सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोच बनाएको छु : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोच बनाएको छु : प्रधानमन्त्री प्रचण्ड


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताएका छन् ।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबार बाहिर वा निवासबाट शासन चलाउने काम भएको तीतो अनुभूति तपाईं हामी सबैसँग छ । यसपटक हामीले उक्त गल्ती दोहोर्‍याउनु हुँदैन । विशेष परिस्थितिमा बाहेक सिंहदरबारबाटै काम गर्ने सोचेको छु ।”

“यसपटक सिंहदरबारबाटै शासनको नेतृत्व गर्ने सोचेको छु, यसको विशेष अर्थ छ”, प्रधानमन्त्रीले भने, “प्रधानमन्त्रीले सिंहदरबारबाट काम गर्नु भनेको राज्यका सबै अङ्गहरूको एकीकृत परिचालनको नेतृत्व गर्नु हो । राज्यका सबै अङ्गलाई जवाफदेही र उत्तरदायी बनाउनु पनि हो, दण्ड र पुरस्कारको व्यवस्थित प्रणाली स्थापित गर्नु हो ।”

बैठकमा प्रधानमन्त्रीले भने, ‘‘तपाईंहरूले आफ्नो कुरा निर्धक्क साथ राख्न सक्नुहुन्छ । म नयाँ अठोटका साथ काम गर्न आएको छु । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षा पूरा गर्ने अठोटका साथ आएको छु । सदनमा मलाई प्राप्त विश्वासको मत पनि त्यही जिम्मेवारीका साथ आएको छ । त्यसलाई मैले गम्भीररूपमा लिएको छु ।”

राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने उनको भनाइ थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारीरूपमा लागू गरिने बताए । उनले भने, “मेरो प्रधानमन्त्रीत्व कालमा कार्यालयअन्तर्गत रहनुभएका कर्मचारीहरूको ऊर्जा र सम्मानलाई जोड दिनेछु । तपाईंहरूले आफ्नो भूमिका गम्भीरपूर्वक खेल्नुस् । मैले पनि अभिभावकीय भूमिका खेल्छु । तपाईंहरूले सक्रियतापूर्वक भूमिका खेलेमा राम्रो परिणाम आउँछ । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ । तपाईंहरू सबै पुरस्कृत हुन प्रतिस्पर्धा गर्नुस् ।’’

निर्णय प्रक्रियामा सरलीकरण गरी छिटो छरितो कार्यसम्पादन गर्न निर्देशित गर्न प्रधानमन्त्री दाहालले अनुरोध गरे । उनले भने, ‘‘मैले सचिवहरूलाई दिएको निर्देशनमा धेरै कुरा भनिसकेको छु । त्यसलाई तपाईंहरूले गम्भीरतापूर्वक लिनुभएको होला भन्ने विश्वास लिएको छु । मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तसर्थ, हिजो बनेको कार्ययोजनामाथि सामूहिक छलफल गर्नुछ । अब मन्त्री र सचिवहरूसमेत राखेर फेरि छलफल गर्नुपर्ने आवश्यकता महसुश भएको छ । दुई/तीन दिन राम्रोसँग छलफल गरेर काममा गति दिने सोचेका छौँ ।”

“सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम यही हलमा घोषणा गरेका थियौँ । संसद्मा विश्वासको मत लिँदा राखेका विषय, सचिवहरूलाई दिएको निर्देशन र नीतिगत प्राथमिकतासमेत राखेर कार्ययोजना बनाउन आवश्यक छ”, प्रधानमन्त्रीले भने, “तपाईंहरूको रिपोर्ट मैले सुनेँ । यसले सरकारी संयन्त्रको स्थिति बुझ्न राम्रो सहयोग पुगेको छ । राष्ट्रिय गौरवका आयोजनाको निरन्तर अनुगमन आवश्यक छ । सेवा प्रवाहको क्षेत्रमा परिणाम देखिन आवश्यक छ ।”

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ५० बजे

एमसीसी : रातमाटे सबस्टेसन निर्माणको ठेक्का सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज

बागलुङमा दुई वर्षमा ४१ झोलुङ्गे पुल

बागलुङ– बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुङ्गे पुल निर्माण

बारबर्दियाका विद्यालयमा थारू भाषाका पाठ्यक्रम

बर्दिया– बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने

गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– बेनी नगरपालिका–९ गलेश्वरमा नदी नियन्त्रण योजना निर्माण भएको छ

शरीर मलेसिया र आत्मा नेपाली भएको आख्यान ‘निरजोया’

हङकङ्गे नेपाली साहित्यकार दाजु गुरुङको तेस्रो कृति हो-निरजोया। यसअघि दाजुकृत