सडक दुर्घटनामा परी २८१ जनाको मृत्यु « Khabarhub

सडक दुर्घटनामा परी २८१ जनाको मृत्यु


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ ।  चालु आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाको आव २०७९-८० को अर्धवार्षिक घटना प्रतिवेदनले यो तथ्यांक देखाएको हो ।

गत साउन–१ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन् । यी घटनामा चार हजार तीन सय ७१  घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताए। बारामा मात्रै सडक दुर्घटनाका घटनामा छ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ ।

 पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३-३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप  र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रदेशभित्र आव २०७६-७७ मा एक हजार तीन सय ४०, २०७७-७८ मा तीन हजार नौ सय ८३ र  २०७८-७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्यांक छ ।

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार आठ ६७, छ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ । 

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारीले बताए । यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

‘छ महिनामै एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधनलाई कारबाही गरेका छौँ, यसबाट १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको छ’, प्रनाउ भण्डारीले भने, ‘विगत वर्षभन्दा जारी आवको छ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अर्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ ।’ कारबाहीमा पर्ने सवारी साधन पनि बढेका बढ्यै छन् ।  

आव २०७६-७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७-७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८-७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए । ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व संकलन गरिएको विगत तथ्यांक छ । दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ३ : ५७ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा