राजनीति

एमालेले बाढीपहिरो पीडितको राहत र पुनर्स्थापना गर्न जनप्रतिनिधि खटाउने

By खबरहब

October 01, 2024

काठमाडौं- प्रमुख सत्तारूढ दल नेकपा एमालेले प्राकृतिक प्रकोपका बेला पार्टीका जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले बाढी-पहिरो र डुबानबाट पीडित भएकालाई राहत तथा पुन:स्थापनाका लागि जनप्रतिनिधिलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको एमाले सचेतक सुनिता बरालले बताइन् ।

बैठकले सांसदहरूको आधा महिनाको तलब सरकारको विपद्कोषमा जम्मा गर्ने निर्णय गरेको पनि बरालले जानकारी दिइन् ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको दाबी गरे ।

उनले त्यसक्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग भेटवार्ता गरेको जानकारी गराएको बरालले उल्लेख गरेकी छन्।