काया फेरिएकी नुमा भन्छिन्– अपमानको आँसुलाई हाँसोमा बदलेँ | Khabarhub Khabarhub

काया फेरिएकी नुमा भन्छिन्– अपमानको आँसुलाई हाँसोमा बदलेँ



विराटनगर– लिम्बू भाषामा ‘नुमा’ भनेको सुन्दर हो । तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायक नुमाका लागि त्यो शब्दले नामअनुसारको सन्तोष दिएन । संघर्षका अक्करे भीरसँग पौँठेजोरी खेल्नु पर्‍याे

एउटा पहाड छिचोलेर समथर जमिनको परिकल्पनामा डुब्न नपाउँदै अर्को वाचाल पहाड ठिङ्ग उभिन्थ्यो । उनीभित्रको मन र मस्तिष्क संघर्ष गर्थे । मन हरेस खाँदा मस्तिष्क सम्झाउँथ्यो । मस्तिष्क कठोर हुँदा मनले हरियाली ल्याइदिन्थ्यो । आखिर यही अन्तरविरोधबीच जीवनलाई सेवामा अनुवाद गर्दै लैजाने यात्रामा उनी अब्बल प्रमाणित हुँदै गइन् ।

चञ्चला लिम्बू (नुमा)मा सधैँ आफूजस्तै समुदायको अधिकार पैरवी गर्ने हुटहुटी जागिरहन्थ्यो । भोक, निद्रा नभनी उनी एउटै लयमा संघर्ष गरिरहन्थिन् । क्रियाको प्रतिक्रिया मुखले नभएर कामले दिने स्वभाव विकास गर्दै गइन् । निरन्तरको मेहनतले नरम पानी ढुंगा खियाउन सफल भएजस्तै डेढ दशकको अथक प्रयासपछि नुमा समाजमा स्थापित भइन् ।

संघर्षको विकल्प संघर्ष रोजेकी नुमा के चाहन्छिन् त? हाम्रो जिज्ञासामा उनको उत्तर छ– ‘नयाँ पुस्ताले लैंगिक पहिचानका लागि मैले जस्तो पीडा भोग्नु नपरोस् । अपमानको आँसु पिउन नपरोस् । उनीहरु यही समाजमा सगौरव बाँच्न सकून् । यही विषयको बहस पैरवीमा दत्तचित्त दिएर लागिरहेकी छु । मैले लक्ष्य प्राप्त गरेको त छैन तर नजिक छु ।’

झापाको दमकलाई उनले आफ्नो कार्यथलो बनाएकी छन् । लिड नेपाल नामक संस्थामार्फत लैंगिक अल्पसङ्ख्यकहरूको पहिचान र अधिकारका लागि नुमा मनसा, बाचा, कर्मणा समर्पित छिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारसँगै उनीहरूलाई आत्मनिर्भर बनाउने स्वरोजगारमूलक व्यवसायमा जोडने  काममा नुमा क्रियाशील छिन् । उनैको नेतृत्वमा पहिलो चरण झापा, मोरङ–सुनसरीमा होटल, फास्टफुड कर्नर र सैलुन सेन्टर सञ्चालनमा छन् । जहाँका सम्पूर्ण स्टाफ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका छन् । जसले गर्दा ती समुदायका मानिस आत्मनिर्भरको बाटोमा अघि बढेका छन् ।

‘एक साताअघि दमकमा नमुना यूनिसेक्स सैलुन एन्ड ट्रेनिङ एकाडेमी सञ्चालनमा आएको छ’, नुमाले भनिन्, ‘सैलुनबाट १८ जना लैंगिक अल्पसंख्यक साथीले तालिम लिइसक्नु भएको छ । यो सैलुन समुदायका साथीहरूले सञ्चालन गरेका हुन् । तर, तालिम लिन समुदाय बाहिरका पनि आउनु हुन्छ । सैलुनमा पाँच जना प्रशिक्षकले नियमित तालिम दिइरहनु भएको छ ।’

यसैगरी विराटनगरमा मिलीजुली एन्ड सप्तरंगी खाजाघर र सुनसरीको इटहरीमा रेन्बो फास्टफुड कर्नर सञ्चालनमा ल्याइएको छ । पूर्वका थुप्रै सहर बजारमा उनीहरुले पसल लगायतका स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरिरहेका छन् । झापामा पहिचान लुकाएका समेत गरी नेपालमा २२ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय रहेको उनको दावी छ । उनीहरूलाई आत्मनिर्भर बनाउन सीप सिकाउने र रोजगारी सिर्जना गर्ने संस्थाको उद्देश्य छ ।

कोशी प्रदेशमा मात्र यौनिक तथा लैंगिक अल्पसंख्यक २ लाख बढीको संख्यामा रहेको अनुमान छ। तिनीहरुलाई कुनै न कुनै पेशा व्यवसायमा जोडने लक्ष्य रहेको उनी बताउँछिन् ।

‘संख्याको दृष्टिले पनि अब हामी थोरै रहेनौं । अब हाम्रो समुदायलाई आत्मनिर्भर बनाउन तीनवटै तहका सरकारले दीर्घकालिक योजना ल्याउन आवश्यक छ ।’ नुमा थप्छिन्– ‘अधिकारसँगै आर्थिक पाटो पनि महत्वपूर्ण रहेछ । हामी तालिम त दिन्छौँ तर त्यो सँगै व्यवस्थापनको बाटो जटिल बन्छ । त्यसैले हाम्रो अवस्था फेरिएन । अन्ततः नाच्ने र देहव्यापार अँगाल्नुपर्ने बाध्यतामा धेरै दिदीबहिनी हुनुहुन्छ ।’

फेरिएको चोला
३२ वर्षअघि मोरङको बबियाबिर्तामा जन्मिँदा उनी छोरा थिए । उनको शरीरले दिएको लिंग पहिचान छोरा नै थियो । नाम पनि पुरुषकै थियो । तर १२-१३ वर्षको उमेर टेकेसँगै उनलाई ‘म त छोरा नभएर छोरी पो हुँ’ भन्ने लाग्न थाल्यो । छोराको लुगा फिटिक्कै मन पर्दैन थियो । छोरीका लुगामा मन जान्थ्यो । गाजल लगाएर हिँड्ने रहर पलाउँथ्यो । यद्यपि उनको त्यो मनोविज्ञानप्रति परिवारका कुनै सदस्यको ध्यान गएन ।

विगत सम्झँदै नुमा भन्छिन्– ‘मलाई आफू केटा भएर पनि किन केटीजस्तो बन्न मन लागेको होला भन्ने प्रश्नले उकुसमुकुस बनाइरहन्थ्यो । तर उत्तर कहाँ पाउनु ? छोरा शरीरमा छोरीको जस्तो मन कोमल हुँदै थियो । यद्यपि निर्णय गर्ने क्षमता नहुँदा अरुको आदेश स्वीकार्नुको विकल्प थिएन । आठ कक्षामा पढ्दै गर्दा आफू छोरा होइन, छोरी नै भएको पक्का गरेँ । तर साथीहरूलाई कसरी सम्झाउने भन्ने पिरलो बाँकी नै रह्यो । यही दबाबले पढाइ कमजोर बन्दै गयो ।’

उनलाई सबैभन्दा ठूलो सकस स्कुलको शौचालय प्रयोगमा हुन्थ्यो । केटा जस्तो देखिन केटाकै शौचालयमा पस्नु पर्थ्यो । भित्री मनले केटीकै शौचालय प्रयोग गर्न उक्साउँथ्यो । शौचका लागि केटाकै शौचालय सजिलो हुँदा केटीसँगै शौचालय छिर्न असहज लाग्थ्यो । सुनसान भएपछि केटीकै शौचालयमा पस्ने गरेको नुमा बताउँछिन् ।

‘मेरो हाउभाउ केटीको जस्तै हुन थालेपछि स्कुलका साथीहरू मलाई छक्का, हिजडाको उपनाम दिन थाले,’ नुमा भन्छिन्, ‘यसले मलाई ठूलो मानसिक पीडा दिन्थ्यो ।’

म केटी नै हुँ भनेर कपाल पाल्न थालेँ । यसले घरमा निकै समस्या सिर्जना गर्‍याे । कपाल पालेपछि परिवारका अन्य सदस्यहरुले धेरै गाली गरे । लामो कपाल पाल्न थालेपछि केटा मान्छे केटी बनेर हिँडेको जस्तो महसुस हुन्थ्यो । उनी भन्छिन्, ‘केटा भएर केटी जस्तो हुन खोजेको भनेर साथीहरु टिकाटिप्पणी गर्थे ।’

बाल्यावस्थामा आफ्नो पहिचान लुकाएर विद्यालय जानुको पीडा परिवार भित्र आफ्नो वास्तविकता लुकाएर परिवारसँगै बाँच्नुको पीडाले स्कुले पढाई सम्पन्न गर्ने समय दौरानमा उनी जीवनमा धेरै पटक टुटेकी छिन् । १६ वर्षको उमेर देखि भने उनले आफ्नो निर्धक्क परिचय दिन थालिन् । तर चार चेलीको माइतीराजा बन्नुपर्ने दायित्व बोकेकी नुमाको यसखाले गतिविधिले भने परिवारमा नराम्रो आघात पर्‍याे

छोराका रुपमा जन्म लिँदाताका उनका बुवाले छोरा जन्मेको खुसीमा गाँउभरका आफन्त बोलाएर मासुभात नै खुवाएका थिए रे ! तर समयसँगै त्यो खुसीको स्वरूप बदलिँदै गयो । जब नुमाको उमेरको खुड्किलाले संख्या थप्दै गयो, उनले बाँचेको जीवन र स्वभावमा परिवर्तन देखिए ।

पढाइभन्दा कपाल प्यारो !
दशकअघि १७ लाख खर्च गरी थाइल्याण्ड पुगेर शल्यक्रियामार्फत महिलाको शरीर बनाएर फर्किएकी उनी संघर्षको दौरानमा धेरै पटक यौन हिंसाको सिकार बन्न पुगेको बताउँछिन् ।

अनेकन इच्छा, चाहना र परिचयलाई दबाएर कक्षा १२ सम्मको अध्ययन गरेकी उनी स्कुल पढ्दाताका केटाको पहिरनमा स्कुल जाने गर्थिन्, जब उच्च शिक्षा अध्ययनका लागि उनी विराटनगरको एक क्याम्पसमा भर्ना भइन् । तर उनलाई शिक्षकले कपाल काट्न दबाब दिए । तर आफूभित्रको इच्छा मर्न नदिन पढाइ छोडिन्, कपाल छोडिनन्  ‘उमेर बढेसँगै मलाई कपाल पाल्ने रहर जाग्न थाल्यो, म कपाल पालेर क्याम्पस जाँदा सरले कपाल काट्न भन्नुभयो’, उनले विगत स्मरण गर्दै सुनाइन्, ‘म छोरी हुँ नि त किन कपाल काट्नु भन्ने लाग्यो त्यो दिनदेखि क्याम्पस नै जान छोडिदिएँ ।’

स्मरणीय पल…..
विराटनगरको वीरेन्द्र सभागृहमा २००८ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले पूर्वाञ्चल स्तरीय सुन्दरी प्रतियोगिता आयोजना भएको थियो । सोही सुन्दरी प्रतियोगितामा नुमा पनि सहभागी भएकी नुमा १६ जनालाई उछिन्दै नुमा उपाधि हात पार्न सफल भइन् । त्यसपछि उनी जताततै मिडियामा छाएकी थिइन् । यसले उनलाई आफ्ना इच्छा, आकांक्षा फैल्याएर अभियानमा लाग्न उर्जा प्रदान गर्‍याे

घरजमको इच्छा अधुरै
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानव अधिकारको क्षेत्रमा लामो समयदेखि वकालत गदै आएकी नुमा भने अहिलेपनि एकल जीवन बिताइरहेकी छिन् ।

नुमालाई बिहे गर्ने पनि रहर छ । लैंगिक अल्पसंख्यकहरूको बिहेका सम्बन्धमा ठोस कानुनी व्यवस्था हुनुपर्ने माग राख्दै उनले भनिन्– ‘हाम्रो समुदायलाई बिहे गर्न कानुनले छुट दिएको छैन । कानुन आएपछि बिहे गर्ने मन छ ।’

 

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ९ : १८ बजे

इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षामा श्रममन्त्रीको चासो

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले

घरजग्गा कारोबारमा सुधार हुन सकेन, देशभरको व्यवसाय स्थिर

काठमाडौं– चालु आर्थिक वर्ष (आव)का पछिल्ला महिनाहरूमा केही सुधार देखिएको

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

काठमाडौं– चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया

बागमती प्रदेशमा ६७ करोडका योजना थप

हेटौँडा– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि

‘महाजात्रा’को उत्साहजनक व्यापार कायमै

काठमाडौं– नयाँ वर्षको दोस्रो दिन पनि प्रदीप भट्टराईको लेखन तथा