प्रधानमन्त्री ओलीसँग जादुमयी छडी छैन | Khabarhub Khabarhub

अन्तर्वार्ता

प्रधानमन्त्री ओलीसँग जादुमयी छडी छैन

१६५ सीटको प्रतिनिधिसभा बनाऔं : धनराज गुरुङ


१६ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 17 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले हाल २७५ सिट रहेको प्रतिनिधिसभालाई घटाएर १६५ सिटमा झार्नुपर्ने बताएका छन् ।

समसामयिक राजनीतिबारे खबरहबसँगको विस्तृत कुराकानीका क्रममा पूर्वकानूनमन्त्री समेत रहेका गुरुङले भने, ‘११० जनाको समानुपातिक सूचि बनाउने जुन प्रावधान छ, त्यसलाई हटाइदिउँ । १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र छन्, त्यसमै समानुपातिक बनाइदिऊँ ।’

कांग्रेस र एमालेको सहकार्यमा बनेको गठबन्धन सरकारको मुख्य कार्यसूचीमा संविधान संशोधन प्राथमिकताको विषय रहेको बताउँदै गुरुङले संविधान संशोधनको अन्तरवस्तुबारे मसिनो गरी छलफल हुन बाँकी नै रहेको बताए ।

तर, संविधानले प्रत्याभूत गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीलाई भने कायमै राखेर संविधानको प्रगतिशील संशोधन गरिने कांग्रेस नेता गुरुङले बताए ।

एमाले–कांग्रेस गठनन्धन सरकारको सिद्धान्त र प्राथमिकता, सरकारको आयु, संविधान संशोधनको एजेण्डा अनि नेपाली कांग्रेसभित्रको आन्तरिक अवस्था लगायतका विषयमा कांग्रेस उपसभापति गुरुङसँग खबरहबकर्मी अरुण बराल र केशव सावदले गरेको विशेष कुराकानी :

नेपाली कांग्रेसको इत्तर समूहका नेता शेखर कोइराला गगन थापा लगायतले ठूला दलहरु मिलेर देशलाई स्थायित्व दिनुपर्छ भन्दै आउनुभएको थियो । कोशी प्रदेशमा त्यसको रिहर्सल पनि भएको थियो । त्यो अर्थमा हेर्दा अहिले कांग्रेस–एमालेको गठबन्धन तपाईंहरुकै विचार समूहको लाइनअनुसार बनेको आम बुझाइ छ । तर, एमालेसँग गठबन्धनको पहल त सभापति शेरबहादुर देउवाले गर्नुभयो नि ? यो गठबन्धनको वैचारिक धरातल तपाईंहरुको हो कि संस्थापन पक्षको ?

मुख्य गरेर डा. शेखर कोइरालाले राजनीति साह्रै अस्थिर भयो, अस्थिरताले जनतामा निराशा छाउन थाल्यो, त्यो निराशाले हामीलाई कहीँ न कहीँ व्यवस्थामाथि प्रश्न उठ्न सक्छ भन्ने लाग्यो, त्यसैले अस्थिरतालाई धेरै अब लम्ब्याउनु हुँदैन, राजनीतिक स्थिरिताका लागि कांग्रेस–एमाले मिल्नुपर्छ भनेर सुरु गर्नुभएको हो । यसको प्रारम्भ डा. शेखर कोइरालाले नै गर्नुभएको हो । उहाँले एमालेका अध्यक्षलाई भेटेर पनि यो विषयमा कुराकानी अगाडि बढाइरहनुभएको थियो ।

यो वास्तवमा अहिलेका लागि मात्रै होइन । सरकार गठन गरिहालौँ, त्यसले एउटा स्थिरताको सन्देश दिन्छ भन्ने मात्रै होइन, यो सरकार बन्दै गर्दा सातबुँदे सम्झौता भएको छ । सम्झौतामा प्रष्ट के छ भने कार्यान्वयनका क्रममा संविधानमा देखिएका कमी कमजोरी र समस्याहरुको पनि समाधान गर्ने भनेर त्यसै लेखिएको होइन । हामीले दूरगामी स्थिरता खोजेका हौँ ।

खाली सरकार बनाएर स्थिरता आइहाल्छ भन्नु भन्दा पनि ठूला दुई पार्टी मिलेर संविधान संशोधन गर्न पनि सहज हुन्छ । त्यसका लागि सहज वातावरण बनाऔँ र त्यो वातावरणको जगमा संविधान संशोधन गरेर मुलुकमा देखिएको राजनीतिक अस्थिरता हटाऔं । किनभने, पटके मन्त्रीहरु बन्ने, पटक–पटक मन्त्री भइरहने, सरकार फेरिरहने छ, यसले नेपाली जनतालाई डेलिभर पनि दिन नसक्ने अवस्था आयो ।

यी यावत कुराहरुको एकैचोटि समग्र समाधान खोज्ने क्रममा डाक्टर सावले त्यो यात्रा प्रारम्भ गर्नुभयो । हामीले संविधान संशोधनको प्रस्ताव जुन गरिरहेका छौँ, अथवा हामी दुई पार्टी मिल्दै गर्दाको दिनमा पनि त्यो कुरा त्यसै कारणले आएको हो । जनतामा छाउन थालेको निराशालाई आशामा बदल्दै स्थिर राजनीतिक यात्रा गर्नका लागि डाक्टर साबले उहाँले पार्टी सभापतिलाई पनि जानकारी दिनुभएको थियो । उहाँलाई जानकारी दिएर नै कुरा गरिरहनुभएको थियो, जसले अहिलेको सरकार बन्न अझै सहज भएको हो ।

डा. शेखरको प्रस्तावमा सभापति देउवा ‘कन्भिन्स’ हुनुभयो भन्दा हुन्छ ?

सभापति ‘कन्भिन्स’ नभइकन त यो यात्रा सम्भव नै थिएन । अहिले जे भइराखेको छ, तयो ठीक ठाउँमा आइराखेको छ ।

एमालेसँगको गठबन्धनलाई हेर्ने कुरामा अहिले कांग्रेसमा दुई मत छैन ?

छैन । हामी एकमतका साथ एकढिक्का भएर सरकारलाई साथ दिने, सहयोग गर्ने सन्दर्भमा एक छौँ ।

कांग्रेस–एमालेको सहकार्य साँच्चै ०८४ सम्मै जाला त ?

यो त गर्नुपर्ने प्रश्न नै होइन । एमाले–कांग्रेसको सरकार ०८४ सम्मै जाने भनेर हामीले दस्तखत गरेका छौँ । हाम्रो पार्टी सभापति र श्रद्धेय प्रधानमन्त्री केपी शर्मा ओलीको बीचमा सम्झौता भएको छ । अब एउटाले यो हुन्न भन्ने बित्तिकै यो त जनताको आँखामा गिर्नु हो । सम्माननीय प्रधानमन्त्रीज्यू पनि जनताको आँखामा गिर्न चाहनुहुन्न । त्यस्तै हाम्रो पार्टी सभापति पनि जनताको आँखामा गिर्न चाहनुहुन्न । उहाँहरुले जीवनको उत्तरार्धमा आएर केही न केही सन्देश दिएर जाउँ, देश र जनताका लागि केही न केही गरेर जाउँ भनेर नै यो गठबन्धन भएको हो । यो सरकारले आफ्नो मिसन पूरा नगरेरै बीचमा केही भइहाल्छ कि, ०८४ सम्म जान्न कि भनेर शंकै गरिहाल्नुपर्छ भन्ने त म देख्दिनँ ।

यो सरकारको मुख्य लक्ष्य के हो ?

सरकारका लक्ष्य दुई–तीनवटा छन् । मुख्य गरेर संविधान संशोधन गरेर स्थिरिता ल्याउने । किनभने हामीले जुन ढंगबाट प्रणाली  बनायौं, त्यसले अस्थिरता नै ल्याइरहने भयो । संविधान जारी भएपछिको आठ वर्षको यात्रामा हामीले त्यो देख्यौँ । त्यसकारण राजनीतिक स्थिरता कसरी ल्याउन सकिन्छ, त्यसमा फेरि छलफल गर्न बाँकी नै छ । यो पहिलो भयो ।

नम्बर दुई– कांग्रेस र एमाले सरकार बन्नेबित्तिकै जनतामा छाइरहेको निराशा आशामा बदुलिएको छ । आशामा बद्लिएको मात्रै छ, साह्रै के–के न जादुमय ढंगले परिवर्तन भइसक्यो भन्ने होइन । जे होस् जुन ग्राफमा निराशा उचालिएको थियो, त्यो स्वाट्टै घटेर आशाको ग्राफ बढ्न थालेको छ ।

नम्बर तीन– अब यतिले मात्रै त पुग्दैन । बाहिर जेसुकै भनिए पनि हामी आर्थिक हिसाबले हामी निकै अप्ठारो स्थितिमा छौँ । यो जटिल आर्थिक परिस्थितिलाई चिर्दै हामी ऋणात्मक छौँ, त्यसलाई सकारात्मक तर्फ अघि बढ्नु छ । यो महत्वपूर्ण दायित्व हो । होइन भने जोसुकै सरकारमा आए पनि यस्तै त रहेछ नि भन्ने भाष्य फेरि खडा नहोस् । त्यसतर्फ पनि हामी सजग छौँ ।

अहिले मुख्य यिनै तीनवटा प्राथमिकताहरु जोडिएका छन् । पहिलो– राजनीतिक स्थायित्वका लागि संविधान संशोधन । दोस्रो– अहिले जुन नैराश्यता छ, त्यसलाई आशामा बदल्दै अगाडि बढ्नका लागि सुशासन । र, तेस्रो हो, आर्थिक सुधारको पाटो ।

अर्थतन्त्र एकदमै डरलाग्दो अवस्थामा छ । बाहिरबाट हेर्दा त ठीकैठीकै होला तर भित्रबाट हेर्दा डरलाग्दो परिस्थिति छ । त्यसलाई हामीले पूर्णरुपमा कसरी ‘रिकभर’ गर्नेतर्फ ध्यान दिनुपर्छ ।

कांग्रेस–एमाले गठबन्धन सरकार बन्दा उठ्ने गरेका केही सैद्धान्तिक प्रश्नहरु छन् । जस्तो– पहिलो र दोस्रो दल नै मिल्नुपर्ने स्थितिलाई बहुमतीय संसदीय प्रणालीभित्र अलि असहज मानिँदैन भन्ने प्रश्न पनि छ नि?

यसमा यस्तो छ, संसदीय पद्दतिमा पहिलो र दोस्रो पार्टी मिलेर सरकारमा गए भने प्रतिपक्ष निर्बल हुन्छ भन्ने मान्यता रहिआएको छ । तर, कहिलेकाँही ठूलो प्राप्तिका लागि, ठूलो मिसनका लागि ठूला दलहरु मिल्नुपर्ने अवस्था आउँछ । सँगै जानुपर्ने परिस्थिति आउँछ ।

जस्तो कि– पहिलो संविधानसभाबाट हामी संविधान लेख्न असमर्थ भयौं । दोस्रो संविधानसभामा हामी पहिलो र दोस्रो दल मिलेरै संविधान निर्माणको काममा अगाडि बढ्यौं । र सम्भव पनि भयो । त्यसकारण मिसन प्राप्तिका लागि अहिले पनि संविधानमा देखिएका कमी कमजोरीहरु संशोधन गर्ने भनिसकेपछि दुई ठूला दलहरु नै दुईतिर फर्किएर बसिरहे भने त्यो मिसन पूरा हुँदै हुँदैन । त्यसैले कहिलेकाँही विशेष परिस्थिति निर्माण हुन्छ ।

संविधान लेखन पनि विशेष अवस्था थियो, त्यो विशेष अवस्थामा हामी मिलेका थियौँ । अहिले अस्थिरतालाई अन्त्य गर्दै फेरि अगाडि बढ्नका लागि संविधान संशोधन गर्नुपर्ने अवस्था र आर्थिक स्थिति पनि डामाडोलै भएको अवस्थामा त्यसलाई सुधार गर्नुपर्ने अवस्था । सुशासनको ग्राफमा हामी धेरै तल छौँ, त्यसलाई माथि उठाउनुपर्ने अवस्था । यी तीनवटै मिसनलाई पूरा गर्नका लागि फेरि दुई ठूला दलहरु मिल्नु परेको हो ।

त्यसकारणले गर्दा संसदीय पद्दति भनेर, कुरेर देशै बिग्रिएको हेरेर त बस्नु भएन नि । देशै बिग्रिन थाल्यो भने त हामीले टुलुटुलु हेरिरहने हुँदैन । त्यतिबेला पनि हामीले दुई ठूला दलहरु मिल्नु हुन्न है भनेर बसिराखेको भए संविधान कहाँबाट बन्थ्यो ? विशेषखालको मिसन पूरा गर्नका लागि कहिलेकाँही हो यो । सधैं मिल्ने र जाने भनेर हामीले भनेका छैनौँ ।

‘विशेष परिस्थिति’ आयो भन्नुभयो । विपक्षीले लगाएको आरोपको खण्डन कसरी गर्नुहुन्छ ? जस्तो– अघिल्लो सरकारले व्यापक सुशासन दिइराखेको थियो, विभिन्न काण्डहरुको फाइल खोलिराखेको थियो, त्यसले गर्दा कांग्रेस–एमाले संकटमा पर्ने डरले गर्दा मिलेका हुन् भन्ने विपक्षीको आरोप छ नि तपाईहरुमाथि ?

यसमा खास कुरो, फाइल हामीले खोलेका थियौँ भन्ने जुन छ नि, त्यो नै गलत हो भन्ने मलाई लाग्छ । भुटानी शरणार्थी काण्डको फाइल त धेरै अगाडि खुलेको हो नि त । गिरिबन्धु टि–स्टेटको कुरो गर्दा अदालतले फैसला गरेर त्यसको पूर्णपाठ सार्वजनिक गरेको हो नि । कसैले फाइल खोलेको होइन । अरु सन्दर्भहरु पनि धेरै अगाडिदेखि अनुसन्धानको प्रक्रियामै थिए । त्यसकारण यो हामीले खोल्यौं भन्ने होइन ।

सुनकाण्ड पनि पहिलेदेखि नै अनुसन्धानकै क्रममा थियो । सुनकाण्डमा एकजना ठूलै नेताको नाम मुछिएर आयो । अनुसन्धानमा उहाँ पर्नुभयो । उहाँलाई पक्राउ पनि गरियो । तर, पक्राउ भइसकेपछि जुन सरकारको गृहमन्त्रीले ‘फलानाप्रति राज्यको करुणा पलायो’ भनेर छोड्ने काम भयो । त्यसले सुशासन कायम गर्छ र ? त्यसले सुशासन भन्ने त देखाउँदैन ।

त्यसैले, अघिल्लो सरकारले भयंकर सुशासनको काम गरिराखेको थियो भन्ने हो भने त्यति ठूलो काण्डको त्यति ठूलो नेता मुछिएर पक्राउ परिसकेपछि करुणा पलायो, हाम्रो त दिल बडो दुख्न थाल्यो भनेर रिहा गर्ने सरकारले सुशासन कायम गर्न सक्छ ? फाइलहरु पहिल्यैदेखि ‘अन्डर इन्भिेस्टिगेसन’ थिए । त्यसमा अघिल्लो सरकारबाट खाली भ्रम छर्ने काम भएको हो ।

अहिले फाइलहरु बन्द गर्नका लागि हो भन्ने होइन । फाइलहरु अहिले पनि ओपन नै छन् । यो सरकारले फाइलहरु बन्द गर्ने होइन । हामी बारम्बार भनिरहेका छौँ– जे–जे काण्डहरु भनिएका छन् ती सबै काण्डहरु खुल्दै अगाडि बढ्ने नै हो । बढ्नु पर्छ ।

फाइल खोलेपछि सुशासन आइहाल्छ, अथवा फाइल खोल्ने, बन्द गर्ने भन्ने विषय एउटा इभेन्ट–इभेन्टको कुरोमात्रै हो । सिंगो मुलुकलाई सुशासन कसरी डेलिभर गर्ने हो, हरेक जनताले सुशासनको अनुभूति गर्न पाओस् । विदेशी लगानीकर्ताहरुले पनि त्यो अनुभूति गर्न पाओस् ।

विदेशी लगानीकर्ता आउँछ, उसले एउटा उद्योग खोल्छु भन्छ, उसलाई सरकारले ल उद्योग खोल भनेर सात दिनमा इजाजत दिनसक्नु पर्‍यो नि । तर, हामीकहाँ सात दिन होइन, सात महिना होइन, सात वर्षमा पनि कुन्नि भन्ने अवस्था छ । त्यो त सुशासन होइन नि । मैले यो खाली एउटा उदाहरण दिएको हुँ । यस्ता दर्जनौं उदाहरणहरु छन्, जसले अघिल्लो सरकारमा सुशासन थिएन है भनिरहेका छन् ।

अघिल्लो सरकारले गरेको सुशासनको दाबी र तपाईहरुमाथि लगाएको आरोप सही छैन भन्न खोज्नुभएको ?

त्यो भयंकर गलत भइराखेको छ । दाबी गरेर यो ठीक हो भन्ने प्रमाणित गर्नुपर्‍यो नि । ऐजन–ऐजनमै चलिरहेको थियो । त्यसलाई अलि सहजरुपले, जस्तो कि– कुनै योजनाको फाइल कसरी अगाडि बढ्छ, तपाईं हामीले देखेकै छौँ नि । त्यो घुमिरहन्छ । यो सरकारलाई अब त्यो छुट छैन घुमाइरहने ।

जस्तो, एउटा उदाहरण दिन्छु– सडक विभागको डीजी हुन्छ सहसचिव । सहसचिवले आफूले होइन, तल गाउँपालिका, नगरपालिकाबाट उठ्दै–उठ्दै आएको फाइललाई डीजी (सहसचिव) ले फरवार्ड गरिदिन्छ मन्त्रालयमा । अनि त्यसलाई टिप्पणी कसले उठाउँछ, शाखा अधिकृतले । यहीँनेर गलत भयो नि त ।

हामी फास्ट ट्रयाकमा किन काम गर्न सक्दैनौँ ? किन सुशासन दिन सक्दैनौँ ? यहीँनेर गलत भयो नि । सहसचिव सरहको डीजीले सदर गरेर पठाएको फाइल मन्त्रालयमा आएपछि शाखा अधिकृतले टिप्पणी उठाउने हो ? त्यो त सिधै सहसचिवस्तर भनेपछि त्यसमा सचिवले आफ्नो दृष्टिकोण (राय) राखेर मन्त्री कहाँ फरवार्ड गर्ने हो । यो हो नि फास्टट्रयाकमा जाने । सुशासन भनेको सेवा छिटो छरितो पनि हो नि त ।
मैले मन्त्री हुँदा पनि भनेको थिएँ । यो फास्टट्रयाकका लागि यसरी जानु पर्छ है भनेर । कार्यविधि बनाऔँ भनेर मैले त्यतिखेर पनि भनेको थिएँ । त्यसकारण धेरै कुरा यो सरकारले गर्नुपर्ने छ । मुखले सुशासन होइन, व्यवहारमा सुशासन, कार्यान्वयनमा सुशासन, काममा सुशासन देखिनुपर्छ । गफमा होइन । गफमा त सबैले सुशासन भनिरहेका हुन्छन् ।

यसभन्दा अघिको सरकारमा भएकाले के भन्छन् भने हामीले फाइल खोल्दै थियौँ । त्यो होइन । त्योभन्दा धेरै अगाडिदेखि फाइलहरु खुलेका थिए । हामीले सुशासन कायम गर्दै थियौँ, के हो सुशासन ? सुशासन के हो मैले अघि नै भनिसकेँ, भ्रष्टाचारीलाई समातेपछि करुणा जाग्ने के को सुशासन ? फास्ट ट्रयाकमा काम गर्दै थियौं रे, फास्ट ट्रयाक छँदै थिएन । झुठको पुलिन्दा बनाएर बिक्छ कि भनेर सहर–बजारमा ल्याएको मात्रै हो ।

चुनावपछि कांग्रेसले प्रधानमन्त्री दिएन भनेर प्रचण्ड बालकोट जानुभयो । केही महिनापछि फेरि कांग्रेससँगै मिल्नुभयो । तर, कांग्रेससँग स्पिरिट मिलेन, कांग्रेसले कामै गर्न दिएन भन्दै बालकोटतिरै जानुभयो । हुन त प्रचण्डले कांग्रेसलाई छाडेर एमालेतिर जानु गल्ती भयो भनिसक्नुभएको सुनिन्छ । कांग्रेस–माओवादी गठनन्धन किन भत्कियो ? तपाईं त माओवादीसँगको गठबन्धन सरकारमा पनि सहभागी हुनुहुन्थ्यो….

प्रचण्डजी आफैंले पनि एक प्रकारको ‘रियलाइजेसन’ गरेको सञ्चारमाध्यमहरुमा आइसक्यो । कांग्रेसले मेरो स्पिरिटमा काम गर्न सकेन, अथवा काम गर्न दिएन भनेर जे–जे आरोप लगाएर उहाँले तत्कालीन अवस्थाको सत्ता समीकरण परिवर्तन गर्नुभयो, त्यसपछि फेरि उहाँ आफैंले पश्चाताप पनि गर्नुभएको छ । त्यसकारण यस विषयमा धेरै भनिरहनुपर्छ भन्ने मलाई लाग्दैन ।

त्योबेला हामीले काम गर्दा केही कमी कमजोरी भएकै हो । मैले अहिले पनि भनिरहेकै छु । संसदमै भनिसकेको छु ।

त्यतिबेला कानूनमन्त्रीको हैसियतमा मैले ल्याउनै पर्ने जरुरी विधेयकहरु छ है भनेर दुई–तीनटा कुराहरु भनेको थिएँ । । जस्तो– संसदले नै ताली बजाएर गाँजा खेतीको कुरो पारित गरेको हो, तर ढिलो भएपछि मैले यसका लागि विधेयक छिटो ल्याउनुस् भनेको थिएँ । कानुनी दायरमा ल्याएपछि न खेती गर्ने हो । मुखले भनेर मात्र त गाँजाखेती हुँदैन । छिटो ल्याउनुस् भनेर मैले सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुलाई बारम्बार भनेँ तर त्यो आएन ।

अर्को घरेलु मदिरा । दुई–चार ठाउँमा प्रहरी गएर पोखे पनि अहिले पनि मेची–महाकाली घरेलु मदिरा खाएकै छन् । कानून बनाएर त्यसलाई ब्रान्डिङ गरेर करको दायराभित्र ल्याए राज्यलाई वार्षिक दुई खर्ब रुपैयाँ राजस्व थप गर्न सकिन्छ, छिटो ल्याउनुस् भनेर त्योबेला उद्योगमन्त्रीलाई बेस्सरी भनेँ । एकपटक होइन, पटक–पटक भनेँ । भनेर मात्रै नभएपछि मैले मस्यौदा आफैं ड्राफ्ट गरेर नै पठाएँ । त्यसको पाँच महिनासम्म पनि नआएपछि मैले प्रधानमन्त्रीसँग भनेँ । उहाँले उद्योगमन्त्रीलाई ‘कानूनमन्त्रीले भनेको विधेयक छिटो ल्याउनुस्’ भन्नु पनि भयो । तैपनि आएन, के ले रोक्यो मलाई थाहा छैन । भगवानै जानुन् ।

जडिबुटी खेती गर्‍यो भने त्यसले हामीलाई वार्षिक आम्दानी दिन्छ । हामीसँग धेरै महंगा जडिबुटी छन् । यसले पनि राज्यलाई कर दुई खर्ब थप गर्छ, त्यो गरौं भनेर मैले वनमन्त्रीलाई पटक–पटक भनेँ । उहाँलाई एकदिन क्याबिनेटमै पनि मैले यो कुरा भनेँ ।

क्याबिनेटमा उहाँले जुरुक्क उठेर के भन्नुभयो भने– प्रधानमन्त्रीज्यू कानुनमन्त्रीज्यूले मलाई यो कुरा पटक–पटक भन्नुभएको छ । तर, यही कुरो गर्नका लागि कि त सचिव फेरिदिनुस्, कि त मलाई मन्त्रीबाट हटाइदिनुस् । यो अवस्था हो नेपालको ।

प्रधानमन्त्रीमा हुटहुटी एक प्रकारको देखिन्थ्यो । सोबमोजिम मसँग जे जिम्मेवारी थियो, त्यसअनुसार मैले परिचालन गरिराखेको थिएँ । क्याबिनेटमै भन्दा पनि ती गाँठाहरु फुकेका थिएनन् । सरकारमा त्यतिखेर कांग्रेस र माओवादीमात्रै थिएनन्, अरु पार्टीहरु पनि थिए ।

त्यसकारण, त्यहाँ कहीँ न कहीँ हामीले भनेजसरी म पनि सन्तुष्ट थिइँन त्योबेला । मन्त्री त भइयो तर भनेजसरी काम गरौं भन्दा सकिएन । अब आफैं खुरुखुरु लेख्न नमिल्ने, सम्बन्धित मन्त्रालयलाई कतिचोटि भन्ने ? दुईचोटि पत्र काटेको छु मेरो कार्यकालमा भनेपछि आफैं बुझ्न सकिन्छ । त्योबेला कहीँ न कहीँ सानातिना कमजोरीहरु थिए भन्ने मलाई पनि लाग्छ ।

ती कमजोरी समाधान हुन सक्थे कि प्रचण्डले गठबन्धन नै फेर्नुपर्ने स्थिति थियो ?

त्यो त होइन । गठबन्धन नै फेर्नुपथ्र्यो भन्ने हुँदै होइन । मन्त्रिपरिषद् बैठकमै मैले पटक–पटक भनिसकेपछि उहाँले आदेशै दिन सक्नुपथ्र्यो । किनभने, एउटा मन्त्रीले अर्को मन्त्रीलाई आदेश दिन मिल्दैन । तर, प्रधानमन्त्रीले त आदेश दिन मिल्छ नि । यो के भएको हो, छिटो ल्याउनुस त भन्नुभयो उहाँले । कानूनमन्त्रीले भनेअनुसार विधेयक छिटो ल्याइदिनुस् त भन्नुभयो, तर निर्देशनात्मक ढंगले भएन भन्ने मलाई लाग्छ ।

यसको मतलब, प्रचण्डले त्योबेला चाहेजसरी काम गर्न सकिएन भन्नुका पछाडि कांग्रेसलाई मात्र दोष दिएर आफू उम्किन खोजेका हुन् त ?

त्यो त उहाँ प्रधानमन्त्री हो नि । ‘वेस्टमिनिस्टर सिस्टम’मा प्रधानमन्त्री नै सर्वेसर्वा होइन र ? उहाँले निर्देशनात्मक ढंगबाट आदेश दिन सक्नुपर्थ्यो , त्यो भएन । त्यसैले कांग्रेसलाई मात्रै दोष थुपारेर म उता लागेको हुँ भन्न मिल्दैन । त्यो भनेको उहाँले म सधैं ठीक हो, कांग्रेस बेठिक हो, कहिले एमाले बेठिक हो भन्ने जुन भाष्य खडा गर्न खोज्नुभएको छ नि, त्यो गलत हुन्छ ।

‘हनिमून’कै समय भएको हुनाले अहिले नै सरकारको मूल्यांकन गर्ने बेला त भइसकेको छैन । तर, प्रतिपक्षले सरकारलाई ‘बिचौलियाको सरकार’ भनिरहेका छन् । आजका मितिसम्म यो सरकारले ठ्याक्कै के राम्रो काम गर्‍यो भनेर सम्झिन सकिन्छ ?

वृहत शान्ति सम्झौता भएर पनि वर्षौंदेखि अड्किएर थन्किएको टीआरसी विधेयक संसदबाट पारित गरेर राष्ट्रपतिज्यूले प्रमाणीकरण नै गरिसक्नुभएको छ । नम्बर एक नम्बर काम भइहाल्यो । अर्को, आर्थिक पाटोमा सकारात्मक रुपमा सरकार अगाडि बढेको छ, यो पनि त राम्रै कुरा हो नि । मैले भनेँ नि त्यो देखिँदैन बाहिर । तर, यसअघि जुन आर्थिक अवस्था थियो, त्यो विस्तारै उँभो लागेको छ ।

फेरि मानिसहरु भन्लान्– नेप्सेको परिसूचक हेरेर भन्यो । त्यो विल्कुल होइन । मैले भित्रै कुरा गरेर भनेको हुँ । अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग मेरो कुरा भएको थियो । मैले त्यहीअनुसार यहाँ भनेको हुँ । आर्थिक सूचकहरु सकारात्मकरुपमा अगाडि बढिरहेका छन् तर हामीले यत्तिमै सन्तोष मान्नु हुँदैन ।

अहिलेको प्रधानमन्त्रीसँग त्यस्तो जादुमयी छडी त छैन नि । सबैतिर बिग्रेको अवस्थालाई सम्हाल्दै अगाडि बढ्ने हो । त्यसकारण अहिले नै यो पनि भएन, त्यो पनि भएन भन्ने जुन एक प्रकारको प्रतिपक्षी दलका नेताले भाष्य खडा गर्नका लागि नै बोल्नुभएको भन्ने मलाई लाग्छ । जिम्मेवार व्यक्तिले नै देशलाई बङ्गलादेशको उदाहरण दिनु राम्रो होइन ।

बङ्गलादेशको अवस्था सिर्जना भयो भने न प्रचण्ड बाँकी रहनुहुन्छ, न शेरबहादुर देउवा, केपी शर्मा ओली । न हामी नै रहन्छौँ । सत्तापक्ष, प्रतिपक्ष हामी सबै एउटै डुंगामा छौँ । त्यो कुरा उहाँले बिर्सिनुभयो । एकदमै नकारात्मक उछाल लिएर अगाडि बढ्नुहुन्न । अहिले जनतामा छाएको निराशा आशामा बदलिएको छ । यसलाई फेरि निराशामा ढाल्ने कोसिस कहीँबाट पनि हुनुहुन्न ।

यहाँले अघि कांग्रेस–एमाले सरकार बनेपछि जनतामा आशा जागेको छ भन्नुभयो । तर, बाहिरबाट हेर्दा जनतामा पछिल्लो डेढ महिनामा आशा जागेको देखिँदैन । प्रधानमन्त्री ओली पनि पहिलेझैं प्रखर देखिनुहुन्न । उहाँ कतै अल्मलिनुभएको, अल्झिनुभएको जस्तो देखिनुहुन्छ । सरकारले लोसे पाराले ‘पिकअप’ लिइराखेको छ भन्ने टिप्पणी सुनिन्छन नि ? सरकार कुनै अप्ठ्यारोमा फसेको हो ?

त्यसो होइन । अहिले हामी नै भनिरहेका छौँ कि बोल्ने होइन, काम गर्ने हो । हामीले मन्त्रीहरुलाई पनि त्यसै भनेर पठाइरहेका छौँ । स्वयं प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको पार्टीमा पनि सायद त्यस्तै म्यासेज पुगेको होला । धेरै बोल्न हुन्न, काम गर्ने हो ।

घर बनाउने बेला जग कसैले देख्दैन । तर, जब गाह्रो लाग्न थाल्छ र माथि देखिन थाल्छ, बल्ल ए त्यहाँ त घर बन्दै रहेछ भनेर टाढैबाट देखिन्छ । यो सरकारको पनि त्यस्तै हो । अहिले त भर्खर डेढ महिना त भयो । सरकार अहिले जग बसाल्नपट्टि नै हो ।

सरकारले कुलमानलाई कारबाही गर्न खोज्ने तर बिजुलीको वक्यौता नउठाउने भनेर प्रचण्डले सरकारमाथि प्रश्न उठाउनुभएको छ । यसमा कांग्रेसको धारणा के हो ?

यसमा खास कुरो डेडिकेटेड ट्रंकलाइन सन्दर्भमा राज्यलाई तिर्नुपर्ने कर उद्योगी–व्यापारीले तिर्नुपर्छ यसमा इफ, बट हुँदैन । कांग्रेसको धारणा यही हो ।

दोस्रो– छानबिन हुनुपर्छ, जोसुकै जोडिउन् । ट्रान्समिटरमा तामाको तार भयो भने त्यो लामो समयसम्म खप्छ, अल्मुनियम हो भने अलि छिटै काम नलाग्ने हुन्छ भन्ने सुन्नमा आएको छ । र, काठमाडौं भ्यालीभित्रै कतै अर्बौंको त्यस्तो आल्मुनियम भएका ट्रान्समिटरहरु थुप्रिएको छ भन्ने छ । त्यसको अनुसन्धान गर्नुपर्ने छ ।

तामाको तार नभएर त्यसमा आल्मुनियम छ भन्ने सुनिएको छ । सत्यतथ्य के हो, त्यो अनुसन्धान हुनुपर्छ । तामाको तारको ठाउँमा आल्मुनियम भएको ट्रान्समिटर ल्याइएको हो भने त त्यो सिधै घोटाला भइहाल्यो नि । भ्रष्टाचार भइहाल्यो नि । त्यसकारण फलानाले गरेको कुरा छुनै हुन्न । हेर्नै हुन्न, त्यतापट्टि आँखा लाउनै हुन्न । फलानाले गरेको कुरा कोट्याई कोट्याई हेर्नेपर्छ भन्नु हुँदैन ।

सहकारी ठगीबारे नेपाली कांग्रेसले सुरुबाटै छानबिन गरेर दोषीमाथि कारबाही हुनुपर्छ भन्ने आवाज उठाउँदै आएको थियो । त्यसै सन्दर्भमा बनेको संसदीय समितिले आरोपीहरुको बयान लिएर प्रतिवेदन लेख्ने काम गरिरहेको छ । त्यो प्रतिवेदन आफ्नै ठाउँमा छ । तर, कतिपय कुराहरु त सरकारको दायित्वभित्रै पर्छन् नि, जस्तो– जीबी राईलाई पक्राउ गर्ने, ठगहरुलाई समातेर मुद्दा चलाउने आदि काम सरकारको होइन ? यो सरकारले सहकारीपीडितलाई कसरी न्याय दिन्छ ? यसमा पीडितले न्याय मिल्छ भनेर कसरी विश्वास गर्ने ?

छानबिन समितिले आफ्नो काम गरिराखेको छ । बयान लिइसकेको छ । अब प्रतिवेदन लेखेर टुंग्याउला । यो मुद्दा टुंगोतिर जाँदैछ भन्ने मलाई लाग्छ । किनभने, भदौ २२ सम्म मात्रै समितिको म्याद छ ।
अर्को जीबी राईको जुन कुरो छ, सरकार त्यसमा काम गरिरहेको छ । बाहिर नआएको मात्रै हो । उनलाई नेपाल ल्याउने कुरामा सरकारले काम गरिरहेको छ । जीबी राई रहेको देश मलेसियाबाट नेपाल ल्याउनका लागि होमवर्क भइराखेको छ भन्ने मेरो जानकारीमा छ । तर, यत्तिले मात्रै सहकारीपीडितले न्याय पाए भन्न मिल्दैन ।

सहकारीपीडितले न्याय पाउनका लागि जस–जसले ठगी गरेका छन्, उनीहरुबाट असुलउपर गर्नुपर्छ । त्योभन्दा अर्को उपाय नै छैन । किनभने, अर्बौं अर्ब रुपैयाँ सरकारले झिकेर पीडितहरुलाई दिन्छ भन्ने अवस्था छैन । सहकारी ठगी गर्नेहरुको चलअचल सम्पत्तिबाट असुल उपर गर्नैपर्छ ।

अब संविधान संशेधनको विषयमा चर्चा गरौं । संविधान संशोधनबारे दलहरु मसिनो गरी छलफलमा गइसकेका छैनन् । विपक्षीले शंका गरेका छन् कि परिवर्तन नै उल्ट्याउने, संघीयता नै हटाइदिने, समानुपातिक प्रणाली नै हटाइदिने गरी संविधान संशोधन गर्न खोजिँदैछ । तपाईहरुले संविधानका विभिन्न प्रावधान फेर्न लाग्नुभएको हो कि निर्वाचन प्रणाली मात्रै ?

हामीले मोटोरुपमा मात्रै समस्या देखिएको ठाउँमा संविधान संशोधन गर्ने भनेका छौँ । मसिनो ढंगले हामीले छलफल चलाइसकेका छैनौँ । छलफल चलाउँदा त कांग्रेस, एमाले, माओवादी, अन्य दलहरु सबै हुन्छन् । संशोधनका क्रममा प्राप्तिलाई उल्ट्याउने भन्ने हुँदै होइन । संविधान संशोधान किन हुन्छ भनेर उहाँहरुले बुझ्न पर्‍यो । अग्रगामी दिशामा अगाडि जानका लागि संविधान संशोधन गरिन्छन् । यो कुरा उहाँहरुले पहिले बुझ्न जरुरी छ ।

संविधान संशोधन संघीयता खारेज गर्नका लागि बिल्कुल हुँदै होइन । समानुपातिक निर्वाचन प्रणाली खारेज हुन्छ ? त्यो पनि होइन । स्थायी सरकार बनाउनका लागि विकल्पहरु दिन सकिन्छ । छलफलमा बसेपछि कसैले केही विकल्प देला, कसैले केही विकल्प देला । कसैलाई थ्रेसहोल्ड बढाएपछि हुन्छ कि भन्ने होला । कसैलाई राष्ट्रियसभालाई मात्रै समानुपातिक बनाएर हुन्छ कि भन्ला । भन्न त पाइयो नि ।

निर्वाचन प्रणालीका सन्दर्भमा तपाईको धारणा के हो ?

मलाई लागेको विकल्प के हो भने– यो मान्न नि पाइन्छ, नमान्न नि पाइन्छ । ११० जनाको समानुपातिक सूचि बनाउने जुन प्रावधान छ, त्यसलाई हटाइदिउँ । त्यसो भए यो समानुपातिक खारेज हो ? होइन । गरौं के भने १६५ निर्वाचन क्षेत्र छन्, त्यसमै समानुपातिक बनाइदिउँ ।

यीमध्ये ५५ वटा महिलालाई सिट छ्ट्याइदिउँ । ५५ भनेको ठ्याक्कै ३३ प्रतिशत हो । महिलाका लागि ३३ प्रतिशत समानुपातिक सिट भइहाल्यो । त्यो कलस्टर अनुसार हुन्छ ।

अर्को पक्ष, अब ११० सिट बाँकी रहन्छ, पुरुषका लागि । यसलाई पनि पूर्णरुपमा समानुपातिक बनाऔँ । कलस्टर बमोजिम को को त्यहाँ लड्ने, उम्मेदवार बनाइदिउँ । यो त झन् प्रोग्रेसिभ भएन र ? जम्बो पनि भएन । झण्डै तीन करोड जनसंख्या भएको ठाउँमा २७५ पनि भन्नु परेन । १६५ मै समेटिन्छ । समानुपातिक भएन त ? झन् हिजोको भन्दा प्रोग्रेसिभ भयो । ती सिटहरु मोबाइल भइरहन्छन् । यो सधैं मधेसीको सिट, यो सधैं खस–आर्यको सिट भन्ने हुँदैन । महिला सिट पनि हरेक तेस्रो पटकमा फेरि घुमेर आइपुग्छ ।

जस्तो– काठमाडौं–१ मा ०८४ र ०८९ मा महिला परेन भने ०९४ मा यहाँ महिला आइपुग्ने भयो । अनि एउटै मान्छे कति लड्छ भन्ने पनि हुँदैन । ‘रोटेसन’ हुने भयो । एउटै जातमात्रै कति लडेको हो पनि भन्न परेन । ०९४ मा महिला पर्‍यो, त्यो पनि काठमाडौं–१ मा लट्री थुत्दा मधेसी पर्‍यो भने काठमाडौंमा आएर मधेसी, महिला लड्छ । सबै पार्टीले मधेसी महिला उम्मेदवार बनाउनुपर्छ ।

यसले आन्तरिक राष्ट्रियता पनि बलियो बनाउँछ । भूगोल पनि जोडियो, काठमाडौंका जनताले मधेसी महिलालाई भोट हाल्ने भए । आन्तरिक सदभाव पनि कायम गर्ने भयो, आन्तरिक राष्ट्रियता पनि बलियो हुने भयो ।

कांग्रेस र एमालेबीचको समझदारी अहिलेको संविधानले प्रत्याभूत गरेका संघीयता, समावेशीता, समनुपातिक प्रणाली र धर्म निरपेक्षता नचलाउने भन्ने हो ?

यसलाई चलाउँदैनौँ । चलाउँदै चलाउँदैनौँ । यहीँभित्र हामीले सर्वोकृष्ट कसरी बनाउन सकिन्छ र स्थायित्व कसरी दिन सकिन्छ, त्यसको विकल्प खोज्छौँ ।

हामीले प्रश्नमा ‘धर्म निरपेक्षता’ पनि उल्खेख गरेका छौं….

मैले बुझिसकेँ । धर्म निरपेक्षताबारे हामीले संविधाको धारा ४ को तलपट्टि लेखेका छौँ– सनातनदेखि चलिआएको धर्म, संस्कृतिको जगेर्ना गर्ने । यो एकदमै सन्तुलित छ । संविधानको धारा २६ मा गएर हामीले अर्को कुरा लेखेका छौँ, धार्मिक स्वतन्त्रताको कुरा पनि लेखेका छौँ । कुनै पनि धर्मलाई जबरजस्ती परिवर्तन गर्न खोजियो भने त्यसमा सजाय पनि तोको छौँ । संविधानको धारा ४ मा राज्यको हकमा लेखिएको विषय भयो ।

उता गएर धारा २६ मा नागरिकको मौलिक हक अन्तर्गत हामीले त्यहाँ सुनिश्चित गरेका छौँ । त्यसैले यो दुईटा कुरालाई एकैचोटि पढ्नु पर्‍यो क्या ! छुट्टाछुट्टै पढदाखेरि नै हो बिग्रेको । राज्यले सबै धर्मलाई समान आँखाले हेर्नुपर्छ भनिएको छ ।

कतिपय मानिसहरुलाई संघीयता मनै परेको छैन । संघीयताले देश चलेन, संघीयता भारी भयो आदि–इत्यादि भन्छन् नि ? यसबारे तपाई के भन्नुहुन्छ ?

जसरी मैले संघीय प्रतिनिधिसभामा ११० सिट घटाउने कुरा गरेँ । पूर्णरुपमा समानुपातिक हुन्छ र कसरी बनाउने भनेर प्रस्ताव सुनाएँ । त्यसै गरेर हरेक प्रदेशमा पनि सिटहरु त घट्ने भयो नि । यही अनुपातमा सबै ठाउँमा प्रदेशसभा सिटहरु घटने भए । सानो–सानो प्रदेशसभा बन्ने भयो । राज्यको जुन खर्चको भार छ, त्यो पनि ह्वात्तै घट्छ । त्यो घटेपछि जनताले एकपटक ढुक्कसँग श्वास फेर्छन् ।

जुन ढंगको घिनलाग्दो राजनीति छ नि, संघमा सरकार परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि परिवर्तन भइहाल्ने । यसले जनता आजितै भएका छन् । संविधान संशोधनपछि केन्द्रमा र सातवटै प्रदेशमा स्थायी सरकार बन्छ । अनि बल्ल प्रदेशले सोच्न थाल्ने छ कि मैले अबको ५ वर्षसम्म जनताका लागि के–के काम गर्ने । आफ्नो योजनाअनुसार चल्न पाउने भयो ।

जुन भनिँदै आइएको छ नि प्रदेश हटाउने पर्‍यो भन्ने कुरा, त्यो अहिले नै हटाइहाल्नुपर्ने अवस्था होइन । विकृति, विसंगति जे जति छन्, ती सबैलाई हामीले काटेर फालिदिएपछि त ठीक ठाउँमा आइहाल्छ । शरीरमा गलगाँण निस्केर भद्दा देखिएको छ, त्यसलाई फाल्दिने भन्ने कुरा हो ।

एउटा कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी दलहरुबीचमा सहमति गरेर संविधान संशोधन गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिनुभएको छ । यसबारेमा छलफल गर्नुभएको हो ?

निश्चितरुपमा यो राम्रो प्रस्ताव हो । हामीभित्र छलफल पनि भएको छ । उपराष्ट्रपतिको भूमिका जुन ढंगको हुनुपर्ने हो, त्यो ढंगको देखिएको छैन । उपराष्ट्रपतिलाई भूमिकाविहीन राख्नुभन्दा राष्ट्रियसभाको अध्यक्षको हैसियतमा राख्ने हो भने दुईतिर काम हुन्छ । उपराष्ट्रपति हुने भयो, राष्ट्रियसभा अध्यक्ष पनि । खर्च पनि घट्यो । यो प्रस्तावमा अरु दलहरुको असहमति होला तर छलफल हुन्छ ।

अब नेपाली कांग्रेसको आन्तरिक विषयमा कुरा गरौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन तोकिएको समयमा हुँदैन र पछि सर्छ भन्ने संस्थापन इत्तर पक्षलाई डर हो ?

महाधिवेशन हामीले तोकेकै छैनौं। नतोकेको महाधिवेशन सर्छ भनेर कसरी डर हुन्छ ?

अनि किन त सभापतिले परामर्श गरिराख्नुपर्ने ?

त्यो त महासमितिको दस्तावेजमाथि छलफल गर्न हो ।

मिडियामा त संस्थापन पक्षले महाधिवेशन सार्न खोजेको भनेर इत्तर समूहका नेताहरुले केन्द्रीय समिति बैठकमा गुनासो गरे भनेर आइरहन्छ त ?

महाधिवेशन तोकिए न सार्ने हो । तोकिएकै छैन भने कसरी सर्छ ? हामी विधानबमोजिम महाधिवेशन गर्छौँ । महाधिवेशन भन्ने कुरो विमतिका बीच हुँदैन । विमतिका बीच हामीले अल्पमत, बहुमत गरेर महाधिवेशनको तिथिमिति तय गर्दैनौँ । यो हाम्रो परम्परामा पनि छैन । यस्तो कहीँकतै हाम्रो इतिहासका दस्तावेजहरुमा पनि उल्लेख छैन । त्यसरी निर्णय गरिएको उदाहरण पनि छैन ।

परराष्ट्रमन्त्री डा. आरजु राणा भारत भ्रमणमा जाँदा काठमाडौंमा पूर्वप्रधानमन्त्री प्रचण्डले भनेका थिए– आरजूलाई भारतमा गरिएको प्रधानमन्त्रीसरहको सम्मानले एमाले बिच्कियो । उता प्रधानमन्त्री ओलीले अब महिला प्रधानमन्त्री बनाउँछौँ भने । यो सन्दर्भ जोडेर कतिपयले आरजु राणालाई भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् नि ? भारत भ्रमणसँगै आरजूको व्यक्तित्व बढेको हो ?

राजनीतिक आकलन गर्न पाइयो । नेपालमा हामी सबै कहिले डाक्टर बन्दिन्छौँ, कहिले ज्योतिष । त्यसो भएर बिग्रिएको हो । भारतले परराष्ट्रमन्त्रीलाई व्यक्तिगतरुपमा सम्मान दिएको होइन । श्रद्धेय आरजु देउवा कहिलेकाँही उपचारका लागि भारत जाने गर्नुहुन्थ्यो । सम्मान दिने हो भने भारतले त्यतिखेर पनि दिन्थ्यो होला नि । यो त नेपाल र नेपालीलाई दिएको सम्मान हो नि । यसरी बुझ्नुपर्छ । नेपालीलाई दिएको सम्मानमा पनि असन्तुष्ट ? मित्रराष्ट्रले परराष्ट्रमन्त्रीलाई दिएको सम्मान भनेको सिंगो नेपालीलाई दिएको सम्मानका रुपमा बुझ्नुपर्छ ।

रह्यो व्यक्तिगत उचाइ बढ्यो भन्ने कुरो । काम गर्दै गयो भने त खारिँदै जाने विषय हो । काम गर्दैै जाने, खारिँदै जाने विषयमा पनि टीका टिप्पणी गर्नुपर्छ भन्ने मलाई लाग्दैन ।

सम्झौतामा दुई वर्षसम्म एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने र दुई वर्षपछि ०८४ को निर्वाचनसम्म बाँकी कार्यकाल कांग्रेस सभापति  देउवा प्रधानमन्त्री हुने प्रष्ट रुपमा छ । अर्कोले म हुन्छु भन्न पाइएन  

अर्को कुरा, यही विषयलाई लिएर प्रधानमन्त्री ओलीले त्यसो भन्नुभएको होइन । उहाँले महिला दिदीबहिनीहरुकै कार्यक्रममा भन्नुभएको हो । महिला दिदीबहिनीको कार्यक्रममा मैले पनि धेरैचोटि भनेको छु– यो मुलुकमा हामीले महिला राष्ट्रपति देख्यौँ, अब कार्यकारी महिला प्रधानमन्त्री किन नदेख्ने भनेर त मैले पनि भनेको छु ।

त्यही कुरालाई लिएर अपब्याख्या गरेर फलानालाई नै भन्ने कुरो होइन । राष्ट्रपति मेरै कार्यकालमा भयो, सभामुख मेरै कार्यकालमा भयो, मुख्य सचिव मेरै कार्यकालमा भयो । मैले बनाए भनेर त्यसो भन्नुभएको हो । त्यो भन्न पाइयो नि त । उहाँको भाषणलाई आधार मानेर ‘अन्डर करेन्ट’ कतै केही भइरहेको छ कि भन्न मिल्दैन । तर, ५ दर्जनभन्दा बढी महिलाहरु संसारमा प्रधानमन्त्री भइसकेका छन् भने यो मुलुकमा महिला प्रधानमन्त्री हुनुहुन्न भन्ने हो र ? काम गर्दै जाँदा जो पनि हुन सक्छन् ।

सातबुँदे सहमतिकै जगमा भोलि शेरबहादुर देउवाको साटो आरजु राणा प्रधानमन्त्री बन्न सक्नुहुन्छ ?

त्यो त होइन । त्यो त विल्कुल होइन । किनभने, सम्झौतामा दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने र दुई वर्षपछि ०८४ को निर्वाचनसम्म बाँकी कार्यकाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने भनेर प्रष्ट रुपमा छ । त्यहाँ अर्कोले म हुन्छु भन्न पाइएन । यो कुरालाई याद गर्नुपर्‍यो नि ।

सभापतिज्यूले मेरो नाम लेखिए पनि मलाई अहिले प्रधानमन्त्री हुन मन लागेन, मेरी धर्मपत्नीलाई दिन्छु भन्ने ठाउँ छैन त्यहाँ । अथवा, शेखर कोइरालालाई दिन्छु भन्न पाइएन । त्यहाँ लेखिएको अनुसार गर्नुपर्छ ।

पार्टीभित्र अहिले तपाईंहरुको विचार समूह के गरिरहेको छ ?

पार्टीलाई अझैं कसरी सुदृढ बनाएर लैजाने भन्नेबारेमा छलफल गरिरहेका छौँ । अलिअली हामीले आफूलाई रियलाइजेसन पनि गरिराखेका छौँ । किनभने हामी पदाधिकारी भएर पनि ठ्याक्कै भने जसरी देखाउन सकिएन है भन्नेमा हामी छौँ ।

सोधिहाल्नु भयो, आउने महाधिवेशनमा एकीकृत भएर, एकाकार भएर अझ यो विचार समूहलाई विस्तार गरिरहेका छौँं । विस्तार गरिएन भने त १८ सयमात्रै हुन्छ । १८ सयबाट विस्तार गरेर तीन हजार कसरी पुर्‍याउने भन्नेमा हामी छौँ ।

संस्थापन समूहले सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने दिन आउन सक्छ ?

त्यो सम्भावना छैन भन्न सकिँदैन । त्यो पनि सम्भावना हुन सक्छ । किनभने हामी सबैले देश र जनताका लागि राजनीति गरेका छौँ । त्यसका लागि एउटा पार्टी निर्माण गरिएको हो । त्यो पार्टीको नेतृत्वमा सबै मिलेर सामुहिक छलफल गरेर ल यसरी जाउँ भन्न पनि त सकिने भयो नि त ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार  ८ : ०४ बजे

अन्नपूर्ण न्यूरोलाई फोहर व्यवस्थापन गर्न ७ दिनको अल्टिमेटम

काठमाडौं – काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरलाई हानिकारक फोहर व्यवस्थापनमा

देशभरका ६४ अस्पतालबाट ज्येष्ठ नागरिकलाई उपचारमा ५० प्रतिशत छुट  

काठमाडौं– सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक

 दरबारमार्गको कन्सर्टमा कुटिए बालेनका समर्थक

काठमाडौं– दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थक कुटिएका छन्

संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा

एन्फा महिला लिगमा वालिङ नगरपालिका विजयी

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ