हात्ती आतङ्कले खोसियो गाँस « Khabarhub

हात्ती आतङ्कले खोसियो गाँस


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- जङ्गली हात्तीले घरको माथिल्लो तलाको भकारी फोरेर धान खाइदिएपछि महोत्तरीको बर्दिबास–३ पाटु बस्तीकी राधिका माझीको गाँस खोसिएको छ । खेती मजदुरी गरी वर्षभर खाना सञ्चय गरेको धान हात्तीले नष्ट गरिदिएपछि राधिकालाई अब केले गुजारा गर्ने भन्ने चिन्ता परेको छ ।

“हेर्नोस् हजुर कति आवश्यकता थाँती राखेर धान किनी थन्क्याएकी थिएँ, अब म के गरी गुजारा गर्ने होला ?” हात्तीले घर भत्काएसँगै भकारी फोरेको घटना निरीक्षणका लागि घटनास्थल पुगेका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीसहितका जनप्रतिनिधिलाई भत्केको घर र भकारी देखाउँदै राधिकाले भनिन्, “मै गरीबको छाप्रो चाहिँ फोर्नु परेछ ।” शुक्रबार बिहान झिसमिसेमा हात्तीले बस्ने घर, खाने अन्न धान नोक्सान गरेपछि राधिकाको विचल्ली भएको छ ।

हात्तीले काठेघरको माथिल्लो तलामा राखेको भकारी घरको भित्ता लडाएर सूँडले तानेर फुटाएको हो । घरमा एक्लै बस्दै आएकी राधिका धन्न बाँचेको बताउँछिन् । घर हल्लाएर लडाउँदा अब बाँच्दिन जस्तो लागेको उनले सुनाइन् । “माथिल्लो तलामा सुतेकी थिएँ, एक्कासी घर दुईतिरबाट हल्लियो, हंस नै उड्यो”, माझी शुक्रबार बिहान झिसमिसेको घटना सम्झँदै भन्छिन्, “चन्द्रमाको उज्यालोमा घरका दुवैतिर हात्ती देखेँ, गुडुल्किएर चाल मारेर बसिरहें, धन्न भकारी फोरेर धान छरेपछि हात्ती हिँडे र बचेँ ।” घरमा एक्लै बस्दै आएकी माझीको घर भत्काएर भकारी फोर्दै हात्तीले पाँच/छ क्विन्टल धान छरेको छ । राधिकासँगै सोही दिन एक जोडा हात्तीले पाँच सय मिटर परको प्रेमबहादुर भुजेलको घर पनि भत्काएको छ ।

भुजेल पनि आफू कालको मुखबाटै जोगिएको बताउँछन् । भुजेल सुतिरहेको खाट हात्तीले लडाएको घरको पर्खालले थिचिएर भाँच्चिएको छ । परिवारसहित वनको पाखातिर दौडँदै भाग्दा केहीबेर हात्तीले लघारेको भुजेलले बताए ।

दुवै पीडित परिवारलाई राहत उपलब्ध गराइने नगरप्रमुख क्षत्रीले प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विजय यादवले पनि दुवै घटनाबारे जिल्ला विपद् व्यवस्थापनमा जानकारी गराई आवश्यक सहयोगको अनुरोध गरिएको बताए । यसअघि गत बुधबार साँझ हात्तीले गौशाला–१ रामनगर सिरानको सागरनाथ वन विकास परियोजनाको प्लटमा दाउरा बोकेर घर फर्कंदै गरेका मुन्ना शेषलाई लडाएर घाइते बनाएको थियो ।

पछिल्ला करिब दुई महिनायता महोत्तरीका वनक्षेत्र नजिकका बस्तीमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । वनक्षेत्रसँग जोडिएका जिल्लाका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा हात्तीको आतङ्क छ । दिनभर घनाजङ्गलका झाडीमा लुक्ने र रात परेपछि हात्ती बस्ती पस्दै आएका छन् ।

काठेघरका भित्ता हल्लाएर लडाउने, भकारी फोरेर अन्नपात छर्ने, केराका थाम लडाउने र खेतबारीका बाली माडेर नोक्सान पु¥याउने अहिले देखिएका हात्तीका बिग्याइँ छन् । यसपालि खेतबारीको बाली क्षति गर्दै आएका हात्तीले पछिल्ला केही दिनयता घर लडाउने, मान्छेलाई आक्रमण गर्ने क्रम बढेपछि यहाँ त्रास छाएको छ ।

सर्वसाधारण घाँस दाउरा गर्न र गाईबस्तु चराउन पनि वन पस्न छाडेका बर्दिबास–३ पाटुकै सामाजिक कार्यकर्ता विनोद ढुङ्गेलको भनाइ छ । बस्ती पसेर बिग्याइँ गरिरहेका हात्ती धपाउन नगर प्रमुख क्षेत्रीसहित वनक्षेत्रमा एक सातादेखि खोज अभियानमा लागेका सुरक्षाकर्मीले भने हात्ती दिउँसो लुक्ने ठाउँ फेला नपरेको प्रहरी नायब उपरीक्षक यादवको भनाइ छ ।

यसैबीच, बर्दिबास नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर सघन वनक्षेत्र नपस्न, हात्ती राती बस्ती पसे निकै परबाट राँको देखाउन र घर तोडफोड गर्नलागे विस्तारै चाल मारेर सुरक्षित स्थानतर्फ भाग्न सचेत गराएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ६ : ५९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको