विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज भदौ १४ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ३१ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

भारतलाई सुरक्षा परिषदमा नराखे राष्ट्रसङ्घको विश्वसनीयतामा प्रश्न उठ्छ स् विदेशमन्त्री जयशङ्कर
भारतका विदेशमन्त्री एस जयशङ्करले भारतलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् ।

दिल्ली विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशङ्करले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ५० सदस्य राष्ट्र मात्र रहेका तर अहिले एक सय ९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरुप राष्ट्रसङ्घको संरचनामा परिवर्तन आवश्यक भएको बताए ।

उनले भिटो शक्तिमा निहित पाँच स्थायी सदस्यलाई यात्रीवाहक बसको पहिलो पङ्क्तिमा बस्ने यात्रीका रुपमा तुलना गर्दै उनीहरूले आफ्नो ठाउँ नछोड्ने बताए । अफ्रिकी, ल्याटिन अमेरिकी र जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो देश र पाँचौं ठूलो अर्थतन्त्रलाई भारतलाई सुरक्षा परिषदबाट बाहिर राख्न नसकिने तर्क गर्दै त्यस गरेमा संयुक्त राष्ट्रसङ्घकै विश्वसनीयतामा प्रश्न उठ्ने विदेशमन्त्रीले दोहोर्‍याए ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सले सुरक्षा परिषद्को सदस्यता परिवर्तन गर्नुपर्छ भनेर पहिलोपटक बोलेको बताउँदै विदेशमन्त्री जयशङ्करले इतिहास भारतको पक्षमा रहेको र उक्त अन्तरराष्ट्रिय संस्थामा परिवर्तन आउने विश्वास व्यक्त गरे ।

“केही शक्तिले भारत सुरक्षा परिषद्को सदस्य नबनोस् भनेर हामीविरुद्ध लागे पनि एक दिन हाम्रो अवश्य विजय हुनेछ,” कुन शक्ति राष्ट्र भारतका विरुद्धमा लागेको हो भन्ने स्पष्ट उल्लेख नगरी उनले भने ।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनद्वारा जेल सजाय माफीका लागि आग्रह

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा जेल सजाय माफीका लागि आग्रह गर्दै थाई दरबारमा निवेदन दिए। थाइल्याण्डको जेलमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिनले सरकारमार्फत् शाही माफीका लागि अनुरोध गरेको सरकारका एक मन्त्रीले बताएका हुन् ।

सन् २००६ मा भएको सैनिक ‘कू’ बाट अपदस्थ भएका ७४ वर्षीय अर्बपति लाई १५ वर्षको आत्मनिर्वासनबाट फर्केलगत्तै गत साता जेल पठाइएको थियो ।

उनको घर फिर्तीसँगै फेउ थाई पार्टी धेरै सैन्य समर्थक पार्टीहरूसँग गठबन्धनमा सरकारमा फर्केको थियो । यसले जेलको समय कटौती गर्न एक सम्झौता भएको थियो भन्ने व्यापक अड्कलबाजीलाई बढावा दिएको छ ।

कामचलाउ न्यायमन्त्री विसानु क्रे-ङमले थाक्सिनले भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा आठ वर्षको जेल सजाय भोगिरहेकाले माफीका लागि निवेदन दिएको जानकारी दिए । ‘हामीलाई अनुरोध प्राप्त भएको छ, बाँकी प्रक्रियाअनुसार हुनेछ,’ विसानुले सञ्चारकर्मीसँग भने ।

यो प्रक्रियामा कति समय लाग्छ भन्ने प्रश्नमा विसानुले भने, ‘यो विशुद्ध रूपमा शाही अनुग्रहमा आधारित छ । सरकारबाट प्रक्रिया लामो छैन, तर यो थाइ नरेशको सोच र निर्णयमा निर्भर गर्दछ । थाई कानुनअनुसार राजा महा वजिरालोङकोर्नसँग पुग्नुअघि कैदीहरूले न्यायमन्त्रीबाट प्रधानमन्त्रीमार्फत प्रिभी काउन्सिलमा क्षमादानको निवेदन दिन सक्छन् । अधिकारीहरूका अनुसार सबै कागजी प्रक्रिया पूरा भएमा यो प्रक्रिया एकदेखि दुई महिनासम्म लाग्छ ।

थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरू मध्ये एक मानिन्छन् । सन् २००० को सुरुतिर उनको पपुलिस्ट नीतिका कारण लाखौं ग्रामीण थाईहरूले उनलाई प्रधानमन्त्री चुनेका थिए ।

उनलाई देशको राजावादी र सेना समर्थक प्रतिष्ठानले निन्दा गरेको छ । जसले विगत दुई दशकको अधिकांश समय उनी र उनका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने प्रयासमा बिताएको छ ।

बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा

बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

अठार वर्षदेखि संसद् सदस्य रहेका वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् । नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् ।

त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उनले निर्वाह गरेको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री सुनकको कार्यालयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेको घोषणा गरेको छ । संवाददाताहरूले नयाँ रक्षामन्त्री शाप्स प्रधानमन्त्रीको कार्यालयमा गएको जनाउँदै उनले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ ।

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई वैधानिक बनाउने तयारी भएको हो । निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन गरेको छ ।

संसद्ले पनि उक्त कानुनलाई अनुमोदन गर्ने विश्वासका साथ गाँजा सेवन गर्नेहरू क्लबमा आबद्ध हुन थालेका छन् । गँजेडीका ‘क्यानाबिस सोशल क्लब’ धमाधम खुलेका छन् । एउटा क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान लागू गरिएको छ ।

सरकारी नियमअनुसार एक जनाले तीन वटा गाँजाका बिरुवा लगाउन पाउनेछ भने सोशल क्लबबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतम ५० ग्राम गाँजा किन्न पाइनेछ । देशभर यस्ता क्लबको सङ्ख्या एक सय नाघेको छ ।

आफ्नो पूरा नाम उल्लेख गर्न नचाहने तर आफूलाई हेनरी विकरका रुपमा एएफपीसमक्ष आफ्नो पहिचान सार्वजनिक गरेका सोशल क्लबका संस्थापक ५८ वर्षीय पूर्वविद्युत् इन्जिनियरले क्बलमा आबद्ध हुन आठ सय जनाले आवेदन गरेका बताए ।

उनले ५७ जनाको आवेदनमात्र स्वीकृत गरिएको जानकारी दिँदै उनीहरूसँग व्यक्तिगत छलफल नगरी क्लबको सदस्यता नदिने बताएका छन् । सरकारले गाँजा, हेरोइन र मनोद्दिपक पदार्थलाई लागूपदार्थको एउटै वर्गमा सूचीबद्ध गरेकाले कानुनी झमेलामा नफस्न उनले आवेदकहरूको आशय र उद्देश्य स्पष्ट नभई समूहमा सामेल नगर्ने बताए ।

हेनरीको क्लबले १८ देखि २१ वर्ष समूहका सदस्यलाई एक महिनामा अधिकतम ३० ग्राम गाँजा उपलब्ध गराउने नीति लिएको छ । हाललाई क्लबको सदस्य बन्न २० युरो तिर्नुपर्छ भने हरेक महिना मासिकरुपमा पाँच युरो बुझाउनुपर्नेछ । एक ग्राम गाँजाको मोल पाँचदेखि १५ युरोसम्म निर्धारण गर्नुपर्ने उनले बताए । अठार वर्षमुनिका मानिसलाई सदस्यता दिइदैन ।

गाँजालाई वैधानिकता दिने सरकारी योजनाको चिकित्सक तथा कानुन कार्यान्वयन निकायका अधिकारीले विरोध गरेका छन् । विपक्षी दलका नेताले प्रस्तावको खुलेर निन्दा गरेका छन् । लागू औषध दुरुपयोगलाई प्रोत्साहन गर्ने प्रस्तावित विधेयक देशका निम्ति अनुपयुक्त भएको उनीहरूको तर्क छ ।

यसैबीच, अमेरिकी स्वास्थ्य र मानव सेवा विभागले ड्रग इन्फोर्समेन्ट एजेन्सी९डिर्ईए० लाई गाँजासम्बन्धी सङ्घीय कानुन उदार बनाउन आह्वान गरेको छ ।

अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न कुनै रूपमा यसको प्रयोगलाई वैधानिक बनाउने कानुन पारित गरे पनि सङ्घीय तहमा यो अवैध मानिन्छ । स्वास्थ्य तथा मानव सेवा विभाग ९एचएचएस० ले डिर्ईएसमक्ष आफ्नो राय पेश गरिसकेको छ ।

गत वर्ष राष्ट्रपति जो बिडेनले महान्यायाधिवक्ता तथा स्वास्थ्यमन्त्रीलाई कम जोखिमयुक्त औषधिको रूपमा गाँजालाई सूचीबद्ध गर्न सकिने(नसकिने भन्नेबारेमा समीक्षा गर्न निर्देशन दिएका थिए ।

जोहानेसवर्गमा आगलागी हुँदा ५२ जनाको मृत्यु
दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ भने अन्य ४० जनाभन्दा बढी घाइते भएका छन् ।

दक्षिण अफ्रिकाको आपतकालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन् ।

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् । प्रवक्ता मुलाजीले मृतकको मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचालन भएका छन् । घाइतेलाई अस्पताल पुर्‍याइएको छ ।

आगलागीको कारण भने खुलेको छैन । केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ ।

अफ्रिकी मुलुक गाबोनमा सैन्य ‘कू’

अफ्रिकी मुलुक गाबोनमा सैनिक ‘कू’ भएको छ । सेनाले शक्ति हातमा लिँदै ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो ओन्डिम्बालाई घरमै नजरबन्द गरिएको छ। उनका एक छोरा देशद्रोहको आरोपमा पक्राउ परेका छन् ।

बोङ्गो परिवारले ५५ वर्ष भन्दा बढी समयदेखि गाबोनमा शासन गर्दै आएको छ। समाचार अनुसार सैन्य कारबाही पछि राजधानी लिब्रेभिलमा सडकमा उत्सव मनाइएको छ ।

गाबोनमा चार दिनअघि भएको निर्वाचनमा बोङ्गो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो ।

सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरूलाई विघटन गरेको घोषणा गरेको छ । अली सन् २००९ मा पहिलो पटक राष्ट्रपति भएका थिए । उनले सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए ।

अमेरिकाका विभिन्न राज्य आँधीको चपेटामा, एकहजार बढी उडान रद्द

अमेरिकाका धेरै क्षेत्र समुद्री आँधीको चपेटामा परेका छन् । इडालिया नामको आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ ।

आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरूमा पनि आँधीसहितको भारी वर्षा भएको छ ।

आँधी र वर्षाका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । यस्तै राष्ट्रपति जो बाइडेनका कार्यक्रमहरू पनि प्रभावित भएको ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति बाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गरि आँधीबाट प्रभावितहरूलाई आवश्यक सहयोग गर्नुपर्ने जनाएका छन् ।

आजदेखि इडालिया आँधीको गति मत्थर हुदै जाने त्यहाँका मौसमविद्हरूले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहीबार  ८ : ०० बजे

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौं– जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई

बन्दीपुरमा पर्यटकको चहलपहल

दमौली– जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

चाडपर्व लक्षित बजार अनुगमनमा तीन लाख बढीको सामान नष्ट

तनहुँ– बडादशैँलाई लक्षित गरी गरिएको बजार अनुगमनका क्रममा तीन लाख

हेटौँडा–काठमाडौं यात्रामा वैकल्पिक सडक प्रयोग गर्न प्रहरीको आग्रह

मकवानपुर– हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३

पहिरोले अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन

धुलिखेल– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट