विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

आज पुस १६ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जनवरी १, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनीजापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ ।

त्यसबाहेक सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक र नाखोद्का सहरमा पनि सुनामी आउनसक्ने चेतवानी दिइएको रोयटर्सले जनाएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् । एनएचकेमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानी नागरिकहरुलाई थप धक्काका लागि तयार रहन पनि आग्रह गरेका छन् ।

एनएचकेले सार्वजनिक गरेका भिडियो फुटेजमा भूकम्पले सुजु र कानाजावा सहरमा क्षति पुर्‍याएको देख्न सकिन्छ । इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको रोयटर्सले जनाएको छ ।

गाजा युद्ध सन् २०२४ सम्म जारी रहने इजरायली सेनाको चेतावनी
गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकु समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ सम्म जारी रहने चेतावनी दिएको छ ।

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ । घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गरे ।

इजराइलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरु गरेको छ । यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजराइली हमलामा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार आठ सय २२ जना मारिएका छन् । इजराइली सेनाका अनुसार गाजाभित्र इस्लामिक लडाकु समूह हमासविरुद्धको युद्धमा उसका एक सय ७२ सैनिक मारिएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका थिए ।

युद्धको सुरुआतमा इजराइलले घेराबन्दी गरेपछि गाजाबासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नुपरिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले भोक र सङ्क्रामक रोगको चेतावनी दिएको छ ।

जापान महान् परिवर्तनको युगमा : प्रधानमन्त्री किशिदा

जापानी प्रधानमन्त्री फुमियो किशिदाले जापानले सन् २०२४ मा ‘महान परिवर्तनको युग’ मा गइरहेको तथा धेरै चुनौतीहरूको सामना गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री किशिदाले आफ्नो नयाँ वर्षको भाषणमा मार्फत् ‘जापानले धेरै महत्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए । सम्बोधनमा जनसङ्ख्या घट्दै गएको विषय प्रति प्रतिक्रिया तथा संवैधानिक सुधारहरू समावेश गरिएको बताएका छन् ।

प्रधानमन्त्री किशिदाले नीति प्रवद्र्धनमा राजनीतिक स्थिरता आवश्यक भएको उल्लेख गरेका छन् । सामाजिक आर्थिक क्षेत्रमा मूल्यवृद्धि पार गर्ने, ज्याला वृद्धि गर्ने प्रतिबद्धता गरे । जापानले असहज मानसिकताबाट पूर्णतया मुक्त भई अर्थतन्त्रको लागत कटौतीको माध्यमबाट यस वर्षबाट पूर्णतया सङ्कुचन मुक्त हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री किशिदाले निरन्तर विकाससगै परिवर्तनलाई शक्तिमा परिणत गर्ने आगामी दिनमा अझ राम्रो हुने विषयमा सबै जनताले विश्वास दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले सन् २०२४ विश्वव्यापी मामिलाहरूको सन्दर्भमा, तनावको वर्ष हुनसक्ने आँकलन गरेका छन् । उनले रूस–युक्रेन द्वन्द्व, गाजा द्वन्द्व, आगामी अमेरिकी राष्ट्रपति चुनावलगायतका महत्वपूर्ण घटनालाई उद्धृत गदै सन् २०२४ मा पनि आर्थिक संकट जारी रहनसक्ने बताएका हुन्

सन् २०२३ प्यालेस्टिनीका लागि सबैभन्दा घातक
प्यालेस्टिनी केन्द्रीय तथ्यांक विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।

विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेस्टिनी २२ हजार १४१ जनाको मृत्यु भएको र इजरायली आक्रमणमा भएका मृत्युमध्ये ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।

गाजामा अहिलेसम्म करिब नौ हजार बालबालिका र छ हजार ४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफ्ना जनता आफ्नो भूमिबाट विस्थापित भएको स्वीकार नगर्ने बताएका छन् ।

फताह आन्दोलनको स्थापनाको ५९ औँ वर्षगाँठको अवसरमा जारी वक्तव्यमा अब्बासले प्यालेस्टाइनी प्राधिकरणले आफ्नो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए ।

अब्बासले सैन्य समाधानले कसैलाई शान्ति वा सुरक्षा प्रदान गर्नुको साटो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताएका छन् ।

उनले प्यालेस्टाइनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानून र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गरेका छन् ।

डेनमार्ककी महारानी मार्गरेटबाट राजगद्दी परित्यागको घोषणा
डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् ।

नयाँ वर्ष सन् २०२४ को अवसरमा टेलिभिजन सम्बोधनका क्रममा उनले आफू महारानी बनेको ५२ वर्ष पुगेको दिन जनवरी १४ मा औपचारिक रुपमा पद त्याग्ने बताएको बीबीसीले जनाएको छ ।

८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि सोही दिन आफ्नो छोरा राजकुमार फ्रेडरिकलाई सिंहासन छोड्ने घोषणा समेत गरेकी छिन् ।

मार्गरेट हाल संसारमा शासनमा रहेकी एकमात्र रानी हुन् । उनी युरोपमा सबैभन्दा लामो समयसम्म ५२ वर्ष पदमा रहेकी छन् ।

उनले सन् १९७२ मा आफ्ना पिता राजा फ्रेडरिक नवौँको मृत्यु पछि सिंहासन ग्रहण गरेकी थिइन् । सन् २०२३ को सुरुमा आफ्नो ढाडको शल्यक्रियापछि उनले समयको सोचविचार पछि यो निर्णय गरेको खुलासा गरेकी हुन् ।

उनले भनिन्, ‘मैले जो निर्णय गरेको छु, अहिले नै सही समय हो ।’ उनले वर्षौँदेखिको समर्थन र साथका लागि डेनमार्कका जनतालाई धन्यवाद समेत दिइन् ।

सन् २०२३ मा साउदी अरबले १७० जनालाई दियो मृत्युदण्ड
साउदी अधिकारीहरूको घोषणामा आधारित एएफपीको तथ्याङ्कअनुसार साउदी अरबले सन् २०२३ मा एक सय ७० जनालाई मृत्युदण्ड दिएको छ । यसमा नयाँ वर्षको पूर्वसन्ध्यामा चार जना समावेश थिए ।

खाडी राज्य साउदी अरबमा सन् २०२२ मा कूल एक सय ४७ दोषीलाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्डको व्यापक प्रयोगको निन्दा गर्ने मानवअधिकार कार्यकर्ताहरूले साउदी अरबको आलोचना गरेका छन् । सन् २०१९ मा उक्त मुलुकले एक सय ८७ जनालाई मृत्युदण्ड दिएर रेकर्ड बनाएको थियो ।

आधिकारिक साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरिएको बताएको छ । तीमध्ये दुई जनालाई उत्तरपश्चिमी सहर ताबुक, एक जनालाई राजधानी रियाद र अर्का एक जनालाई दक्षिणपश्चिमी जनामा मृत्युदण्ड दिइएको हो ।

सन् २०२३ मा मृत्युदण्ड दिइएकामध्ये आतङ्कवादसँग सम्बन्धित अपराधको आरोपमा ३३ जना र देशद्रोहको आरोपमा दोषी ठहरिएका दुई सैनिक रहेका छन् । सबैभन्दा घातक महिना डिसेम्बरमा ३८ जनालाई मृत्युदण्ड दिइएको थियो ।

एमनेस्टी इन्टरनेसनलले सन् २०२२ मा साउदी अरबले चीन र इरानबाहेक कुनै पनि मुलुकको तुलनामा सबैभन्दा धेरै व्यक्तिलाई मृत्युदण्ड दिएको बताएको छ ।

टाउको काटेर मृत्युदण्ड दिन कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड दिएर विश्वभरमा निन्दाको लहर उत्पन्न गरेको थियो ।

अधिकारीहरूका अनुसार शरिया कानून, कुरानको शिक्षामा आधारित इस्लामिक कानून संहिता र ‘सार्वजनिक व्यवस्था कायम राख्न’ का लागि मृत्युदण्ड आवश्यक छ ।

वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमान विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक मुलुक साउदी अरबलाई व्यवसाय र पर्यटन केन्द्रमा रूपान्तरण गर्न चाहनुहुन्छ । यद्यपि कार्यकर्ताहरूका अनुसार मृत्युदण्ड जारी राख्दा प्रिन्स मोहम्मदको भिजन २०३० सुधार एजेन्डाको केन्द्रमा रहेको अझ खुला, सहिष्णु समाजको छविलाई कमजोर बनाउँछ ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ८ : ०० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी