दासीलाई पत्र लेख्ने सम्राटदेखि प्रेममा असफल बेलायती प्रधानमन्त्री चर्चिलसम्म | Khabarhub Khabarhub

विश्व चर्चित प्रेमपत्र

दासीलाई पत्र लेख्ने सम्राटदेखि प्रेममा असफल बेलायती प्रधानमन्त्री चर्चिलसम्म



एक प्रेमिकाले जुन प्रेमीको प्रेम प्रस्ताव अस्वीकार गरिदिइन्, उनै व्यक्ति कालान्तरमा बेलायतको प्रधानमन्त्री बने । उनले लेखेको प्रेमपत्र १ लाख १५ हजार पौण्ड मोलियोविस्टन चर्चिल थिए, दिल भाँचिएका प्रेमी । धनाढ्य बाबुकी छोरी म्यूरियन विल्सनसँग चर्चिलले असफल प्रेम गरेका थिए । युवतीको मन पगाल्न उनले सातवटा प्रेमपत्र लेखेका थिए । त्यो अस्वीकृत प्रेमपत्र एक अमेरिकी संग्रहालयले लिलामीमा हात पारेको थियो । चर्चिलले एक प्रेमपत्रमा भनेका थिए– ‘तिमी आफ्नो घरको ढोका मेरा निम्ति बन्द नगर । म जति पनि धैर्य गर्न सक्छु । म असल बन्ने लाख कोसिसमा छु । अनौठो लागिरहेको छ– किन तिमी मेरो मर्म बुझ्ने प्रयास गर्दिनौ ? तिम्रो लागि मेरो मन मस्तिष्कमा उच्च ठाउँ छ । आशा गर्छु– भाग्यले मलाई साथ दिनेछ ।

यसैगरी शक्तिशाली योद्धा नेपोलियनले युद्ध मैदानबाट प्रेमिकालाई प्रेमको याचना गर्दै लेखेका छन्– ‘हृदयेश्वरी, मेरो कुनै पनि रात यसरी बितेका छैनन्, जब म तिम्रो प्रेममा नतड्पेको हुँ । हरेक रात तिमीसँग टाढा रहेर पनि मैले तिम्रो आलिङ्गनमा बिताएको छु । चियाको हरेक घुट्काको साथमा मैले आफ्नो आडम्बरी झुटो अहंलाई धिक्कारेको छु । आफ्नो महत्वाकाङ्क्षालाई चिथोर्न चाहेको छु । किनकी यी दुई कुराले मलाई बलपूर्वक तिमीबाट अलग गराइदिएको छ । आफ्नो कर्तव्यलाई निर्वाह गरेको समय चाहे म आफ्नो सेनाको नेतृत्व गरेको समय होस्, चाहे सैनिक छाउनी निरीक्षण गरेको समयमा होस्, मेरो हृदयको सिंहासनमा प्रिया जोसेफिन तिमी नै विराजमान छौ ।’

प्रेमपत्र यो मनसँग त्यो मन जोड्ने सेतू हो । यसमार्फत हृदयको भावना र बेचैन ज्यूँका त्यूँ अर्को मनमा प्रवेश गर्छ । त्यसो भए प्रेमपत्रको मूल्य कति हुन्छ त ?

सम्राट नेपोलियनले युद्ध मैदानबाट लेखेको पत्रमा करुणा भाव र आराधना पाइन्छ । प्रेमको दरबारमा नेपोलियनजस्ता सम्राट पनि भिखारी बन्न पुगेका छन् । प्रेम सर्वशक्तिमान् अदृश्य शक्ति हो । शेक्सपियर, इलियट, टल्सटाय, बर्नाड शा, ज्या पाल सार्त्रजस्ता प्रसिद्ध साहित्यकारहरू हुन् या हिटलरजस्ता तानाशाह नै किन नहुन् उनीहरूका प्रेमालाप र प्रेमपत्रको चर्चा अद्यावधि हुने गरेको छ ।

प्रेमपत्र यो मनसँग त्यो मन जोड्ने सेतू हो । यसमार्फत हृदयको भावना र बेचैन ज्यूँका त्यूँ अर्को मनमा प्रवेश गर्छ । त्यसो भए प्रेमपत्रको मूल्य कति हुन्छ त ? प्रेम गर्ने प्रत्येक आत्माले मात्र त्यसको व्याख्या गर्न सक्ला । कुनै न कुनै कालखण्डमा धेरैले प्रेमपत्र लेखेका हुन्छन् । कसैले थर्थराएका हातले खाम खोले होलान् । कसैले थर्थराएको ओठले पढे होलान् । डर र लाजले अनुहार रातो भयो होला । मनको मयूर खुसी भएर नाच्यो होला । त्यसैले प्रेमपत्रलाई धेरैलाई जतनसाथ राखेका हुन्छन् । विछोड या अलग अलग स्थानमा रहनु परेको अवस्थामा यही प्रेमपत्रले आत्मीयता मजबुत बनाउँछ । उमङ्ग, खुसी, सपना, कल्पना सबैलाई प्रेमले बचाउँछ ।

रुसका प्रसिद्ध साहित्यकार इवान तुर्नेवाले फ्रान्सकी सुविख्यात सङ्गीतज्ञ पोलिना विरादोतलाई लेखेको प्रेमपत्र अहिले पनि अमर प्रेमपत्रका रुपमा चर्चित छ ।

‘प्रिय, आज म त्यो घर हेर्न गएको थिएँ, जहाँ हाम्रो पहिलो भेट भएको थियो । यो सोच्न पनि मेरो लागि सुखद क्षण हुन्छ । सात वर्ष बितिसक्दा पनि मेरो प्रेम एकै गतिमा प्रवाहित छ । …यदि तिम्रो दिव्यता मेरो साथ हुन सके, यो सुख सन्तोष जीवनभरको लागि पर्याप्त हुने थियो । तिम्रो प्रेमको अनुभूतिले मलाई गौरवान्वित बनाएको छ । ….म आशा गर्छु कि मेरा यी शब्दहरू पढेर तिमीलाई केही खुसी लाग्नेछ अनि तिमी मलाई आफ्नो चरणकमलमा आश्रय दिनेछौ ।’

धैर्यपूर्वक समर्पणमा पोखिएका भावना प्रियसीका चरणकमलमा छताछुल्ल पोख्ने प्रेमीहरुको कथा धेरै इतिहासको रुपमा पढ्न पाइन्छ । तर के आज पनि त्यस्ता मानिस, त्यस्ता प्रेमी भेट्न सकिन्छ ? त्यतिबेला अहिलेको जस्तो सूचना प्रविधि थिएन । बस, कलम र कागज थियो । अनि प्रेमी प्रेमिकाका भावना ती कागजमा प्रेमपत्र भएर अनुवाद हुन्थे । सूचना प्रविधिले प्रेम पनि भावनात्मक कम, फेसन बढी जस्तो बनेको छ । परेवाले हुलाकीको काम गर्नु पर्दैन । विश्वप्रसिद्ध लेखक फ्यूदोर दोस्तावस्की प्रेमलीला उनको यो प्रेमपत्रमा उल्लेखित शब्द भावबाट प्रष्ट हुन्छ ।

प्रिय,
तिमी लेख्छौ, मलाई प्रेम गर । तर के म तिमीलाई प्रेम गर्दिनँ ? प्रेम देखाउनु मेरो प्रकृतिवशको कुरा होइन । फेरि अफसोसको कुरा यो छ कि कुनै कुरा महसूस गर्न जान्नुपर्छ । तर कसरी ? यो तिमी जान्दिनौ….। एकपटक पुनः म तिमीलाई विश्वास दिलाउन चाहन्छु कि म तिम्रो सुन्दर पाउका हरेक ससाना औँलाहरुलाई चुम्बन गर्न तड्पिरहेको छु । ….तिमीलाई त्यसदिन थाहा हुनेछ जब हामीसँगै हुन्छौँ अनि मेरो ओठबाट चुम्बनको वर्षा हुनेछ ।

प्रियतमा यो पत्र तिमीलाई म सूचना दिन लेखिरहेको छु । तिमी गएपछिका मेरा दिनमा म नितान्त एक्लो महसूस गरिरहेको छु । समय अत्यन्त लामो र कष्टपूर्ण भएको भान भइरहेको छ ।

प्रेमपत्रको माध्यमले हाम्रो भावनालाई सदाबहार बनाइ राख्छ । अन्तर्मुखी प्रेमीको अभिव्यक्तिलाई प्रेमीका सामु प्रस्तुत गर्न सहज हुन्छ । मलाई कसैले चाहन्थ्यो, म कसैलाई चाहन्थे भन्ने कुराको सदा महसूस गराउँछ । अनि त्यही प्रेमपत्र पढेर, छोएर, हेरेर बिछोडिएको वा अलग्गिएका प्रेमी प्रेमिकालाई नजिक ल्याउँछ । त्यो बालापन, किशोरावस्था, युवावस्थालाई पुनः ताजा गराउँछ ।

सम्राट हेनरी अष्टम जब आफ्नै रानीका दासी अन्ना बोलिनसँगको प्रेममा चुर्लुम्म डुब्न पुगे, तब सम्राट हेनरी अष्टम र साम्राज्ञी क्याथरिनको १३ वर्षे लामो वैवाहिक जीवन भताभुङ्ग भएको थियो । त्यसबेला इङ्ग्ल्याण्डमा पोपको प्रभाव अत्यधिक भएकाले सम्राट हेनरीलाई  छोडपत्र दिएर अन्ना वोलिनसँग विवाह गर्न सङ्घर्ष गर्नुपरेको थियो । महत्वाकाङ्क्षी दासी अन्ना बोलिनसँग विवाहको परिणाम इङ्ग्ल्याण्ड पोपको प्रभाव क्षेत्रबाट अलग भयो । सम्राटले लेखेका केही पत्र यस्ता छन्–

प्रियतमा यो पत्र तिमीलाई म सूचना दिन लेखिरहेको छु । तिमी गएपछिका मेरा दिनमा म नितान्त एक्लो महसूस गरिरहेको छु । समय अत्यन्त लामो र कष्टपूर्ण भएको भान भइरहेको छ । जब तिमी मेरो साथ थियौ, तब समय बितेको ख्याल नै हुन्नथ्यो । मलाई लाग्छ, मेरो उच्चतम् प्रेम र तिम्रो सौम्य अनि कृपालु स्वभाव नै यो विचित्र अनुभूतिका लागि जिम्मेवार छ ।

यो पत्र लेख्नुपूर्व म तिम्रो विरहमा जल्दै गइरहेको थिएँ । तर त्यो आगो विस्तारै निभ्दै गए झैँ लागिरहेछ । तिम्रो यादमा मैले सबै कुरा भुलेको छु । तिमी नै म बाँच्ने र केही गर्ने प्रेरणाकी स्रोत भएकी छौ । यो पत्र समाप्त गर्दागर्दै म आफ्नो पुस्तकलाई पूरा गर्ने सही मुडमा आउने छु । मेरो यो पत्र सङ्क्षिप्त यसकारण छ कि मलाई आफ्नो पुस्तक पूरा गर्ने इच्छा जागेको छ । अतः म कल्पनामा आँखाले खिचिरहेको छु । यो पत्र उसले लेखेको छ, जो सदा तिम्रो थियो, तिम्रो छ र सदा तिम्रो नै रहनेछ ।

विवाह भएको तीन वर्षपछि सम्राट हेनरी अन्नाको प्रेमबाट वाक्क भए । हेनरीको भावना, तर्क र जीवनप्रतिको सोच अरु कसैसँग मिल्न पुग्यो । हेनरीले अन्ना विरुद्ध अनेक झूटो लाञ्छना लगाएर बन्दी बनाए । तीस वर्षे अन्नाले आफ्नो युवावस्था एक बूढो र क्लान्त शाही प्रेमीका खातिर समर्पण गरिदिइन् । बन्दीकालमा अन्नाले हेनरीसँग आफ्नो कर्तव्य परायण पत्नीको चरित्रमा लागेको कलंकको दाग मेटाउन मर्मस्पर्शी ढंगले प्रार्थना गर्दै लेखिएको करुणाजनक पत्र यस्तो थियो–

यदि मेरो नामले पहिले जस्तै आज पनि हजुरको कानमा मधुर सङ्गीतको जन्म दिँदो हो त मेरो बिन्ती छ, लाख लाख प्रार्थना छ, मलाई अरु कष्ट नदिनुस् ।

तपाईंको अप्रसन्नता र मेरा कारावास यी दुवै चीज यस्ता छन्, जुन आजसम्म मेरो मानसपटलले सम्झन सकेको छैन । न बुझ्न मेरो क्षमताले भ्याएको छ । त्यसैले सम्झनामा नआएका कुराहरू कसरी म आफ्नो पक्षमा लेखौँ ? अनि म सिद्ध गरौँ कि म निर्दोष छु । हजुर चाहनुहुन्छ भने म सच्चाई स्वीकार गर्छु । तर कुन सच्चाई स्वीकार्ने हो मैले थाहा पाउनुपर्‍याे। जब मैले त्यो थाहा पाउँछु , सहर्ष स्वीकार्छु । म त एउटै मात्र सच्चाइको बारेमा जान्दछु, त्यो हो म सदा तपाईंकी आज्ञाकारी पत्नी थिएँ । र जिन्दगीको अन्तिम साससम्म पनि हुनेछु । तपाईंले मलाई आफ्नी रानी बनाएर जुन सम्मान दिनुभयो, त्यो मेरो लागि गौरवको क्षण हो । मेरो मनमा, मेरो लागि त्यो महान गौरव गुमाउने विचार कहिल्यै आउँदैन । मैले एक निम्न कुलमा जन्म लिएकी थिएँ, तर हजुरले मलाई उत्तम शाही कुलमा स्थान दिनुभयो । अब म हजुरकी कुल र वंशकी हुँ । मलाई दोषी बनाएर हजुरले आफ्नै कुललाई अपवित्र बनाउनु भएन र ?

यदि हजुर ममाथि मुद्दा चलाउन इच्छुक हुनुहुन्छ भने मेरो प्रार्थना छ, म माथि सही ढंगले मुद्दा चलाइयोस् र मेरा शत्रुहरुलाई मेरो न्यायाधीश बन्ने अवसर नमिलोस् । हजुरले म माथि यति कृपा गरिदिनुभयो भने सच्चाइ आफैँ अगाडि आउने छ । यसो हुँदा हजुरको शङ्का टाढा भाग्नेछ । यदि हजुरले मलाई बर्बाद गर्न खोजेको हो भने म भगवानसँग प्रार्थना गर्न बाहेक अरु के गर्न सक्छु र ! यदि मेरो नामले पहिले जस्तै आज पनि हजुरको कानमा मधुर सङ्गीतको जन्म दिँदो हो त मेरो बिन्ती छ, लाख लाख प्रार्थना छ, मलाई अरु कष्ट नदिनुस् । बरु चाँडोभन्दा चाँडो मृत्युदण्ड दिने कृपा गर्नुस् ताकि हजुर अनि मेरो आत्मालाई शान्ति मिलोस् ।

विश्वविख्यात व्यक्तित्वहरुको प्रेम प्रसङ्गमा जर्ज बर्नार्ड शाको पनि नाम आउँछ । उनकी प्रेमिका स्टेला क्याम्पवेल थिइन् । उनी इंगल्याण्डकी एक प्रसिद्ध अभिनेत्री थिइन् । ती प्रेमी प्रेमिकाबीच अनेक मनमुटाव भइरहन्थे । तैपनि समझदारीका कारण दुवैको अवस्था मित्रवत झैँ लाग्थ्यो । त्यस्तै क्याम्पवेलको स्वास्थ्य समस्या पछि अप्रेसन गर्नुपर्ने भयो । उपचार पछि आरामका लागि सेण्डवीचको समुद्री तटमा गइन् । पत्नीसँगै शा पनि त्यहीँ गए । तिनीहरुबीच मनमुटाव सुरु भयो । सामान्य विषयमा दुवैले जिद्दी नछोड्दा विवादले उग्र रूप लियो ।

क्याम्पवेलले भनिन्– ‘शा नै सेण्डवीच छोडेर जाउन्, नत्र म आफैँ छोडेर जान्छु ।’ सो धम्की सुनेर शा झन् उग्र भए । अन्ततः क्याम्पवेल शहर छोडेर हिँडिन् । क्याम्पवेलले आफूलाई छोडेर हिँडेको विषयलाई उनले अपमानको रुपमा बुझे । घाइते बाघजस्तो बनेका शाले आक्रोशित भएर क्याम्पवेललाई एकैदिन तीनवटा पत्र लेखेर हुलाकको ढ्वाङमा खसाले । तर आश्चर्य बर्नार्ड शाको पत्रयुद्ध पश्चात पनि तिनीहरुको मित्रतामा आँच आएन । पत्रको सारांश जस्ताको तस्तै –

…खुब राम्रो जाऊ । एउटी स्वास्नीमान्छे जानु प्रलय होइन । घाम लागिरहेको छ । यस्तोमा पौडी खेल्न र काम गर्न मज्जा हुन्छ । म एक्लै बस्न सक्छु । तर मभित्र गहिरो घाउ लागेको छ । तिमीले मेरो परीक्षा लिएकी हौ । तिमीलाई मसँग सुख भएन । मैले तिमीलाई सुख र आराम दिन सकिनँ । तिम्रो मन बहलाउन पनि सकिनँ । आखिर यही सिद्ध भयो– हाम्रो मित्रता कुनै अनौपचारिक थिएन । म कति प्रसन्न थिएँ, कति लापर्बाह र कति खुसी ।

बेलुका खाना खाएपछि तिम्रो खोजीमा गएँ । दौडदै दौडदै गीत गाउँदै बिहान आधा माइल हिँडे । नाटकको एउटा दृश्य पनि लेखेँ । तर जुन घडी मैले तिमीलाई आफ्नो उपस्थितिले झर्को परेको देखेको थिएँ, अनुभव भयो, यस्तो हुनु ठिक होइन । अनि मलाई एउटा स्वस्थ र व्यङ्ग्यपूर्ण निद्राले घर्‍याे । के भनौँ तिमीमा अलिकति धैर्य छैन । अलिकति विवेक छैन । तिमी अठारौँ शताब्दीको त्यो कार्टुन हौ, जसलाई हैडा गोवलरले बर्न जोन्सको गुन्द्रीमा झरेर अचम्म लाग्दो कत्तरहरुले सजाएर मज्जालाग्दो बनाएको थियो ।

तिमी केही पनि जान्दिनौ, जे जान्दछ्यौ गलत जान्दछ्यौ । ईश्वरले तिम्रो सहायता गरुन् । दिउँसोको उज्यालो तिमीलाई तिरमिराउँछ । तिमी जिन्दगीको पछि पछि लुकी लुकी दौडिन्छ्यौ र जब जिन्दगी नै घुमेर आफ्नो पाखुरा तिमीतिर फिजाउँछ, तब तिमी पिठ्यूँ फर्काइदिन्छ्यौ, आतिन्छ्यौ, कराउँछ्यौ । तिमी पुरुषका निम्ति अपमान हौ । उसको बुद्धि भ्रष्ट गर्ने महिला हौ । तिमी उसको हिरा जडित मुकुट बन्न किमार्थ सक्दिनौ ।

तिमी उल्लू हौ, जो दुई दिनमा मेरो सुखको प्रकाशले तिर्मिरायौ । मैले तिमीसँग केही बढी राम्रो व्यवहार गरेँ । मैले तिमीलाई आफ्नो कल्पनामा मूर्त बनाएँ । आफ्नो मन, मस्तिष्क तिमीमा अर्पण गरेँ । यिनै दुई चीज म संसारलाई दिन्छु । यसैलाई तिमी बनाउन चाहन्छ्यौ, बनाउ । तिमीले यिनको के बनायौ ? तिमी यिनीहरुबाट टाढा भाग्यौ । केही छैन, जाउ मेरो विचारको बाजा प्राणवायुले शायद तिम्रो कलिलो फोक्सोलाई पोल्छ होला । तिमीलाई जर्जसँग विवाह गर्नु त थिएन । अन्त्यमा तिमी स्वयं उसबाट पनि हटौली या एउटा खुब बलियो हृदयले तिमीलाई  आफूबाट घर धकेलिदेला । तिमीले मेरो अहंलाई चोट पुर्‍याएकी छ्यौ । कस्तो अकल्पनीय दुस्साहस हो यो । कस्तो अदम्य अपराध …विदा मागेँ । जसलाई मैले मायाँ गरेँ ।
बर्नार्ड शा, सेण्डवीच १८, ८, १९१३

ग्रह सातवटा हुन्छन्, कष्ट सात हुन्छन्, स्वर्गकी रानीको हृदयमा सातवटा तरबार थिए र म पनि आफ्नो लागि खाली सात दिन माग्छु ।

 ….ओहो, मेरो डाह अहिलेसम्म पनि शान्त भएको छैन । धेरै गालीहरू अहिल्यै गर्न सकेको छैन । तँ छस् र तानिरहेकी छस् । आफ्नो जीवनको ५७ वर्षमध्ये २० वर्ष यातना भोगेर ३७ वर्ष परिश्रम गरेँ । अनि बल्ल मैले आफैँलाई खसाएँ । मैले मित्रताको गहिरो जरा उखेल्न र आफ्नो पवित्र सम्बन्ध नष्ट गर्नसम्म खतरा स्वीकार गरेँ । मैले उखरमाउलोसँग तातेको बालुवामा साहससँग पाइला चालेँ । म झुटो प्रकाशका पछिल्तिर अन्धकारमा कुदेँ । एक मुठ्ठी सुकेका पात हातमा लिएर मैले भने, म यिनलाई सुन मानेर ग्रहण गर्छु ।

यस्तो निर्णय गरेर म उजाड समुद्रको किनारमा ओर्लें, जहाँबाट रेकसगटका बत्तीहरु देखिइरहेका थिए । यी बत्तीहरु स्वर्गको पर्वतमा बस्ने अतिथि सेवक देवताहरुको शिविरमा बलेको जस्तै देखिन्थे । मैले भनेँ, ग्रह सातवटा हुन्छन्, कष्ट सात हुन्छन्, स्वर्गकी रानीको हृदयमा सातवटा तरबार थिए र म पनि आफ्नो लागि खाली सात दिन माग्छु । ती दिन शुरु भए र मैले रोकेँ । म लोभी थिइनँ । म ती दिनमध्येको अन्तिम दिनलाई रमाइलो बनाउन चाहन्थेँ । तिमीले झर्को मान्यौ, हाईहाई गर्न लाग्यौ र बाँकी पाँचदिन बिताउनका लागि कुनै रद्दी ठाउँमा आफ्नो नोकर्नी र चालकका साथ लागेर बेपत्ता भयौ । भगवान गरुन् त्यहाँ तिमीलाई यति नरमाइलो लागोस् कि निरास भएर आफ्नो नोकरसँग कहिँ हिँड्न परोस् ।

ए तार्किक मन ! ए मेरो सूक्ष्म दृष्टि । यस छिचरो प्राणीसँग उचित व्यवहार गर्न सम्भव छ भने यससँग राक्षसी बदला लिन मलाई आवश्यक विवेक प्रदान गर । यस स्त्रीका निम्ति मैले जति साथीहरुलाई उपेक्षा गरेँ, ती सबै म सँगसँगै उभिउन् । यसलाई बदनाम गर्नेहरुलाई पनि म स्वागत गर्दछु । अनि म उसलाई भनुँला तिमी आफ्नो विष थुकी देऊ आफ्नो फट्याइँलाई बाहिर फ्याँक र इर्ष्यालाई उकेली देउ यति कि तिम्रो हृदय स्वच्छ होस् तैपनि तिमी सच्चाइमा पुग्न सक्दिनौ र उसका मित्र ऊ द्वारा छलिएका व्यक्तिहरु र उसको प्रशंसकहरुसँग म भनुँला कि तपाईंहरु जे भन्नुहुन्छ त्यो साँचो त हो तर त्यो आधासम्म पनि होइन, वास्तवमा त त्यो केही पनि होइन । भो, अब पुग्यो सुत्छु मलाई निद्रा लागेको छ ।

स्टेलाको जवाफ : तिमी तुच्छ पुरुष हौ
….ए आवारा अन्धा, शब्दजाल बुन्न सिपालु रिसले रातोपिरो भएको सत्यलाई लुकाउने ए तुच्छ दीन पुरुष । यस्तो पुरुष जसको एउटी मामुली स्वास्नी मान्छेलाई बुझ्ने योग्यता पनि छैन । तर जे होस तिमी मेरो मित्र नै हो । तिम्रो कुनै केटी छैन, जसले तिम्रो लालसालाई शान्त गरोस् । कुनै सानो बच्चा छैन, जुन तिम्रो व्यङ्ग्यपूर्ण बकवास कम गरोस् । म तिम्रो सबै कामीहरूको शिकार किन बनौँ ? ए कुचो र खर्पन लिएर हिँड्ने तथाकथित सुधारक ! तिमीभित्र व्यङ्ग्यको पटाका र फट्याइँको खरानी भरिएको छ । आफ्नो झूत्राहरुले बेरिएकी वा सुन्दर भुसामा सजिएकी म, मेरो अन्तरआत्मामा एउटा चाँदीको दीपक बल्छ र तिमीसँग यही चाहन्छु, त्यसको ज्योति तिमी बल्न देउ । म तिमीसँग यही प्रार्थना गर्छु । मेरो मित्र हर दशामा मेरो मित्र ।
स्टेला ।  

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  १ : ४७ बजे

दिलिपको छोरी दिव्या भन्छिन्- ‘स्टारकिड’ लाई फिल्ममा आउन सजिलो, स्थापित हुन गाह्रो

काठमाडौं – नेपाली फिल्मी क्षेत्रमा नयाँ ‘स्टारकिड’को आगमन भएको छ

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक

काठमाडौं– नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू

हाइड्रोलाई आईपीओमा ल्याउँदा छुटै कार्यविधि बनाउन ऊर्जा व्यवसायीको माग 

काठमाडौं– हाइड्रो कम्पनीहरूलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) जारी गर्दा

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी

नेपालगञ्जमा डिजिटल प्रवर्द्धन गर्न ‘क्यान इन्फोटेक’

राँझा– नेपालगञ्जमा डिजिटल प्रविधि प्रवर्द्धन गर्न कम्प्युटर एसोसिएसन अफ नेपाल