पत्रु खानेकुराको विज्ञापन बन्द गरौँ | Khabarhub Khabarhub

पत्रु खानेकुराको विज्ञापन बन्द गरौँ

१५ रुपैयाँमा बालबालिकालाई के खाजा खुवाइएको छ ?



जनस्वास्थ्य भनेपछि खानेपानी, चर्पी र सरसफाइको राम्रो व्यवस्था हुनु हो । आजभन्दा ३० वर्ष अगाडिको अवस्था हेर्ने हो भने अहिले धेरै सुधार भएको स्थिति छ । गर्मी मौसम शुरु हुनेबित्तिकै जताततै हैजा, टाइफाइड, लगायतका रोगहरू फैलिने समस्या थियो, त्यसमा सुधार भएको छ । तर, अझै पनि कुपोषण र महिलाहरुमा रक्तअल्पता लगायतका समस्या यथावत् छन् ।

नसर्ने रोगहरू पनि तुलनात्मक रुपमा बढिरहेको अवस्था छ । यी सबै कुराहरू हेर्दा नेपालको जनस्वास्थ्यको एकदमै नराम्रो पनि छैन तर नसर्ने रोगहरू अहिलेकै अवस्थामा बढिरह्यो भने भविष्यमा जटिलता पैदा हुन सक्छ ।  

नेपालमा मात्रै होइन, संसारभरि नै कुपोषण र रक्तअल्पता लगायतका समस्या बढिरहेको अवस्था छ । अस्वस्थ जीवनशैली, अस्वस्थ खानेकुरा र कामको बोझको चाप लगायतका कारणले शारीरिकसंँगै मानसिक समस्या, मोटोपन, मुटरोग, मधुमेह र मिर्गौलासम्बन्धी रोगहरू बढिरहेका छन् ।

पहिले–पहिले युवामा मधुमेहको समस्या हुँदैनथ्यो । अहिले युवाअवस्थामै मधुमेह, उच्च रक्तचापको समस्या बढिरहेको छ । यसको मुख्य कारण भनेकै अस्वस्थ जीवनशैली हो ।

सरकारले स्कुलमा बालबालिकाहरूलाई पत्रु खाना दिनुहुँदैन भनेर नीति त ल्यायो । तर, १५ रुपैयाँमा एक कप चिया पनि नआउने अहिलेको अवस्थामा बच्चाहरूलाई खाजा कसरी पुग्छ ? 

जस्तै– बाहिरको पत्रु खाना खाने, कामको बोझ धेरै हुने, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, रातिसम्म मोबाइल हेर्ने, यस्ता धेरै कारणहरू छन् जसले गर्दा नसर्ने रोगहरू बढिरहेका छन् ।  अझ दुःखलाग्दो कुरा के छ भने यो समस्या अहिले शहरमा मात्रै होइन, गाउँसम्म पुगिसकेको छ । 

सरकारले दीर्घरोगहरुको उपचारका लागि पैसा दिन्छ । तर, यी समस्याहरू समयमै पत्ता लगाउन एकदमै सस्तोमा जाँच गर्न सकिने व्यवस्था छ तर त्यसतर्फ सरकारको चासो छैन ।

जताततै डाक्टर र नर्सहरू धेरै भए भने जनस्वास्थ्यको अवस्थामा सुधार हुन्छ भन्ने सरकारको धारणा छ । तर, वास्तवमा जनस्वास्थ्यको समस्या डाक्टर नर्स र औषधीले मात्रै समाधान गर्न सक्दैनन् । यसका लागि केही नीतिगत कुरामा परिवर्तन गर्न जरुरी छ ।

जस्तै– पहिले सञ्चार माध्यममा चुरोट र रक्सीको विज्ञापन एकदमै धेरै आउँथ्यो, पछि जनस्वास्थ्यविज्ञहरुले त्यसका विषयमा धेरै छलफल गरेपछि अहिले सुधार भए पनि त्यस्तै कुलतमा लाग्ने पत्रु खानेकुराहरूको विज्ञापन चाहिँ बिहानदेखि बेलुकासम्म आउने गरेको छ ।

यस्ता भ्रामक विज्ञापनहरू बजिरहँदा विशेष गरी बालबालिकाहरू त्यही खानाप्रति आकर्षित भएर भविष्यमा मोटोपन लगायत विभिन्न रोग लाग्ने सम्भावना हुन्छ । 

कर्णाली लगायत ग्रामीण क्षेत्रको अवस्था
पहिले ग्रामीण क्षेत्रमा मातृ मृत्युदर एकदमै धेरै थियो, त्यसमा सुधार आएको छ । नर्स, डाक्टर र स्वास्थ्यचौकी धेरै थिएनन् । धेरैजसो महिला घरमै सुत्केरी हुन्थे । यद्यपि अहिले पनि कर्णाली, सुदूरपश्चिम लगायतका ग्रामीण भेकमा घरमै सुत्केरी हुने महिला छन् । तर तुलनात्मक रुपमा सुधार भएको अवस्था छ । 

सरकारले गर्भवती तथा सुत्केरी महिलाहरूलाई विशेष किसिमको कठिन परिस्थितिमा हवाई उद्धार पनि गर्ने गरेको छ । त्यो पनि सकारात्मक कुरा हो । तर, यति हुँदाहुँदै पनि गाउँघरमा बच्चाको कुपोषण, महिलाहरूको कुपोषण एकदमै धेरै छ ।

नीतिगत परिवर्तन आवश्यक
पुरुषहरूले मादकपदार्थ सेवन गरेर महिलामाथि गर्ने हिंसा र त्यसले महिलामा पार्ने मानसिक समस्या एकदमै धेरै छ । कतिपय महिलाले डिप्रेसनमा गएर आत्महत्या समेत गरेका घटनाहरू सुनिन्छन् । यी सबै समस्या एकैपटक समाधान गर्न सकिँदैन । तर, यी समस्याका बारेमा जनस्वास्थ्यविज्ञहरुसँग छलफल गरी नीतिहरूमा परिवर्तन गर्न आवश्यक छ ।

सिंहदरबारमा बसेर नीति बनाउने मान्छेले स्थानीय स्तरमा के समस्या छ भनेर बुझ्न आवश्यक छ, प्रदेश र स्थानीय सरकारले पनि समस्या बुझेको पाइँदैन

जस्तै, उदाहरणका लागि– सरकारले स्कुलमा बालबालिकाहरूलाई पत्रु खाना दिनुहुँदैन भनेर नीति त ल्यायो । तर, १५ रुपैयाँमा एक कप चिया पनि नआउने अहिलेको अवस्थामा बच्चाहरूलाई खाजा कसरी पुग्छ ? बालबालिकालाई के खाजा खुवाइएको छ ? कसरी खुवाउने गरेको छ ? यी विषयमा अनुगमन भएको छैन ।

सिंहदरबारमा बसेर नीति बनाउने मान्छेले स्थानीय स्तरमा के समस्या छ भनेर बुझ्न आवश्यक छ । प्रदेश र स्थानीय सरकारले पनि समस्या बुझेको पाइँदैन । हाम्रो अस्तव्यस्त राजनीतिक अवस्थाले पनि जनस्वास्थ्यमा धेरै प्रभाव पारेको छ ।

स्वास्थ्यचौकी तथा अस्पतालहरूमा औषधी दिँदा सस्तो खालको औषधी दिनू भन्ने सरकारले नियम नै बनाएको छ । सस्तो भएपछि गुणस्तरीय हुँदैन । कतिपय बिरामीले सरकारले निःशुल्क दिने गरेको एन्टिबायोटिक खाँदा निको नभएपछि बाहिरबाट किनेर खाँदा निको भएको घटना पनि मैले देखेकी छु । त्यसैले यो कार्यक्रम पनि प्रभावकारी नभएको पाइएको छ । 

मन्त्रीहरूलाई सुझाव दिएर केही पनि फाइदा छैन । किनभने, स्वास्थ्यका बारेमा मन्त्रीहरूले कुरै बुझ्नुहुन्न । मन्त्रीहरू त आज एउटा, भोलि अर्को आउँछन् । काम गर्ने भनेको कर्मचारीहरूले हो । 

सरकारी स्कुलमा राम्रो पढाइ र अस्पतालहरूमा उपचार सेवा राम्रो भए निजी स्कुल र अस्पतालको आवश्यकता पर्दैनथ्यो । त्यसैले शिक्षा स्वास्थ्य भन्ने कुराहरू सरकारकै मातहतमा हुनुपर्छ । तब मात्रै जनस्वास्थ्य राम्रो भएको मानिन्छ । सरकारले राम्रोसँग नीति बनाएर त्यसमा लगातार काम गर्ने हो भने जनस्वास्थ्यका कतिपय मुद्दाहरू सहजै समाधान गर्न सक्छ । 

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  २ : ३६ बजे

पनौतीमा पशु खोप अभियान सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिकाले आजदेखि किसानका गोठमै  पुगेर निःशुल्क खोप

इंग्लिस प्रिमियर लिग : आर्सनल शीषस्थानमा

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पुनः शीर्षस्थानमा उक्लिएको छ

श्रीमतीको खानामा केमिकल मिसाइयो : इमरान खान

इस्लामावाद– पाकिस्तानको एक अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र

एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ

गर्भवतीमा किन हुन्छ उच्च रक्तचापको जोखिम ?

काठमाडौं – गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण समय हो। यो अवस्थामा