काठमाडौं – मंकीपक्स (एमपक्स) संक्रमणलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी जनस्वास्थ्य आपत्काल घोषणा गरेसँगै विश्वभर यसको त्रास फैलिएको छ। छिमेकी देशमा संक्रमित देखिएकाले नेपालमा पनि यसको जोखिमलाई लिएर चासो बढेको छ। सन् २०२४ को जनवरीदेखि २० अगस्टसम्म ३४ देशमा एमपक्स फैलिएको डब्लूएचओको तथ्यांक छ। यस अवधिमा १५ हजार ६०० जना संक्रमित भएका छन्। यस्तै पाँच सय ३७ जनाको मृत्यु भएको तथ्यांक छ।
एमपक्स फैलिनेमा अधिकांश अफ्रिकी मुलुक छन्। यो वर्ष संक्रमण विगतका वर्षहरूभन्दा १६० प्रतिशतले बढेको डब्लुएचओले जनाएको छ। गतवर्ष नेपालमा एकजना विदेशी महिलामा एमपक्स देखिएकाले यसवर्ष विशेष सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गरेको छ।
मंकीपक्सको जोखिममा नेपाल
चाडपर्व सुरु भएकाले अब विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्किने क्रम बढ्नेछ। पर्यटक आउने सिजन पनि भएकाले जोखिम रहेको विज्ञ बताउँछन्।
नेपाली सेनाको मिसन पनि कंगो र अफ्रिकन देशमा हुँदा नेपाल मंकीपक्सको जोखिममा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। खबरहबसँगको कुराकानीमा प्रवक्ता बुढाथोकीले भने, ‘पाकिस्तानमा फाट्टफुट्ट रुपमा देखिएको छ। भारतसम्म आइसकेको छैन। त्यसैले डराउनुपर्ने अवस्था छैन। तर सतर्कता अपनाउनु आवश्यक छ।’
समयमा सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना नगरे कोभिडकै जस्तो स्थिति बन्ने उनले चेतावनी दिएका छन्। प्रवक्ता बुढाथोकीले भने, ‘हामी समयमा सचेत नबने कोभिडको दोस्रो लहरमा भएको जस्तो स्थिति बन्नसक्ने जोखिम छ।’
सरुवा रोग विशेषज्ञ एवम् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन पर्यटकीय सिजन भएकाले यो फैलिने सम्भावना देख्छन्।
योसँगै चिकेनपक्स अर्थात् ठेउला संक्रमणसमेत हुने उनको भनाइ छ। समस्या देखिने बित्तिकै परीक्षण गर्न उनले सबैलाई सुझाव दिए। ‘अहिले पर्यटकीय सिजन भएकाले बाह्य पर्यटकबाट नेपालमा मंकीपक्स फैलिने सम्भावना धेरै छ। साथै यसको लक्षण चिकेनपक्स संक्रमणसँग मिल्दोजुल्दो हुन्छ। अहिले ठेउला नेपालको आमसमस्या हो। त्यसैले लक्षण देखिनेबित्तिकै जाँच गर्नु आवश्यक छ।’
संक्रमण फैलिन नदिन सरकारी प्रयास
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण फैलिन नदिन देशका विभिन्न नाकामा आवश्यक सतर्कता अपनाइएको छ। विभिन्न नाकामा स्वास्थ्यकर्मीसहितको हेल्पडेस्क स्थापना गरेर निगरानीका लागि निर्देशन दिइएको छ। प्रवक्ता बुढाथोकीले भने, ‘यसबारे हामीले मापदण्ड पनि बनाएका छौँ। कोही पनि विदेशी प्रभावित क्षेत्रबाट आयो वा संक्रमित भएर आयो भने तीन हप्ता क्वारेन्टाइनमा बस्नुपर्नेछ।’
ज्वरो आउने, शरीरमा बिबिराहरु देखिने जस्ता लक्षण देखिएका बिरामी आए भने उनीहरुलाई पायक पर्ने नजिकको अस्पतालमा लगेर मंकीपक्सको जाँच गराउने र उनीहरुको उपचार गराउने गरिएको उनले बताए।
त्यस्तै स्थानीय तहमा र्यापिड टेष्ट किट उपलब्ध गराइएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई चाहिने किटहरु थप भण्डारण गर्न निर्देशन दिइसकिएको उनको भनाइ छ।
‘हाम्रो क्षमता भन्दा धेरै संक्रमण फैलियो भने रोकथाम तथा निदान गर्न समस्या हुने भएकाले प्रभावित मुलुकबाट आफन्तहरु आउँदा तीन हप्ता सम्पर्कमा नजाने, र जनस्वास्थ्यका मापदण्ड पालना गरेर सतर्कता अपनाउन हामी सबै नागरिकलाई अनुरोध गर्दछौँ’, प्रवक्ता बुढाथोकीले भने।
के हो मंकीपक्स ?
डा. शेरबहादुर पुनका अनुसार मंकीपक्स एक प्रकारको भाइरल इन्फेक्शन हो। यो पहिलोपटक बाँदरमा देखिएको भएर यसलाई मंकीपक्स भनिएको हो। त्यसपछि अफ्रिकी महादेशमा बाँदरबाट मानिसमा सरेको भन्ने बुझिन्छ। सन् २०२२ र ०२३ मा चाहिँ युरोपभर फैलियो र त्यसपछि विश्व स्वास्थ्यको आपतकालीन अवस्थाको रुपमा यसलाई हेरिएको छ।
मंकीपक्सका प्रकार
मंकीपक्स ‘क्लेड १ बी’ र भाइरस ‘क्लेड २’ गरेर दुई प्रकारको छ। गतवर्ष नेपालमा देखिएको मंकीपक्स क्लेड २ हो जुन कम घातक मानिने डा. पुनले बताए। यो जोकोहीलाई पनि हुनसक्ने उनको भनाइ छ।
डा. पुनका अनुसार अहिले विभिन्न देशहरुमा फैलिएको क्लेड १ बी हो। यो पहिलेको भन्दा अली बढी घातक मानिएको छ। यो पनि अफ्रिकी देश लगायत अन्य देशमा फैलिने क्रम जारी रहेकाले विश्व स्वास्थ्यको आपतकालीन अवस्थाको रुपमा हेरिएको छ।
डा. पुनले भने पहिलेको संक्रमण ठुलो मान्छेमा फैलिएको थियो भने अहिलेको बालबालिका धेरै देखिएको छ। १५ वर्षमुनिका बालबालिकामा यो तीव्र रुपमा फैलिएको र केहीको मृत्यु समेत भएको भन्ने कुरा आइरहेको छ।
यो रोग लाग्नुको कारण र सर्ने माध्यम
भाइरसकै कारण लाग्ने यो रोग कोरोना भाइरसभन्दा सरल ढंगले सर्ने डा. पुनले बताए। डा. पुनले भने क्लेड १ बीमध्ये अफ्रिकामा संक्रमण फैलाइरहेको छ। जसले मृत्युदर बढाइरहेको छ। क्लेड २ ले अफ्रिका र युरोपमा समेत संक्रमणको दायरा विस्तार गरेको छ।
‘एक आपसमा छुँदा, स्पर्श गर्दा, म्वाइ खाँदा मात्र होइन एउटै ओच्छ्यान प्रयोग गर्दा पनि मंकीपक्सको संक्रमण हुनसक्छ,’ डा. पुन भन्छन्, ‘खुला सीमाना, भौगोलिक अवस्था लगायतले हामी जोखिम छौँ सचेत हुनुपर्छ।’ सुरुमा बाँदरबाट मानिसमा सरेको इतिहासलाई हेर्दा संङ्क्रमित जनावरबाट पनि सर्ने सम्भावना हुने उनले बताए।
यसबाट बच्न लगाइने खोप कति सुरक्षित छ ?
यो खोप जहाँ महामारी फैलिएको छ त्यो क्षेत्रमा मात्रै लगाउने व्यवस्था रहेको प्रवक्ता बुढाथोकीले बताए। ‘आवश्यक ठाउँमा मात्रै डब्लुएचओले अनुमति दिन्छ। बाँकी ठाउँमा लगाउने अनुमति छैन। किनकी यसका नकारात्मक पक्ष धेरै छन्’, डा. बुढाथोकीले भने।
संक्रमण नफैलिएकै ठाउँमा खोप दिँदा यसले मुटुमा असर गर्ने, मस्तिष्कमा असर गर्ने सम्भावना हुने भएकाले अहिले धेरै प्रभावित क्षेत्र कंगोलाई मात्रै अनुमति दिएको उनको भनाइ छ।
प्रतिक्रिया