सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता | Khabarhub Khabarhub

सभामुख घिमिरेसँग महासचिव गुटेरेसको भेटवार्ता


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।

बानेश्वरस्थित संसद् भवनमा आज भएको भेटवार्तामा सभामुख घिमिरेले महासचिव गुटेरेसलाई नेपाल सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत तार्किक निष्कर्षमा पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको जानकारी गराए ।

उनले दुवै आयोगसम्बन्धी ऐन निर्माणका लागि संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको अवगत गराउँदै अब निकट भविष्यमै ऐन निर्माण हुने अपेक्षा व्यक्त गरेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरेले नेपालले सफलतापूर्वक आफ्नो मौलिक, राष्ट्रिय अपनत्वसहित र आफैँले नेतृत्व गरी शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याएको स्मरण गर्दै नेपालको शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रसङ्घीय मिसन (अनमिन)को मध्यस्थताले ठूलो सहयोग गरेको बताएका थिए ।

सभामुख घिमिरेले भने, ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया सन् २००६ मा सरकार र तत्कालीन विद्रोही पक्षबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरु, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्धता, पीडित पक्षहरूका चासो एवम् धरातलीय वस्तुस्थितिबाट निर्देशित छ ।’

उनले नेपाल भगवान् गौतम बुद्धको देश भएको र नेपाली शान्तिप्रिय रहेको जानकारी गराउँदै नेपालले शान्ति प्रक्रियामा प्राप्त गरेको उपलब्धि विश्वका लागि नै मोडेल बन्न सक्छ भन्ने आफूलाई लागेको जानकारी गराए । विश्वका कतिपय देशहरूमा देखिएका अशान्ति र द्वन्द्वको निरुपणका लागि पनि यहाँका विशिष्टीकृत प्रयासहरू उदाहरण बन्न सक्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

‘विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ हामीले अहिलेसम्म भोगेको सबैभन्दा ठूलो मानवीय चुनौतीका रुपमा रहेको छ’, सभामुख घिमिरेले भने, ‘नेपालले संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सी तथा निकायहरुलाई विशेषतः कोभिड-१९ को अति जोखिमपूर्ण र कठिन समयमा उपलब्ध गराएको सहयोग र सहायताका लागि विशेष आभार प्रकट गर्न चाहन्छु ।’

सभामुख घिमिरेले जलवायु परिवर्तनसम्बन्धी विषय नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एक भूपरिवेष्टित पर्वतीय तथा न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भएर पनि नेपालले जलवायु परिवर्तनको असमानुपातिक असर ब्यहोर्नु परिरहेको बताए। उनले महिला तथा बालबालिका जलवायु परिवर्तनको गम्भीर असरबाट झनै बढी प्रभावित भएका हुँदा संयुक्त राष्ट्रसङ्घीय प्रणालीको प्रभावकारिता अभिवृद्धि गर्न महासचिव गुटेरेसले चालेको कदमको स्वागत गरे।

सभामुख घिमिरेले भने, ‘नेपालको संसद्को नियमावलीमा नै राष्ट्रसङ्घका महासचिवबाट सम्बोधन हुन सक्ने व्यवस्था गरेको छ, तपाईंको सम्बोधनलाई नेपाली जनताले पनि चासोका साथ हेरेका छन् ।’

त्यस भेटका अवसरमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन राष्ट्रसङ्घ आवश्यक सहयोग गर्न तयार बताए। साथै महासचिव गुटेरेसले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ५ : ५३ बजे

नेपाली केराले नै दसैँ–तिहार र छठ धान्ने, आयात नगर्न अनुरोध

काठमाडौं– केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ–तिहार र छठ

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं