विराटनगर- विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचनको सबै तयारी पूरा भएको छ ।
अधिवेशनमा शनिबार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिए ।
उनले आइतबार बिहानदेखि मतदान भई बेलुकासम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताए । अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारीसहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ ।
भरसक सहमतिको प्रयास भइरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । मतदान भने आइतबार बिहान ११ बजेबाट हुने रानाले जानकारी दिए ।
अधिवेशनमा १३७ वटा पालिकासहित विभिन्न जनवर्गीय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ । अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया