जुनीजुनीलाई सोचेर संगीत क्षेत्रमा काम गर्नुपर्छ | Khabarhub Khabarhub

जुनीजुनीलाई सोचेर संगीत क्षेत्रमा काम गर्नुपर्छ

‘हाम्रो समयमा संगीत जनतादेखि राजासम्म पुग्ने मध्यम रेडियो थियो’


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

नेपाली गीत संगीतमा ३० र ४० को दशकलाई एउटा सुन्दर अवधि मानिन्छ। यो अवधिमा नेपाली श्रोता दर्शकको मन जित्न सफल धेरै सर्जक छन्। यो अवधिकै चर्चित संगीत सर्जक, अध्यापक वरिष्ठ गायिका मथुरा प्रधान श्रेष्ठसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश :

धरानबाट दीप श्रेष्ठको सङ्गीतमा गीत गाउनुभयो। यो बेलाको यात्रा कत्तिको सहज थियो ?
त्यो बेलाको संगीत यात्रा सहज थिएन। त्यो बेला स्कुल कलेजमा गाइन्थ्यो। यसरी गाउँदा ऊर्जा थपिन्थ्यो। तर सर्वसाधारण जनतादेखि राजासम्म पुग्ने माध्यम भनेको रेडियो मात्र थियो। अहिलेको जस्तो टेलिभिजन मिडिया थिएनन्। त्यो बेला रेडियोमा गीत गाएपछि म झुपडीदेखि राजदरबारसम्म पुग्छु भन्ने लाग्थ्यो। रेडियो नेपालमा पहिलो पटक ‘तिमी आउने दिनहरू म औंलामा गनी रहन्छु’ गीत गाएँ।

तपाईं क्रान्तिकारी गीति समूह, रामेश र रायनसँग प्रभावित हुनुहुन्थ्यो भनिन्छ। त्यो समय के थियो, कस्ताकस्ता गीत गाउनुभएको थियो ?
जेबी टुहुरे दाइलाई म सम्झन्छु। उहाँलाई अहिले जनवादी गायक पनि भन्ने गरिन्छ। जनवादी गीतहरू गाउँदै हिँड्नुहुन्थ्यो। म आइए पढिरहेको बेलामा उहाँहरू आउनुभयो। उहाँहरुले गाएको ‘बाबाले सोध्लान् खोई छोरा भन्लान’ गीतले मलाई पनि असर पर्याे। मेरो बुवाले मलाई स्पर्श गर्न पाउनु भएन र मैले रोएको पनि बुवाले सुन्न पाउनु भएन। त्यो हिसाबले मेरो ध्यान गरिबप्रति गयो। यो समूहमा लागेर गीत गाउनुपर्छ भनेर हामी ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ र नारी स्वतन्त्रताका गीत गाउँदै हिड्यौं। त्यो बेला पञ्चायतकाल थियो। पछि रेडियो नेपालमा मोह भएर त्यहाँ प्रवेश गरेको हो।

सानै उमेरमा बुवाको मायाबाट बञ्चित हुनुभयो। यो कुराले पनि गीतसङ्गीततर्फ आकर्षण बढाएको हुनसक्छ। भजनसँग पनि तपार्ईंको लगाव छ। त्यो गायन यात्राको समयलाई कसरी सम्झनुहुन्छ ?
बुबाको अभावले घरमा परेको पीडा मैले हरेक ठाउँमा भनेको छु। त्यो मैले सङ्गीतको माध्यमबाट प्रस्फुटन गर्न पाउँथे। त्यसैले सङ्गीत थेरापी पनि भन्ने लाग्छ। संगीत हाम्रो जीवन जिउने एउटा आधार हो। हामी मावली गएको बेलामा जहिले पनि हामीलाई शिव मन्दिरमा सन्ध्याकालीन भएपछि भजन गाउनु पथ्र्यो। त्योबाट हाम्रो गायनतर्फ बेस बन्यो। हार्मोनियम र तबलाहरु घरमै थिए। त्यो बज्दा नाच्न थालेँ। म कालिङपुङ, सिक्किम जाँदा पनि दीप श्रेष्ठ दाइ गाउनुहुन्थ्यो। म नाच्थेँ। पछि मेरो आमाले समाजको डरले नाच्न दिनुभएन। तर मैले संगीत छोड्न सकिन।

महिलालाई पहिलाको तुलनामा अहिले केही सहज भएको होला, तपाईंलाई के लाग्छ ?
पहिला भन्दा अहिले धेरै नै सहज छ। अहिले परिवारले पनि बुझ्छन्। अहिलेको बच्चालाई लिएर म्युजिक क्यासमा बाबाआमा आफै पुग्छन्। त्यसैले आफू अनुशासित भएर आफ्नो सीमा परिधिभित्र बसेर राम्रो सोच लिएर हिँडेमा सहज नै हुँदो रहेछ भन्ने बुझ्छु।

त्यो समयमा विवाह पश्चात् कसरी अगाडि बढ्नु भयो ?
मेरो घर परिवारमै एउटा माहौल थियो। मेरो ‘मा’ नै महिला सङ्गठनको सभापति हुनुहुन्थ्यो। कुरा बुझ्ने हुनुहुन्थ्यो। हजुर बुबाको कारणले पनि सहज थियो। मेरो श्रीमान् संगीत बुझ्ने हुनुहुन्थ्यो। २०४७ सालमा नारायण गोपाल दाइ बित्नु भयो। मेरो घर त्यो हाइस्कुलको नजिक छ। नारायण दाइलाई श्रद्धाञ्जली दिन १३ दिनको पुण्य तिथिमा मेरो ससुरा बुवाले गाउन बोलाउनुभयो। कसरी गीत गाउन जाने बुहारी भइसकेपर्छि भनेर अप्ठ्यारो लाग्यो। मेरो ससुरा बुवा शिक्षक हो। नारीलाई पढाउनुपर्छ भन्ने सोच भएको मान्छे भएकाले गीत निरन्तर गाएँ। उहाँले घरको काम अरूले गर्दै गर्छन्, तिमी गीत गाउन जानुपर्छ भन्नुभयो। म गएर ‘बिर्सेर फेरि मलाई नहेर’, ‘एउटा मान्छेको मायाले’ , ‘मुनामदन’लगायत दुई तीन वटा गीतहरू गाएँ। त्यो बेला विवाहपछि पनि म बन्धनमा रहेनछु भन्ने महसुस भयो। तर आफू अनुशासनमा हिँड्नुपर्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन भन्ने कुरा सम्झिएँ।

पदम कन्या क्याम्पसमा पढ्नुभयो। पढाइको संकाय र तपाईंको लगाब फरकफरक क्षेत्रमा देखिन्छ। कसरी मिलाउनुभयो ?
मैले धरानमा आइए पढेँ। मलाई सबैले रेडियो नेपालमा जाऊ भन्नुहुन्थ्यो। आफ्नो मोह पनि त्यही भएको कारणले म काठमाडौंमा आएर बीए अध्ययन गर्न थालेँ। १५ दिनमा नै क्याम्पसमा प्रतियोगिता भयो। त्यहाँ मैले गाएँ। त्यो बेला म दोस्रो भए। त्यसपछि गोपाल योञ्जन सरले मलाई हेर्नुभयो। योञ्जन सरले तिमीले सङ्गीत पढेको हो भन्नुभयो। पढेको छैन भने। गोपाल योञ्जन सरको साथ पाएपछि म यो क्षेत्रमा सक्रिय भएँ। त्यसपछि दीप दाइले मलाई रेडियो नेपालमा लानुभयो। म रेडियो नेपालको कलाकार भएँ।

केही समय बाहिर जानुभएको थियो। विदेशको यात्राले संगीत क्षेत्रमा असर गरेको हो ?
मान्छेको कता जन्म कता कर्म हुँदो रहेछ। युनिभर्सिटी सकिएपछि २०४२ सालमा मेरो विवाह भयो। श्रीमान् बाहिर काम गर्ने भएकोले त्यहाँ गएँ। त्यहाँ पनि सङ्गीतलाई सानो तिनो रेकर्ड त भयो। तर आफ्नो स्वदेश जस्तो राम्रो त भएन। म रेडियो स्टेसनमा काम गर्थेँ। समाचार पढ्थेँ। मैले देश विदेश धेरै पटक गरेँ। विदेशमा हुँदा पनि स्वदेशको धेरै माया लाग्न थाल्यो। विदेश भनेको बिरानो हुनेरहेछ। म आउँदै राष्ट्रिय गीतहरू गाउँदै एल्बमहरू निकाले, पहिला जीवको परिधिभित्र निकाले, त्यसपछि अन्तराल निकाले। मेरो जिम्मेवारीमा छोराछोरी पनि थिए। अहिले उनीहरू आफै कमाएर खान सक्छन्। तर जहाँ गए पनि साहित्य र संगीतको ट्रयाकलाई छोडिन।

अहिले गठन भएको साहित्य समाजले तपाईंको जीवनमा के फरक ल्यायो ?
एकदमै गोल्डेन लाइफ भएको छ। किनभने म ओझेलमा परिसकेको मान्छे, किरण प्रधान दाइ युकेमा हुनुहुन्थ्यो। मेरो कुरा भएको थियो, मैले दाइ यहाँ पनि साङ्गीतिक एउटा समूह बनाउनुपर्छ भनेकी थिएँ। हामी एउटा समूहबाट गयौँ भने हरेक कुरा सफल हुन्छ भन्ने हाम्रो धारणा थियो। किरण प्रधान दाइ फर्किनु भयो। म पनि विदेशबाट फर्किएँ। राष्ट्रिय नाच घरमा त्यहाँको महाप्रबन्धक अशोक प्यासी राईले पनि धेरै सहयोग गर्नुभयो। किरण दाइको धारणा हामी सबैलाई सुनाउनुभयो। हामी एकताबद्ध भयौँ। हामी जहाँजहाँ गयौँ सबैले साथ दिनुभयो। त्यसैले त्यो कार्यक्रम सफल भयो। त्यसले मलाई अगाडि बढायो। विभिन्न कार्यक्रममा सम्मानित पनि भएँ।

पहिलाका गीत जति गहन थिए अहिलेका गीतमा त्यो पाइँदैन भनिन्छ। यसमा तपाईं के भन्नु हुन्छ ?
समय परिवर्तनशील छ। जेनेरेसन ग्याप हुन्छ। हामीले जसरी समय बिताऔँ अहिलेको पुस्ताले पनि त्यसरी नै बिताउनुपर्छ भन्ने छैन। तर हामी हिन्दु धर्म र समाजको परिधि भित्र आदर्शता भित्रबाट हरेक कुरा प्रस्तुत गरौँ भन्न चाहन्छु। चाडपर्व हिन्दु धर्म परम्परा अनुसारका छन्। गीत बनाउँदा त्यही ढंगले बनाउनुपर्छ। तीज जस्तो पर्वमा फेसबुकमा विकृति देखिएको छ। यो नकारात्मक विषय हो। यसलाई हामीले त्याग्नुपर्छ।

तपाईँका सबै गीत मध्ये धेरै मन परेको वा मन छोएको गीत कुन हो ?
म ‘शृङ्गार हो नठानी देऊ पोतेका यी दानालाई’ भन्ने गीत सम्झिन्छु। हामीलाई एक पटक जीवन साथी चाहिन्छ। जिन्दगी एक्लै बाँच्न सकिँदैन। जब जीवन साथीसँग बाँधिएपछि यो चुरा पोते सिन्दुर त फेसन होइन। सुखमा खुसी भएर साथ दिने दुखमा डगमगाउने हल्लिने होइन भन्ने सन्देश दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको सङ्गीतमा मैले यो गीत गाएकी हुँ। हामीले पर्व मनाऔं तर नारी अस्मितालाई जोगाएर मनाऔँ। म यही सन्देश दिन चाहन्छु।

कस्ता सिर्जनाले आगामी दिनमा स्थान पाउलान्, अहिले भाइरलको जमाना छ ?
अब मिडियाहरूले पनि मानिसलाई दबाब दिएका छन्। पश्चिमा देशको पनि दबाब छ। एउटै हुनुपर्छ भन्ने छैन। तर हामीले चाहिँ एउटैमा अडिग भएर सङ्गीत र साहित्यलाई नछोडी लाग्नुपर्छ। शब्दमा गहकिलोपना हुनुपर्छ। हरेक शब्दले सन्देश दिन सक्यो भने त्यो नै अडिग हुन्छ होला जस्तो लाग्छ। अहिले रियालिटी सोमा नारायण गोपालको गीत सुन्छन्। मान्छेले जबजब देशमा संकट पर्याे गोपाल योन्जनको गीत सम्झिन्छन्। अहिले पनि कुनै राम्रा कुरा आएका छन्। त्यसैले अहिलेको पुस्ताले सोचेर काम गर्नुपर्छ। जुनी जुनीलाई हुने गरी संगीत क्षेत्रमा योगदान गर्नुपर्छ भन्न चाहन्छ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ०८ बजे

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज पनि आउट

काठमाडौं- नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्ध दोस्रो सफलता हासिल गरेको

राहुललाई राजीव गान्धीको अर्ती– ‘परिवारबारे अखबारमा आएका समाचार नपत्याउनू’

कुनै समय भारतमा गान्धी परिवारप्रति जनजनमा ठूलो आस्था थियो ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

तनहुँ– रुसी सेनामा भर्ती भएका यहाँका नौ युवा अझै परिवारको

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलाम – इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ मा भइरहेको