ज्ञानेन्द्रको गद्दीत्याग : असफलता कि महानता ? | Khabarhub Khabarhub

ज्ञानेन्द्रको गद्दीत्याग : असफलता कि महानता ?

पूर्वराजासँग अब दुईवटा विकल्प छन्


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 8 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज माघ १९ गते । २०६१ माघ १९ लाई सम्झने हो भने आजको दिन नेपाली राजनीतिको एउटा विशेष दिन हो । करिब २० वर्षअघि आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानलाई कुल्चेर सत्ताको बागडोर आफ्नो हातमा लिएका थिए । आजकै मितिमा उनी आफैं मन्त्रिपरिषदको अध्यक्ष बनेका थिए । र, ज्ञानेन्द्रको यही सक्रियता नै अन्ततः राजतन्त्र पतनको प्रमुख कोसेढुंगो बन्न पुग्यो ।

नेपाली राजनीतिमा दुईजना राजालाई चतुर खेलाडी एवं दुरदर्शी मान्ने गरिन्छ । एक– पृथ्वीनारायण शाह र दोस्रो महेन्द्र । त्यसो त राजतन्त्रलाई राजसंस्थामा बदलेर बेलायतमा जस्तै संवैधानिक राजाका रुपमा रहने दुरदर्शी भूमिकाका कारण तत्कालीन राजा वीरेन्द्र पनि प्रशंसनीय मानिन्छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह भने एकजना यस्तो पात्र बन्न पुगे, जसको असक्षमता र अदुरदर्शिताका कारण अढाइ सय वर्ष लामो राजतन्त्र सधैंका लागि ढल्यो । तथापि अहिलेसम्म देशमा राजा फर्किने/फर्काउने चर्चा पनि चलिरहेकै छ ।

ज्ञानेन्द्र शाह स्वयंले आफ्ना भाषणमा श्रीपेच र राजदण्ड जनतालाई नासोका रुपमा छाडेको, ०६२/०६३ को आन्दोलनमा जनतामाथि दमन नहोस् भने राजगद्दी छाडेर नागार्जुन जान तयार भएको र गद्दी छाडेपछि विदेश नगई देशभित्रै बसेको सन्देश दिने गरेका छन् । उनले आफ्नो यो त्यागलाई बुद्धिमत्तापूर्ण र राष्ट्रवादी कदममा रुपमा व्याख्या गर्दै आएका छन् ।

तर, के यति तर्कले ज्ञानेन्द्रका कमजोरी र गल्तीको ढाकछोप हुन्छ ? उनले आफ्ना पितापुर्खाले धानेको राजसंस्था जोगाउन किन सकेनन् ? ज्ञानेन्द्रको गद्दी अवतरण उनले भनेजस्तै महान त्याग हो या राजावादीहरुले स्वीकार्दै आएको उनको महान असक्षमता हो ? यसमाथि बहसका लागि माघ १९ को दिन सान्दर्भिक हुन सक्छ ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्ना भाषणहरुमा अहिलेको राजनीतिक नेतृत्वले गरिरहेको कामप्रति असन्तुष्टि र विरोध जनाउने गरेका छन् । यस्तो लाग्छ, उनी विपक्षी दलका नेता हुन् । तथापि उनी अझै राजतन्त्रको पुनर्प्राप्तिकै पर्खाइमा देखिन्छन् ।

ज्ञानेन्द्र शाह एकातिर गद्दी त्याग गरेको विषयलाई महान कार्यका रुपमा व्याख्या गर्न खोज्छन्, अर्कोतिर फेरि राजा बन्ने भित्री अभिलाषा पनि प्रकट गर्छन् । यसबाट के प्रष्ट हुन्छ भने हिजो राजा हुँदा पनि उनी ‘कन्फ्युजन’मै थिए, अहिले नागरिक हुँदा पनि ‘कन्फ्युजन’मै बाँचिरहेका छन् । यो ‘कन्फ्युजन’ले उनलाई कुनै दिन अर्को ‘महान गल्ती’तर्फ लैजाने जोखिम देखिन्छ ।

अब ज्ञानेन्द्र शाहका पाँच  ऐतिहासिक भवितव्यबारे चर्चा गरौं ।

‘भूमिगत गिरोह’ को छवि

जतिखेर राजा वीरेन्द्रको शासन चलिरहेको थियो, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र व्यापारीका रुपमा चिनिन्थे । अहिले पनि केपी ओलीको गृहनगर झापामा उनको चिया बगान (हिमालयन टि स्टेट) छँदैछ ।

यसरी व्यापार गर्नु ठिकै थियो, तर ज्ञानेन्द्रले त्यसबेला दरकारको आडमा भूमिगत गिरोह सञ्चालन गरेको, कानूनभन्दा माथि रहेर गैरकानुनी कार्यहरु गरेको र सोही भूमिगत गिरोहका कारण देशमा मूर्तिचोरीका घटनासमेत हुने गरेको चर्चा पूर्वपञ्चहरुले नै खुब गर्ने गर्दछन् ।

पञ्चायतकालीन भूमिगत गिरोहले विभिन्न गोलीकाण्डका फौजदारी घटना पनि गराएको र सरकार बनाउनेर/गिराउने खेलमा समेत संलग्नता जनाउने गरेको चर्चा हुन्थ्यो । ०४२ सालपछि प्रधानमन्त्रीबाट हटेका सूर्यबहादुर थापाले समेत भूमिगत गिरोहको चर्चा गरेका थिए ।

नेपाली राजनीतिमा रहस्यको पोकोकै रुपमा रहेको उक्त भूमिगत गिरोहले ०४६ सालमा राजा वीरेन्द्रबाट बहुदल घोषणा गरेकोप्रति चरम असन्तुष्टि र विरोध प्रकट गरेको थियो । मुलुकमा प्रजातन्त्र दिनु हुँदैन भन्ने भूमिगत गिरोहको दबाव थियो राजा वीरेन्द्रमाथि ।

०४७ को संविधानले राजालाई संवैधानिक दायरामा राखेको विषय भूमिगत गिरोहलाई पटक्कै मन परेको थिएन । दुर्भाग्यवस ०५८ सालमा राजा वीरेन्द्रको बंशनास भयो । बाध्यताबस एकजना व्यापारीको भूमिकामा रहेका ज्ञानेन्द्र शाह राजा बने ।

राजा बन्नासाथ संविधान उल्लंघन

ज्ञानेन्द्र राजा बनेको वर्ष दिनमै भूमिगत गिरोहको सपना साकार भयो । उनले ०५९ असोज १८ गते शेरबहादुर देउवाको सरकार अपदस्थ गरेर उनले ‘अर्ध कु’ गरे । माघ १९ मा पूर्णकदको ‘कु’ गरे । वीरेन्द्रले दिएको प्रजातान्त्रिक अधिकार ज्ञानेन्द्रले खोसे र महेन्द्रपथको यात्रा तय गरे ।

पञ्चायतकाल र बहुदलकालमा समेत ज्ञानेन्द्र शाहको जुन ‘हार्डलाइनर’ एवं ‘निरंकुश’ छवि बनेको थियो, उनको निरंकुश राजा बन्ने प्रयास र नेपालको धरातलीय यथार्थवीच मेल खाएन ।
मानिसहरु अहिले पनि भन्ने गर्छन् कि दाजु वीरेन्द्रले जस्तै थपक्क ०४७ सालको संविधान मानेर बसेका भए ज्ञानेन्द्र अहिले पनि राजगद्दीमै बिराजमान हुने थिए । तर, प्रजातन्त्रवादीसँगको सम्झौताको दस्तावेजका रुपमा रहेको ०४७ सालको संविधान उल्लंघन गर्नु नै उनको पहिलो ऐतिहासिक भूल हुन गयो ।

राजावादीहरु अहिले ‘०४७ सालको संविधानमा फर्कौं’ भन्दैछन् । तर, ०४७ सालको संविधानको पहिलो उल्लंघनकर्ता स्वयं ज्ञानेन्द्र शाह नै हुन् भन्ने कुराचाहिँ राजावादीहरुले अझै स्वीकार्न चाहेको देखिँदैन । स्वयं ज्ञानेन्द्रले पनि जनतासमक्ष त्यो गल्ती स्वीकारेर आत्मालोचना गरेको कतै सुनिएको छैन । ०६३ बैशाख ११ गतेको शाही घोाषणामा ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं’ चाहिँ भनेका छन् ।

असक्षम सावित

हुन त ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम घोषणा गर्दै आफैं मन्त्रिपरिषदको अध्यक्ष बनेर सत्ता हातमा लिएका थिए । तर, तीन वर्ष पनि नपुग्दै उनको सरकार असक्षम सावित भयो । उनको शासनकालमा सुशासन कायम हुन सकेन । टेलिकमको लाइसेन्स प्रकरणमा ज्वाइँको व्यापार र धाकभम्की फस्टायो । भ्रष्टाचार पनि जस्ताको त्यस्तै रह्यो । अख्तियारलाई बाइपास गरेर बनाइएको शाही आयोगले पनि एउटा माखोसम्म मार्न सकेन । यसको विपरीत दरबारको खर्च ह्वात्तै बढ्यो । युवराज पारस विदेशमा गैंडा उपहार दिन पुगे । देश–विदेश दौडाहा बढ्यो । स्थानीय निकायको निर्वाचन गराउन खोज्दा शाह पूरै असफल बने । उनले तत्कालीन माओवादी समस्या समाधान गर्न पनि सकेनन् । देशमा न शान्ति कायम भयो, न त सुशासन, न विकास ।

के के न गर्छु भनेर सत्ता हातमा लिएका ज्ञानेन्द्रले चलाएको अढाइ–तीन वर्षको त्यो प्रत्यक्ष शासनमा सम्झन लायक एउटा पनि काम भएन । उनी ‘टेष्टेड’ भए । सत्ताको साँचो ज्ञानेन्द्रलाई दिँदा पनि केही नहुने रहेछ भन्ने भाष्य स्थापित भयो । अन्ततः जनआन्दोलनको भेल थाम्न नसकेपछि उनी पछि हटे ।

आफूले सत्ता हातमा लिएका बेला ज्ञानेन्द्रले सम्झनयोग्य कुनै काम गरेको भए अहिले मानिसहरुले त्यो समयलाई सम्झने थिए । तर, ज्ञानेन्द्र पनि त अहिलेका दलका नेताहरुजस्तै त रहेछन् नि भन्ने भाष्य स्थापित भएको छ । उनको शासनकालमा विकासका कुनै पनि ‘गेमचेञ्जर’ आयोजनाहरु अघि बढेनन् । विदेश पलायन पनि रोकिएन । जनतामा निराशा उस्तै नै रह्यो । कुनै रामराज्यको लक्षण देखिएन । यसर्थ प्रत्यक्ष शासनको मौका पाएर पनि राजपाठ चलाउन नसक्नु ज्ञानेन्द्र शाहको अर्को ऐतिहासिक भूल ठहरिन पुग्यो ।

अहिले राजावादीहरु ‘राजतन्त्र’ फर्काउने हैन, ‘राजसंस्था’ मात्र फर्काउने भन्दैछन् । राजालाई सिंगै शासन जिम्मा लगाउँदा त देशको विकास र उन्नति भएन भने संवैधानिक बनाएर, खोपीमा राखेर फेरि दलका यिनै नेताले सरकार चलाउने हो भने देशमा त्यस्तो फलिफाप र सविकास चाहिँ कसरी होला त ? यसको जवाफ भने राजावादीहरुसँग छैन । स्वयं ज्ञानेन्द्रले पनि आफ्नो भाषणमा ‘निषेधको राजनीति गर्नुहुँदैन’ भन्ने गरेका छन् । तर, जनताका छोराछोरी राष्ट्रप्रमुख हुने लोकतान्त्रिक प्रणालीलाई बदलेर निरंकुश एवं असक्षम सावित भइसकेका ज्ञानेन्द्रलाई बंशका आधारमा राष्ट्रप्रमुख बनाएपछि ‘निषेधको राजनीति’को अन्त्य हुन्छ भन्ने उनको आशय देखिन्छ । यो अर्को भुलभुलैया हो ।

राप्रपाभित्र गुटबन्दी

पूर्वराजा ज्ञानेन्द्र कतिसम्म ‘मूर्ख’ छन् भन्ने कुरा उनले अहिलेसम्म गर्दै आएको राप्रपा फुटाउने कसरतबाटै प्रमाणित हुन्छन् । राप्रपा त्यस्तो पार्टी हो, जसले नेपालमा राजतन्त्रका लागि जनमत निर्माण गर्दै आएको छ । देशमा राजा फर्काउने वातावरण बनाउन ज्ञानेन्द्रका लागि सबैभन्दा उपयुक्त ‘फोर्स’ भनेको पञ्चहरुको पार्टी राप्रपा नै हो । तर, ज्ञानेन्द्र र उनका सहयोगीहरुले अहिलेसम्म खेलेको भूमिका हेर्दा राप्रपालाई पटक पटक विजाजित बनाउनमा पूर्वराजाबाटै भूमिका निर्वाह हुँदै आएको छ ।

पछिल्लो समय राप्रपाको महाधिवेशनमा कमल थापालाई हराउन र राजेन्दै लिङदेनलाई जिताउन ज्ञानेन्द्रको स्वकीय सचिवालयबाट रातारात फोन र धम्कीहरुसमेत प्रयोग भएको कमल थापाले यसअघि नै गुनासो गरिसकेका छन् । जुन संस्थाका लागि आफूले टाउकोमा कफन बाँधेर लियो, त्यही संस्थाले आफ्नो पार्टीभित्र हस्तक्षेप ग¥यो भन्दै थापाले ज्ञानेन्द्रसँग चित्त दुखाएका छन् ।

यतिसम्म कि ०७९ को चुनावमा ज्ञानेन्द्रको सचिवालयले राप्रपाभित्रै पनि राजतन्त्र पक्षधरलाई टिकट दिन आग्रह गरेको थियो । भोट माग्दा ज्ञानेन्द्रको टिशर्ट लगाएर चुनाव प्रचारमा खटिन कतिपय उम्मेदवारलाई उर्दी गरिएको थियो ।
नेपालको राजामा हुने चरित्र भनेको एउटा पार्टीलाई मात्र होइन, सबै पार्टीलाई समदर्शी नजरले हेर्नुपर्छ । राजाको चरित्र भनेको सबै धर्म, सबै संस्कृति, सबै जातजाति र समुदायलाई समान व्यवहार गर्नुपर्छ भन्ने हो । तर, ज्ञानेन्द्र शाह र उनको सचिवालय राप्रपाभित्र पनि गुट चलाएर बसेको छ । यो ज्ञानेन्द्र शाहको हदैसम्मको संकीर्णता हो । उनीसँग संवैधानिक वा सांस्कृतिक राजामा हुने योग्यता र इमान छैन भन्ने प्रमाण हो । यस्तो संकीर्ण चिन्तन भएको व्यक्तिले भोलि खोपीमा बसेर अभिभावकको भूमिका निर्वाह गर्ला भन्ने विश्वास कमल थापालाई समेत छैन, अरुलाई त परको कुरा ।

फेरि फर्किने लोभ

ज्ञानेन्द्र शाहले अहिलेको व्यवस्थाप्रति जुन वितृष्णा व्यक्त गरिरहेका छन्, उनी फेरि गद्दीमा फर्कने आशामा छन् भन्ने थाहा पाउन अर्को कुनै विशेष अन्तरदृष्टि आवश्यक पर्दैन । तर, फेरि गद्दीमा फर्कने उनको आशा निकै नै जोखिमपूर्ण छ ।
विसं. २००४ साल असारमा जन्मेका पूर्वराजा ज्ञानेन्द्र ७६ वर्ष पुगिसकेका छन् । देशमा अहिले युवा नेतृत्वको बहस भइरहेका बेला उनको उमेर अहिलेका दलका नेताहरुको भन्दा पर पुग्न लागेको स्थिति छ । अबको केही वर्षमा उनी झन् झन् वृद्ध हुँदै जानेछन् ।

छोरा पारस शाहले राजा हुन्न भनेर सार्वजनिकरुपमै भनिसकेको राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ छ । उनी राजा भएको अवस्थामा पनि उनको छविलाई लिएर विवाद हुन सक्छ । राप्रपाकै नेताहरु भन्छन्, अब राजा फर्कने अवस्था भयो भने पनि संसदले नै कसलाई राजा बनाउने र कसलाई नबनाउने भन्ने तय गर्नुपर्छ । त्यो अवस्थामा पारसको राजा बन्ने सम्भावना छैन । त्यसपछि १६ वर्षमा हिँड्दै गरेका नाति या नातिनी वा बुहारी हिमानी वा अरु शाह बंशका व्यक्तिहरु खोज्दै हिँड्नुपर्ने हुन्छ । त्यो स्थितिमा बंश व्यवस्थाकै आधारमा राजा बनाउने हो भने पनि ज्ञानेन्द्रपछि कसलाई खोज्दै हिँड्ने ? यसको जवाफ स्वयं राजावादीहरुसँग छैन ।

योभन्दा महत्वपूर्ण प्रश्न त के छ भने ज्ञानेन्द्रले गणतन्त्रात्मक व्यवस्थालाई स्वीकार गरेर श्रीपेच र राजदण्ड जनतालाई जिम्मा लगाएका हुन् कि होइनन् ? उनले नागरिक भएर बस्ने ईच्छाका साथ गद्दी त्यागेका हुन् कि होइनन् ? यदि उनले त्यो त्याग देखाएका हुने भने उनी त्यसैमा अडिनु उपयुक्त र श्रेष्यस्कर हुन्छ कि विगतमा जस्तै कसैको उक्साहटमा लागेर फेरि सत्ता हातमा लिने बाटोतिर लाग्नु उपयुक्त हुन्छ ? फेरि राजा हुने प्रयासमा लाग्दा ज्ञानेन्द्र विगतमा जस्तै पुनः एकचोटि

ज्ञानेन्द्रका नाममा हुने लोकतन्त्रविरुद्ध ‘कु’ को प्रयास असफल भयो भने त्यसपछि उनले अहिले पाउँदै आएको मान–सम्मान कायमै रहन्छ कि गुम्छ ? यी प्रश्नहरुमा विचरण नगरी ज्ञानेन्द्रले वीजनको उत्तरार्धमा आएर पूर्वपञ्चहरुको ईच्छा तुष्टिकै लागि अब आफ्नो ऐतिहासिक ‘त्याग’ माथि दाग लगाउनलान् ? यो प्रश्न निरुत्तरित छ । स्वयं कमल थापाले नै भन्ने गरेको सुनिन्छ– विदेशीको आडमा या सैन्य विद्रोहबाट फर्कने राजतन्त्र टिकाऊ हुँदैन ।

ज्ञानेन्द्रका दुई विकल्प

पूर्वराजा ज्ञानेन्द्रसँग अब विगतको जस्तो गल्ती वा विवादमा नफस्नका लागि दुईवटा विकल्प बाँकी छन् ।

पहिलो विकल्प : पूर्वराजा ज्ञानेन्द्रलाई अहिलेको शासनप्रति अरुचि वा असन्तुष्टि देखिएको हो र शाह बंशको बिँडो थाम्न केही गरौं भन्ने लागेको हो भने यही संविधानको मातहतमा रहेर पार्टी खोल्न सक्छन् । पूर्वपञ्चहरु र राजावादी जनमतलाई एकीकृत गरेर उनले दल बनाएर बहुमत ल्याएर सरकार चलाउन उनलाई संविधानले छुट दिएको छ । जनताले साथ दिए भने प्रधानमन्त्री, राष्ट्रपति जे पनि बन्न सक्छन् । राजावादीको बढ्दो जनमत हेर्दा उनले कुनैबेला जित्न पनि सक्छन् । यसका लागि उनले राप्रपालाई एकीकृत गराएर अध्यक्ष नभए सल्लाहकार वा संरक्षक बस्दा पनि हुन्छ ।

दोस्रो विकल्प : पूर्वराजा ज्ञानेन्द्रलाई लाग्न सक्छ, म त राजा पो हुँ त केको पार्टी पोलिटिक्समा लाग्ने ? राजा भनेको त दलभन्दा, विचारभन्दा माथि हुन्छ । यदि यस्तो ठान्ने हो भने उनीसँग दोस्रो विकल्प पनि छ ।

पूर्वराजा ज्ञानेन्द्रले ०६३ सालमा रक्तपातको बाटो नरोजी शान्तिपूर्णरुपमा गद्दी त्याग गरेर देशलाई योगदान दिएकै हुन् । गणततन्त्र आउनमा ज्ञानेन्द्रको भूमिकाले ठूलो योगदान गरेकै हो । सत्ता छाडेपछि पनि उनी देशमै बसेका छन्, यो पनि सकारात्मक पक्ष नै हो । यही भूमिकाका कारण जनताले पूर्वराजा ज्ञानेन्द्रलाई सकारात्मक मानेका छन् । उनको यो त्याग र अहिले उनले प्राप्त गरिरहेको मानसम्मान उनी राजा हुँदाको भन्दा मूल्यवान् र देशव्यापी छ । यही मूल्यलाई बुझेर ज्ञानेन्द्रले गणतन्त्रविरुद्ध हुने कुनै पनि हर्कतमा आफ्नो सहभागिता जनाएनन् भने उनलाई आगामी पुस्ताले पनि अन्तिम राजाका रुपमा सम्झिइरहने छ ।

तर, यसका लागि उनले राप्रपा वा राप्रपाको एउटा गुटलाई हैन, देशका सबै राजनीतिक दल र समुदायलाई समदर्शी नजरले हेर्न सक्नुपर्छ । हिजो आफैंलाई उचालेर धोका दिने पूर्वपञ्चहरुको साँघुरो घेराबाट बाहिर निस्कनुपर्छ । एकजाति, एक धर्म वा एक दलको पिछलग्गु बन्न छाडिदिनुपर्छ । सबैको साझा बन्ने प्रयास गर्नुपर्छ । विदेशका अतिवादीहरुसँग हात मिलाउन छाडिदिनुपर्छ । देशभित्र वा बाहिरका शक्तिसँग पूर्णरुपमा तटस्थ, पूर्वराष्ट्रप्रमुखको भूमिकामा बस्नुपर्छ । ‘यसैगरी बिताइदिन्छु दुईदिनको जिन्दगी’ भन्ने प्रण गर्नुपर्छ ।

हो, सक्रिय हुन मन लाग्दाखेरि पूर्वराजाले देशका लागि गर्न सक्ने कामहरु पनि धेरै छन् । जस्तो– हिमानी ट्रष्ट छ । जलवायु परिवर्तनको मुद्दामा पूर्वराजाले वकालत गर्न सक्छन् । सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा पूर्वराष्ट्र प्रमुखले देश र जनतालाई योगदान दिएका धेरै उदाहरणहरु विश्वमा छन् । पूर्वराजा ज्ञानेन्द्रले पनि मठमन्दिरको धार्मिक दायराबाट बाहिर निस्केर समाज, देश र पृथ्वीलाई योगदान दिने प्रशस्त ठाउँ छन्, त्यता लाग्न सक्दा देशका लागि शाह बंशको योगदानले निरन्तरता पाउने छ ।

अन्त्यमा, पूर्वराजा ज्ञानेन्द्र शाहले फ्रान्सेली दार्शनिक भोल्तेयरको चर्चित भनाइ सम्झे पुग्छ । जसले भनेका थिए, ‘हे परमेश्वर, मलाई मेरा मित्रहरुबाट बचाऊ…..’

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ५६ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि