आज मंसिर १३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर २९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
रुसले इरानलाई सैन्य विमान दिने
इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताएका छन् ।
अर्धसरकारी तस्निम समाचार एजेन्सीसँगको कुराकानीमा उनले मुलुकको सशस्त्र बलहरूलाई रुसी सुखोई एसयु–३५ लडाकु जेट, मिल एमआई–२८ लडाकु हेलिकप्टर र याक–१३० जेट प्रशिक्षकहरूको आगामी आपूर्तिको पुष्टि गरे ।
“विमानहरू मुलुकमा आउने निश्चित भएको छ र तिनलाई प्राप्त गर्ने प्रक्रिया भइरहेको छ”, उनले भने । इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्य सहरयार हैदरीले इरानले चाँडै नै धेरै एसयु–३५ लडाकु विमान प्राप्त गर्ने गत जनवरीमा बताएका थिए ।
सुरुङबाट उद्धार गरिएका भारतीय कामदार भन्छन्- बाँच्छौ बाँच्दैनौँ हामीलाई थाहा थिएन
आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले आफूहरुलाई बलियो बनाएको बताएका छन् ।
“हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस हुन्थ्यो”, सुरुङबाट जीवित उद्धार गरिएका कर्मचारी दीपक कुमारले बुधबार भने, “बाँच्छौ वा बाँच्दैनौँ भन्ने हामीलाई थाहा थिएन ।” म्याराथुन इन्जिनियरिङ अभियानबाट मङ्गलबार राति विशेष रूपले पाङ्ग्राले सुसज्जित स्ट्रेचरमा ५७ मिटर (एक सय ८७ फिट) लामो स्टिल पाइपको माध्यमबाट तानिएपछि यी कामदारलाई नायकका रूपमा स्वागत गरिएको थियो । सुन्तला रङको सयपत्रीको माला लगाएर उनीहरूलाई जयजयकार गर्दै स्वागत गरिएको थियो ।
आफूहरूसँग पुग्ने पछिल्ला अपेक्षाबीच बारम्बार भग्नावशेष खस्दा र थुप्रै ड्रिलिङ मेसिन बिग्रिँदा आफ्नो आत्मालाई जोगाउन कति कठिन भएको थियो भनेर उनीहरूले बताएका छन् । “यो सजिलो थिएन”, कुमारले भने, “तीन वा चार दिनपछि र उद्धार टोली हामीसँग पुग्न असफल भएपछि हाम्रो आत्मविश्वास घटेको थियो ।”
पछि घटनास्थलबाट टाढाका परिवारहरूसँग सम्पर्क गर्न उद्धार टोलीले एउटा टेलिफोन एक्सचेन्ज स्थापना गरेको थियो । “मैले परिवारसँग भनेँ– म ठीक र स्वस्थ छु, चिन्ता नलिनू, सबै ठिक हुनेछ, हामी चाँडै बाहिर आउने छौँ”, कुमारले भने, “मैले उनलाई यी शब्दहरू भनिरहँदा मलाई कहिलेकाहीँ मैले अब कहिल्यै आफ्ना बुबाआमालाई देख्न पाउने छैन भन्ने महसुस हुन्थ्यो ।”
उद्धार गरिएका कामदार सुशील कुमारकी श्रीमती गुडियादेवीले भनिन्, “परिवार डरलाग्दो समयबाट गुज्रिएको थियो र कहिलेकाहीँ हामीले आशा गुमाएका थियौँ ।” झारखण्ड राज्यका ३२ वर्षीय चमरा उराउँले नोभेम्बर १२ मा पहाडी सुरुङ मार्गभित्रको गहिराइमा गडगडाहटको आवाज सुन्दा, भग्नावशेष खस्दा र ढुङ्गा झरेर बाहिर निस्कने एकमात्र मार्ग बन्द हुँदा आफूलाई कति डर लागेको थियो भनी वर्णन गरेका छन् । “म आफ्नो ज्यान बचाउन भागेँ तर गलततिर फसेँ, हामी लामो समयसम्म त्यहाँ रहने छौँ भन्ने स्पष्ट भयो, हामी बेचैन भयौँ र भोकायौँ तर हामीले सहयोगका लागि चुपचाप प्रार्थना गर्यौँ”, उनले इन्डियन एक्सप्रेस अखबारलाई भने ।
सुरुङमा पहिलो २४ घन्टा कसरी सबैभन्दा खराब थियो भन्नेबारे सुबोधकुमार बर्माले बताए । त्यहाँ पहिला हावा सकिएन भने भोकले मर्ने उनलाई डर लागेको थियो । “हामीले त्यहाँ २४ घन्टा खाना र हावासँग सम्बन्धित समस्याहरूको सामना गर्नुपर्यो”, उनले भने । अक्सिजन लैजानका लागि उद्धार टोली एउटा सानो पाइप जोड्न सफल भएपछि मनोबल बढेको उनले बताए ।
सुरुमा मुरै र बीजहरूको सानो प्याकेट पठाइएको थियो । केही दिनपछि दाल र भातको उचित खाना पठाउन ट्युबलाई चौडा बनाइयो र प्लास्टिकको बोतलमा प्याक गरेर तल पठाइयो । “पाइपमार्फत खाद्य सामग्री पठाइएपछि अवस्था सहज भयो”, बर्माले भने । “जब हामीले पहिलो गाँस मुखमा हाल्यौँ, कुनै भगवान् हामीसँग आउनुभएको छ जस्तो लाग्यो”, उराउँले एक्सप्रेसलाई भने । यद्यपि उद्धारको प्रतीक्षामा व्यस्त रहन कठिन थियो । कामदारहरू आफ्नो मोबाइल फोनमा खेल खेलिरहन्थे । मोबाइल फोन चार्ज गर्न त्यहाँ बिजुली उपलब्ध थियो ।
“हामीले मोबाइलमा आफैँलाई लुडोमा व्यस्त राख्यौँ, हामीले आपसमा कुराकानी गर्यौँ र एकापसका बारेमा बुझ्यौँ”, उराउँले भने । सुरुङमा फसे पनि कामदारहरूलाई पर्याप्त स्थान थियो । भित्रको क्षेत्र आठ दशमलव पाँच मिटर उचाइ थियो र लम्बाइ करिब दुई किलोमिटरसम्म फैलिएको थियो । इन्जिनियरहरूलाई सल्लाह दिइरहने इन्टरनेसनल टनलिङ एन्ड अन्डरग्राउन्ड स्पेस एसोसिएसनका अध्यक्ष आर्नोल्ड डिक्सले भने, “उद्धारको प्रतीक्षामा कामदारहरू क्रिकेट खेल्न व्यस्त थिए भन्ने मैले सुनेको छु ।”
अन्ततः त्यो समय मङ्गलबार आयो । भग्नावशेषमा गाडिएको धातुको स्तम्भको बोरिङ ड्रिल भाँच्चिएपछि उद्धार टोलीले सानो ट्युबभित्र प्रविधिको प्रयोगमार्फत हातैले अन्तिम खण्ड खन्यो । भारतीय मिडियाले खन्ने व्यक्तिलाई ‘रक स्टार’ भनेका छन् । टाइम्स अफ इन्डियाले उनीहरूलाई ‘नाइट्स इन माइनिङ आर्मर’ र ‘सुरतको एक्का’ भनेको छ ।
श्रीमान् श्रीमतीको झगडाका कारण जर्मनीबाट थाइल्याण्डका लागि उडेको जहाज डाइभर्ट
श्रीमान् श्रीमतीले झगडा गरेपछि जर्मनीबाट थाइल्याण्डका लागि उडेको जहाज डाइभर्ट गरिएको छ ।
यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार भारतको दिल्लीतर्फ डाइभर्ट गरिएको हो ।
दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुप¥यो ।”
इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट पृथ्वीमा माटो चट्टानको नमूना ल्याइने बताएका हुन् ।
तर चन्द्रयान ४ को ‘रि इन्ट्री मोज्युल’ ले चन्द्रमाको सतहबाट माटो र चट्टानको नमूना पृथ्वीमा ल्याउनेछ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार यो अभियान आगामी ५ देखि ७ वर्षमा पूरा हुनेछ ।
जापानमा अमेरिकी सैन्य विमान दुर्घटना, १ जनाको मृत्यु
पश्चिमी जापानमा एउटा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । अर्का दुई जना बेपत्ता छन् । ६ जना सवार विमान बुधबार पश्चिमी जापानको याकुशिमा टापुबाट ३ किलोमिटर टाढा समुद्रमा दुर्घटनामा परेको थियो ।
अमेरिकी सेनको भी २२ ओस्प्रे विमान दुर्घटनामा परेको हो । विमान दुर्घटनामा परेपछि माछा मारिरहेका माझीहरुले तीन जनाको उद्धार गरेका थिए ।
स्थानीय समयअनुसार ३ बजेतिर विमान दुर्घटनामा परेको थियो । दुर्घटनाका बेला विमानको बायाँ इन्जिनमा आगो लागेको जनाइएको थियो ।
युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता
यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले युद्धविरामको समयावधि थप बढाउने विषयमा वार्तालाई निरन्तरता दिएका छन् । युद्धविराम सम्झौता सकिनु केही घण्टामात्रै बाँकी रहेका बेला मध्यस्थकर्ताका माध्यमबाट दुई पक्ष छलफलमा जुटेका हुन् ।
हमासले पछिल्लो युद्धविराम अवधिमा गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी बन्धक बनाएका २ सय ४० मध्ये ६० बन्धकलाई रिहा गरिसकेको छ ।
यसअघि ४ दिनका लागि युद्धविराम सम्झौता भएपनि गत मंगलबार दुबै पक्ष थप ४८ घण्टा युद्धविराम लम्ब्याउन राजी भएका थिए । दुबै पक्ष युद्धविराम सम्झौतालाई थप लम्ब्याउन तयार भएपनि यसबारे औपचारिक सम्झौता भइसकेको छैन ।
वार्ता भइरहेकोबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले टिप्पणी गर्न अस्वीकार गरेको छ ।
रुससँगको फिन्निश सीमानजिक सेना पठाउने पोल्याण्डको तयारी, रुस क्रुद्ध
पोल्याण्डले रुससँगको फिन्निश सीमानजिक सेना पठाउने तयारी थालेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेका बेला पोल्याण्डले रुसको छिमेकी फिनल्याण्डमा सेना पठाउने तयारी थालेको हो ।
पोल्याण्डले फिनल्याण्डमा ‘सैन्य सल्लाहकारहरुको समूह’ पठाउन लागेको पोल्याण्डको राष्ट्रिय सुरक्षा ब्युरोका प्रमुख ज्यारेक सिवेरियाले जनाएका छन् । रुस–फिनल्याण्ड सीमानजिकै हाइब्रिड आक्रमणको जोखिमलाई मध्यनजर गर्दै साझेदारहरुको औपचारिक आग्रहमा यस्तो तयारी थालिएको उनको भनाइ छ ।
यता रुसले भने फिनल्याण्डसँगको आफ्नो सीमानजिक सेना पठाउने पोल्याण्डको तयारीबारे आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ । रुसी प्रशासन क्रेमलिनले यस्तो कदमले उत्तेजना बढाउने र आफ्नो मुलुकले यसलाई धम्कीका रुपमा लिने चेतावनी दिएको छ ।
प्रतिक्रिया