्महत्याको डरलाई धेरै कम गर्न सकिन्छ।
कसैमा मानसिक समस्या छ भनेर हेर्ने मानकहरू के के हुन् ?
केही खालका मनोरोगहरुमा व्यक्तिहरूलाई नै थाहा हुन्छ। जसमा दुई हप्ताभन्दा बढी निराश हुने, आफूलाई एक्लो छु भन्ने भावना हुने, बिना कारण पश्चाताप हुने, आत्महत्याको भावना आउने र शारीरिक परीक्षणमा केही रोग नहुने अवस्था देखियो भने यो डिप्रेसनको लक्षण हो भनेर बुझ्नुपर्छ।
बिना कारण डर त्रास आउने, मुटुको धड्कन बढ्ने, अनुहारमा अस्वाभाविक परिवर्तन हुने हुन्छ भने एन्जाइटिसँग सम्बन्धित लक्षणहरू हुन् भनेर बुझ्नुपर्छ। जुन बिरामीले थाहा पाउनु हुन्छ। यसमा पनि सहन नसकेर व्यक्तिले मरे जाति हुन्छ भनेर आत्महत्या गरेका छन्।
कडा खालको विक्षिप्तता उत्पन्न गराउने रोगहरूमा चाहिँ अनावश्यक डर भय, एक्लै बरबराउने खालको हुन्छ। सामान्य रूपमा आफ्नो काम गरेर जीवन यापन गरिरहेको व्यक्तिहरूमा व्यवहार, सोच, मनमा एकाएक परिवर्तन आउन थाल्यो भने मानसिक रोगको समस्या हो भनेर बुझ्नु पर्छ।
विगत ४० वर्षदेखि मानसिक समस्याको उपचार गरिरहेको अस्पतालको क्षमता विकासमा सरकारले ध्यान दिएको देखिँदैन। यो अस्पतालको क्षमता चाहिँ के हो ?
देशमा स्वास्थ्यको अरु बिरामीको उपचारका लागि धेरै प्रगति भयो। ठुला ठुला अस्पतालहरू बने। क्यान्सरको उपचारका लागि ठाउँ ठाउँमा अस्पतालहरू छन्। प्रदेश स्तरमा पनि सेवाहरू विस्तार भएको अवस्था छ। तर मानसिक रोगको उपचारको हिसाबले केन्द्रीय स्तरको एउटा मात्र मानसिक अस्पताल हो। जसमा ५० शय्या छन्। ओपिडी सेवा सञ्चालन भइराखेको छ। अस्पतालमा आउनु भएका सबै बिरामीलाई मनोरोगसँग सम्बन्धित विज्ञसँग भेट गराउँछौं। हामीसँग अहिले १२-१३ जना मनोरोग विशेषज्ञ हुनु हुन्छ। अस्पतालमा भर्ना गर्ने सन्दर्भमा हामी २०४६ सालकै संरचनामा बसिरहेका छौं। जसले गर्दा भर्ना हुने गरी आएका बिरामीहरूलाई बाहिर रेफर गर्नुपर्ने अवस्था पनि छ। अहिले नेपाल सरकारले कम्तीमा दुई सय शय्या भएका अस्पतालमा १० वटा शय्या मानसिक रोगको लागि छुट्टाउनु पर्ने भनेर नीति ल्याएको छ। तर सबै प्रदेशमा यो लागू नभएकोले हाम्रोमा चाप छ।
अस्पतालमा जनशक्ति, प्राविधि र भौतिक पूर्वाधारको पनि अभाव छ ?
हाम्रोमा आन्तरिक शय्याको अभाव हो। तर प्रविधिको हिसाबले अगाडि छौँ। हाम्रो बिरामीहरू पहिलो पटक नै मानसिक रोग विशेषज्ञकोमा पुग्नु हुन्छ। त्यो राम्रो पक्ष भयो। अर्को मनोपरामर्श र औषधि उपचारबाहेक हामीले आधुनिक पद्धति पनि भित्र्याएका छौँ। हामी परम्परागत विद्युतीय विधिबाट अगाडि बढिसकेका छौँ। हाम्रो समस्या भनेको भर्ना हुनुपर्ने सबै बिरामीहरुलाई भर्ना गर्न सक्ने अवस्था नहुनु हो।
बजेट प्राथमिकताको हिसाबबाट पनि समस्या छ ?
नेपालको स्वास्थ्यमा छुट्याइएको बजेटको १ प्रतिशत पनि मानसिक स्वास्थ्यमा छुट्याइएको हुँदैन। यसले मानसिक स्वास्थ्यलाई मात्र उपेक्षित गरिएको हैन कि समग्रमा मानसिक स्वास्थ्यको प्रवचनात्मक कुरा, प्रतिरोधात्मक कुरा समग्रमा नै मानसिक स्वास्थ्यको लागि छुट्याइएको बजेट असाध्यै न्यून छ।
राज्यले प्राथमिकतामै नराखेको हो ?
प्राथमिकतामा राखेन भन्दा दुई तीन वर्ष यता सुसाइड प्रिभेन्सन निर्देशिका पनि जारी भएको छ। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना भनेर पनि आयो। विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेको कार्यक्रम हो। यसमा अगाडी बढ्नुपर्छ भनिन्छ तर कार्यान्वयनमा प्राथमिकता पाइसकेको अवस्था छैन।
बालबालिका, लागूऔषध तथा त्यो खालका बिरामीका लागि छुट्टै विभाग बनाएर उपचार हुन्छ कि पुरानै ढंगबाट उपचार गर्नुहुन्छ ?
नेपालमा बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विशेषज्ञ भनेर अहिले पाँच जना हुनुहुन्छ। दुई तीन वर्ष अगाडिसम्म एक जना हुनुहुन्थ्यो। अहिले चाहिँ कान्ति अस्पतालमा बालबालिकासँग सम्बन्धित मानसिक समस्याको उपचार हुन्छ। त्यहाँ ओपिडी बेसिसमा उपचार हुन्छ। हालसालै यही महिनादेखि मानसिक अस्पतालमा पनि हामीले दश शय्याको अन्तरंग बेडसहित किशोर किशोरी तथा बालबालिका मानसिक स्वास्थ्य सेवाको ओपिडी सुरु गरिसकेको छौँ। एउटा एनजिओको सहयोगमा यो सेवा सुरु भएको हो। रोग लागिसकेपछि गरिने उपचार त एउटा छ। बालबालिकाको मानसिक स्वास्थ्यको जगेर्ना गर्नु त्यति कै जरुरी छ। जुन घर अथवा विद्यालयबाट नै सुरु गर्नुपर्छ।
प्रतिक्रिया