अन्तर्राष्ट्रिय

ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य

By खबरहब

October 01, 2024

एजेन्सी – ईरानले इजरायलमाथि मिसाइल प्रहार गर्ने चेतावनी दिएलगत्तै विश्वबजारमा तेलको मूल्य तीन प्रतिशतले बढेको छ ।

अमेरिकी अधिकारीहरूले जतिसुकै बेला ईरानले इजरायलमाथि हमला गर्नसक्ने सूचना प्राप्त भएको दाबी गर्नासाथ विश्वबजारमा कच्चा तेलको मूल्य बढेको हो ।

मध्यपूर्वमा तनावयुक्त स्थिति भए पनि एक वर्षयता विश्वबजारमा ऊर्जा बजार शान्त थियो । इजरायली हमला र यमनका हुथी विद्रोहीले पटक-पटक हमला गर्दा पनि तेलको मूल्य खासै बढेको थिएन ।

तर, पछिल्लो समय इजरायलले गाजापट्टीमा लडाकु समूह हमास, लेबनानमा हिज्बुल्लाह र यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण तीव्र पारेपछि ईरान ‘गर या मर’को अवस्थामा पुगेको छ ।

इजरायलले गाजामा सक्रिय लडाकु समूह हमासका शीर्ष नेता इस्माइल हनियालाई ईरानमै हत्या गरिदिएको थियो । हिज्बुल्लाह, हुथी र हमास लडाकु समूह ईराननिकट छन्‌ ।

अमेरिकाले ईरान मिसाइल प्रक्षेपण निम्ति तम्तयार अवस्थामा रहे पनि इजरायली सेनाका प्रवक्ता ड्यानियल हागरीले यतिखेर ईरानबाट कुनै पनि प्रकारको हवाई खतराबारे आफूहरू जानकार नरहेको बताएका छन्‌ ।