पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शपथ लिँदा यस अघिको भन्दा फरक ढंगले आफूले काम गरेर देखाउने प्रतिज्ञा गरेका थिए। तर अहिले त्यो अनुरूप हुन सकेको छैन। मिटरब्याजबाट पीडित महोत्तरी बर्दिबास हुँदै राजधानीमा १२-१३ दिन लगाएर पैदलै आइपुगेका छन्। पीडितको सुनुवाइ अझैँ हुन सकेको छैन। उनीहरूले खुलामञ्चको बास माग्दासमेत सडकमा नै रात बिताउनुपरेको छ। यस विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डा. डम्बर खतिवडासँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश:
नेपालमा राजनीतिक अस्थिरता खासमा के कारणले भइरहेको छ ?
नेपालमा राजनीतिक स्थिरता आजको मात्र कुरा होइन। यो समस्या लामो समयदेखि सामना गर्दै आएको हो। पहिलो जनआन्दोलन २०६२/२०६३ यता नेपालमा राजनीतिक स्थिरता देखिँदैन। स्थिरताका रूपमा हामीले कुनै निरंकुशता, तानाशाही, व्यक्तिको शासन, कुनै दलको संवैधानिक प्रक्रिया भन्दा बाहिरको लामो शासनको कल्पना पनि गरेको होइन। संसदीय प्रणाली अपनाएपछि त्यसको पालना गर्नसक्नु अति आवश्यक रहेको छ। अहिले हामी कमजोर स्थितिमा छौं। यो समयमा राजनीतिक अस्थिरता बढी नै देखिन्छ।
सरकार बन्दा नबन्दै भागबन्डा लगाइन्छ। यो कतिको उचित हो ?
यो अनैतिक राजनीति हो। नेताहरूको चर्चा के गर्ने होला ? समाजलाई सही रूपमा अगाडि बढाउन प्रेरणा दिन सक्ने कुनै कारण नै नरहेको अवस्था छ। नेताको कारण पनि समाजमा समस्या सिर्जना भइराखेको छ। पदका लागि मात्र नेताले लडाइँ गर्दा राजनीति विकासको बाटोमा अगाडि बढ्न सकेको छैन।
पदका लागि मात्र किन राजनीति भएको छ ? किन प्रधानमन्त्रीका लागि लडाइँ मात्र हुन्छ ?
नागरिकका निम्ति समर्पित राजनीति नहुँदा यो समस्या भएको देखिन्छ। पदका लागि लडाइँ गर्ने तर जनता र देशको राजनीतिक मूल्य नबुझ्ने नेता भएकै कारणले देशको विकास हुन सकेको छैन। संसारका अधिकांश नेताको नाम लिने हो भने पदको लागि कसैले पनि मरिहत्ते गरेको देखिँदैन। कतिपयले पद छोडेको कारण चर्चाका लागि सान्दर्भिक रहेका छन्। पद लिनु पनि नराम्रो भने होइन। नेपालमा भने पदको लोभको कारण काम गर्ने नाममा जनतालाई लोभ्याउने र पद पाएपछि त्यसको पालना गर्न नसक्ने अवस्था आएको छ। एक गठबन्धनमा भएको राष्ट्रपति त्यो गठबन्धन भत्किएपछि राजीनामा गरेर मात्र अर्को प्रधानमन्त्रीमा आउन मिल्ने रहेको हुन्छ। नागरिकले आफ्नो सार्वभौम सत्तालाई पनि कतिपय अवस्थामा अपमान गरेको अवस्था रहेको छ। नागरिकमा जनचेतनाको अति आवश्यक रहेको छ। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको कमी भएको छ।
यो सरकार आलोचना खेप्नु पर्ने अवस्था तिर किन उन्मुख भएको छ ?
सरकारमा बसेका नेता आफूलाई कुनै विशेष अधिकार भएको ठान्नु हुन्छ। नागरिकले जिताएर नेता बनाएको कुरा नेताले बिर्सनु हुँदैन। उहाँहरूले गरेका अपराध वा कर्मलाई तुलना गर्दा सबै कुरा प्रष्ट नै भएको भान हुन्छ। उहाँहरू ससम्मान प्रधानमन्त्री हुनुपर्ने होइन कारबाहीको भागिदार हुनुपर्ने हो। तर यो देशमा कानुन सानालाई मात्र लाग्छ।
प्रहरी प्रशासनको गरिमा र सुरक्षा दिने निकाय कस्तो छ ?
यो कार्यले प्रहरी प्रशासनको गरिमालाई कमजोर बनाएको छ। हाम्रो देशको अन्तर्राष्ट्रिय छविमा ठूलो घाटा पुगेको छ। यो घटनाको लागि प्रहरी हेडक्वाटरले एउटा विज्ञप्ति निकालेर माफी माग्नु पर्ने हो।
सरकारले गरेको कारबाही चित्त बुझ्दो छैन। अहिलेको सरकारको जड के मा अडिएको छ ?
यो बिन्दुमा एमाले र राप्रपालाई गाली गर्नुपर्ने तथा नकारात्मक पक्षमा धारण राख्नुपर्ने म देख्दिन। सत्ता गठबन्धनको लागि कांग्रेसको छवि नेपालको इतिहासमा धमिलिएर गएको छ। कांग्रेसीहरुले धेरै नकारात्मक दाउपेच खेलेका छन्। त्यसमा सबै आफै गर्ने चाहने तर आफू पदमा आएपछि पहिलेका सबै कुरा बिर्सेर गुपचुप भएर रहने गरेको छ। अन्तर्राष्ट्रिय शक्तिलाई मात्र दोष लगाएर हुँदैन। हाम्रो देशको समस्यामा सुधार गर्न सक्नुपर्छ।
देशमा आर्थिक अवस्था नाजुक तथा सबै पक्ष बिग्रिनमा के कस्तो खेल भएको हो ?
अहिलेको अर्थतन्त्र बिग्रिनुमा विश्व अर्थतन्त्रको भूमिका, स्थानीय नीति हिनताको पनि भूमिका रहेको छ। युक्रेन युद्धपछि विश्व परिस्थिति तीव्र ढङ्गले बदलिएको छ। तेल ऊर्जा, खाद्यवस्तु र औषधिको मत्वपूर्ण पक्ष हो। निर्यातको दृष्टिकोणले हामी सबै पक्षमा पछि परेका छौं। जस कारण पनि नेपालमा किनेर खाने क्षमतामा कमी भएको अवस्था छ। यो एउटा ठूलो संकट हो। किस्ता र ब्याज तिर्ने नसक्ने अवस्था सिर्जन भइरहँदा देशलाई जोगाउन सहज छैन। त्यसलाई सही मार्गमा उठाउन धेरै समय लाग्छ।
मन्त्री आउँदा काम भरिभराउ हुने तर मन्त्री नहुँदा काम नै नहुने किन हुन्छ ?
मन्त्री हुनु र नहुनुमा मन्त्रालयमा फरक पर्छ। प्रशासनिक प्रणालीमा कुनै चिजलाई निर्णयमा लानका लागि निर्देशन दिने, समन्वय गर्ने, अनुगमन गर्ने त्यो सबै काम मन्त्रीको हो। जस कारण मन्त्री हुन अति आवश्यक रहन्छ। नीतिगत निर्णयको अनुगमन गर्नुपर्छ।
यो देशलाई सुधार उन्मुखतिर लानको लागि कस्तो व्यक्ति मन्त्री हुनुपर्छ ?
अहिलेसम्म २-३ वटा अर्थमन्त्री बाहेक अरु अर्थमन्त्री हुन योग्य मान्छे आएका छैनन्। म नेपालको अर्थ जगतमा तीन जना अर्थमन्त्रीहरुलाई उपयुक्त मान्छु। भरतमोहन अधिकारी, डा. बाबुराम भट्टराई र डा. रामशरण महत। नेपालमा तीन वटा बाहेक उल्लेखनीय व्यक्ति आएको म पाउँदिन।
मिटरब्याजी पीडा लिएर पैदल हिँडेर काठमाडौँ आएर पनि माग सम्बोधन हुन सकेको छैन राज्यले किन केही नगरेको ?
हाम्रो देशको कानुनमा मिटरब्याजी भनेको वित्तीय अपराध हो। सामान्य लेनदेनमा गाउँघरमा तमसुक गरेर ऋण सापटी लिने गर्छौ। मुलुक ऐन अनुसार १० प्रतिशत भन्दा बढी ब्याज तिरेर ऋण लिन दिन नपाउने रहेको छ। वित्तीय संस्थाको एक पाटो हो। त्यसमा पनि बढी लेनदेन नपाउने रहेको हो। वित्तीय उपकरण रहेका छन्। मिटरब्याज भनेको सरकारले तोकेको ब्याज भन्दा बढी लिनु हो। राज्य नालायक भएको अवस्थाका कारण जनता पैदल हिँडेर राजधानी आउनुपर्ने कारण भएको हो। कानुन संविधानले त्यो प्रवृत्तिका व्यक्तिलाई समाएर जेल चलान गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अपराधीलाई केही गर्न नसक्नु गैर जिम्मेवार कार्य हो। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया