कथा- फेसबुकमै प्रेम | Khabarhub Khabarhub

कथा- फेसबुकमै प्रेम


१९ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

भर्खरै फेसबुक आएको थियो । अपरिचतबीच साथी बन्ने र बनाउने लहर चल्दै थियो । तर हातहातै मोबाइल भने थिएन । साइबर गएर कम्प्युटरबाट डिजिटल साथीसँग कुरा गरिन्थ्यो । हुने केही होइन, तर प्रविधिले तानिरहेको थियो ।

पैसा तिरेर घण्टौं डिजिटल साथीसँग कुरा गर्‍यो र खुसी भयो !

यस्तैमा भेटिएका थिए सोहनमणि । हाय र हेल्लोबाटै सुरु भएको थियो उनीहरू बीचको लामो अमिट कथा ।

सोहनमणि पूर्व धरानका थिए र सुप्रिया अर्घाखाँचीकी । सोहन देख्नमा निकै सुन्दर थिए नै ! उनको बोलीवचन पनि नम्र थियो । काठमाडौंमा हजुरआमा र भाइसँग बस्थे, आमाको मृत्यु भइसकेको थियो, टुहुरा थिए ।

फेसबुकमा पनि ‘उनी आमा बिनाको घर; घर होइन’ जस्ता स्ट्याटस लेख्थे । प्रायःजसो आमाको फोटो राखेर महिमा लेख्थे । च्याटमा पनि उनी धेरैजसो मेरी आमा यस्ती हुनुहुन्थ्यो, उस्ती हुनुहुन्थ्यो भनी कुरा गरिरहन्थे ।

सोहनमणि पूर्व धरानका थिए र सुप्रिया अर्घाखाँचीकी । सोहन देख्नमा निकै सुन्दर थिए नै ! उनको बोलीवचन पनि नम्र थियो । काठमाडौंमा हजुरआमा र भाइसँग बस्थे, आमाको मृत्यु भइसकेको थियो ।

हजुरआमालाई पनि असाध्यै माया गर्थे । ‘आमाको कपालमा तेल लगाइदिएँ’ भन्थे । ‘आज आमाले खाना मीठो बनाउनु भएन, बुढी हुनुभयो , आँखा मधुरो देख्नुहुन्छ । नुन धेरै भएछ’ जस्ता कुरा उनी गर्थे ।

बुवा र सौतेनी आमाले हेला गरेकाले हजुरआमालाई आफूसँगै काठमाडौं ल्याएको सुनाउँथे । हजुरआमालाई आफूले संसारमै सबैभन्दा धेरै माया गर्ने बताउँथे ।

आमा र हजुरआमाप्रति यस्तो प्रेम र लगाव भएको पुरुषसँग कुन केटी प्रेममा पर्दैनन् होला । सुप्रियालाई सोहनमणिका कुराले हरेक दिन उनीप्रति आकर्षण बढाइरहेको थियो ।

फेसबुकका धेरै साथीमध्ये सोहनमणि नै प्यारो लाग्न थालेको थियो । उनका कुरा मन पर्न थालेको थियो । उनले हालखबर सोधेको मन पर्न थालेको थियो । हरेक दिन घण्टौं गफ गर्न मन लाग्थ्यो ।

सोहनमणिले सुप्रियासँग विस्तारै-विस्तारै परिवारकै सदस्यसँग झैं रूपमा कुरा गर्न थालेका थिए । बाल्यकालको संघर्ष, घर-व्यवहार, आफन्तसँगको सम्बन्ध, करिअरको कुराहरू यस्तै ! च्याटमा कुरा हुन थालेको वर्ष दिन बित्यो । तर उनले कहिले भेटौं भनेर प्रस्ताव राखेनन्‌ ।

एकदिन उनले अचानक आफू कतार जान लागेको सुनाए । आइटीको विद्यार्थी थिए । त्यसैसँग सम्बन्धित तीन महिनाको तालिममा आफ्नो नाम सिफारिस भएको बताए । एकपटक पनि भेट नभएको मान्छे अर्को देश जाँदै छ भन्ने कुराले सुप्रियालाई दुःखी बनाइरहेको थियो ।

तालिम राम्रो थियो । उनले तालिम सकेर आएर आफ्नै केही व्यवसाय सुरु गर्ने पनि सुनाएका थिए । सपना र लक्ष्यले एकसाथ बाटो कोरिरहेको थियो ।

उनले कतारबाट फर्किएपछि भेट्ने कुरा गरे । हजुरआमासँग भेटाउने वाचा गरे। ‘मेरो हजुरआमालाई धेरै माया गर्नुपर्छ है !’ पनि भने ।

हरेक पल नबितेर हैरान भएको थियो । के गर्नु ! प्रेम गर्ने र करिअर बनाउने समय एकैपटक पर्छ ।

जीवनमा केही गर्नुपर्छ, त्यो पनि केही ठूलै गर्नुपर्छ भन्थे । ठूलो सपना देख्न र लक्ष्य हासिल गर्न मिहिनेत गर्नुपर्ने कुरामा उत्प्रेरणा भरिराख्थे ।

कतार पुगेपछि उनीहरूबीच झनै धेरै कुरा हुन थाल्यो । धेरै लामो समय त थिएन, तर उताबाट फर्किएपछि भेट्ने भन्ने कुराले हरेक दिन र रात लामो लागेको थियो सुप्रियालाई । घडीले हिँड्न बिर्सिएको जस्तो गरेको थियो । उनले ‘नब्बे, उनानब्बे, अठासी दिन बाँकी !’ यसरी दिन गनेर बस्न थालेकी थिइन्‌ ।

नेपाल आउन करिब १० दिन बाँकी रहँदा सोहनले अझै तीन महिनाको कोर्ष लिएर मात्रै फर्किने बताए । धेरै राम्रो तालिम भएकाले अबको तीन महिनाको आफैँ पैसा तिरेर कोर्ष गर्ने बताए । एक मनले दिक्क माने पनि पढ्ने र सिक्ने कुरा थियो । सुप्रियाले ‘आउनू ! फर्किनू !’ भन्न सकिनन् ।

त्यसपछि फेरि उनको दिनगन्ती ‘सय ! उनान्सय ! अन्ठानब्बे ! सन्तानब्बे !’ हुन थाल्यो । हरेक पल नबितेर हैरान भएको थियो । के गर्नु ! प्रेम गर्ने र करिअर बनाउने समय एकैपटक पर्छ ।

हरेक पल नबितेर हैरान भएको थियो । के गर्नु ! प्रेम गर्ने र करिअर बनाउने समय एकैपटक पर्छ ।

सोहनले च्याटमा हरेक ‘दिन तिमीलाई भेट्नको लागि मरिरहेको छु’ भन्थ्यो । ‘एकपटक भेटेर आउनुपर्ने रहेछ, गल्ती गरेछु’ भन्थ्यो । यता सुप्रियाको हातल उस्तै थियो ।

‘कोर्ष पूरा भएर नेपाल फर्किंदा एयरपोर्टमा लिन आउनू’ भनेका थिए । एयरपोर्टमा पहिलो पटककै भेटमा कसिलो आलिङ्गन गर्ने दुवै जनाको वाचा भएको थियो । बस्‌ ! त्यही दिनको प्रतीक्षा थियो ।

जति अत्यास लागेपनि समय न हो ! उसको काम बितिजानु नै हो । ६ महिना सकिन लागेको थियो । सुप्रियाको मुटुको ढुकढकी बढ्न थालेको थियो । पहिलो भेटमा अंकमा गर्ने जो सल्लाह भएको थियो – त्यो क्षण कल्पना गर्दा नै उनी हायलकायल हुन्थिन्‌ । कहिल्यै नभेटेको मानिसमा उनले आफूलाई पूरै समर्पण गरेकी थिइन् । अब सोहन बाहेक अरू कसैका प्रति प्रेमराग थिएन ।

एकदिन सोहनले आफूलाई बाहिर फिल्डमा लैजान लागेको सुनाए । त्यहाँ नेट नहुने हुँदा कुराकानी हुन नसक्ने जानकारी गराएका थिए । कतिपय तालिममा यस्तो हुनु स्वभाविक पनि हो । तर, एकदिन पनि कुरा नगरी बस्न नसक्ने भइसकेकालाई तीन दिन पनि मुस्किल पर्छ ।

जसोतसो त्यो तीन दिन पनि बितेर गयो । फिल्डमा झनै धेरै कुरा सिकिएको उनले सुनाए । त्यसै क्रममा उनले दुःख पनि लाग्ने र खुसी पनि लाग्ने कुरा सुनाए ।

त्यही तालिममा सहभागी एक कतारी केटीले सोहनलाई प्रेमप्रस्ताव राखिछन् । तर उनले नेपालमा आफ्नी प्रेमिका भएको बताएछन् । दुःख उक्त केटीले प्रेमप्रस्ताव राखी भनेर लाग्यो, उनी बहकिएनछन् भन्नेमा खुशी लाग्यो ।

सोहनमणि नेपाल फर्कन करिब एक हप्ता बाँकी थियो । उनीहरूले एक-अर्कालाई लामो समयदेखि सुखदुःख बाँडेको सहयात्रीजस्तो मान्न थालेका थिए ।

सबै कुरा राम्रै थियो । अब उनी नेपाल आउने र माहोल अझै राम्रो बन्दै जाने अपेक्षा थियो ।

तर, सोहन खबरै नगरी फेसबुकबाट अचानक गायब भए । जहाँ गएपनि भनेर, खबर गरेर हिँड्ने मान्छे हराउँदा उनको मनमा चिसो पस्यो । जानी–जानी दुःख दिने खालका उनी थिएनन् । केही समस्या नपरी यसरी हराउन सक्ने मान्छे होइनन् । सम्पर्कविहीन भएर बस्न सक्ने मान्छे होइनन् ।

के अब ‘कम्तिमा शारिरीक शोषण त गरेन’ भनेर चित्त बुझाउने हो ? सुप्रिया यस्तै अनुत्तरित प्रश्नहरूमा रुमल्लिइरहिन्‌ ।

खाडीमा बिरामी पो परे कि ? मान्छेको मन हो, यसले पाप सोच्न पनि बेर लाउँदैन । कतै त्यही कतारी केटीको प्रेममा पो डुबे कि ! केटीको परिवारले थाहा पाएर बन्धक पो बनाए कि ! उस्तै परे तिनीहरूले छोरीसँग प्रेम गर्ने गरिब देशको केटोलाई फाँसीमा पो चढाइहाल्छन्‌ कि !

कसलाई भन्ने ? उनले बालुवाटारमा हजुरआमा हुनुुहन्छ भन्ने बाहेक केही सुनेकी थिइनन् । के गर्ने र के नगर्ने सोच्न सकिरहेकी थिइनन् । केही नगरी बस्ने स्थिति पनि थिएन ।

उनी कतारस्थित नेपाल दूतावासमा सम्पर्क गर्ने निर्णयमा पुगिन् । तर, यसो गर्दा त उसको गोपनीयता भङ्ग हुन्छ । बिरामी भएका भए आराम मिलेपछि आफैं फोन गर्छन् भनी आफूलाई सम्झाइन् ।

तर उसको फोन, मेसेज केही आएन । सोहनले एकपटक ठेगाना धरान बताएका थिए । सोहनको घर जाने र उनको बुबालाई भेट्ने निर्णय गरिन् ।

उसको हालखबर बिना उनले स्वास फेर्न सक्ने स्थिति थिएन । सोहनको घरमा ‘तिमी को हौ ?’ भनेर आउने प्रश्नको जवाफ के दिने हो ? फेरि अर्को प्रतिप्रश्नले उनलाई सताउन थाल्यो ।

उनी धरान जान पनि सकिनन् । त्यसो गर्दा भएको सम्बन्ध पनि बिग्रने हो कि भन्ने डर मनमा उब्जियो । आफ्नो ब्यथा सुनाउने उनले कुनै ठाउँ पाइनन् । चुप लागेर प्रतीक्षा गर्नु बाहेक उनले केही गर्न सकिनन् ।

केही गल्ती गरेर खाडीमा फाँसी नै चढाए पनि समाचार आउँथ्यो । त्यो पनि आएको छैन । बिरामी पनि केही दिनमा निको हुन्थ्यो, खै के भयो ? महिना दिनसम्म सोहनको फोन आएन । तर पनि सुप्रियाले शंका गर्न सकिनन् ।

‘उसले मलाई जिन्दगी सँगै बिताउने सपना देखाएर यत्तिकै छोड्न सक्दैन । अरू केटाहरू मध्येको ऊ होइन । आफ्नो काम बनेपछि फोन गर्ला !’ भन्नेमा उनी रहिन् । कुनै हातलमा उसैलाई पर्खेर बस्ने अठोट गरिरहिन्‌ ।

मनमा प्रश्नका ज्वारभाटा उठे पनि उनले संयमित भएर किस्ता किस्तामा जानकारी लिइरहिन्

केही समयपछि फेसबुकमा ‘पिपुल यु मे नो’ मा सोहनसँग मिल्दोजुल्दो एक जना मान्छेको प्रोफाइल देखिइरह्यो । उनीहरू तीन दाजुभाइ थिए । त्यो मध्ये यी एक हुन् भन्ने लाग्यो र उनले उक्त व्यक्तिलाई साथी बन्न अनरोध पठाइन् ।

करिब २४ घण्टामा उक्त व्यक्तिले सुप्रियाको अनुरोध स्वीकार गरे । नयाँ साथीसँग कुरा गर्न उनैलाई बढी उत्सुकता थियो । उनले आफूलाई रोक्न सकिनन् ।

केही नजाने जस्तो र केही नबुझेजस्तो गरेर उनले नयाँ साथीसँग कुरा गरिरहिन् । पछि उनले घर कता हो ? भनेर पनि सोधिन् । कस्तो संयोग ! सोहनकै कान्छो भाइ रहेछन्‌ ।

त्यसपछि उनले ‘दाई कता हुनुहुन्छ ?’ भनेर सोधिन् । उनले ‘कतारमा’ भने ।

मनमा प्रश्नका ज्वारभाटा उठे पनि उनले संयमित भएर किस्ता किस्तामा जानकारी लिइरहिन् । एक कुरा चाँहि पक्का भयो – सोहनमणि कुनै समस्यामा परेका थिएनन्‌ । नत्र उनका भाइ यति सहज कुराकानी गर्ने थिएनन्‌ ।

त्यति शालीन मान्छेले धोका दिन सक्छ भनी उनले विश्वास गर्नै सकिरहेकी थिइनन् । तर पनि पक्का गर्नु पर्नेमा उनी थिइन् ।

एकदिन उनले नयाँ साथी अर्थात्‌ सोहनका भाइलाई ‘तपाईंको परिवारको फोटो हेरौँ न !’ भनिन् । उसले दशैंमा घरमा टीका लगाएको फोटो पठायो । शत्‌प्रतिशत मिल्यो – उनी सोहनका कान्छा भाइ रहेछन्‌ ।

पछि उसले सिंगल–सिंगल फोटो पठायो । जसमा सोहन एक महिलासँग सानी छोरी काखमा बोकेर उभिएका थिए ।

सुप्रियाले सोधिन्, ‘को हो ?’

‘मेरो ठूलो दाइ ,भाउजू र भतिजी…!’

नयाँ साथीले परिवारको खुसी बाँडिरहेको थियो । तर सुप्रियाको आत्माले शरीर छोडेर भाग्छ कि जस्तो गरिरहेको थियो ।

‘कति राम्रो परिवार !’ बाहेक उनले थप केही भन्न सकिनन् ।

यत्तिका समय एक विवाहित मान्छेले उनलाई प्रेमको बाटो हिँडाइरहेको थियो ? एक छोरीको बुबाले घरजम गर्ने सपना देखाइरहेको थियो ? के उसलाई यो अधिकार छ कि कसैसँग टाइमपास गर्न भावनासँग खेलोस् ? एक वर्ष कुनै निर्दोष केटीसँग प्रेमका कुरा गरेर मनोरञ्जन प्राप्त गर्‍यो ? के र कुन उद्देश्यका लागि उसले यो हर्कत गर्‍यो ?

के अब ‘कम्तिमा शारिरीक शोषण त गरेन’ भनेर चित्त बुझाउने हो ? सुप्रिया यस्तै अनुत्तरित प्रश्नहरूमा रुमल्लिइरहिन्‌ ।

प्रकाशित मिति : १९ जेठ २०८१, शनिबार  १० : ३८ बजे

स्थानीयको अवरोधले २० दिनदेखि नागढुङ्गा सुरुङ निर्माण ठप्प (तस्बिरहरू)

काठमाडौं– स्थानीयको अवरोध पश्चात निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरूङमार्गको

‘बालेनले स्टन्ट गर्न छाडेको दिन काठमाडौं महानगरमा सबै कुरा मिल्छ’

काठमाडौं महानगरपालिकामा करिब चार महिनादेखि जारी द्वन्द्वको उग्ररूप बिहीबार देखियो

महाभियोग प्रस्ताव सदर भएपछि दक्षिण कोरियाली राष्ट्रपति औपचारिक रूपमा पदमुक्त

सोल- दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

टोकियो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय

मधेश प्रदेश सरकारले तीनवटा सार्वजनिक शौचालय बनाउने

महेन्द्रनगर (धनुषा)– मधेश प्रदेश सरकारले जनकपुरधाममा तीन वटा सार्वजनिक शौचालय