सरकार विस्तारपछि इतिहासमा गौरव गर्न सकिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

सरकार विस्तारपछि इतिहासमा गौरव गर्न सकिने काम गर्छु : प्रधानमन्त्री प्रचण्ड


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यस पटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दै छु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।’

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे । जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमानदार भएर कर्तव्य पथमा अगाडि बढ्नसमेत आग्रह गरे ।

कर्मचारीको ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । कर्मचारीतन्त्रमा रहेको बेथिति र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरे ।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे । उनले भने, ‘समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ । नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन । स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन । लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो ।’

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रूप दिइएको जानकारी दिए । उनले तयार भएको विधेयकलाई सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पठाइएको बताए ।

उनले आफू सामान्य प्रशासनमन्त्री भएर आएपछि कोही कसैलाई पनि काखा र पाखा नगरेको, बरण्डामा भएका कर्मचारीको व्यवस्थापन गरिएको उल्लेख गरे । तल्ला तहका कर्मचारीले ट्रेड युनियन गतिविधि गर्न पाए पनि उपसचिव र सहसचिवले भने राजनीति गर्न नमिल्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जनताका पक्षमा इमानदार भएर काम गर्न कर्मचारी प्रशासनलाई आग्रह गरीन् । उनले कर्मचारीले प्रभावकारी काम गर्दा सरकारको समेत साख रहने भन्दै पार्टी सधैँ कर्मचारीका पक्षमा रहेको बताइन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : १८ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल