सुनसरी– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित वार्षिक कार्यक्रम अभिव्यक्ति शृङ्खला पन्ध्रौँ संस्करण सम्पन्न गरेको छ । शनिबार टिडवर्थमा सम्पन्न भएको कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष टंक वनेमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहेका थिए ।
अतिथिहरू पाँचथर सेवा समाज, बेलायतका अध्यक्ष तथा साहित्यकार शान्ति लिम्बू, खोटाङ सेवा समाज, बेलायतका महासचिव तथा गीतकार चन्द्रजयपाल राई, गायिका सुनिता थेवे समाजसेवी तथा राजनीतिकर्मी नरकुमारी लिम्बू र बिृगेट अफ गोर्खाजका उच्चपदस्थ सैनिक अधिकृतहरू उपस्थित रहेका थिए । प्रमुख अतिथि वरिष्ठ संगीतकार दिनेश सुब्बा र सभाध्यक्ष टंक वनेमले पानसमा दीप प्रज्वलन गरि पन्ध्रौँ अभिव्यक्ति शृङ्खलाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्रष्टा नरेश नातिलाई मञ्च प्रदानसंगै प्रमुख अतिथि प्रमुख अतिथि वरिष्ठ संगीतकार दिनेश सुब्बा र सभाध्यक्ष टंक वनेमले नेपाली टोपी र ताम्रपत्रद्धारा सम्मान गरेका थिए । लोकप्रिय गीत र मुक्तकहरू प्रस्तुत गरिएको अभिव्यक्ति शृङ्खलामा वरिष्ठ गायक गोपाल योञ्जनको देशभक्ति गीत ‘बनेको छ पहराले यो छाती मेरो’ गाएर एकल प्रस्तुति सुरु गरेका थिए । स्वर सम्राट् नारायण गोपालको स्वर, संगीत र ईश्वर वल्लभको शब्द रहेको गीत ‘दुइटा फूल देउरालीमा’, नारायण गोपालकै स्वर, संगीत र भैरवनाथ रिमालको शब्द ‘जुन फूल मैले चाहेको थिए’, भीम विरागको शब्द, मदन क्षेत्रीको संगीत र नारायण गोपालको स्वर रहेको ‘कसरी म भुले’ जस्ता कालजयी गीतहरू प्रस्तुत गरेका थिए ।
यसैगरि दिनेश सुब्बाको शब्द, संगीत र रामकृष्ण ढकालको स्वर रहेको ‘हाम्रो सुन्दर सन्सार थियो हुरीआई उडाई दियो’, भजन शिरोमणी भक्तराज आचार्यको कालजयी गीत ‘म कहीँ कतै हराए भने’, नरेश नातिको शब्द, चोक गुरूङको संगीत र राजेश पायल राईको स्वर ‘पहाड चढ्दै तराई झर्दै उमेर गयो नि हौ’ लगायतका गीतहरू नातिले प्रस्तुत गरेका थिए ।
बाद्यवादनतर्फ प्रदिप राई, खीम गुरुङ र हेमकणर्ण राई र भोकलमा गायिका सुनिता थेवे लिम्बूले साथ दिएका थिए । डेढ घण्टाको समयमा दर्जनभन्दा बढी लोकप्रिय तथा कालजयी गीतहरू र बीचबीचमा गजल र चोटिलो मुक्तकहरू वाचन गरेका थिए ।
मिक्लाजुङ गाउँपालिका-६, कन्याटार, पाँचथरका स्रष्टा नरेश नातिले विद्यालय अध्ययनको समयदेखि लेख्न सुरु गरेका हुन । उनको पहिलो कृति ‘बाटो खोज्दा खोज्दै’ गीति सङ्ग्रह सन् २००९ सालमा प्रकाशित भएको थियो । दोस्रो कृति ‘देश बिर्सेर’ कथासङ्ग्रह सन् २०१८ साल र तेस्रो कृति ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह सन् २०१९ सालमा प्रकाशित भइसकेको छ । यसै गरी संयुक्त मुक्तक सङ्ग्रह ‘मुक्तक महक’ सन् २०१७ सालमा बेलायतबाट प्रकाशित भएको छ ।
नाति कथा, कविता, गीत र मुक्तक विधाका साथै सङ्गीत सृजना, गायन र वाद्यवादन कलामा समेत अब्बल साधकका रूपमा सुपरिचित छन् । नाति बेलायती-नेपाली डायास्पोरिक समाजका एक गौरवशाली प्रतिभा हुन् । नाति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतसँग आवद्ध छन् भने बेलायती गोर्खा सैनिक सेवामा सेवारत छन् ।
दुई चरणमा बिभाजन गरिएको कार्यक्रमको पहिलो महासचिव चोक गुरुङ र दोस्रो सचिव अन्जु अञ्जलीले सञ्चालन गरेका थिए । उपाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम संयोजक संस्थाका उपाध्यक्ष मिजास तेम्बे, पुर्व अध्यक्षहरू रक्ष राई, गणेश राई लगायत संस्थाका पदाधिकारीहरू साथै साहित्य संगीतप्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।
सन् २००७ सालबाट सुरु गरिएको अभिव्यक्ति श्रृंखला कार्यक्रममा सहभागी स्रष्टाहरू सन् २००७ संगीतकार चोक गुरुङ, २००८ साहित्यकार दयाकृष्ण राई, २००९ साहित्यकार टंक वनेम, २०११ संगीतविज्ञ किशोर गुरुङ, २०१२ साहित्यकार अन्जु अञ्जली, २०१३ पप गायक नोर्देन तेन्जिङ भुटिया, २०१४ नाट्यकर्मी शशी थापा सुब्बा, २०१५ साहित्यकार रक्ष राई र २०१६ कवि तथा गीतकार निर्मला ‘परिवेश’ राई हुन ।
यसैगरि सन् २०१७ सालमा कवि डा. रूपक श्रेष्ठ, सन् २०१८ सालमा साहित्यकार गणेश राई र सन् २०१९ सालमा साहित्यकार जानु काम्बाङलाई अभिव्यक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो । सन् २०२० सालमा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन ।
सन् २०२१ सालमा भर्चुअल मार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको साथै सन् २०२३ सालको अभिव्यक्ति शृङ्खलाका लागि गायक धन ‘किरण’ गुरुङलाई मञ्च प्रदान गरिएको थियो । बेलायती-नेपाली डायास्पोरिक प्रतिभाहरूको सम्मानमा आयोजना हुँदै आएको ‘अभिव्यक्ति शृङ्खला’ एक महत्त्वपूर्ण कार्यक्रम मानिन्छ ।













प्रतिक्रिया