देश/प्रदेश

रिगलविरुद्ध रिटको पेसीमा आज पूर्ण इजलासमा सुनवाइ हुँदै

By खबरहब

October 31, 2023

काठमाडौँ– रिगल भनेर चिनिने योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

जम्मा ८ वर्ष जेल बसेर कैदमुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा बाँकी कैद कट्टाविरुद्ध रिट दर्ता गराएकी थिइन् ।

रिटमा भारतीले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय दाङ, कारागार कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय र गिल भन्ने योगराज ढकाललाई समेत विपक्षी बनाएकी थिइन् ।

२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतनको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए ।

जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।

उक्त मुद्दामा यसअघि अन्तिम पटक गत असोज २५ गते सुनुवाइ भएको थियो ।

भारतीले श्रीमानलाई न्यायका लागि दसैं लगत्तै फेरि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्।