पाल्पाको टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना « Khabarhub

पाल्पाको टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पाल्पा– शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ ।

कालीगण्डकी नदीको तटमा अवस्थित पाल्पा रामपुर नगरपालिका–१ स्थित टापुधाम क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न शिवलिङ्ग स्थापना गरिएको हो ।

यसअघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटोबाट बनेको १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग आठ फिट लम्बाइ, आठ फिट चौडाइ र आठ फिट गहिराइको खाल्डोमा राखेर साना शिवलिङ्गको माथिल्लो भागमा शिलाबाट बनेको पञ्चमुखी शिवलिङ्ग स्थापना गरिएको समितिका संयोजक तथा वडाध्यक्ष कपिलबहादुर खाणले बताए ।

अखण्ड नेपाल निर्माणको सङ्कल्पसहित विभिन्न स्थानमा तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्निशम्शेर प्रताप शाह)को सङ्कल्पअनुसार वैदिक विधि पूरा गरी प्राण प्रतिष्ठासहित शिवलिङ्ग स्थापना गरिएको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वका रूपमा रहेको कालीगण्डकी नदी, यहाँ पाइने शालिग्राम शिलाको संरक्षण, धार्मिक प्रवर्द्धनका लागि टापुधाम क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्दै जाने बताए ।

‘कालीगण्डकी नदीसँग जोडिएको टापुधाम क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै सम्भावना बोकेको छ, कालीगण्डकी करिडोर सडकखण्ड यसकै आडमा रहेकाले आन्तरिक मात्र नभई बाह्य पर्यटक भित्र्याउन आवश्यक पूर्वाधार विकासका काममा जोड दिनेछौँ’, नगरप्रमुख थापाले भने ।

नेपाललाई अखण्ड राख्न सङ्कल्पका साथ विगत चार वर्षदेखि तीन करोड शिवलिङ्ग स्थापना गर्ने अभियान सञ्चालन गर्दै आइरहेको धार्मिक अभियान्ता योगी अक्षर ब्रह्म अग्निशम्शेर प्रताप शाहले बताए ।

अबदेखि टापुधाममा शिवलिङ्ग स्थापनासँगै भगवान् शिवको प्रसादका रूपमा रहेको विशेष विधिअनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने समितिले जनाएको छ ।

टापुधाममा नेपाल पर्यटन बोर्ड र रामपुर नगरपालिकाको सहकार्यमा शालिग्राम सङ्ग्राहालय स्थापना गरिएको छ । विश्वमा नै शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी तटमा अवस्थित यो क्षेत्रलाई रामपुर नगरपालिकाले शालिग्राम गृह बनाएर सङ्कलन तथा संरक्षण गरेर राखेको छ ।

कालीगण्डकी नदीको तटमा रहेको टापुधाम, रामघाट, उत्तरबाहिनीलगायतका विभिन्न क्षेत्रमा शालिग्राम सङ्कलन गरेर राखिएको छ ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : ३२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको