ओलीको प्रश्न- मेलमिलाप दिवसमा भाटे कारवाही किन ? | Khabarhub Khabarhub

ओलीको प्रश्न- मेलमिलाप दिवसमा भाटे कारवाही किन ?

संयुक्त सरकार बनाउन बाबुरामको प्रस्ताव, कांग्रेसभित्रै छैन मेलमिलाप



काठमाडौं – आफ्नै दलभित्र आन्तरिक एकता कायम गर्न नसकेको नेपाली कांग्रेसले सोमबार प्रज्ञा भवन कमलादीमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो । सो दिवसमा दुईतिर मुख फर्केका केपी शर्मा ओली र माधवकुमार नेपालहरुसमेत निम्त्याइएका थिए । राष्ट्रिय मेलमिलाप भनिए पनि रास्वपा र राप्रपाचाहिँ छुटे ।

कांग्रेसको निम्तो मानेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईसमेत कार्यक्रममा उपस्थित थिए । जनता समाजवादीका तर्फबाट श्रममन्त्री शरदसिंह भण्डारी र केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र श्रेष्ठ पनि सहभागी भए पनि उपेन्द्र यादवचाहिँ देखिएनन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको स्थिरताका लागि संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसमेत सहभागी हुँदा रास्वपाका रवि लामिछाने निम्त्याइएका थिएनन् । मेलमिलापमा राप्रपा र रास्वपालाई किन निम्तो गरिएन ? यसबारे नेताहरूले कार्यक्रममा केही बोलेनन् । मेलमिलाप दिवस भनिए पनि कार्यक्रमस्थलमा नेताहरुवीच पुरानै पारामा छेडछाड र व्यंग्यवाण प्रहार भयो ।

मेलमिलाप दिवसमा सहभागी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधव नेपालबीच बोलचाल भएन । उनीहरू एक आपसमा हेराहेरसम्म नगरी बसे । ओली र बाबुराम भट्टराई आपसमा खासखुस गरिरहेका देखिन्थे । पछि, बाबुरामले आफ्नो भाषणमा संयुक्त सरकारको प्रस्ताव राखे ।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख राजनीतिक दलहरूको संयुक्त सरकार बनाउनुपर्ने प्रस्ताव गरे ।

छुट्टाछुट्टै कुर्सीमा बसेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बेलाबेलामा खासखुस चलिरहेको देखिन्थ्यो । दाहिनेपट्टि माधव नेपाल बसेका थिए ।

कार्यक्रममा पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्वागत मन्तव्य राखिन् । उनले कांग्रेसभित्र बीपीको सिद्धान्त र मेलमिलापको भावना मर्दै गएकाले यसलाई बचाउन माग गरिन् ।

त्यसपछि महामन्त्री विश्वप्रकाश शर्माको बोल्ने पालो आयो । उनलाई कार्यक्रम सञ्चालक मीन विश्वकर्माले कार्यक्रमका बारेमा प्रकाश पार्न लगाए ।

शर्माले राष्ट्रियता बचाउन र संविधानको पूर्ण कार्यान्वयनका लागि सबै पार्टीहरुबीच मेलमिलापको वातावरण सिर्जना हुनुपर्ने बताए । लोकतन्त्र र जनता मेलमिलापको केन्द्र भएको बताए ।

शर्माले भने, ‘हामी सरकारमा हौं या प्रतिपक्षमा, संघीयता कार्यान्वयन गर्ने कुरामा एक हुनुपर्छ । प्रदेशले अन्तरीक्ष हिरामोती मागेका होइनन्, देशको जिम्मेवार सपना देशले मागेको छ ।’

उनले थपे, ‘हामीले स्वीटजरल्याण्ड बनाउने सपना राख्यौं । सिङ्गापुर बनाउने सपना राख्यौँ । गाउँमा सबैको घरमा पानीको धारा पुगेको थिएन । हिन्द महासागरमा पानीको झन्डा फहराउने सपना राख्यौँ । भूईँचालो आउँदै गर्दा मान्छे नमरुन् भनेर एउटा बलियो घर बनाउने सपना कार्यान्वयन गर्न सकेनौँ ।

महामन्त्री शर्माले केपी शर्मा ओली चिढिने गरी भने, ‘हामीले अग्ला–अग्ला भ्यु टावरहरु खडा गर्न लाग्यौँ । एकैपटक हामीलाई चारवटा अन्तरराष्ट्रिय विमानस्थल चाहियो । बनिसकेका एयरपोर्ट सञ्चालनमा आएनन् । लगानी उठेन । समृद्धिको खाकामा एक ठाउँमा आउन सबै दल मिल्नुको विकल्प छैन ।’

जब ओलीको बोल्ने पालो आयो…

कार्यक्रममा केपी शर्मा ओलीको बोल्ने पालो शुरुमै आयो । उनले कार्यक्रम सञ्चालक विश्वकर्मालाई इसारा गर्दै आफूसँग समय छोटो भएको र बोल्ने पालो दिइहाल्न आग्रह गरिरहेको देखिन्थ्यो ।

पूर्वनिधारित समयभन्दा पहिले नै ओलीले बोल्ने समय पाए । सुरुमा उनले बीपीको दर्शन र इतिहासका बारेमा कुरा गरे । त्यसपछि विश्वप्रकाश शर्माको भनाइतिर खनिए ।

उनले आफूलाई महामन्त्री शर्माले मेलमिलाप दिवसमा आउना साथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गरे । ओलीले भने–
‘विश्व प्रकाशजीले अलिकति मेलमिलाप दिवसमा आउने बित्तिकै भाटे कारवाही ! अग्ला घर किन बनाइस्, कोलकाता जान गंगाको बाटो किन खनिस्, ट्रक नै कुदाउनुपर्ने ठाउँमा पाइपलाइन किन ल्याइस् ? ट्रक चलाउनु पर्ने ठाउँमा, बैलगाडा चलाइराखेको थियो, हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो आठ लाख, सात लाख पुनःनिर्मित घर छोटो अवधिमा बनाएर पीडितहरूलाई किन वितरण गरिस् ? ठूला कुरा गर्ने उहाँले आफ्नो प्रचलित शैलीमा भन्नुभयो, त्यसको पनि म जवाफ दिन्नँ । त्यतापट्टि मलाई जानुछैन र म कुनै विवादास्पद कुरा गर्न आज आवश्यकता ठान्दिनँ । यति हो ।’

ओलीले  विश्वप्रकाशलाई जवाफ दिएपछि कार्यक्रमस्थलमा हाँसो छायो ।

ओलीले गठबन्धन सरकारलाई पनि मज्जाले व्यंग्य हान्न भ्याए । बालकुमारी घटनामा पनि उनको अभिव्यक्ति आक्रामक थियो ।

ओलीले सरकारमाथि प्रश्न गर्दै भने, ‘विदेश जान मारिएका छन् । मारिए किन ? यसको जवाफ कसले दिने ? बालकुमारीमा युवाहरूको प्रदर्शनमा मन्त्रीले गाडी लिएर किन जानुपर्यो ? नगई नहुने के आइलाग्यो ? थुप्रै प्रश्नहरू उब्जिएका छन्, त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित पारेर गोली चलाएर मान्छे मारेको छ । गोलीमात्रै चलाएको होइन, बन्दुकको कुन्दाले यसरी हानेको छ कि मान्छे ठाउँको ठाउँ मरेको छ ।’

प्रचण्ड नेतृत्वको सरकारप्रति कांग्रेस सन्तुष्ट रहेकोमा व्यंग्य गर्दै ओलीले भने, ‘अहिलेको स्थिति, परिस्थिति र राज्य सञ्चालनमा सन्तुष्ट रहेको नेपाली कांग्रेस, तलाउमा एउटा ढुङ्गो फालेर तरङ्ग ल्याउने मेरो इच्छा छैन। त्यसैले म त्यता जान चाहँदैन। कुनै अमनचयनमा खलल पार्न पनि चाहँदैन।’

आफ्नो कुरा राखेर ओली बाहिरिए । उनले विश्वप्रकाश, डिना, बाबुराम भट्टराई, चित्रबहादुर केसीको बाहेक अरुको भाषण सुनेनन् ।

ओलीले जाने बेलामा प्रधानमन्त्री प्रचण्ड र देउवासँग मात्रै हात मिला । छेवैमा रहेका माधव नेपाल सहित मन्त्री भण्डारी र नेता केसीलाई टाढैबाट नमस्कार गरे । ओलीको अभिव्यक्तिबाट थाहा हुन्यो कि उनी अन्य नेतासँग सहकार्य गर्ने मुडमा छैनन् ।

कांग्रेसका नेताको हाउभाउ

नेपाली कांग्रेसका सबैजसो केन्द्रीय नेताहरू कार्यक्रममा उपस्थित थिए । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा र उपसभापति पूर्णबहादुर खड्का एकै ठाउँमा थिए । बीचमा रहेका खड्कासँग गननभन्दा विश्वप्रकाश बढी खासखुस गरिरहेका देखिन्थे ।

कार्यक्रम शशांक कोइरालाको पनि उपस्थिति थियो तर डा. शेखर कोइराला भने देखिएनन् । कृष्णप्रसाद सिटौला शशांकसँगै बसेका थिए । कार्यक्रममा विमलेन्द्र निधि पनि देखिएनन् ।

बालकुमारी घटनाको चर्चा

सोमबारको कार्यक्रममा ओलीले प्रश्न गरेको लगत्तै बोलेका डाक्टर बाबुराम भट्टराईले रोजगारी नपाएर युवाहरू पलायन भइरहेको बताए । उनले यसलाई समयमै रोक्नुपर्ने तर्क गरे । उनले भने, ‘रोजगारीकै कारण पुस १३ गते बालकुमारीमा दुई युवाले ज्यान गुमाउनुपरेको छ ।’

अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनाबारे चर्चा गर्दै भने, ‘बालकुमारीमा नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी बैठक बसिरहेको थियो। हामी बैठकमा व्यस्त थियौँ । त्यसपछि मन्त्री प्रकाश ज्वाला सरकारी कामकाजको सिलसिलामा निस्किनुभएको हो। घटनामा उहाँ दोषी हुनुहुन्न, यसलाई अन्यथा नलिनु होला ।’

बालकुमारी घटनाप्रति एकीकृत समाजवादी गम्भीर रहेको बताउँदै नेता नेपालले दोषीमाथि कारबाही हुनुपर्ने बताए।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि बालकुमारी घटनाको चर्चा गरे । ‘दुई युवाको हत्या भएको घटना सामान्य छैन। मैले यो घटनालाई गम्भीररूपमा लिएको छु । बालकुमारी घटना बाहिर देखिएजस्तो छैन, त्यहाँ केही न केही षडयन्त्र भएको छ । त्योभित्र अर्कै केही छ भन्ने अनुभूत गरेको छु। यो कतै लोकतन्त्र र गणतन्त्रको विरोधमा डिजाइन त होइन ? यसकारण तुरुन्त निलम्बन गर्ने र उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो।’

कांग्रेस सभापति शेरबहादुर देउवाले भने बालकुमारी घटनाबारे चर्चा गरेनन् ।

देउवाले भने, ‘हाम्रो देशमा आफ्ना मतभेदहरू, पार्टीगत वैचारिक मतभेद, प्रतिस्पर्धाहरु छन्। नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरू एक ठाउँमा बस्ने संस्कार बनेको छ । सायद यस्ता धेरै कम देशहरु छन् । मान्छे छक्क पर्छन्। एउटा पार्टीको कार्यक्रममा अरू नेता आएको देख्दा विदेशबाट आउने मानिसहरू छक्क परेका हुन्छन्।’

नेपाली कांग्रेसको मेलमिलाप दिवसमा उपस्थित अधिकांश कार्यकर्ता र नेताहरूले पहिले कांग्रेस पार्टीभित्रै मेलमिलाप कायम गर्नुपर्ने बताए ।

यो पनि-

तस्बिरमा कांग्रेसको मेलमिलाप

भिडियो

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ६ : २३ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य