‘ब्रेकअप’ले बढायो विकृति : मनोचिकित्सक भन्छन्- बहस थालौं | Khabarhub Khabarhub

‘ब्रेकअप’ले बढायो विकृति : मनोचिकित्सक भन्छन्- बहस थालौं

दुरुत्साहन मुद्दा निष्प्रभावी



केही महिनाअघि रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालयमै आत्महत्या गरे। उनी कार्यालयको पाँचौं तलामा रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका थिए। दैलेख स्थायी घर भएका २१ वर्षीय पौडेलले आत्महत्या गर्नुअघि  प्रेमिकाले धोका दिएका कारण आत्महत्याको अवस्थामा पुगेको फेसबुकमा लेखेका थिए ।

नवलपुरमा केही समय अगाडि एक १८ वर्षीय युवकले आफ्नी श्रीमती ससुरालीले गायब पारिदिएको भनेर आत्महत्या गरे। सामाजिक सञ्जालमार्फत ती युवकको युवतीसँग चिनजान भएको थियो। कुराकानी बाक्लिँदै गर्दा उनीहरुको मायाप्रेम बढ्दै गयो। नवलपुर र चितवनको दुरी धेरै नभएकाले कहिलेकाहीँ उनीहरु भेटघाट पनि गरिरहन्थे।

लुकाउँदा-लुकाउँदै पनि केटीका परिवारले केटासँग कुरा गर्ने भेटघाट पनि गर्ने थाहा पाएछन्। परिवारले केटाको परिवारका बारेमा बुझेछन्। तर माइतीतिर भन्दा केटा पक्ष आर्थिक रुपमा कमजोर देखेपछि उनीहरुले त्यो केटासँग बिहे नहुने बतायो। परिवारले स्वीकृति नदिएपछि केटा र केटी भागेर बिहे गर्ने निधोमा पुगे।

केटी भगाएर घर पुर्याउँदै गर्दा माइतीका मान्छे पछि-पछि लागेर आएका रहेछन्। ‘तिमीहरु एकअर्कासँग छुट्नै नसक्ने हो भने बिहे गर। तर यसरी भागेर बिहे गर्दा समाजमा बेइज्जत हुन्छ। हामी बाजा बजाएर बिहे गरिदिन्छौं’ भनेर उनीहरुले फकाए। केटाको परिवारलाई पनि त्यो कुरा मन पर्यो। त्यो दिन उनीहरुले छोरी फिर्ता लिएर गए।

छोरी फिर्ता लाँदै गर्दा माग्न आउने दिन इङगेजमेन्ट र साइत जुराएर बिहे गर्ने भन्ने सहमति भएको थियो। तर सहमति भएअनुसार काम भएन। माइतीले केटी गायब पारिदिए। केटीको मोबाइल फोन अफ थियो। माइतीपक्षले फोन उठाएर उल्टै धम्कीको भाषामा भने, ‘अब केटीको आस नगर्नु। केटीलाई कन्ट्याक्ट गर्ने वा खोज्ने प्रयास गरे जे पनि हुन सक्छ।’

प्रहरी प्रधान कार्यालयको तीन वर्षको आत्महत्या गर्नेको तथ्याङ्क हेर्दा यो डरलाग्दो छ। तीन वर्षमा आत्महत्या गरेर मर्नेको संख्या १८ हजार ७०३ जना छन्। यो तथ्याङ्क देशकै लागि डरलाग्दो रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतको भनाइ छ।

त्यो केटी नपाए अरु जति नि केटी पाइन्छ भनेर परिवारले सम्झाए। परिवार र आफन्तले छोराले विस्तारै बुझ्दै जान्छ आफूलाई सम्हाल्छ भन्ने आशा राखे । तर आमा घरमा नभएको बेलामा १८ वर्षका उनले घरकै धुरीमा पासो लगाए। घरको जेठो छोरो आमाबुवाको बुढेसकालको खम्बा गुमाउनु पर्यो। कलिलो उमेरमा असफल प्रेमसम्बन्धले उनलाई खायो।

केही समय अगाडि झापामा पनि त्यस्तै दुर्घटना भयो। जनजाति केटीको बाहुन केटासँग प्रेम बस्यो। बाहुनको परिवार अन्तरजातीय विवाहमा जति कट्टर थियो, त्यस भन्दा बढी केटीको परिवार बाहुनसँग बिहे गर्नु हुँदैन भन्नेमा थियो। केटा २३ वर्षका थिए भने केटी उनीभन्दा तीन वर्षले जेठी थिइन्।

उनीहरुको घर दुई सय मिटरको दूरीमा थियो। दुवै परिवारले त्यो सम्बन्धलाई स्वीकार गरिरहेको थिएन। त्यसैबखत केटीले अन्तै भागेर बिहे गरिन्। बिहे गरेको वर्ष दिनमा उनले छोरीलाई जन्म दिइन्। तर माइत आउनेजाने क्रममा उनीहरुको भेटघाट सुरु भयो। पुरानो प्रेम सम्बन्धले फेरि निरन्तरता पाउँदै गयो।

यस्तो सम्बन्धले राम्रो नहुने भन्दै केटाले केटीलाई अब आफूसँग बिहे गर्न आग्रह गरे। हामी एकअर्का विना बाँच्न नसक्ने भएपछि बिहे गरेरै बसौं भन्ने उनको सल्लाह थियो। भाग्नुपर्छ भनेर उनले सम्झाए पनि केटीले मानिरहेकी थिइनन्।

छोरी छोडेर हिँड्न पनि नसक्ने लिएर जाँदा श्रीमानले खोज्छ भन्ने उनलाई डर थियो। एकरात केटाले जसरी पनि आफूहरुले भाग्नुपर्ने सर्त राख्यो। उनीहरुले फोनमै रातभर सल्लाह गरे। त्यसअनुसार उनीहरु भाग्ने योजना बनाए। भोलिपल्ट केटो अफिस बीचैमा हापेर तोकिएको ठाउँमा आयो। राति केटीले सहमति जनाए पनि दिउँसो बच्चाको कारण भाग्न नसक्ने बताइन्।

केटीले त्यति भनेर फर्किन लाग्दा केटाले हात समातेर तानेछ। तर उनी हात फुत्काएर भागेर घर आइन्। केटीको मन परिवर्तन भएछ। केटीले नै नमानेपछि केटा निराश हुँदै आफ्नो घर फर्कियो। घर पुग्दा बैनी मात्रै थिइन्। केटाले बैनीलाई मोबाइल रिचार्ज किन्न पठाएछ। उनी त्यही समयमा घरको सिलिङमा सल बाँधेर झुण्डिए। बैनी घर आइपुग्दा दाइले प्राण त्यागिसकेका थिए।

किन गर्छन् आत्महत्या ?
मानिस विभिन्न कारणले आत्महत्या गर्छन्। प्रेम सम्बन्धमा धोका खाएर आत्महत्या गर्नेमा केटा र केटी दुवै छन्। तर तथ्याङ्कले केटीको तुलनामा केटाले धेरै आत्महत्या गरेको पाइएको छ।


प्रहरी प्रधान कार्यालयको तीन वर्षको आत्महत्या गर्नेको तथ्याङ्क हेर्दा यो डरलाग्दो छ। तीन वर्षमा यो संख्या १८ हजार ७०३ जना छन्। यो तथ्याङ्क देशकै लागि डरलाग्दो रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुबेर कडायतको भनाइ छ।

उनी भन्छन्, ‘अहिलेको युवा पुस्तामा आफ्नो प्रेमलाई प्रमाणित गर्न वा पख् तँलाई देखाउँछु जस्ता आवेगले आत्महत्या गरेको पाइन्छ।’ समयमै यसबारे सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बेला आएको कडायतको तर्क छ। प्रहरीको तथ्याङक अनुसार सबैभन्दा धेरै झुन्डिएर आत्महत्या गर्ने छन्।

९५ प्रतिशत मानिसको ब्रेकअप हुन्छ : मनोचिकित्सक
संसारकै तथ्याङ्क हेर्दा पुरुषले भन्दा धेरै महिलाले आत्महत्याको प्रयास गर्ने मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइराला बताउँछन्। उनी भन्छन्, ‘महिलाले आत्मत्याको प्रयास गर्दा कडा खालका माध्यम कम प्रयोग गर्छन्। तर पुरुषले कडा माध्यम नै प्रयोग गर्ने हुँदा उनीहरु बाँच्ने सम्भावना कम हुन्छ।’

आत्महत्या प्रयासमा पुरुष सफल हुन्छन्। त्यसकारण महिलाको तुलनामा पुरुषको संख्या बढी देखिएको उनी बताउँछन्। पर्सनालिटी डिसअर्डर भएकाले आत्महत्या गर्ने सम्भावना अत्यधिक हुने उनी बताउँछन्। भन्छन्, ‘केही व्यक्तिमा सानो समस्यासँग पनि जुध्ने क्षमता कम हुन्छ।’ जीवनकालमा आउने सामान्य समस्याहरु पनि भयङकर लाग्ने हुन्छ। त्यसलाई ‘कोकिन मेकानिज्म’ पनि भनिन्छ।

‘त्यस्ता मान्छेहरु एकैचोटी हतोत्साही भएर जीवन नै त्याग गर्ने निधोमा पुग्छन्। कसैमा परिवार वा समाज छोड्ने भावना आउने हुन्छ।’ त्यसलाई पर्सनालिटी डिसअर्डर भनिन्छ, उनले भने, ‘जबकी त्यही समस्यासँग दोस्रो व्यक्ति सहजै सामना गरिरहेको हुन्छ।’

आत्महत्याको कारणमध्ये मानसिक स्वास्थ्य प्रमुख रहेको उनी बताउँछन्। उनी भन्छन्,‘८० प्रतिशत आत्महत्या मानसिक समस्याबाट गुज्रिरहेकाहरुबाटै भएको देखिन्छ।’ डिप्रेसन, बाइपोलार डिप्रेसन, साइकोसिका लक्षणहरु डर त्रासले मानसिक रोग सुरु हुने कोइरालाले बताए।

यसलाई थप बढावा दिने कारणमध्ये अर्को सामाजिक कारण पनि हो। ‘जीवन अस्तित्वको आधारहरु जस्तै : इज्जत प्रतिष्ठाको कुरा हुन्छ, परिवारमा आर्थिक व्यवस्थापन तथा कसैसँगको सम्बन्धको कुरा हुनसक्छ, उनले भने, ‘यी यावत कुराहरुको व्यवस्थापन नमिल्दा मान्छेले आत्महत्या रोजेको पाइन्छ।’

८० प्रतिशत आत्महत्या मानसिक समस्याबाट गुज्रिरहेकाहरुबाटै भएको देखिन्छ। डिप्रेसन, बाइपोलार डिप्रेसन, डर त्रासले मानसिक रोग सुरु हुने मनोचिकित्सकको भनाइ छ ।

जीवनको अस्तित्व मान्छेको व्यक्तित्वसँग जोडिएर आउँछ। सम्बन्ध बिग्रेर आत्महत्या गर्ने गरेको घटना प्रशस्त भएको उनले बताए। ९५ प्रतिशत मान्छेको जीवनमा ब्रेकअप हुने घटना सुनाउँदै कोइराला भन्छन्, ‘ब्रेकअप हुँदैमा आत्महत्या गर्नुपर्दैन।’ ब्रेकअप भएजतिले आत्महत्या नै विकल्प रोज्ने हो भने यो धर्तीमा मानव प्राणीको अस्तित्व रहन्छ ? भनेर उनी प्रश्न गर्छन्।

अरुले पनि त्यो पीडा भोगेका छन्। समयसँगै आफूलाई आफ्नो लक्ष्यमा केन्द्रित गरेका छन्। ती मान्छे पनि खुसी भएरै बाँचेका छन्। यस्ता कुराहरु हेर्नुपर्ने उनी सुझाव दिन्छन्। ‘जोसँग लभ पर्यो उसैसँग बिहे हुने सम्भावना धेरै कम हुन्छ, उनले भने, ‘त्यसैले यस्ता घटनामा कदापी जीवनको मूल्य बिर्सन हुँदैन।’

दोस्रो सामाजिक कुरा आउँछ। सामाजिक व्यथिति, अवस्थाले पनि मान्छेलाई त्यो बाटोमा धकेल्ने कोइराला बताउँछन्। उनी भन्छन्, ‘कोभिडले मान्छेमा एक्लोपन ल्यायो। आर्थिक, सामाजिक अवस्था बिग्रदा मान्छेहरुमा मानसिक समस्या बढ्दै गयो।’

आत्महत्या निरुत्साहित गर्नमा समाजमा यसको बहस खै ? एकले अर्कालाई मद्दत गरिहेका छन् त ? भन्दै उनले समाजसमेत प्रश्न गर्छन्। कमजोर अथवा निराशावादी कुरा गर्नेलाई समाजले नै नामर्द, लाछी जस्ता शब्द प्रयोग गरेर पीडामाथि पीडा थपेको पाइन्छ।

आत्महत्या रोक्नको लागि परिवार र समाजको भूमिका महत्वपूर्ण हुने उनले बताए। अर्को यसलाई बहुआयामिक तरिकाले हेर्नुपर्ने मनोचिकित्सकको धारणा छ। रोगको पक्षबाट हेर्दा नागरिकलाई रोगप्रतिको सजगताको लागि राज्यले के गरेको छ भन्ने मुख्य विषय हो।

व्यक्तिले अस्वस्थ व्यवहार गर्दा, मानसिक असन्तुलन हुँदाको अवस्थामा राज्यले दिने सेवा सुविधा के हो ? अथवा कुनै दुर्गमको मान्छेले आत्महत्या प्रयास गर्यो भने उसको उपचार तथा परामर्शको उपलब्धता कति सहज बनाइदिएको छ भन्ने पनि हुन्छ।

हवाइयात्रालाई शतप्रतिशत सुरक्षित बनाउने भन्ने छ। त्यसरी नै आत्महत्या न्युनिकरण होइन शतप्रतिशत नै रोक्न सक्ने लक्ष्य अनुसार काम गर्नुपर्ने उनले बताए।

धरौटीमा निस्किएपछि कसुर ठहर नहुने स्थिति छः अधिवक्ता गिरी

अधिवक्ता विकास गिरी दोस्रो पक्षले ‘आत्महत्या गर्न बाध्य भयो’ भन्ने कुरा प्रमाणित गर्न निकै गाह्रो हुने बताउछन्। उनी भन्छन् , ‘आत्महत्या दुरुत्साहन कसुरकाे बारेमा नेपालमा भर्खर नयाँ अभ्यास सुरु भएको छ। त्यसैले सर्वोच्चसम्म यस्ता मुद्दाहरु पुगेकै छैनन्।’

आत्महत्या गर्न दुरुत्साहन गर्न दियो वा दिएन भनेर प्रमाणित गर्न निकै गाह्रो हुन्छ। कस्तो कारणलाई दुरुत्साहन मान्ने वा प्रमाणिकरण गर्ने भन्ने मार्ग स्पष्ट नभएको उनको भनाइ छ। ठहर नहुने पनि होइन तर अधिकांश ठहर हुने सम्भावना न्यून हुने उनले बताए।

अधिवक्ता विकास गिरी दोस्रो पक्षले ‘आत्महत्या गर्न बाध्य भयो’ भन्ने कुरा प्रमाणित गर्न निकै गाह्रो हुने बताउछन्।

‘आत्महत्या दुरुत्साहनसम्बन्धी मैले हेरेको मुद्दा आजसम्म ठहर भएको छैन। सुरुमा २५ दिन हिरासतमा बसेर पछि धरौटीमा निस्किएपछि कसुर ठहर भएको स्थिति छैन’, उनले भने।

कानुनको नजरले हेर्दा आत्महत्या दुरुत्साहन अपराध हो। यो अपराध हुन्छ। तर सामाजिक दृष्टिकोणले व्याख्या गर्दा दोस्रो व्यक्तिका कारणले मान्छे मर्न सक्दैन भन्ने छ। आत्महत्या व्यक्ति आफैंको कोसिसले हुने भन्ने मान्यता भएको गिरी बताउँछन्। ‘अर्को पक्षको कारणले आत्महत्या गर्‍यो भन्ने कुरा पुष्टि गर्न मुस्किल हुन्छ’, उनले भने।

आत्महत्या दुरुत्साहन नै नहुने भन्ने हुँदैन। कुनै घटनामा प्रशस्त प्रमाण भेटिन्छ। केही यही मुद्दामा जेल परेका छन्। जस्तै केही समय अगाडि काठमाडौं बुद्धनगर बस्ने २६ वर्षीया पुष्पा न्यौपानेले मट्टीतेल खन्याएर आत्मदाह गरिन्। उनले आफ्नो प्रेमीले इन्गेजमेन्ट तोडेर आफू परिवार र समाजमा बदनाम हुन परेको कुराहरु म्यासेजमा भेटिएको थियो। उनीसँग इन्गेजमेन्ट तोडेका सुधन संग्रौला हाल जेलमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि सहकर्मी पत्रकार सालिकराम पुडासैनीले भिडियोमा ‘रविले गर्दा आत्महत्या गर्न बाध्य भएको’ बताएका थिए। तर अदालतले त्यो भिडियोलाई प्रमाण मान्न सकेन।भिडियोमा भनेको वा आरोप लगाएकै कुराले आत्महत्या दुरुत्साहन हुन्छ भन्ने कुरा अदालतले मानेन।

आत्महत्या अपराध हो

आत्महत्या फौजदारी अपराध हो । कानूनले अरुको मात्र होइन, आफ्नै हत्या गर्ने कार्यलाई पनि अपराध मानेको छ । आत्महत्या गर्ने व्यक्ति मरेको अवस्था उसँगै अपराध पनि मर्छ, जसले गर्दा उसमाथि कारवाही गर्न सकिँदैन । तर, आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई भने कानुनी कारवाही हुन सक्छ  भन्ने फौजदारी न्यायको सिद्धान्त छ ।

आत्महत्या समस्या समाधानको बाटो होइन। आत्महत्या दुरुत्साहन कानुनी रुपमा दण्डनीय अपराध भएकाले कसैलाई यसतर्फ प्रेरित गर्ने गल्ती नगरौं।

मुलुकी ऐन विस्थापित गरी १ भदौ २०७५ बाट कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताले समेटेको नयाँ मुद्दामध्ये एक हो आत्महत्या दुरुत्साहन। संहिताको परिच्छेद १२ को दफा १८५ मा आत्महत्याका लागि दुरुत्साहन गरे ज्यान मुद्दा चल्ने उल्लेख छ। त्यस्तै, उपदफा १ बमोजिम ५ वर्षको कैद तथा ५० हजार रुपैयाँसम्मको जरिवाना तोकिएको छ।

द्रष्टव्य : आत्महत्या समस्या समाधानको बाटो होइन। आत्महत्या दुरुत्साहन कानुनी रुपमा दण्डनीय अपराध भएकाले कसैलाई यसतर्फ प्रेरित गर्ने गल्ती नगरौं।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ३१ बजे

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका

पाल्पाको रामपुरमा सडक स्तरोन्नति हुँदै

पाल्पा– पाल्पाको रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका

प्रेम र करुणाका प्रतीक ‘शान्त क्लज’

पुर्वेली समाजमा बच्चालाई फकाउनका लागि भूत, प्रेत वा अन्य केहीको