किन मधेस झरे रवि लामिछाने ? ८ जिल्लामा कति छ शक्ति ? | Khabarhub Khabarhub

किन मधेस झरे रवि लामिछाने ? ८ जिल्लामा कति छ शक्ति ?

रास्वपाको मिसन ०८४ : मधेसमा नेता जन्माउने



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका केन्द्रीय नेता र सांसदहरु मंसिर ८ गते मधेस झरे । मधेस प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रम र भेटघाट सकेर उनीहरु मंसिर १० देखि महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा जुटे । बुधबार साँझ बैठक सकेर नेताहरु काठमाडौं फिर्ने तयारीमा छन् ।

आखिर रास्वपा नेता मधेस झर्नुको कारण के हो ? किन उनीहरुले मधेसमै बैठक राखे ? रामजानकी मन्दिरको दर्शन गरेर फोटो खिचाउँदै रास्वपा नेताहरुले दिन खोजेको सन्देश के हो ? मानिसहरुले रास्वपाका गतिविधिलाई चासोका साथ हेरेका छन् ।

रास्वपाले मधेसमा तीन दिनसम्म केन्द्रीय समिति र संसदीय दलको बैठक राखेर २०८४ को आम निर्वाचनमा मधेसको भोट तान्ने उद्देश्य लिएको बुझन् कठिन छैन ।

पार्टी स्थापना भएको सात महिनामै २०७९ को निर्वाचनमा होमिएको रास्वपा २१ सिटसहित ११ प्रतिशत मत पाएर देशको चौथो दल बन्दै गर्दा उसले मधेसबाट पाएको मत उत्साहजनक रहेन । गत उपचुनावमा बारामा सो पार्टीका नेता रमेश खरेलले पाएको मत पनि निराशाजनक नै देखियो । प्रदेशसभाको चुनावमा त रास्वपाले भाग नै लिएन ।

मधेसमा कति छ रास्वपाको शक्ति ?

पहाड र ठूला शहरमा रास्वपाले उल्लेख्य मत प्राप्त गर्दा मधेसका ८ जिल्लामा उसको अवस्था अपेक्षाकृत बलियो देखिन सकेको छैन । ०७९ को चुनावमा देशभरिबाट ११ लाख मत कटाउँदा रास्वपाले मधेसका ८ जिल्लाबाट प्रत्यक्षतर्फ ३२ हजार मत पाएको थियो । समानुपातिकमा भने उसको मत ७२ हजार कटेको थियो ।

रास्वपाका उम्मेदवारले सप्तरीबाट २०७४, सिराहाबाट २४५०, धनुषाबाट २१२१ मत पाएका थिए । मधेसका ८ जिल्लामध्ये सबैभन्दा बढी बाराबाट १० हजार ७ सय ८२ मत खसेको थियो भने सर्लाहीका चार निर्वाचन क्षेत्रबाट रास्वपा उम्मेदवारले ७ हजार ६ सय ९४ मत पाएका थिए । रास्वपाका उम्मेदवारले रौतहटबाट ३ हजार र पर्साबाट १८ सय मत पाएका थिए ।

प्रत्यक्ष उम्मेदवारले पाएको मतभन्दा समानुपातिकतर्फ खसेको मत बढी थियो । घण्टीले समानुपातिकतर्फ सप्तरीबाट ३ हजार ५१७, सिरहाबाट ४ हजार २५६ र धनुषाबाट ६ हजार १९१ मत पाएको थियो । महोत्तरीबाट ८ हजार ४३६ मत पाएको थियो ।

समानुपातिकतर्फ रास्वपाको मत सर्लाहीमा १५ हजार ८९८ थियो भने रौतहटमा ९ हजार २५२, बारामा १७ हजार ९२७ र पर्सामा ७ हजार ४५१ खसेको थियो । समानुपातिकतर्फ रास्वपाले पाएको मधेशको कुल मत ७२ हजार ९२८ थियो ।

प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा बढी मत आउनुले मधेसमा रास्वपाको संगठन बलियो नभए पनि केही न केही आकर्षण छ भन्ने देखिन्छ ।
चितवनमा एक्लै एक लाख हाराहारी मत बटुलेको रास्वपाले मधेसका ८ जिल्लाबाट ७२ हजार मात्र मत पाउनुले कमजोर अवस्था नै देखाए पनि रास्वपाको उपस्थिति शून्य छैन भन्ने देखाएको छ ।

त्यसो त बारामा गत बैशाखमा सम्पन्न उपचुनावको परिणामले पनि मधेसमा रास्वपाको उदयको गति पहाडको भन्दा धीमा सावित गरेको थियो । त्यसबेला रास्वपा उम्मेदवार रमेश खरेल उपचुनावमा २ हजार ८ सय २९ पाएर चौथो बनेका थिए । जबकि त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादवले २८ हजार, जनमतले २३ हजार र माओवादीका उम्मेद्‍वारले १० हजार मत ल्याएका थिए । प्रभु साहको आम जनता पार्टीकै हाराहारीमा रास्वपाको मत आएको थियो ।

के भन्छन् रास्वपा नेता ?

मधेसमा रास्वपाको उद्देश्य तथा पार्टीको सिद्धान्त बुझाउन नसकेकाले उपनिर्वाचनमा पाखा हुनुपरेको आँकलन सभापतिले गरेको पार्टीका उपसभापति डोलप्रसाद अर्याल बताउँछन् ।

अर्यालले खबरहबसँग भने, ‘हामीलाई थाहा भयो कि उपनिर्वाचनमा समय कम भएकाले पार्टीको सिद्धान्त र हामी किन जन्मियौँ भन्ने कुरा बुझाउन सकेनौँ । सभापति तथा अन्य नेताले पनि यही आँकलन गर्नुभएको छ ।’

तर, यो पटक जनलहर बढेको भन्दै २०८४ को निर्वाचनमा मधेसमा पनि र अन्य प्रदेशमा पनि पार्टीको स्थान पहिलो नम्बरमा आउने अर्यालले दाबी गरे । रास्वपाले अहिले देशव्यापी संगठनात्मक अभियान सञ्चालन गरिरहेको छ । हरेक जिल्लामा पार्टी सभापति र केन्द्रीय सदस्यहरु पुगेर कार्यक्रम गरेको उनी बताउँछन् ।

मधेस प्रदेशमा ८ जिल्ला ३२ वटा संघीय निर्वाचन क्षेत्र छन् । २०८४ मा हुने निर्वाचनका लागि यहाँ नेता तयार गर्ने लक्ष्य रहेको अर्यालले बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘२०७९ को आम निर्वाचन र २०८० वैशाख १० को उपनिर्वाचनमा हामीले मधेसमा पार्टीको उद्देश्य बुझाउन नसके पनि यो पटक यसलाई चिरेका छौँ ।’

अर्याल अगाडि भन्छन्, ‘६ दिनको मधेस बसाइमा हामीले मधेसका जनतामा हाम्रो पार्टीप्रति ठूलो आशा देखेका छौँ । विशेष गरेर युवा साथीहरूको हाम्रो पार्टीप्रति भरोसा छ । जनसभा तथा कोणसभामा पनि ७० प्रतिशत युवाको उपस्थिति देखिएको छ ।’

मधेसमा पार्टी विस्तार चुनौतीपूर्ण

मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण देखिएको नेताहरुले बताए पनि त्यहाँको मधेसी समुदायमा पार्टीको प्रभाव कम रहेको विश्लेषकहरुको तर्क छ ।

खासगरी रास्वपाले संघीयताका बारेमा स्पष्ट नीति लिन नसकेको मधेसको बुझाइ छ । उसले प्रदेशको निर्वाचनमा समेत भाग नलिएको र प्रदेश संरचनाको विकल्प खोज्नुपर्ने बताएको हुँदा मधेसी समुदायमा यो पार्टीप्रति आकर्षण बढ्न नसकेको कतिपयको ठम्याइ छ ।

हुनत जलेश्वरमा बसेको रास्वपा बैठकमा पारित प्रतिवेदनमा पूर्ण लोकतान्त्रिक गणतन्त्र, समावेशिता र समाजिक न्यायलाई पार्टीको लक्ष रहेको बताइएको छ । रास्वपाले आफ्नो दल गणतन्त्रप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

तर, संविधानविद् एवं विश्लेषक अधिवक्ता दिपेन्द्र झाको विचारमा रास्वपालाई अन्य स्थानमा जस्तो मधेसमा विश्वास गर्ने आधार कमजोर छ ।

मधेसमा संगठन विस्तारको प्रयास गरे पनि रविसँग ठोस एजेन्डा र लक्ष नभएको बताउँदै झाले खबरहबसँग भने, ‘मधेसका जनताको झुकाव संघीयता र समानुपातिक प्रणालीतिर छ । तर, रविजीको पार्टीमा यसबारे स्पष्टता छैन । यही कारण मधेसमा रविजीलाई २०८४ मा नै विश्वास गर्छन् भन्ने लाग्दैन ।’

रास्वपाका महासचिव मुकुल ढकालको दाबी चाहिँ अर्कै छ । उनी भन्छन्, ‘मधेसमा हामीप्रति अथाह विश्वास रहेछ, यो देखेर हामी हर्षित छौँ । २०८४ मा यसको परिणाम देखिन्छ ।’

के गर्‍यो जलेश्वर बैठकले ?

सोमबारदेखि बसेको बैठकको अन्तिम दिन बुधबार पार्टी सभापति लामिछानेले राजनीतिक प्रस्ताव पेस गरे । जलेश्वर बैठकमा उपस्थित नेताका अनुसार रास्वपाका प्रतिनिधि सभाका सदस्यहरूलाई केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ ।

सांसदहरुलाई दोहोरो भूमिका दिने कि नदिने भन्ने बारे बैठकमा लामै बहस चलेको थियो । केही नेताहरुले सांसदलाई तत्काल केन्द्रीय सदस्यको जिम्मेवारी नदिने मत राखेका थिए ।

बैठकबारे जानकारी दिँदै एक नेताले भने, ‘यस विषयमा मंगलबार मध्यरातसम्म गहन छलफल भएपछि सांसदहरुलाई केन्द्रीय सदस्य बनाउने सहमति जुट्यो । प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । अब उनीहरु सबै केन्द्रीय सदस्य बनेका छन् ।

बैठकमा सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने विषयमा पनि बहस भएको थियो । विधानमा दुई जना जना उपसभापतिको प्रावधान रहेकाले वाग्लेलाई पनि उपसभापति बनाउने निर्णय भएको हो । एकजना उपसभापति महिला हुनुपर्ने आवाजहरू उठे पनि वाग्लेलाई नै सभापति लामिछानेले रोजेको स्रोतले खबरहबलाई बतायो ।

रास्वपामा ४९ जना केन्द्रीय सदस्य थिए। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित हरि ढकाल, काठमाडौँ ६ बाट निर्वाचित शिशिर खनाल, ललितपुर ३ बाट निर्वाचित डा. तोसिमा कार्की र काठमाडौँ ८ बाट जितेका विराजभक्त श्रेष्ठ पनि अहिलेसम्म केन्द्रीय सदस्यमा बन्न पाएका थिएनन् ।

त्यस्तै, समानुपातिक सांसदहरु मनिष झा, डा चन्दा कार्की, सन्तोष परियार, अशोककुमार चौधरी असीम साह, विनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली र निशा डाँगी पनि केन्द्रीय कमिटीमा थिएनन् ।

गत फागुन १ गते केन्द्रीय सदस्य विस्तार गरेर ४९ सदस्यीय बनाएको रास्वपाले त्यसबेला पनि प्रतिनिधि सभा सदस्यलाई केन्द्रीय समितिका ल्याउन सकेको थिएन । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उपचुनाव जितेका अर्थविद् डा. स्वर्णिम वाग्ले अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै जिम्मेवारीमा थिएनन् । वाग्लेले गत चैत १६ मा नेपाली कांग्रेस छाडेका थिए । त्यसको भोलिपल्टै १७ गते उनले रास्वपाको साधारण सदस्यता लिएका थिए ।जलेश्वर बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल भएको उपाध्यक्ष अर्यालले खबरहबलाई बताए ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : १८ बजे

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको

छ सय २० किलो गाँजा बरामद

मलेखु – धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई

प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

काठमाडौं – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी – सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका