आज पुस १५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ३१, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
नाइजरमा भएको आक्रमणमा ११ गाउँलेको मृत्यु
बुर्किना फासोसँग सीमा जोडिएको नाइजरका दुई गाउँमा संदिग्ध जिहादीहरूले सप्ताहन्तमा गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार बताएको छ ।
“धेरै मोटरसाइकलमा आएका आतङ्कवादीहरू बैंकिलारेबाट करिब ३० किलोमिटर दक्षिणपूर्वी आमरा र आउडजी गाउँमा प्रवेश गरेका थिए, त्यहाँ उनीहरूले शान्तिपूर्ण नागरिकहरूमाथि आक्रमण गरी ११ जनाको हत्या गरे”, मन्त्रालयले विज्ञप्तिमा भनेको छ । निजेरियन रक्षा तथा सुरक्षा बलहरूले शुक्रबार ‘बहु हवाई–स्थल आक्रमणहरू’ गरेपछि यो घटना भएको हो ।
सुरक्षा बलको आक्रमणपछि मन्त्रालयले यसबाट आतङ्कवादीहरूको सञ्चार च्यानल ‘केही पनि नरहेको’ बताएको थियो । गस्तीको गाडी नियामेदेखि ७० किलोमिटर टाढा ओरो गुएलाडजोमा एउटा खानीमा ठोक्किँदा शुक्रबार एक सैनिकको मृत्यु र पाँच जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ । नाइजरमा सैन्य विद्रोहपछि जुलाईदेखि सेनाले शासन गर्दै आएको छ ।
डिसेम्बर १७ मा सैन्य विद्रोहका नेता तथा शासक जनरल अब्दुरहामाने तियानीले मुलुकको सुरक्षा स्थिति ‘प्रगतिशीलरूपमा सामान्य’ भइरहेको भन्दै शान्ति व्यवस्था कायम गर्न सेनाले ‘धेरै सफलता’ हासिल गरेको बताएका थिए । सैन्य तथा स्थानीय स्रोतहरूका अनुसार पछिल्ला केही सातामा बुर्किना फासो र मालीको सीमासँग जोडिएका क्षेत्रमा अपेक्षाकृत शान्ति देखिएको छ ।
यी क्षेत्रमा यसअघि बारम्बार जिहादी आक्रमणको खतरा थियो । अक्टोबरमा बुर्किना फासोको सीमा नजिकै जिहादीहरूसँग भएको झडपमा छ सैनिक मारिएका थिए । सोही महिना पश्चिमी नाइजरमा भएको एक हमलामा २९ सैनिक मारिएका थिए । यो सैनिक विद्रोहपछिको सबैभन्दा घातक हमला थियो ।
उत्तर कोरियाली नेता किमद्वारा सेनालाई सम्भावित ‘युद्ध’ को तयारी गर्न निर्देशन
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले सेनालाई सम्भावित ‘युद्ध’को तयारी गर्न निर्देशन दिएका छन् । नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए ।
भाषणका क्रममा उनले दक्षिण कोरियामा आणविक आक्रमणको नयाँ धम्की दिँदै प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’ बताए । उनले युद्धको तयारीका लागि सैन्य शस्त्र निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
बैठकले आगामी वर्षमा थप तीन वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने, मानवरहित ड्रोन निर्माण गर्ने र इलेक्ट्रोनिक युद्ध क्षमता विकास गर्ने, साथै आणविक र क्षेप्यास्त्र बललाई सुदृढ पार्ने लगायत थप सैन्य विकासको योजना घोषणा गरेको कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।
उत्तर कोरियाले यसै वर्ष सफलतापूर्वक टोही उपग्रह प्रक्षेपण गरी आफ्नो संविधानमा आणविक शक्तिको रूपमा आफ्नो स्थान स्थापित गरेको घोषणा गरेको छ । उत्तर कोरियाले आफ्नो शस्त्रागारमा सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण गरेको छ ।
केसीएनएका अनुसार शनिबार सम्पन्न बैठकमा किमले संयुक्त राज्य अमेरिकाले ‘विभिन्न प्रकारका सैन्य खतरा’ खडा गरेको आरोप लगाएका थिए । उनले आफ्नो सेनालाई ‘युद्ध प्रतिक्रियाका लागि अत्यधिक क्षमता’ कायम राख्न आदेश पनि दिएको केसीएनएले जनाएको छ ।
किमले भने, “कोरियाली प्रायद्वीपमा शत्रुहरूले हामीमाथि आक्रमण गर्न दुस्शाहसी कदम चालेका कारण कुनै पनि बेला युद्ध भड्किन सक्छ भन्ने कुराको पुष्टि हो ।”
प्योङयाङलाई रोक्नका लागि अमेरिकाले यसै महिनाको सुरुमा दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा आणविक शक्तिसम्पन्न पनडुब्बी तैनाथ गर्नुका साथै जापान र दक्षिण कोरियासँगको संयुक्त अभ्यासमा लामो दूरीका बमवर्षक विमान उडाएको थियो ।
यसअघि उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यासमा अमेरिकाका बी–५२ बमवर्षकजस्ता रणनीतिक हतियार तैनाथ गर्नुलाई ‘जानाजानी आणविक युद्ध उत्तेजक कदम’ को संज्ञा दिएको थियो ।
किमले भने, “हामीले सम्भावित आणविक सङ्कटको शीघ्र जवाफ दिनुपर्छ र आपतकालीन अवस्थामा आणविक शक्तिलगायत सबै भौतिक साधन र शक्ति परिचालन गरेर दक्षिण कोरियाको सम्पूर्ण भूभागलाई शान्त पार्ने तयारीलाई तीव्रता दिनुपर्छ ।’’
बैठकमा किमले दक्षिण कोरियासँग अब मेलमिलाप र पुनः मिलनको प्रयास नगर्ने बताउँदै दक्षिण र अमेरिकाका कारण उत्पन्न ‘अनियन्त्रित सङ्कटको स्थिति’ रहेको बताएका थिए ।
उत्तर कोरियाको जासुसी भू–उपग्रह प्रक्षेपणसँगै अन्तरकोरियाली सम्बन्ध यस वर्ष निकै बिग्रिएको छ, जसका कारण सियोलले सन् २०१८ मा भएको सैन्य सम्झौतालाई आंशिक रूपमा स्थगन गरेको छ ।
“मलाई विश्वास छ कि यो एक गल्ती हो जुन हामीले अब हामीलाई ‘मुख्य शत्रु’ को रूपमा घोषणा गर्ने शक्तिलाई मेलमिलाप र एकीकरणका लागि समकक्षीको रूपमा सोच्नु हुँदैन,” नेता किमलाई उद्धृत गर्दै केसीएनएले भनेको छ ।
किमले सीमापार मामिला हेर्ने विभागहरूको पुनः गठनका लागि ‘आधारभूत रूपमा दिशा परिवर्तन गर्न’ उपायहरू कोर्न आदेश दिए ।
सियोलस्थित इवा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक लीफ इस्लेले उत्तर कोरियाको महत्वपूर्ण सैन्य क्षमतामा जोड दिइएको बताए ।
“राज्य नियन्त्रित मिडियाले प्रकाशन गर्ने अधिकांश समाचार रिसाइकल प्रोपोगान्डा हो”, उनले भने, “प्योङयाङको आक्रामक बयानबाजीले उसको सैन्य कदम निरोधका लागि मात्र नभई आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय दबाबका लागि पनि हो भन्ने देखाउँछ ।
प्योङयाङले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो र उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको थियो ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले उत्तर कोरियाले सन् २००६ मा पहिलो पटक आणविक परीक्षण गरेदेखि नै आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न आग्रह गर्दै थुप्रै प्रस्ताव पारित गरिसकेको छ ।
इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध
पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले शनिबार सो कुराको जानकारी दिएको हो । अधिकारीहरूका अनुसार इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।
७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ । जसका लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो ।
खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको भएपनि उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए ।
इमरान खान पाकिस्तानमा निकै लोकप्रिय छन् । आफूलाई सेनाले चुनावबाट वञ्चित राख्न खोजेको उनको भनाइ छ । यता सेनाले भने उक्त आरोपको खण्डन गरेको छ ।
पाकिस्तानको सर्वोच्च अदालतले डिसेम्बर २२ मा इमरान खानलाई देशको गोप्य सूचना चुहावटको मुद्दामा जमानत दिएको थियो। तर, त्यसको एक दिन अगाडि उच्च अदालतले उनको निर्वाचनमा उम्मेदवार हुन नपाउने गरी खारेज गर्न अस्वीकार गरेको थियो ।
युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते
युक्रेनको हमलामा १४ जना रुसी नागरिक मारिएका छन् । रुसी प्रान्तीय राजधानी बेलगोरोडको केन्द्रमा युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको हो ।
सो हमलामा १०८ जना घाइते भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।
गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनको सीमाबाट करिब ३० किलोमिटर (१९ माइल) पर रहेको बेलगोरोडमा भएको सो आक्रमण आवासीय क्षेत्रमा भएको थियो । एक टेलिग्राम पोस्टमार्फत उनले सबै बासिन्दाहरूलाई साइरन बज्दा हवाई आक्रमणको आश्रयमा जान आग्रह गरेका थिए ।
बेलगोरोडले युक्रेनको लुहान्स्क, सुमी र खार्किभ क्षेत्रहरूसँग सीमा जोडेको छ । जसमध्ये शुक्रबार युक्रेनमा रूसी हवाई आक्रमणबाट प्रभावित भएका थिए । यो फेब्रुअरी २०२२ मा युद्ध सुरु भए देखिकै सबैभन्दा घातक आक्रमणहरू मध्ये एक थियो। ती आक्रमणहरूमा मर्नेहरूको संख्या बढेर ३९ पुगेको छ।
बेलगोरोड रूसको राजधानी मस्कोबाट करिब ६०० किमी टाढा छ । यो एक फ्रन्ट–लाइन क्षेत्र हो, जसले क्रेमलिनको सशस्त्र सेनालाई युक्रेनतर्फ आक्रमण गर्नको लागि महत्त्वपूर्ण आधारको रूपमा सेवा गरिरहेको छ ।
मन्त्रालयले शुक्रबार बेलगोरोड क्षेत्रमा १३ युक्रेनी रकेटहरू ध्वस्त पारेको दाबी समेत गरेको छ ।
भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता
भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ । पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको हो ।
भारतीय सहयोगमा ११ टनको राहत सामग्री र ६ टनको स्वास्थ्य समग्री रहेको छ । राहत सामग्रीमा त्रिपाल, स्लिपिङ म्याट, खानेकुरा, पानी जम्मा गर्ने ट्यांकीजस्ता सामग्री रहेका छन् भने स्वास्थ्य सामग्रीमा अत्यावश्यक औषधि, शल्यक्रियाका लागि आवश्यक उपकरण तथा स्यानिटरी प्याड छन् ।
सहायता लिएर भारतीय विशेष विमान पपुवा न्यूगिनी पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पपुवा न्यूगिनीमा हालै भएको ज्वालामुखी विस्फोटनबाट २६ हजारभन्दा धेरै मानिसहरु प्रभावित भएका थिए ।
प्रतिक्रिया