तपाईंको सास गन्हाउँछ ? पेटमा पो समस्या छ कि ? | Khabarhub Khabarhub

तपाईंको सास गन्हाउँछ ? पेटमा पो समस्या छ कि ?


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सास गन्हाउने समस्या धेरै मानिसमा हुने गर्दछ। जसको सास गन्हाउँछ, त्यसले सम्बिन्धत व्यक्तिलाई भन्दा पनि छेउछाउमा कुराकानी गर्ने अन्य व्यक्तिलाई वाक्क लाग्न सक्छ। आफ्नो सास गन्हाएको अरुले थाहा पाउलान् भनेर हीनताबोध भएपछि मानिसले असहज महसुस गर्छ। सास गन्हाउने समस्याका कारण कतिपय आफन्त र साथीभाइ पनि टाढा–टाढा हुन खोज्छन्।

यो त भयो सास गन्हाउँदाको सामाजिक असर। तर, स्वास्थ्य विज्ञानको दृष्टिकोणले चाहिँ सास गन्हाउने समस्या किन हुन्छ त ? अनि यसको समाधान के हो ?
चिकित्सकका अनुसार दाँत नमाझ्ने लगायतको मुखको समस्या मात्र नभई पेट लगायत शरीरका अन्य अंगमा समस्या भएर पनि सास गन्हाउने गर्छ। दन्त चिकित्सकको सुझाव छ- मुखको स्वास्थ्यबारे जनचेतनाको कमीले गर्दा पनि यो समस्या बढेको हो।

आखिर सास गन्हाउने समस्या किन हुन्छ ? सास गन्हाउने समस्या लिएर अहिले कत्तिको बिरामीहरु स्वास्थ्य संस्थामा जाने गर्छन् ? यसको उपचार विधि के छ ? यिनै विषयमा खबरहबले दन्त रोग विशेषज्ञ डा. खगेन्द्र झासँग संक्षिप्त कुराकानी गरेको छ।

 

सास गन्हाउने समस्यालाई कसरी बुझ्ने ?
हामी समस्यालाई मात्रै देख्छौं, के कारणले भइरहेको छ भनेर कारणतिर जाँदैनौ। जस्तै- बेलाबेला रुघाखोकी लाग्ने समस्या छ कि ? पेट सफा छैन कि ? धुम्रपान गर्ने बानी छ कि ? ब्रस गर्दा कसरी कति समय दिने गरेको छ ? यी सबै कुरामा भर पर्छ। त्यस्तै मुख स्वास्थ्यमा मान्छे अझै पनि सचेत भइसकेका छैनन्। जसले गर्दा सास गन्हाउने समस्या भइरहेको हुन सक्छ।

दन्त रोग विशेषज्ञ डा. खगेन्द्र झा

कुन कारणले सास गन्हाएको हो भनेर कसरी थाहा पाउने ?
यदि लामो समयदेखि सास गन्हाउने समस्या भइरहेको छ भने दन्त चिकित्सककहाँ जानुपर्छ। दाँत तथा गिजाको समस्याका कारण यस्तो समस्या भएको हो भने त्यसको उपचार गर्नुपर्यो। अन्य कुनै अंगमा समस्या भएर सास गन्हाएको छ भने पनि चिकित्सककै सल्लाह अनुसार उपचार  गराउनु राम्रो हुन्छ।

कसैले एक मिनेट नाक मुख छोपेर राखेपछि नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धी कारणले हुनसक्छ। अरूलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझ्नु पर्छ। तर, मुखबाट मात्र गन्ध आयो भने त्यो दाँत तथा मुख सम्बन्धी कारणले मात्र हुन्छ। तर, सास गन्हाएको आफैंलाई थाहा हुन्छ भने सुँघ्ने नशामा समस्या भएको हो या धेरै उमेर भएको व्यक्ति हो भनेर छुट्याउनुपर्छ।

कसैले एक मिनेट नाक मुख छोपेर राखेपछि नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धी कारणले हुनसक्छ। अरूलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझ्नु पर्छ।

सास गन्हाउँदा समयमा उपचार गरिएन भने पछि कस्तो जोखिम हुन्छ ?
सास गन्हाउने समस्याले ठुलै रोग ल्याउँछ भन्ने छैन। तर, शरीरमा केही समस्या छ भन्ने संकेत मुखले गरिरहेको हुन्छ। त्यो संकेतलाई हामीले बेवास्ता गर्यौं भने समयअगावै दाँत झर्ने र शरीरमा अन्य रोगहरु बढ्ने, जस्ता जटिलताहरु निम्तिने सम्भावना हुन्छ।

सास गन्हाउने समस्या लिएर अहिले कत्तिको बिरामीहरु आउने गरेका छन् ?
सरसफाइ नभएर सास गन्हाउने समस्या भएका बिरामीहरु अहिले धेरै आउने गरेका छन्। दाँतमा फोहोर जम्मा भएर दाँत दुख्यो भन्दै बिरामीहरु आउँछन्। हामीले दाँत सफा गर्नुपर्छ भन्छौं तर कतिपयले अभिभावकले दाँत बिग्रिन्छ भनेर सफा गर्न मान्दैनन्। सफा गर्ने त खासमा गिजा हो। गिजा सफा गर्दा दाँतलाई बिगार्ने होइन, झन बलियो बनाउँछ।

सास गन्हाउने समस्याबाट बच्न के कुरामा ध्यान दिनुपर्छ ?
बच्चाहरुमा दाँत आउन सुरु भएदेखि नै दाँतको राम्रो हेरचाह गर्नुपर्छ। नियमित दाँत माझ्ने, फोर्समा कुल्ला गर्ने, जंकफुडहरु नखाने, सागपात खाने, चकलेट सकेसम्म कम खाने र १५/१६ वर्षको उमेरदेखि नै वर्षमा कम्तिमा २ पटक दाँत सफा गर्ने कार्य गर्नुपर्छ।

कम्तिमा ६ महिनामा एकपटक दाँतसँगै सम्पूर्ण शरीररको चेकजाँच गर्नुपर्छ । राति सुत्नुभन्दा पहिले अलिकति समय लगाएर अनिवार्य ब्रस गर्नुपर्छ ।

मुख स्वास्थ्यका विषयमा चेतना छैन भन्नुभयो, विगतको तुलनामा अहिले केही सुधार भएको छ कि छैन ?
पछिल्लो समय विभिन्न सञ्चार माध्यमसँगै सामाजिक सञ्जालको बढ्दो प्रयोगले पहिलेको तुलनामा धेरै नै सुधार भएको छ। तर खानपानमा पनि ध्यान दिनु आवश्यक छ। अहिले सागपात र फलफूल भन्दा धेरै जंकफुड खाने प्रवृत्तिले समस्या बढ्दो छ।

दन्त चिकित्सकका नाताले मुख स्वाथ्यका लागि के सुझाव दिनुहुन्छ ?
कम्तिमा ६ महिनामा एकपटक दाँतसँगै सम्पूर्ण शरीररको चेकजाँच गर्ने, जंकफुडहरु नखाने, सागपात फलफूलहरु प्रशस्त मात्रामा खाने, दूधजन्य परिकार खाने, राति सुत्नुभन्दा पहिले अलिकति समय लगाएर ब्रस गर्ने, मनतातो नुनपानीले कुल्ला गर्ने जस्ता कार्य गर्न सके केही हदसम्म मुखको समस्याबाट बच्न सकिन्छ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : २० बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार