ब्रेकिङ स्टोरी

छालाको थैलोभित्र गंगाजल

By खबरहब

October 30, 2023

एउटा माकुराले सानदार जाल बनाउने विचार गर्‍याे । उसले मनमनै सोच्यो– एउटा राम्रो जाल बनाउँछु । जालमा खुब कीरा, झिँगा फस्छन् । तिनलाई आहारा बनाएर आरामको जीवन जिउँछु । उसले कोठाको एउटा कुनामा जाल बनाउन सुरु गर्‍याे। केही समयमा आधा जाल तयार भयो । अचानक उसको नजर उसैलाई हेरेर हाँसिरहेको बिरालोमाथि पर्‍याे । ‘तिमी किन हाँस्दै छौ ?’ माकुराले सोध्दा बिरालाले उल्टै प्रतिप्रश्न गर्‍याे– ‘नहाँसेर के गरूँ ? यस्तो सफा ठाउँमा बनाएको तिम्रो जालमा फस्न को आउँछ ?’

माकुरालाई बिरालोको सल्लाह ठीक लाग्यो । उसले त्यहाँ छाडेर नजिकैको झ्यालमा जाल बनाउन थाल्यो । केही समयपछि एउटा सुगाले उसलाई उडाउँदै भन्यो– तिमी कति मूर्ख छौ हँ ? माकुराले सोध्यो– किन ? सुगाले जवाफ दियो– ‘यस्तो हावा चल्ने झ्यालमा जाल बनाएर के गर्छौ  ? हावाको झोक्कासँगै तिमी र तिम्रो जाल कता पुग्ने हो, पत्तो छैन ।’ 

माकुरालाई सुगाको तर्क उचित लाग्यो । उसले तत्काल जाल बनाउने काम अधुरै छाडेर यताउता हेर्‍याे । नजिकै एउटा खुला दराज देख्यो । उसले त्यहीँ आफ्नो जाल बुन्न थाल्यो । थोरै जाल बुन्नासाथ उसले आफैँलाई हेरिरहेको एउटा साङ्ला देख्यो । साङ्ला पनि के कम अर्ती दिँदै भन्यो– ‘केही दिनमा दराज बेचिदिन्छन्, त्यसैले बेकारमा जाल बनाउनुको के अर्थ ? यसबाट तिम्रो मेहनत त्यत्तिकै खेर जान्छ । दायाँबायाँ नसोची उसले जाल बनाउने योजना स्थगित गर्‍याे।

त्यही समय एउटा कमिलो नजिकै आएर भन्यो– तिमीले पटकपटक आफ्नो काम सुरु गरेर अर्काको भनाइमा विश्वास गरी बीचमै अधुरो छाड्दै आएका छौ । जसले अर्काको भनाइमा विश्वास गरेर बीचमै आफ्नो काम अधुरो छाड्छ, उसको यस्तै हालत हुन्छ । कमिलाको भनाइ सुनेर माकुरालाई आफ्नो गल्तीको महसूस त भयो तर, बारम्बारको प्रयासले ऊ थाकिसकेको थियो । जाल बुन्ने शक्ति बाँकी थिएन । कमसेकम एउटा जाल पूरा गरेको भए आरामले बस्न त सक्थ्यो । तर, अब पछुताउनुको विकल्प थिएन ।

राम्रो विचारले कालान्तरमा राम्रै कर्मको जन्म दिन्छ । त्यागको दम्भ धनको अभिमानभन्दा बढी खतरनाक हुन्छ । गौतम बुद्ध मूर्ति पूजाका विरोधी थिए । तर कालान्तरमा विश्वभर लाखौँ उनैका मूर्ति बनाइए । भगवान खोज्न हिँडेकाहरू आफैँ भगवान भए तर उनीहरूले  भगवान भेटेनन् ।

मानिस र जनावरमा के फरक छ ? जनावर त्यही खान्छ प्रकृतिले उसका लागि जे बनाइदिएको छ । तर मानिस त्यो पनि खान्छ, जुन प्रकृतिले उसका लागि नबनाएको होस् । कन्जुसलाई दानी मन पर्दैन । लोभीलाई माग्नेसँग घृणा हुन्छ । रुपवानलाई प्रौढता रुचि हुँदैन । गरिबलाई धनी मन पर्दैन । जसको मन शोकबाट ब्याकुल छ, उसलाई केही मन पर्दैन । ज्ञानीहरूले क्रोध खुर्सानी, अहंकार तेल, लोभ मिठाई, स्वार्थ घिउ र धोकालाई पापडसँग तुलना गरेका छन् ।

उच्च आसनमा बस्दैमा मानिस महान् हुँदैन । उ महान् त गुणबाट हुन्छ । विज्ञान राम्रो सडक, पुल बनाउन सक्छ । राम्रो रकेट, कम्प्युटर बनाउन सक्छ । तर मान्छे बनाउन सक्दैन । विज्ञानले नैतिकता, प्रेम, सद्भाव र सहानुभूति प्रदान गर्न सक्दैन ।

नीति भन्छ– ‘अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूलाठूला यज्ञ गर्नाले त्यति धर्म हुँदैन, जति न्यायोपार्जित थोरै भएपनि श्रद्धापूर्वक दान दिनाले हुन्छ । न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्व थाहा पाउने व्यक्तिले तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ ।’

शिक्षाको सुरुवात किताब होइन, कोक्रोबाट हुनुपर्छ । ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन् । शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान । ज्ञानले बाँच्ने कला सिकाउँछ । परिवारबाट पाइने असल दीक्षा त झन् त्यो क्रेडिट कार्ड हो, जसले सत्कर्मका लागि सधैँ दियोमा तेल थप्ने काम गरिरहन्छ । बुबाले देखाएको बाटो र आमाले दिएको ज्ञान कहिल्यै गलत हुँदैन । त्यसैले त भनिएको हो– ‘आमाले रिसमा दिएको श्राप र शत्रुले मायामा दिएको आशीर्वचन कहिल्यै लाग्दैन किनकी त्यो सत्य मनले दिएको हुँदैन ।’

उत्तम मानिस आफ्नै, मध्यम मानिस बाउ, नीच मानिस मामा र सबैभन्दा अधम मानिस ससुराको नामबाट चिनिन चाहन्छ । जतिसुकै प्रयास गरेपनि बलशाली कमजोर बनाएर कुनै कमजोरलाई शक्तिशाली बनाउन सकिन्न । दोस्रोको निन्दा गरेर आफ्नो इज्जत बढ्दैन । न त परिश्रम गर्नेलाई आरामको पाठ पढाएर खुसीको सञ्चार गराउन सकिन्छ ।

समग्रमा जीवन असन्तोष हो, जोसँग जे छ त्यसले हुँदैन, पुग्दैन । जे हुँदैन त्यो चाहिन्छ । नभई हुँदैन । जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो । सन्तोष पनि त्यही हो । मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो । डाहा गरेर हुन्छ र ? रक्सी बेच्ने सानसाथ गद्दीमा बस्छ तर दूध बेच्ने गल्लीगल्ली चहार्नुपर्छ ।

एउटा अमेरिकी र एउटा जापानी जुत्ताका एजेन्ट एउटै जहाज चढेर अफ्रिका गएछन् । जहाजबाट उनीहरूसँगै उत्रिए । एउटै होटलमा बसे । अमेरिकी कम्पनीका एजेन्टले आफ्नो कम्पनीमा फोन गरेर भन्यो– ‘यहाँ सबै नाङ्गो हिँड्दा रहेछन् । कसैको ल्याकत रहेनछ जुत्ता किन्ने । व्यावसायिक भविष्य नभएकाले म फिर्ता आउँदैछु ।’ यति भन्दै ऊ तत्काल घर फर्कियो । तर जापानी कम्पनीको एजेन्टले भने जुत्ता व्यापारको शतप्रतिशत लक्षण देखेर एक लाख जोर जुत्ता तत्काल अर्डर गर्‍याे।

हेर्नुस् त एउटाले बजार पायो, एउटाले गुमायो । जो मानिस स्वर्ग जाने नाममा हुटहुटिएको हुन्छ, उसैले पृथ्वीलाई बिगारेको हो । हिँड्ने गोरुकै पुच्छर निमोठिन्छ । लच्केको हाँगालाई थप लच्काउँछ मान्छे । जङ्गलमा सुरिलो र सीधा रूख नै काटिन्छ । अरु त अरु तपाईँका इन्द्रिय नै स्वार्थी छन् । अन्धकार भएपछि आँखैले धोका दिन्छ, देखिँदैन । दिन ढलेपछि छायाँले छोड्छ । जीवन एउटा वाक्य, जवानी डिक, बुढ्यौली कमा, अनि मृत्यु फुलस्टप हो ।

झूटले सत्यलाई दुःख दिन त सक्छ तर परास्त गर्न सक्दैन । केराको पातजस्तो सपाट जीवन कसैको हुन्न । प्रकृतिको अघोषित नियम हो, हाँसेर गरेको पापको सजाय रोएर भोग्नुपर्छ । जसरी हातले बाँधेको गाँठो दाँतले टोकेर फुकाउनुपर्छ । जो मानिस आफ्नो अवगुण र अरुको गुण देख्छ, उ महान हुन्छ ।

दुःख बटुलेर सुख खोज्नेहरू समयको बाली टिप्न नजान्ने बज्रस्वाँठहरु हुन् । यिनीहरु नाङ्लोबाट भुस छिन्किएजस्तै पाखा लाग्ने पक्का छ । कसलाई थाहा छैन– पोहोर यसपटक जस्तो थिएन । रोपेजति बिरुवा हुर्किने, फुलेजति फल झुण्डिदिने, झुण्डिएजति फल पाकिदिने भए संसारको तस्वीर पक्कै यस्तो हुने थिएन । नीति भन्छ– जो जान्दैन र जान्दिन भन्ने पनि जान्दैन, उ मूर्ख हो उसलाई छुट्याउ, जो जान्दछ तर जान्दछु भन्ने जान्दैन, उ सुषुप्त हो, उसलाई ब्युँझाउ । जो जान्दैन तर जान्दिन भन्ने जान्दछ, उ साधारण हो उसलाई सिकाउ र जो जान्दछ र जान्दछु भन्ने पनि जान्दछ, उ विद्वान हो उसलाई पछ्याउ ।

आजको मानिस चित्रको पूजा धेरै र चरित्रको कम गर्दछ । मानिसले चित्रका नभएर चरित्रको पूजा गर्नुपर्छ । जुन दिन तपाईं चरित्र र चित्रको भेद खुट्याउन सफल हुनुहुनेछ, मान्नुस् तपाईं आत्मज्ञानी हुनुभयो । अध्यात्म शास्त्रमा हैन भावमा हुन्छ । लाटोलाई पनि चिनीको स्वाद थाहा हुन्छ । नीति नियम, शिक्षा समाजको पिछडिएको व्यक्तिलाई लक्षित गरिन्छ । कक्षाको सबैभन्दा नजान्नेलाई लक्षित गरी पढाइएको शिक्षा सार्थक हुन्छ । कक्षाको उत्कृष्ट छात्रलाई लक्षित गरिएको शिक्षाको निशाना सबैभन्दा पहिला शिक्षक नै हुन्छन् ।

जिन्दगी लिकको रेल र सडकमा गुडेको गाडीजस्तो गुड्दैन । जसरी खोलाको पानीका लागि बाटो खनिएको हुँदैन, त्यसरी नै जिन्दगीको बाटो पनि अनिश्चित हुन्छ । अझ मान्छे मन त सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबाइदियो, त्यसमा त्यही रंग चढ्छ ।

मानिस र जनावरमा के फरक छ ? जनावर त्यही खान्छ, जुन प्रकृतिले उसका लागि बनाइदिएको छ । तर मानिस त्यो पनि खान्छ जुन उसका लागि प्रकृतिले बनाएको हुँदैन । मानिसले पन्छी जसरी आरामले उड्न सिक्यो । माछासरह पानीमा पौडन जान्यो । तर मान्छे जसरी पृथ्वीमा रहन भने अझै जानेन । जन्म मृत्यु दुवै केही होइन । बस कसैलाई आँखा खुल्यो त कसैलाई निद्रा लाग्यो । धर्म कुनै बोलिने या देखिने बस्तु होइन । यो त जिउने कला हो । ईश्वर र मान्छेबीचको दूरी प्रार्थनाको पुल बनाएर जोड्न सकिन्छ । संसारमा यस्तो ठाउँ छैन, जहाँ मानिसको कर्म अनुकूलको फल नमिलेको होस् । वैराग्य बिना समाधि र समाधि बिना आत्मज्ञान सम्भव छैन ।

जिन्दगी झर्ना जस्तै हो, अरुले हेर्दा सुन्दर देख्छन् तर ढुंगामा बजारिनुको पीडा आफैँलाई मात्र थाहा हुन्छ । मानिसले हाँस्न सिक्नुपर्छ, रुवाउन परिस्थिति हाजिर छ । यदि जिन्दगीमा केही पाउनु छ भने तरिका परिवर्तन गर्नुपर्छ, गन्तव्य होइन । प्रयास गर्दागर्दै असफल हुनु र असफलताको डरले प्रयास नै नगर्नुमा धेरै अन्तर छ । नत्र जीवनका सबै प्राप्ति छालाको थैलोभित्र सङ्ग्रहित गंगाजल जस्तो न खानयोग्य हुन्छ, न चढाउन ।