बराहपोखरीमा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

बराहपोखरीमा निःशुल्क स्वास्थ्य शिविर


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दिक्तेल- खोटाङको दुर्गम गाउँ बराहपोखरीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासीले लाभ लिएका छन् ।

जिल्ला सदरमुकाम दिक्तेल बजारबाट दक्षिण भेगमा पर्ने यस क्षेत्रमा पुग्न दिक्तेलबाट सवारी साधनमा करिब ८ घण्टा लाग्दछ । यहाँका मानिस बिरामी भएर उपचार गर्नुपरेमा अझै पनि उदयपुरको गाईघाट, मोरङको विराटनगर वा काठमाडौंमै धाउने गर्दछन् ।

बराहपोखरीबाट दिक्तेलभन्दा गाईघाट नजिक पर्छ । तर, कच्ची बाटो भएको र कोशी नदी तर्न झोलुङ्गे पुलमात्रै भएकाले उदयपुर तरेपछि अर्को गाडी चढ्नुर्छ ।

पूर्वाधार र सामाजिक विकासका दृष्टिले पछाडि परेको यस दुर्गम गाउँ बराहपोखरीका–१ मा जगतलाल गिरी प्रतिष्ठानले मङ्सिर १४ र १५ गतेका लागि सञ्चालन गरेको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन करिब एक हजार २ सय जनाले सेवा लिएका छन् ।

शिविर सञ्चालनका लागि काठमाडौंबाट वरिष्ठ चिकित्सकसहित करिब ४० स्वास्थ्यकर्मीको टोली बुधबार राति बराहपोखरी आइपुगेको थियो । स्थानीय शङ्खेश्वरी माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा मुटुरोगतर्फ जन्मजात समस्या, मुटुको बाथरोग र शल्यक्रिया गरी औषधि सेवा गरिरहेका गरी करिब चार सयले जाँच गरेका थिए भने अन्य रोगतर्फ करिब आठ सयले परीक्षण गराएका छन् । अन्यतर्फ सामान्य रोग, स्त्रीरोग, चर्मरोग, दाँत, पेट र बालरोगका परीक्षण तथा गरिएको थियो । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

वरिष्ठ अर्बुद रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल, सहिद गङ्गालाल हृदय रोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा रवि मल्ल, वरिष्ठ दन्त चिकित्सक अजय साहको नेतृत्व र सुपरीवेक्षणमा स्वास्थ्य जाँच गरिएको थियो । पैतीस वर्षदेखि प्यारालाइसिस भोगिरहेका र मुटुको समस्या भएका स्थानीयवासी सन्तोष तामाङले आफू मुटु जाँचका लागि टाढासम्म जान नसकिरहेका बेला शिविरबाट प्रत्यक्ष सुविधा पाएको अनुभव सुनाए ।

शिविरमा चार पाँच घण्टासम्मको पैदलयात्रा गरेर पनि मानिस आएका थिए । वरिष्ठ अर्बुदरोग विशेषज्ञ डा बरालले दुर्गम क्षेत्रसमेत गरी आफूहरूले हालसम्म सयभन्दा बढी स्थानमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सेवा र सचेतना दिएको जानकारी दिए ।

बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जाराले कुनै बेला यस गाउँमा सिटामोलसमेत नपाइने अवस्थाबाट अहिले स्वास्थ्यचौकी र बर्थिङ सेन्टर सञ्चालन हुनुले स्थिति सुधारोन्मुख रहेको बताउँदै शिविरको सञ्चालनबाट निकै राहत मिलेको जनाए । उनले गाउँपालिकामा पाँच शय्याको अस्पताल निर्माणका लागि जग्गा पहिचान भइसकेको र नेपाल सरकारबाट यस वर्ष रु २० लाख बजेट बिनियोजन भएकाले अब काम अगाडि बढ्ने बताए ।

दिवङ्गत जगतलाल बराहपोखरीमै जन्मिएकाले उनको स्मृतिमा स्थापित संस्थाले दुर्गम स्थानमा स्वास्थ शिविर सञ्चालन गरिएको प्रतिष्ठानका कोषाध्यक्ष एवं जगतलालका छोरा सुवोध गिरीले जानकारी दिए । प्रतिष्ठानका सदस्य सचिव अञ्जय गिरीले सीमित स्रोतसाधनका बीच विभिन्न संस्था र स्थानीय तहको सहयोगमा आफूहरूले शिविर सञ्चालन गरेको तथा जटिल रोग भई थप उपचार र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौँ वा अन्य स्थानमा लगेर पनि निःशुल्क सेवा दिने योजना रहेको बताए ।

बराहपोखरी –१ वडाध्यक्ष ढकबहादुर कार्कीले आफूहरूको दुर्गम गाउँमा वरिष्ठ चिकित्सकसहितको टोलीबाट स्वास्थ्य जाँच हुनुले स्थानीयवासीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पुगेको बताए । शिविरको सञ्चालनमा पूर्वप्रहरी नायब महानिरीक्षक उत्तम कार्की, स्थानीय युवा र विद्यार्थीले स्वयंसेवक भइ सघाएका थिए ।

धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि भौगोलिक विकटताका कारण यस गाउँपालिकामा पूर्वाधार र सामाजिक विकासले गति लिन नसकेको देखिन्छ । यस गाउँमा गत वर्षमात्रै बिजुली बत्ती बल्न थालेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : ५७ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७