चिनियाँ प्रोपोगाण्डा: कहाँ छन् बेपत्ता पारिएका पूर्व विदेशमन्त्री ? | Khabarhub Khabarhub

चिनियाँ प्रोपोगाण्डा: कहाँ छन् बेपत्ता पारिएका पूर्व विदेशमन्त्री ?

चर्चामा छिन काङ र पत्रकारको प्रेम कहानी !


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

करिब एक महिना सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ विदेशमन्त्री छिन काङ व्यक्तिगत अनुशासन सम्बन्धी अनुसन्धानका लागि सैन्य हिरासतमा रहेको आशंका कै बीचमा उनलाई बर्खास्त गरेर चीन सरकारले नयाँ विदेशमन्त्री तोकेको छ। काङलाई बर्खास्त गरी पुनः वाङ यीलाई विदेशमन्त्री बनाइए पनि काङको अवस्था बारे उठेको प्रश्न निरुपण भएको छैन।

किनकी चीनको विदेशमन्त्री बनेको सात महिनायता काङ दुई वटा सार्वजनिक कार्यक्रममा मात्र देखा परेका थिए। त्यसपछि बेपत्ता भएका उनलाई कहाँ कुन अवस्थामा राखिएको छ भन्ने औपचारिक सूचना सार्वजनिक नगरी विदेशमन्त्रीबाट बर्खास्त गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।

काङ २५ जुनयता सार्वजनिक स्थलमा देखिन छाडेपछि निरन्तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले आशंका गरिरहेका थिए। उनी बिरामी परेको जवाफ दिइएको थियो। अड्कलबाजी कै बीचमा, उनलाई बर्खास्त गरिएको समाचार सार्वजनिक भएपछि अमेरिका तथा पश्चिमा मुलुकका सञ्चारमाध्यमले उनको स्थितिबारे थप चासो र चिन्ता व्यक्त गर्न थालेका छन्। किनकी काङ अनुभवी कूटनीतिज्ञ मानिन्छन्। उनी यसअघि अमेरिकमा राजदूत बनेर फर्किए लगत्तै चीनको विदेशमन्त्री बनेका थिए। अमेरिकामा चिनियाँ राजदूतको रूपमा काम गरेका काङको एक पत्रकारसँग प्रेम सम्बन्ध रहेको समाचार बाहिरिए लगत्तै उनी अफ्रिकी मुलुकको भ्रमणबाट फर्केपछि सार्वजनिक मञ्चमा देखिन छाडेका थिए। काङलाई बर्खास्त गरेर पुनः वाङ यीलाई चीनको विदेशमन्त्री बनाइएको छ।

चीनका विदेशमन्त्री छिन काङ तीन हप्तायता सार्वजनिकस्थलमा देखा परेका छैनन्। उनलाई सार्वजनिकस्थलमा नदेखेपछि विभिन्न अड्कलबाजी हुन थालेका छन्। ५७ वर्षे विदेशमन्त्री काङ गत जुन २५ यता अर्थात् ३५ दिनदेखि बेपत्ता छन्। श्रीलंका, भियतनाम र रुसका प्रतिनिधिसँग छलफल गरे लगत्तै अमेरिकी वरिष्ठ अधिकारी जनेट यलन र जोन केरी चीन भ्रमणमा पुग्दा छिन काङ एकाएक गायब भए। त्यसपछि बेइजिङले उनी कता गए भन्ने प्रश्न सामना गरिरहेको छ। उनले विदेशमन्त्रीका रुपमा २०७ दिन मात्र जिम्मेवारी सम्हाले तर ३५ दिन त उनी बेपत्ता रहे।

यसअघि जिम्मेवारी मै रहेको बेला, चिनियाँ जासुसी बेलुनको सन्दर्भमा चीनको आलोचना हुँदा उनले अमेरिकाको कठोर रूपमा विरोध जनाएका थिए। एजेन्सीका अनुसार, गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले चीन भ्रमण गर्दा उनले ब्लिंकेनसँग सम्बन्ध सुधार गर्नेबारे छलफल पनि गरेका थिए।

त्यसो त, काङ मात्र एक्लो चिनियाँ अधिकारी होइनन्। जो लामो समयसम्म सार्वजनिकस्थलमा देखिएका छैनन्। उनीजस्ता कयौँ वरिष्ठ चिनियाँ अधिकारी यो बीचमा सार्वजनिक भएका छैनन्। उनीहरु धेरै चीन सरकारले चलाई रहेको भ्रष्टाचारविरुद्धको अभियानका कारण दोषी ठहर भएको आशंका गरिँदै आएको छ।

अहिले विदेशमन्त्री काङ पनि मन्त्री बनेपछि प्रेमीकाका कारण सरकारी निगरानीमा थिए। त्यही निगरानी कै समयमा उनको प्रेमीका ठानिएकी एक टेलिभिजन प्रस्तोता महिला भागेर अमेरिका पुगेको समाचार आएपछि चीन सरकारले जकार्तामा आसियन राष्ट्रको विदेशमन्त्री स्तरीय वार्तामा जान विदेशमन्त्री चीन काङलाई रोकेको अनुमान गरिएको थियो। उनको स्थानमा पूर्व विदेशमन्त्री वाङ यी सो कार्यक्रममा सहभागी भएका थिए।

जो पुनः अहिले विदेशमन्त्री बनेका छन्। त्यसअघि युरोपेली युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलसँग चीन काङले भेटवार्ता गर्ने कार्यक्रम पनि वेइजिङले अकस्मात रद्द गरेको थियो।

चीन काङ बेपत्ता भएपछि अधिकारकर्मीले अधिनायकवादी शासन भएको मुलुकमा यस्ता समस्या निम्तनु सामान्य भएको बताएका छन्। हङ्कङ फ्रि प्रेसले लेखेको छ, ‘चीनजस्ता एक दलीय शासन प्रणालीयुक्त मुलुकमा सर्वोच्च नेताले एक्लै निर्णय गर्ने हुँदा यस्ता समस्या सामान्य बन्न थालेका छन्।

यो घटनाले चिनियाँ राजनीतिक प्रणालीमा पारदर्शिता नभएको पुष्टि गर्छ।’ नौ महिना अघि पूर्व राष्ट्रपति हु जिन ताओलाई चिनियाँ राष्ट्रिय जनकंग्रेसको सम्मेलनस्थल बाटै केही सुरक्षाकर्मीले जबरजस्ती बाहिर निकालेको दृष्य सार्वजनिक भएको थियो। उनी बाहिर निस्कन नमान्दा नमान्दै राष्ट्रपति सीको आदेशमा उनलाई हलबाट बाहिर निकालियो। हुले टिपोट गरेका केही कागज पत्र सुरक्षाकर्मीले खोसे। यो दृष्यको चौतर्फी आलोचना भए पनि चीन सरकारले केही प्रष्ट जवाफ दिएन। त्यसको केही समयमै उनको निधन भएको समाचार सार्वजनिक भयो।

विदेशमन्त्री वाङलाई पदबाट बर्खास्त गरेपछि उनको ठाउँमा चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारीक वेभसाइटमा थप विवरण केही उल्लेख नगरी, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला प्रमुख तथा पूर्व विदेशमन्त्री वाङ यी विदेश मन्त्री नियुक्त भएको आधिकारीक सूचना मात्रै राखेको छ। यसले ३५ दिनदेखि वेपत्ता विदेशमन्त्रीको रहस्यमयी बर्खास्तीबारे अन्तर्राष्ट्रियस्तरमै थप शंका उब्जिएको छ। उनलाई किन हटाइयो, उनको अवस्था के कस्तो रहेको छ तथा उनी कहाँ छन् भन्ने बारेमा चिनियाँ अधिकारीले केही पनि खुलाउन चाहेका छैनन्। जबकी, चीन राष्ट्रपति सी चिन फिङको विश्वासपात्रका रुपमा काम गर्दै आएका प्रभावशाली चिनियाँ कूटनीतिज्ञ थिए। चीनको सरकारी समाचारमाध्यम सिह्वाले उनलाई विदेशमन्त्री पदबाट हटाइएको र संसद्ले वाङ यीलाई विदेशमन्त्री नियुक्त गर्ने पक्षमा मतदान गरेको समाचार सार्वजनिक गर्दा पनि उनको अवस्थाबारे केही उल्लेख गरेको छैन।

काङको अनौठो प्रेम कहानी
विदेशमन्त्री बन्नु पहिला काङ अमेरिकाको राजदूतको रुपमा कार्यरत थिए। त्यो समयमदेखि नै उनको एक जना महिला पत्रकारसँग विवाह इतरको प्रेमसम्बन्ध रहेको र ती महिलाबाट एउटा सन्तानसमेत रहेको चर्चा चिनियाँ सामाजिक सञ्जाल विबोका साथै ट्विटरमा समेत सार्वजनिक भएको थियो। यही विवादको बीचमा, उनको नियुक्ती र भूमिका थप चासोको विषय बन्न पुगेको थियो। त्यसपछि सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन समितिले काङसँग यो विषयमा प्रष्टिकरण मागेको थियो।

आसियान मुलुकका विदेशमन्त्रीको बैठकमा चीन सहभागी नभएपछि चिनियाँ विदेश मन्त्रालयले उनको स्वास्थ्य ठिक नभएको बताएको थियो। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने एकजना महिला पत्रकारसँगको उनको तस्बिर सार्वजनिक गरेका थिए। तस्बिर सार्वजनिक भएपछि विदेशमन्त्री काङ चिनियाँ सरकारकोे निगरानीमा परे। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भने त्यसको प्रतिवाद गरेकी थिइन। तर ४० वर्षीया चर्चित महिला पत्रकारसँग सार्वजनिक स्थानमा देखिएका विदेशमन्त्री काङ त्यही तस्बिरका कारण कारबाहीमा परिसकेका थिए। विदेशमन्त्रीसँग नाम जोडीएकी ती महिला पत्रकार भने त्यसलगत्तै अमेरिका पुगेको बताइन्छ।

चिनियाँ सरकारले सुरुमा उनीहरु दुवैलाई नियन्त्रणमा लिएर सैन्य हिरासतमा राखेको समाचार बाहिर आएको थियो। तर अहिले ४० वर्षीया पत्रकार फू जियोतियान कहाँ छिन जानकारी छैन। समाचार अनुसार, उनी बेलायत तथा इटालीको समेत मानार्थ नागरिकता लिएकी महिला हुन। बेलायतस्थित क्याम्ब्रिज युनिभर्सिटीले उनको कामको सम्मान गर्दै एउटा पार्कको नाम नै फू जियोतियान राखेको छ।

इटाली सरकारले फूलाई ‘अर्डर अफ द स्टार इटाली’ बाट सम्मान गरेको छ। जसले, पश्चिमा देशसँग चीनको सम्बन्धलाई उचाइमा लैजान महत्त्वपूर्ण योगदान गरेको ठानिन्छ। बेलायती अखवार, द टाइम्सका अनुसार टीभी प्रस्तोता जियोतियानले विश्वका चर्चित नेतासँग महत्त्वपूर्ण संवाद गरेकी छन्। अमेरिका, रसियन, भारतीय तथा म्यानमारको सैनिक नेतृत्वसँग समेत उनको पेशागत सम्बन्ध राम्रो रहेको मानिन्छ। तर विदेशमन्त्री छिन गायब भएपछि उनीसमेत कतै देखिएकी छैनन्। टक विद वर्ल्ड लिडर कार्यक्रममा ६ महिनाअघि विदेशमन्त्री काङको अन्तर्वार्ता लिएपछि यी दुई जनाबीचको सम्बन्ध चर्चामा आएको थियो।

विदेशमन्त्री छिन गायब भएयता यी पत्रकार पनि टेलिभिजन कार्यक्रममा देखिएकी छैनन्। उनी सरकारी च्यानल फिनिक्समा कार्यरत थिइन्। उनको बच्चा अमेरिका मै जन्मिएकोले उनीसँग अमेरिकी नागरिकता रहेको बताइएको छ। उनले आफ्नो ट्विटरमा गत अप्रिल १२ मा पोष्ट गरेको केही तस्बिरमा, सानो बच्चा र विदेशमन्त्री काङसमेत देखिएका थिए। त्यो तस्बिर सार्वजनिक भएपछि उनीहरु दुबै आलोचनाको केन्द्रमा तानिएका थिए।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २७ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई