चलचित्रका ‘बा’ बुढेसकालमा एक्लै | Khabarhub Khabarhub

चलचित्रका ‘बा’ बुढेसकालमा एक्लै


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


9.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलिउडमा ‘बाघ’ निर्माता भनेर चिनिने छवि ओझालाई फिल्म क्षेत्रका धेरैले ‘बा’ भनेर सम्बोधन गर्छन् । हुन पनि उनी फिल्म क्षेत्रमा आबद्ध हुँदा अहिलेका धेरै ‘स्टार’ जन्मेका पनि थिएनन् । महानायक राजेश हमालले पनि उनकै पहिलो चलचित्र ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हुन् । यसको रोचक प्रसंग पनि तपाईंले यहाँ पढ्न पाउनुहुन्छ ।

‘बा’ कै फिल्मलाई धेरैले नेपाली नायक–नायिकाले सिने क्षेत्रको ढोका बनाए । अर्थात् छविले ‘ब्रेक’ दिएका नायक–नायिका र खलनायकहरु धेरै छन् । उनी भन्छन्, ‘३५ वर्षभन्दा बढी अवधिमा २३ वटा फिल्म बनाएँ, कतिलाई ब्रेक दिएँ, नामै याद छैन ।’

छवि यतिबेला फिल्म निर्माणबाट विश्राममा छन् । पारिवारिक झमेलाका कारण उनले फिल्मबाट ब्रेक लिएको पाँच वर्ष पुग्यो । यस अवधिमा ठूलो बजेट र ग्याल्मर फिल्म बनाउने उनलाई बजारले ‘मिस’ नगर्ने कुरै भएन ।

फिल्म निर्माणमा कहिले फर्कन्छन् छवि ? के गर्दैछन् उनी ? विश्रामको चुरो कारण के हो ? जानौं– उनका जीवनका उतार–चढाव र केही किस्साहरु–

हल मालिकका छोरासँगको दोस्तीले फिल्ममा

५९ वर्षीय छवि धरानको चतरालाइनमा जन्मे, हुर्के । कक्षा सातसम्म बोर्डिङ पढेर सरकारी विद्यालयमा भर्ना भए । त्यसबेला उनको दोस्ती भयो– फिल्म हलका मालिकका छोरासँग ।

घरबाट नजिकै साथीको बुबा फणिन्द्रप्रसाद आचार्यको (शिव टाकिज) ‘शिव’ सिनेमा हल थियो । उनी स्मरण गर्छन्, ‘उनका दुवै छोरा मेरा साथी भएकाले प्रवेश निःशुल्क थियो । एउटै फिल्म आठ–नौ पटक हेर्थेँ । त्यहीँदेखि मलाई फिल्मको चस्का लाग्यो ।’

त्यसबेला नेपालका सिनेमा कम बन्थे । नेपालका हल हिन्दी फिल्मलाई लक्षित गरी बनाइएको हुन्थे । उनी पनि पटक–पटक हिन्दी फिल्म लिन ‘शव’ हलको काममा भारतको कोलकाता जान थाले ।

काम सिकेपछि एलएलसी पास गरेर छविले साथी कुबेर शर्मासँग मिलेर २०४२ सालमा आफ्नै ‘डिस्ट्रिब्युसन’ अफिस खोले । कम्पनीको नाम थियो– धनलक्ष्मी फिल्मस् । इटहरीमा थियो अफिस ।

विस्तारै उनी नेपाली फिल्म पनि पूर्वी नेपालमा लगेर हलमा चलाउने निर्णयमा पुगे । यसका लागि काठमाडौं आए । पूर्व लगेर केही नेपाली फिल्म पनि चलाए । उनी सम्झन्छन्, ‘मैले पूर्व लगेर चलाएको पहिलो फिल्म शिव श्रेष्ठ अभिनित ‘हामी एक हौंं’ हो ।’

काठमाडौंमा त्यसबेला चारवटा मात्रै हल थिए । कुमारी, रन्जना, विश्वज्योति र जय नेपाल । यहीँबाट छविलाई फिल्म निर्माणको भूत सवार भयो । उनी पहिलो फिल्म ‘युगदेखि युगसम्म’ को निर्माणमा जुटे र कलाकारको खोजीमा लागे ।

तय भएको हिरो हटाएर पहिलो फिल्ममा राजेश हमाल

‘युगदेखि युगसम्म’ इटहरीमा खोलिएको कम्पनी धनलक्ष्मीबाटै बन्यो । यो छविले लगानी गरेको पहिलो फिल्म मात्रै होइन, राजेश हमाल र खलनायक राजेन्द्र खड्गीको पनि पहिलो फिल्म हो ।

तर, हिरोमा प्रकाश अधिकारीलाई राख्ने मौखिक सहमति भएको थियो । संगीतकार शम्भुजित बास्कोटाले राजेश हमालको फोटो देखाएपछि छविको मन राजेशतिर बस्यो र प्रकाश फिल्मबाट निकालिए ।

छवि भन्छन्, ‘फिल्ममा शम्भुजित म्युजिक डाइरेक्टर थिए । भारतमा गीत रेकर्ड गरेर फर्कँदा हिरो हुने केटा छ भनेर राजेशको फोटो देखाए । चण्डिगढ पढ्दाको राजेशको फोटो देखाएका थिए ।’

नेपाल आएर राजेशसँग छलफल भएर काम गर्ने टुंगो भयो । ‘अनि प्रकाशसँग माफी मागेर सुटमा गयौँ’ छवि स्मरण गर्छन् ।

यस फिल्ममा भारतीय नायिका टुंगो भएको थियो । तर उनको खुट्टा भाँच्चिएकाले कृष्टि मैनालीलाई खेलाएको छविको दाबी छ ।

‘कतिलाई ब्रेक दिएँ गन्ती छैन’

‘मंगलम्’ छविको अन्तिम फिल्म हो । जुन उनको २३ औं फिल्म हो ।

उनले दोस्रो फिल्म ‘नाता’ मा श्रीकृष्ण र गिताञ्जलीलाई ब्रेक दिए । यही फिल्मबाट नायक विश्व बस्नेतले निर्देशक बन्ने अवसर पाएको उनी बताउँछन् ।

त्यस्तै, ‘जन्मभूमि’ मा विपना थापा, ‘हिरो’ मा रेखा थापा, ‘यस्तै रैछ जिन्दगी’ मा अरुणिमा लम्सालले ब्रेक पाए ।

‘अजम्बरी नाता’ उनले नयाँ अनुहारलाई अवसर दिए । तर, उनीहरुको नाम सम्झना छैन । उनी थप्छन्, ‘त्यो फिल्ममा नीता ढुंगाना बच्चाको भूमिकामा हुनुहुन्थ्यो । सायद उहाँको पहिलो फिल्म त्यही हो ।’

विराज भट्टलाई ब्रेक दिने निर्माता पनि आफू नै रहेको छविको बुझाइ छ । उनी भन्छन्, ‘उसले साना–साना भूमिकामा त काम गरेको थियो, मुख्य भूमिकामा बसेर नायिकासँग स्क्रिनमा रोमान्स गरेको फिल्म चाहिँ मेरै ‘हिम्मत’ भन्ने फिल्म हो ।’

उनैले आर्यन सिग्देल, सविन श्रेष्ठ, किशोर खतिवडा जस्ता स्थापित नायकलाई पनि ब्रेक दिएका हुन् । उनका थुप्रै फिल्ममा असिस्टेन्ट निर्देशक, क्यामेरा म्यानले पूर्णता पाएका छन् । छवि खबरहबसँग भन्छन्, ‘कतिलाई कुन भूमिकामा ब्रेक दिइयो, सम्झनै छैन ।’

पत्रिकामा छापिएको फोटोले गर्दा रेखासँग भेट

छविको व्यवसायिक करिअरमा सबैभन्दा बढी जोडिने नाम हो– रेखा थापा । उनीहरुको प्रेम सम्बन्ध सफल भयो । तर, वैवाहिक सम्बन्ध सफल हुन सकेन ।

उनीहरुको भेट ‘हिरो’ फिल्मकी नायिका खोज्ने क्रममा भएको हो । छवि हिरोका लागि नायिका नभेटेर खोज्दै निर्देशक सागर ढुंगानाको घर मैतिदेवी पुगे ।

सागर भित्रै थिए । छवि र उनीसँग गएका साथीहरु बैठक कोठामा पत्रिका हेर्दै सागरको पर्खाइमा थिए । पत्रिकामा छविले एक युवतीको फोटो देखे । उनी थिइन्– रेखा थापा ।

छवि भन्छन्– रेखाको बारेमा एउटा भाइले कुरा पनि गरेको थियो उसले रेखा स्मार्ट छिन् भन्यो । मलाई फोटो देखेर राम्री पनि लाग्यो र फिल्ममा लिन मन लाग्यो ।

छविले सागरको घरमा सँगै गएको साथीसँग कुरा गरे । उसले भोलि नै भेटाउन सक्ने बतायो । छवि सम्झन्छन्, ‘त्यसपछि हामी सागरजीलाई घरमा पुगेर नभेटी फर्कियौं । भोलिपल्ट रेखाजी अफिसमा भेट्न आउनुभयो । फिल्ममा कुरा फिक्स भयो ।’

‘सुटिङमा रेखासँग मन परापर मात्रै भयो’

त्यसबेला छविकी दोस्री श्रीमती बितेको दुई वर्ष भएको थियो । काठमाडौंमा उनी एक्लै थिए ।

फिल्मका दौरान रेखासँग नजिक भए । रेखालाई सुटिङ सेटमा ल्याउने पुर्‍याउने प्रायः छवि नै गर्थे । नजिक हुँदाहुँदै माया बस्यो । छवि भन्छन्, ‘त्यसबेला मोवाइल पनि थिएन । ल्यान्डलाइनको भरमा कुरा गर्नै गाह्रो हुन्थ्यो ।’

फिल्मको काम सकियो । छविको अफिसमा रेखाको आउजाउ बढ्यो । दुवैलाई मायामा फसेको पत्तै भएन । जवानीको लभ स्टोरी सुनाउँदै छवि भन्छन्, ‘हिरोको सुटिङपछि मात्रै विवाह भएको हो । त्यसभन्दा अघि मन परापर मात्र भएको हो ।’

‘रेखाले दोस्रो विवाह गर्न सल्लाह लिइन्’

रेखाले छविसँग ११ वर्ष लामो सम्बन्ध सन् २०१२ मा अन्त्य गरिन् । एक दशक एक्लै बसेर सन् २०२२ मा बलराम शाहीसँग दोस्रो विवाह गरिन् । तर, डिभोर्सपछि पनि छवि र रेखाको मित्रता राम्रो छ ।

छवि भन्छन्, ‘रेखाको म फिल्म लाइनको अभिभावक र गड फादर हो । रेखाले सल्लाह मागे म दिन्छु ।’

दोस्रो विवाह गर्नुपूर्व रेखाले हुनेवाला दुलाहालाई आफूसँग भेट गराएको छवि सुनाउँछन् । उनी खुलासा गर्छन्, ‘मलाई ल्याएर मैले विवाह गर्न लागेको केटा उहाँ नै हो भन्नुभएको थियो । हामीले सँगै बसेर डिनर पनि गर्‍यो । रेखाजीले मलाई अझै पनि अभिभावक नै मान्नुहुन्छ ।’

‘अहिलेका नायक–नायिकाले ग्याल्मर छोप्छन्’

फिल्ममा हिरोइनको ‘ग्याल्मर’ले प्रमुख भूमिका खेल्ने छविको बुझाइ छ । हिरोको ‘इन्ट्री’ पनि दमदार हुनुपर्ने तर्क उनको छ ।

उनले यस्तो भन्नुको कारण हो– ग्याल्मर र हिरोइजम देखाइएकै फिल्म बनाएर उनी सफल निर्माता बने । उनी भन्छन्, ‘फिल्म भनेको दिउँसो फिल्म हेर्दा राति नायिकाको ग्याल्मर र नायकको हिरोइजम झलझली आउने हुनुपर्छ ।’

अहिले ‘आर्ट मुभी’ बन्ने गरेकाले नायक–नायिका ग्याल्मर र हिरोइजम छोपिएको उनको भनाइ छ । उनी उदाहरण दिन्छन्, ‘आर्ट भूमिमा हिरोको इन्ट्री घाँस काटेको, लुगा सिलाइरहेकोबाट हुन्छ । पछिल्लो दिमाख खराबमा नायिकता स्वस्तिमा खड्काको केही ग्याल्मर देखिन्छ त ?’

तर, अहिले दर्शकको स्वाद फेरिएको छविको विश्लेषण छ । उनी भन्छन्, ‘ग्याल्मर मुभी’ बाट दर्शकहरु ‘आर्ट मूभीमा सरेका छन् ।’ आर्ट मूभीमा काम गर्ने दयाहाङ राई, विपीन कार्की, स्वस्तिमा खड्कालगायत छविलाई राम्रो लाग्ने कलाकार हुन् । तर, ग्याल्मर छोपेकाले उनीहरुले सिनेमामा काम गरे पनि हिरो–हिरोइन जस्तो आफूलाई नलाग्ने छवि बताउँछन् ।

उनी थप्छन्, ‘फिल्म हेरेर फर्कँदा आफूलाई पनि त्यही हिरोजस्तो बन्न मन लाग्ने हुनुपर्छ ।’

बलिउडमा अहिलेसम्म सलमान, शाहरुख खान, अक्षयकुमार लगायतका पुराना नायक हिरोइजमले नै चल्तीमा रहँदा नेपालमा ‘आर्ट मुभी’ गरेर राम्रा कलाकार स्थापित हुनु सकारात्मक पक्ष भएको छविको बुझाइ छ ।

शिल्पाका कारण फिल्ममा ब्रेक

शिल्पा पोखरेल छविको जीवनमा चौथो पात्रका रुपमा प्रवेश गरिन् । उनीहरुको केही वर्षमै सम्बन्ध चिसियो । नेपाली सिने क्षेत्रमा ठूलै हंगामा भयो । अहिले यी दुईबीचको अंश मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । सोही कारण छविको सम्पत्ति रोक्का भएको छ ।

फिल्ममा ब्रेकबारे छवि भन्छन्, ‘यो उमेरमा एक्लिँदा मानसिक तनाव त छँदैछ, सम्पत्ति पूरै रोक्का भएको छ । ऋण लिन मिल्दैन । नगद नभई फिल्म बन्दैन ।’

यस्तो अवस्थामा दोस्रो व्यक्तिले सहकार्य गर्न पनि नरुचाउने छविको अनुभव छ । टेबल टकबाट कुरा सुल्झाउन शिल्पाले नमान्दा आफूले कामबाटै विश्राम लिने अवस्था आएको छवि बताउँछन् । उनी थप्छन्, ‘यो उमेरमा तानव बढ्दा हिम्मत मर्दो रहेछ । यत्रो वर्ष निरन्तर काम गरेको मान्छे अहिले विश्राममा छु । पाँच वर्ष भइसक्यो ।’

‘५ हजार प्रतिशत बिहे गर्दिनँ’

चार वटा विवाह असफल भएपछि छविले भनेका थिए, ‘अब म बिहे गर्दिनँ । कान समातेँ । अब आमाको सेवा गर्छु ।’

अहिले भने आमाको स्वर्गवास भइसकेको छ । उनी आमाबाट पनि एक्लिएका छन् । एकान्तमै रमाउन सिक्ने बताउँदै उनी बिहे नगर्ने जिकिर गर्छन् । ५९ वर्षका छवि भन्छन्, ‘अब बिहे नगर्ने, यो साँचो कुरा हो । कसैले सोध्नै पर्दैन । सय प्रतिशत होइन, पाँच हजार प्रतिशत बिहे गर्दिनँ ।’

‘कमब्याक’ को पर्खाइमा ‘बा’

छवि फिल्म निर्माणमा फर्कने सोचाइमा छन् । तर, उनी शिल्पासँगको मुद्दा टुंगिएपछि ढुक्क भएर सुटिङमा जाने प्रतिक्षामा छन् ।

नयाँ फिल्मका लागि स्क्रिप्ट र एउटा गीत पनि तयार भइसक्यो । तर, मुद्दा किनारा नलाग्दा उनी सुटिङमा निस्किएका छैनन् । उनी भन्छन्, ‘फिल्म भनेको क्रिएटिभ काम हो । मुद्दाको तनाव लिएर सुटमा जान सकिँदैन रहेछ ।’

हुन त शिल्पासँग भेटेर अंश मुद्दा टुंग्याउन पनि उनले पहल गरिरहेका छन् । थप्छन्, ‘भेट र फोनमा कुराकानी भएको छ, चाँडै कुरा सल्टिने आशा गरौं ।’

पाँच वर्षपछि फिल्म बनाए पनि पुरानै धारको फिल्म बनाउने तयारीमा छन् छवि । आगामी फिल्मका बारेका उनी सुनाउँछन्, ‘मेरो फिल्ममा चाहिँ हिरो-हिरोइन नै हुनुपर्छ । मलाई अनमोल केसी, प्रदीप खड्काजस्तै हिरो नै चाहिन्छ । मेरो फिल्ममा हिरो-हिरोइन नै चाहिन्छ ।’

फिल्म फ्लप हुनसक्ने भए पनि ग्याल्मर र हिरोइजमले भरिपूर्ण फिल्म नै आफूले निर्माण गर्ने उनी बताउँछन् ।

बुढेसकालमा एक्लै

चार बिहे गरेका छविका दुई श्रीमती त फिल्म लाइनमै चर्चित बने। तर, उनी वैवाहिक जीवनमा भने असफल देखिए ।

बुढेसकालमा एक्लँदाको दुःख उनको मनमा छ । तर, बाहिर पोख्न चाहँदैनन् । सायद बुझ्नेले नबुझेपछि बाहिर पोखेर के हुन्छ र भन्ने उनको सचोइ होला ।

तर, एक्लोपनले उनलाई सताएको भने पक्कै हो । उनी भन्छन्, ‘एक्लै हुन्छु घरमा । त्यही भएर दिनभरि अफिसमा बस्छु । बिहान चाँडै आउने र रातिसम्म बस्ने गर्छु । तर, मलाई एक्लै बस्ने बानी भइसक्यो ।’

बुढेसकालको चिन्ता गर्दै छवि थप्छन्, ‘अब रह्यो जिन्दगीको अन्तिम समयको । सबैको जोडी अन्तिमसम्मै सँगै हुन्छ भन्ने त छैन नि । अगाडि-पछाडि नै हो नि जाने सबैको ।’

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ११ : ३९ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार