विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

आज पुस १३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २९, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पूर्वनौसेना कमान्डर डोङ जुन चीनको नयाँ रक्षामन्त्री नियुक्त

चीनमा शुक्रबार पूर्वनौसेना कमान्डर डोङ जुन नयाँ रक्षामन्त्री नियुक्त भएका छन् । अक्टोबरमा ली साङ्फुलाई आश्चर्यजनक रूपमा हटाइएपछि उत्पन्न भएको रिक्ततालाई डोङको नियुक्तिले पूर्ति गरेको छ ।

चीनले आगामी महिना राष्ट्रपति निर्वाचन हुनुअघि ताइवानको स्वशासित टापुमा बेइजिङले सैन्य दबाब बढाइरहेको समयमा डोङको पदोन्नति भएको छ । सरकारी समाचार समिति सिन्ह्वाले डोङलाई चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिको बैठकमा नियुक्त गरिएको जनाएको छ ।

बेइजिङले सात महिनाको जिम्मेबारीपछि लीलाई हटाउनुको कुनै आधिकारिक कारण बताएको छैन । उनको निष्कासन मुलुकको सैन्य प्रतिष्ठानमा उच्चस्तरीय पदअवनतिको शृङ्खलामध्येको एक थियो ।

सिन्ह्वाका अनुसार बेइजिङको शीर्ष राजनीतिक सल्लाहकार समितिबाट प्रमुख चिनियाँ क्षेप्यास्त्र रक्षा कम्पनीका तीन कार्यकारीलाई हटाइएको छ । कथित भ्रष्टाचारविरुद्ध लड्नु चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनको केन्द्रीय विषय बनेको छ ।

हालैका महिनाहरूमा बेइजिङको आणविक हतियारको निरीक्षण गर्ने सेनाको एकाइका रूपमा रहेको गोप्य रकेट फोर्सको नेतृत्वमा पनि परिवर्तन भएको देखिएको छ । यसका पूर्वप्रमुखसँग सम्बन्धित भ्रष्टाचारको अनुसन्धानको मिडिया रिपोर्टहरू आएपछि नेतृत्वमा परिवर्तन गरिएको हो ।

इजरायल–हमास युद्ध धेरै नलम्बिने सङ्केत

गाजामा हमाससँग इजरायलको युद्ध दिन प्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।

गाजामा इजरायलको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २१ हजारभन्दा बढी पुगिसकेको छ । मृत्यु सङ्ख्या निरन्तर बढ्दै जाँदा अमेरिकाजस्ता इजरायलका निकटतम सहयोगीले युद्धबारे आफ्नो स्थितिमा पुनर्विचार गरिरहेका छन् । यद्यपि यो संयुक्त राष्ट्रसङ्घमा उनीहरूको मतमा प्रतिविम्बन भएको छैन ।

नेतान्याहु र उनको सरकारका मन्त्रीहरूले इजरायलको उद्देश्य हमासलाई विश्वको नक्साबाट हटाउनु रहेको स्पष्ट पारेका छन् । गत अक्टोबर ७ मा इजरायलमा क्रूर आक्रमण गरी एक हजार चार सय इजरायलीलाई मार्ने लडाकु समूह हमासको गाजा क्षेत्रमा गहिरो प्रभाव छ । जवाफमा व्यापक बमबारीसँगै इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजामा हमास कार्यकर्तालाई लक्ष्य गर्दै रणनीतिकस्थलमा आक्रमण गरिरहेको छ ।

इजरायल–हमास द्वन्द्व लम्बिँदै जाँदा र प्यालेस्टाइनीको मृत्यु बढ्दै जाँदा भूराजनीतिक अवस्था बिग्रने छ । यसले पश्चिम एसिया (मध्यपूर्व) मा द्वन्द्व फैलिने ठूलो जोखिमलाई बढाउने छ । इजरायली हवाई आक्रमण र स्थल कारबाहीमा मारिने नागरिकको वृद्धि र इजरायली घेराबन्दीका कारण खाद्यान्न, पानी र औषधिको चरम अभावका कारण गाजामा मानवीय सङ्कट दिन प्रतिदिन बढ्दै गइरहेको छ । राष्ट्रसङ्घजस्ता बहुपक्षीय निकायले गाजामा मानवीय सङ्कटका बारेमा धेरै चेतावनी जारी गरेका छन् । यद्यपि इजरायलले आफ्नो अभियान अन्त्य गर्न अथक प्रयास जारी राखेको छ ।

राष्ट्रसङ्घको बढ्दो आलोचनाबीच इजरायली सरकारले विश्वव्यापी निकायका कर्मचारीका लागि स्वचालित प्रवेशाज्ञा समाप्त गर्ने निर्णय गरेको तथा ‘केस–टु–केस’ आधारमा दिनेबारे विचार गर्ने जनाएको छ ।

चीनको मध्यस्थतामा दुई कट्टर प्रतिद्वन्द्वी इरान र साउदी अरेबियाबीचको सम्बन्ध ऐतिहासिक सामान्यीकरण हुँदै गर्दा अक्टोबरमा इजरायल–हमास द्वन्द्वको सुरुआतले मध्यपूर्वमा शान्तिपूर्ण आशालाई ध्वस्त पारेको छ ।

त्यस्तै, अमेरिकी मध्यस्थतामा इजरायल र साउदी अरेबियाबीचको सम्बन्धलाई सामान्य बनाउन सम्झौता नजिकै रहेको बताइएका बेला अक्टोबरमा दक्षिणी इजरायलमा हमासको आकस्मिक आक्रमणले वर्षको अन्त्यसम्म चलेको घातक द्वन्द्वलाई निम्त्याएको छ । गाजा द्वन्द्व सुरु भएपछि साउदी अरेबियाले विरोधमा इजरायलसँग सामान्यीकरण प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

श्रीलङ्कामा डिसेम्बरमा १० हजारभन्दा धेरै डेङ्गुबाट सङ्क्रमित थपिए

श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ ।

एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो । डेङ्गु सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाईले जानकारी गराएको छ ।

श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ । कोलम्बो जिल्लामा सबैभन्दा बढी २१.१ प्रतिशत सङ्क्रमित भेटिएका छन् । श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले वर्षा याममा यो रोग फैलन सक्ने चेतावनी दिएका छन् ।

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो ।

कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन् । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन् ।

सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।

आप्रवासी बढेको भन्दै मेक्सिको र अमेरिका बिच सीमा खुल्ला गर्ने सहमति

आप्रावासी बढेको भन्दै मेक्सिकन र अमेरिकी अधिकारी सीमा खुला राख्न सहमत भएका छन् ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका अनुसार बिहीबार साझा सीमामा धेरै संख्यामा आप्रवासीहरू आइपुगेका कारण सीमा खुल्ला राख्न सहमत भएका हुन् ।

हाल धेरै प्रमुख रेल सिंगहरू अस्थायी रूपमा बन्द भएका छन् ।

राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले भने ‘यो सम्झौता भइसकेको छ, स्थिति सामान्य बनाउन रेल क्रसिङ र सीमा पुलहरू पहिले नै खोलिएको छ,’ लोपेज ओब्राडोरले पत्रकार सम्मेलनमा मिडियालाई भने, ‘हरेक दिन सीमा पुलहरूमा बढी आवतजावत हुनेछ ।’

लोपेज ओब्राडोरले बुधवारको अमेरिकी प्रतिनिधिमण्डलसँगको बैठक, जसमा राज्य सचिव एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्काससमेत थिए ।

आप्रवासीहरूको ठूलो समूह बिस्तारै संयुक्त राज्य अमेरिकामा प्रवेश पाउने आशा लिएर सीमातर्फ अघि बढिरहेको बेला यो वार्ता भएको हो। लोपेज ओब्राडोरले भने, ‘अन्तिम गणनामा कारवाँमा करिब १५ सय आप्रावासीहरु रहेका थिए ।’

चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु

चीनले वार्षिक ६ लाख टन उत्पादनको साथ विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादन परिक्षण गरेको छ । गत बिहीबार पूर्वी चीनको आन्हुई प्रान्तको हुवाइ बेईमा चीनले सो परीक्षणमा गरेको चीनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन ।

हालै परिक्षण गरिएको उपकरणले कोक ओभन ग्याँसलाई इथेनोलमा रूपान्तरण गर्न सक्छ। स्टील र पेट्रोकेमिकल उद्योगहरूको न्यून कार्बन विकासको लागि सम्भाव्य मार्ग प्रदान गर्ने जनाइएको छ ।

चाइनिज एकेडेमी अफ साइन्सेज अन्तर्गत डालियान इन्स्टिच्युट अफ केमिकल फिजिक्स (डीआईसीपी) र शान्सी यान्चाङ पेट्रोलियम ग्रुप कम्पनि लिमिटेडले संयुक्त रूपमा विकास गरेको अत्याधुनिक प्रविधि अपनाएर उक्त उपकरण ट्यान्सिन टेक्नोलोजी कम्पनी लिमिटेडले निर्माण गरेको हो। हुवाइ बेई खनन समूह अन्तर्गत परेको छ।

इथानोल एक उत्कृष्ट पेट्रोल एडिटिभ र एक महत्त्वपूर्ण आधारभूत रसायन हो। यो मुख्यतया संयुक्त राज्य अमेरिका, ब्राजिल र अन्य देशमा मात्रै उत्पादन गरिदै आएको छ । कच्चा मालको रूपमा अनाज र उखु जस्ता बालीसहित इन्धन इथेनोलको रूपमा प्रयोग गरिन्छ।

चीनको इथानोल बजारमा ठूलो माग रहेको अनुसन्धान टोलीका नेता लिउ झोङमिन, डिआइसीपीका निर्देशक तथा चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सदस्यले भने। उनले अगाडि भने कि सन २०२२ मा चीनमा इन्धन इथेनोलको अन्तर लगभग १० मिलियन टनको माग रहेको देखिएको थियो ।

अनुसन्धान टोलीले डाइमिथाइल ईथरको कार्बोनिलेसन र मिथाइल एसीटेटको हाइड्रोजनेशनद्वारा निरपेक्ष इथेनॉल उत्पादन गर्न कच्चा मालको रूपमा संश्लेषण ग्यास वा सिङ्गास प्रयोग गरी उन्नत प्रविधि डिएमटिइ विकास गरेको हो ।

टोलीले निरन्तर रूपमा प्रविधि र उत्प्रेरकलाई अपग्रेड गरेको छ र प्रतिक्रिया प्रक्रियालाई अप्टिमाइज गरेको छ । ठूला–ठूला औद्योगीकरणको लागि ठोस आधार तयार पारेको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त

हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हो ।

दुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

हिजबुल्लाहले आफ्ना लडाकुहरूले शेबा फार्म्स वरपरको इजरायली सैन्य स्थलमा आक्रमण गरेको बताएको छ ।

उता इजरायलका सैन्य प्रवक्ताले भने कि इजरायली सेनाले लेबनानमा धेरै हिजबुल्लाह लक्ष्यहरूलाई आक्रमण गरेका छन । उसका अनुसार इजरायलले धेरै मिसाइल प्रक्षेपणको पुष्टि पनि गरे तर घटना बिना हताहत समाप्त भएको बताए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ८ : ०० बजे

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ

जिनेभा– संयुक्त राष्ट्रसंघले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित