सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला « Khabarhub

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौलीवैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय भेला भएर किराती पुर्खा-धामीले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बुढाबुढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उधौली साकेलाको रौनक बढ्दै गएको छ । किरात राई समुदाय मात्र नभई यतिबेला गैरकिरात पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताए  । 

‘पछिल्लो समय उधौली साकेला नाच सबै समुदायको पर्वका रुपमा स्थापित हुँदै गएको छ, यसमा किरात राईहरू मात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन्’, कार्यवाहक अध्यक्ष राईले भने । पछिल्लो पुस्तामा आएर सबै गैरकिरातका लागि भातृत्व झल्काउने उत्सवका रूपमा पनि साकेलालाई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्दै गएको उनको भनाइ छ । 

वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन छ । उधौलीउभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । 

छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवती सहभागी भएर साकेला सिली नाच्ने प्रचलन रहँदै आएको जानकारको भनाइ छ । 

उधौली पर्व किरातको संस्कृतिलाई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजङ्ग राईको धारणा छ । उनका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खा र जङ्गली पशुपंक्षी लेकदेखि बेंसीतिर झर्ने समय भएको संकेत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ । 

ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै