समाचार

नवलपरासीको दाउन्नेमा भासिएको सडक एकतर्फी खुल्यो

By खबरहब

October 01, 2024

नवलपरासी– पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ ।

सडक मर्मत गरेर आज बिहान ९ बजेदेखि यातायात एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

सडक मर्मतलाई निन्तरता दिएर आज नै दुईतर्फी सडक सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।

सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।

सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर मर्मत सुरु गरेको जनाइएको छ ।

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जङ्गलमा पूर्वपश्चिम मुख्य राजमार्ग नै भासिएको हो । सोमबार साँझ सडक भासिएपछि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो ।