समाचार

नख्खु घटनाबारे गृहमन्त्रीको जवाफ- सशस्त्रको बोट पल्टिँदा उद्धारमा ढिलाइ भयो

By खबरहब

October 01, 2024

काठमाडौं- ललितपुरको नख्खु खोलामा गत शनिबार आएको बाढीका क्रममा छाप्रोसहित बगेका तीन नागरिकको उद्धारमा सरकारले सक्दो कोसिस रेको गृहमन्त्री लेखकले बताएका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन् ।

नख्खु खोलमा टिनको छाप्रोमा रहेका नागरिकलाई उद्धार गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको दाबी पनि उनले गरे।

‘सशस्त्र प्रहरीको बोट पल्टिँदा त्यहाँ उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको मलाई बताएको थियो’, उनले भने, ‘एकजना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको हो । प्रहरीले सहयोग नगरेको भन्ने होइन ।’

लेखकले अहिलेसम्म बाढीपहिरोमा परेका चार हजारभन्दा बढीको सरकारले उद्धार गरेको बताए । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित नहुने पनि उनले बताएका छन् ।

सरकारले अहिले पनि राहत र उद्धारको काममा आफूलाई केन्द्रित गरेको गृहमन्त्री लेखकले कांग्रेस बैठकमा बताएका छन् ।