साधारण अर्थमा जमिनमुनिको पानी नै भूमिगत जलस्रोत हो । तर, जमिनमुनिको सबै पानी भूमिगत जलस्रोत चाहिँ भूमिगत जलस्रोत होइन । जस्तो कि जमिनमुनिको पानीलाई हामी पम्पिङ गरेर तान्छौँ । तान्ने क्रममा अटुट आइरह्यो भने त्यो भूमिका जलस्रोत हो । तर, केही समयमै सुक्यो भने त्यो भूमिगत जलस्रोत हैन । अब त्यो जमिनमुनिको पानी मात्रै हुन्छ । त्यसैले पानीको तहले फरक पार्छ ।
आकाशबाट झरेको पानी जमिनमुनि जाँदा त्यसले भूमिगत जलस्रोतको मात्रा बढाउँछ । तर, काठमाडौंमा उल्लेख्य मात्रामा पानी जमिनभित्र पुग्न कम हुँदैछ । यहाँ परेको पानीको केही परिमाण वाष्पीकरण हुन्छ । केही मात्रा जमिनमा सोसिन्छ । धेरैजसो चाहिँ सिमेन्टेड सतहबाट बगेर नदीमै पुग्छन् । सोसिएको पानी चाहिँ कालान्तरमा भूमिगत जलस्रोत बन्छ । त्यसलाई हामी इनार या पम्पलगायत विभिन्न माध्यमबाट तानेर उपयोग गर्छौं । त्यसरी अटुट प्राप्त हुने पानी नै भूमिगत जलस्रोत हो ।
काठमाडौंमा अस्ति धेरै पनि परेको छ । त्यो पानीलाई हामीले उपयुक्त संरचना बनाएर जमिनभित्र नै राख्न सक्थ्यौँ । अहिले यहाँ एकातिर पानीको हाहाकार छ भने अर्कोतिर बाढी चलिरहेको छ । यसलाई व्यवस्थापन गर्नुपर्छ ।
काठमाडौंको क्षेत्रफल ६६५ वर्गकिलोमिटर छ । यही क्षेत्रमै बस्ती विकास चरम अवस्थामा छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को तथ्याङ्क हेर्दा यहाँ एक दिनमा ४८.५ करोड लिटर पानी माग हुने गरेको छ । भूमिगत जलस्रोतबाट मात्र पाँच करोड लिटर पानी उपलब्ध छ । त्यो मोटामोटी पाँच करोड लिटर पानी तान्दा भूमिगत जलस्रोत छरपष्ट भइरहेको छ ।
जमिनबाट पानी लिइसकेपछि त्यसलाई शोधभर्ना पनि त गर्नुपर्यो । पानी बगाएर मात्रै त परिपूर्ति हुँदैन । जमिनमुनिको तहमा कसरी पानी छिर्छ ? मनपरी तरिकाले छिराउन पनि भएन।र सफा पानी छिराउनुपर्यो । आकाशबाट प्रत्यक्ष आएको पानी दूषित पनि हुन सक्छ । यसमा पनि ध्यान दिनुपर्छ ।
काठमाडौं उपत्यका धेरै विकास भइसकेको छ । घरैले मात्र ओगटेको भन्ने होइन । धेरै सडक बनाइएको छ । अब यहाँ त खुला ठाउँ नै कम भएको छ । पानी कहाँबाट बग्छ त ?
काठमाडौंमा सुख्खा याममा पानीको हाहाकार पनि होला । काठमाडौं महानगरपालिकामा पनि नीतिगत नियम छैन जस्तो लाग्छ । आकाशबाट परेको पानी जमिनभित्र पठाउने प्रक्रियालाई ’रेनवाटर हार्भेस्टिङ’ भनिन्छ । त्यो प्रविधि राख्नुपर्छ । एक घरले राख्दैमा बाढी नियन्त्रण हुन्छ भन्ने हुँदैन, तर नीतिगत रूपमा नै अघि बढ्नुपर्छ ।
काठमाडौं उपत्यका धेरै विकास भइसकेको छ । घरैले मात्र ओगटेको भन्ने होइन । धेरै सडक बनाइएको छ । अब यहाँ त खुला ठाउँ नै कम भएको छ । पानी कहाँबाट बग्छ त ? भूकम्पको बेलामा पनि खुला ठाउँमा बस्नको लागि पनि सुझाव दिइन्छ । खुला ठाउँमा बस्न रहरलाग्दो नै भएको छ । खुला ठाउँबाट नै पानी सोसिएर जमिनभित्र जाने हो । त्यसैले नै जमिनमुनि आवश्यक पानी परिपूर्ति गर्ने हो ।
यहाँनेर पोखरीहरूबारे थोरै कुरा गर्नु सान्दर्भिक हुन्छ । उपत्यकामा रानीपोखरीको विकासको कुरा आउँछ । वहावका कारण पानीमा भएका फोहोरहरू नियन्त्रण हुँदै जान्छन् । यसमा बाढीलाई नै रोक्ने भन्ने त हुँदैन, तर भूमिगत जलस्रोतबारे केही सोच्न सकिन्छ । त्यसैले यी कुराहरूमा नीतिगत रूपमा नै सोचेर अघि बढ्नुपर्छ ।
यति भाग जमिनलाई हामीले छोड्नुपर्छ वा यति छोडेर घर बनाउनुपर्छ भन्नेमा ध्यान दिनुपर्छ । बंगलादेशमा आकाशको पानी जम्मा गर्न प्रत्येक २० घर बराबर एक ट्याङ्की सरकारले नै बनाइदिएको हुन्छ । त्यो पानी उनीहरूले तीन महिनासम्म प्रयोग गर्न सक्छन् ।
त्यहाँ किन त्यसो गरियो त भन्दा जमिनमुनिको पानीमा आर्सेनिकको समस्या छ । हाम्रो यहाँ पनि त्यही समस्या हो । ६१ वटा जिल्लामा जमिनमुनिको पानीमा आर्सेनिक पाइएको छ । आर्सेनिक धेरै भएको पानी पिउँदा छालाको रोग, क्यान्सर, लिभरको समस्या हुनेरहेछ । त्यसैले त्यहाँ नीतिगत रूपमै सरकारले रेनवाटर हार्वेस्टिङ सिष्टम लागु गरेको रहेछ ।
पहिले पनि मुसलधारे वर्षा हुन्थ्यो, तर जलाधार क्षेत्रमा अवरोध नहुँदा र खोला आफ्नै प्राकृतिक वहावमा बग्न पाउँदा यति धेरै क्षति हुँदैनथ्यो
अरू देशमा सडक छेउमा पनि ड्रेनेज सिष्टमलाई खाल्डो खनेर जमिनमुनि छिराएको हुन्छ । त्यसो गर्दा यी बाढी पहिरोका समस्या केही हदसम्म कम हुन्छ ।
मल्लकाल, राणाकाल या पछिल्लो पञ्चायतकालमै पनि बाढीले यति जमिन कटान गर्यो, धनजनको यति क्षति भयो भन्ने समाचार एकदमै कम सुन्थ्यौँ । तर, हामीले प्रकृतिलाई प्रहार गर्दागर्दै यो हालत ब्यहोर्नुपर्यो । जति मिचे पनि खोलाले कुनै न कुनै समय आफ्नो बाटो लिइछाड्छ ।
त्यसकारण खोलाको बाटो खोलालाई नै छाड्नुपर्छ । पहिले पनि मुसलधारे वर्षा हुन्थ्यो, तर जलाधार क्षेत्रमा अवरोध नहुँदा र खोला आफ्नै प्राकृतिक वहावमा बग्न पाउँदा यति धेरै क्षति हुँदैनथ्यो ।
अहिले शहरी विकासको नाममा विनाश भएको जस्तो पनि लाग्छ । हामी सानो हुँदा जहाँ पानी बगिरहेको हुन्थ्यो – अहिले हामीले त्यसैलाई पुरेर सडक बनाएर गाडी र मोटरसाइकल चलाएर हिँड्छौँ । त्यसैले नदीको बाटो त हामीले नै मिचेका हौँ । यही कारणले विपद् निम्तिएको हो ।
एउटा बस्ती बस्नुपर्ने क्षेत्र, यो कृषि गर्ने क्षेत्र, यो पर्यावरण संरक्षण गर्नुपर्ने क्षेत्र भनेर वातावरणीय हिसाबबाट या सभ्य सभ्यताका हिसाबबाट विगतमा हामीले हाम्रा पिता पुर्खाले सहर विकास गरेका थिए । त्यहाँ इनार थियो, जंगल थिए, पानीका मुहानहरू पनि थिए, ढुंगेधाराहरू पनि थिए ।
त्यतिबेला अहिलेजस्तो प्रविधि उपलब्ध थिएन । त्यही ढुङ्गेधाराबाट नै बस्तीले पानी लिइरहेको थियो । त्यो बेलाको र अहिलेको व्यवस्थापन फरक भयो । त्यतिखेरको जीवनशैली गलत हो भन्नुहुँदैन । अहिले पनि पुराना प्राविधिक कुराहरू पनि वैज्ञानिक र उपयोगी छन् । त्यसैले त्यस्तो कुराहरूको पनि हामीले अनुशरण गर्नुपर्छ ।
विभिन्न ठाउँमा पोखरी बनाइयो, ता कि ढुङ्गेधारामा पानी परिपूर्ति भइरहोस् । अहिले सुन्धारामा पानी सुकिरहेको छ । त्यहाँ पुरानै तहबाट त पानी ल्याउन सकिँदैन । तर, त्यसलाई नयाँ प्रविधिबाट पानी दिन सकिन्छ । ट्युबवेलबाट पानी दिने होला ।
अहिले नीतिगत रूपमा हामी चुकेकै हौं । त्यो बेला पानीमात्र दोहन गर्ने हैन, त्यसलाई परिपूर्ति पनि गर्नुपर्छ भनेर उनीहरूले आवश्यक व्यवस्थापन गरेका थिए । पोखरीहरू पनि पानीको मुहानका लागि बनाएका थिए
पहिला रत्नपार्कमा भएको ढुंगेधारामा पनि राम्रो पानी आएको थियो । एक सेकेन्डमा १२ लिटरका दरले पानी बगिरहेको थियो । त्यो पानी पछि पुरियो । त्यसको मुहान पोखरीमा जम्मा पारेको पानी नै थियो ।
आकाशबाट परेको पानी त्यो रानीपोखरीमा सोसेर जान सक्ने स्थिति चाहिँ त्यति बेलाजस्तो अहिले छैन । किनकी हामीले पानी अडिनेमात्र बनायौँ आकर्षण केन्द्रको लागि मात्रै त्यो रानीपोखरी बनाएको जस्तो लाग्छ ।
त्यहाँ भक्तपुरबाट कालीमाटी ल्याएर, बारेर तल जमिनमा नजाने तरिकाले राखेको छ । कुनै पनि पोखरीलाई रिभाइज गर्दा त्यहाँ पानी राखिरहनुपर्छ । सबै जमिन भिजेपछि तल पानी सोसिएर जाँदैन ।
काठमाडौं प्लाजा बनाउने क्रममा टङ्गाल जाने बाटोको बीचमा धेरै पानी आयो । त्यो पानी कहाँ पठाउने भनी ढल निकास विभागमा कुरा राखेको भन्ने सुनिएको थियो ।
त्यसबारे सोधखोज गर्ने भनिएको छ । सकेसम्म पानीको पुरानो बाटोलाई नै पुनरुत्थान गर्ने, नसकिए नयाँ प्रविधिबाट पानी ल्याउने कुरा भएको छ । यसरी सुन्धारामा पानी पठाउन प्रयास भएको जस्तो लागेको छ । त्यसका लागि धेरै प्रक्रिया हुन्छन् । पहल महानगरले नै गर्ने हो ।
(कुराकानीमा आधारित ।)
प्रतिक्रिया