इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’ | Khabarhub Khabarhub

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’



विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भइसकेपछि उपचुनाव गर्नुपर्ने बाध्यता सिर्जना भयो । गत वर्षको चुनावमा २० सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा चितवन र तनहूँमा जस्तै राम्रै मत हासिल गर्छ भन्ने धेरैको विश्लेषण थियो । अझ सरकारमा सहभागी भइरहेको अवस्थामा रास्वपाका नेताहरू निकै उत्साही थिए । तर परिणाम उल्टियो । उसले आफ्नो जमानत समेत जोगाउन सकेन ।

मैले नेपालको राजनीति लामो समयदेखि विश्लेषण र मूल्याङ्कन गर्दै आएको छु । निर्वाचनको परिणाममा जसरी जनताले एमालेका सुहाङलाई बहुमत दिए त्यसमा आश्चर्य मान्नु पर्ने ठाउँ छैन । सुहाङ कांग्रेसका डम्बर खड्कालाई उनका दिबंगत बुबाले भन्दा पनि शक्तिशाली मत ल्याएर हराउन सफल भए ।

सामाजिक सञ्जालमा सुहाङलाई हाईलाइट गरेर जिताइएको भनी टिकाटिप्पणीहरू छन् । तर सामाजिक सञ्जालले जिताउने भए त सरकार नै उनीहरूलाई सुम्पिदिए भयो नि । सामाजिक सञ्जालमा गरिने विश्लेषण ट्रेन्डका आधारमा मूल्याङ्कन हुने हैन ।

रास्वपाको इलाममा अस्तित्व पनि थिएन । उसको कार्यालय नै चुनावको हाराहारीमै स्थापना भएको हो । र उम्मेदवार नपाएर पहिले माओवादीतिर लागेर पत्रकारिता गरेका मिलन लिम्बूलाई बनाएका रहेछन् ।

मेरो नेतृत्वको टोलीमा १० जना र डा. गोपालकृष्ण सिवाकोटीको नेतृत्वमा ७ जना सुपरीवेक्षकले गरेको पर्यवेक्षणमा हामीले के पायौँ भने रास्वपाले अधिकांश मतदान केन्द्रमा आफ्ना चुनावी प्रतिनिधिसम्म राख्न सकेका रहेनछन् । यो त कुरा ठूलो, काम त सानो भो ।

इलाम पहिलादेखि नै सूर्योदयको जिल्ला हो । आर्थिक स्थितिमा सम्मुनत ठाउँ हो ।  चिया, अलैँची र शैक्षिक स्थितिमा यसको आफ्नै विशिष्ट पहिचान छ । अरु जस्तो जालझेल गर्न सकिने जिल्ला हैन । त्यसैले जो ठूला व्यक्ति तामझामका साथ गए । तर जनताले उनीहरूको सक्कली अनुहार ऐनामा  देखाइदिए ।

रविका क्रियाकलाप त जनताले देखे नि । उनले गरेको जस्तो क्रियाकलाप हामीले गरेको भए हामी उहिल्यै सिद्धिसक्थ्यौँ । र इलामको सचेत मतदातामा त्यसको पनि प्रभाव परेको होला । तीन ठूला दलका मतदाताहरू मध्ये ५० देखि ६० प्रतिशत उनीहरू आफैं पार्टीप्रति प्रतिबद्ध छन् । यस्ता जिल्लामा पहिचानको ठूलै आन्दोलन भएको थियो ।

इलामले पहिचानको मुद्दा स्थापित नगरे पनि त्यो विषयले पक्कै झकझकाएको छ । सुवासले लामो समयसम्म इलामको प्रतिनिधित्व गर्नु भएको थियो । यद्यपि जनताले उहाँलाई विकास कार्यक्रम ल्याउने नेताका रूपमा भने सम्झिँदैनन् । केन्द्रीय राजनीतिमा नै समय बिताए ।  तर केन्द्रीय राजनीतिमा भव्य, सभ्य भएर गरेको कामले जनता पनि आकर्षित थिए । र उनका छोरा युवा, शिक्षितसँगै योग्य पनि छन् । उनमा बाबुका गुण पनि छन् । अर्कातिर कांग्रेसका डम्बर ‘क’ श्रेणीका ठेकेदार रहेछन् ।

निश्चय पनि जनतामा ठेकेदार ठूलाबडा हैन, पढेलेखेकालाई दिनुपर्छ भन्ने धारणा आयो होला । अर्को एमालेको माओवादीसँग त गठबन्धन नै छ । अहिलेसम्म संसदीय प्रजातान्त्रिक लोकतान्त्रिक व्यवस्थालाई मान्दैनौँ भन्ने विप्लवले पनि एमालेको उम्मेदवारलाई नै समर्थन गरेका छन् । अब सबै दलहरू नेपालमा लोकतन्त्र बाहेक अरु विकल्प हुन सक्दैन भन्नेमा पुगेको देखिन्छ ।

अब सुहाङले आफ्नो संगठनलाई सैद्धान्तिक मूल्य, मान्यताको मियोमा पुर्‍याउन सक्नुपर्‍यो । निष्ठा र इमानदारी प्रदर्शन गरेर काम गरेर देखाउनु पर्छ । तर युवामा भएको अहिलेको उकुसमुकुसलाई नेपाली कांग्रेस र एमालेले धान्न मुस्किल छ ।

राजनीतिमा जुन ठाउँमा जे आफूलाई थाहा हुन्छ, त्यही अनुसारको भाष्य निर्माण हुन्छ । राजनीति सामान्य हिसाब किताबमा चल्दैन । राजनीतिमा विकल्पको लागि जनता तयार भए, नभएको भन्दा पनि विकल्पवादीले जनताको विश्वास जित्न अझै धेरै वर्ष जनता माझ काम गर्नुपर्ने, आफ्नो इमानदारी– विश्वासलाई जनताका सामु छर्लङ्ग बनाएर देखाउँदै जानुपर्छ ।

रास्वपामा धेरै राम्रा र असल मान्छे पनि छन् तर अध्यक्ष रवि लामिछाने स्वयं बेला बेलामा विवादमा पर्ने जुन विवाद जनतालाई पत्याउनै कठिन हुने अवस्था छ । संसारमा कहीँ पनि राजनीतिक दलको स्थापना रातारात भएको हैन । रातारात उम्मेदवारहरू आउलान् तर दल नै अरु दललाई विस्थापित गर्ने गरी आएका छैनन् ।

पहिला बहुमतको निरंकुशता हुन्थ्यो । हाम्रो राजनीतिमा नेपाली कांग्रेस र एमालेले अरूलाई ढिम्किनै दिँदैनथे । तर अहिले पुष्पकमल दाहालले आफ्नो थोरै बहुमत भए पनि कांग्रेस र एमालेलाई खेलाउने मौका पाएका छन् । त्यसैले  हाम्रो यो त्रिशंकु संसद् र राजनीतिमा रास्वपाले चलखेल गर्ने मौका पाएको हो तर सधैँ यस्तो रहँदैन ।

ग्रामीण क्षेत्रका मानिसहरू त फेसबुक लगायतका सामाजिक सञ्जालमा भुल्लिने समय छैन । सहरमा पनि सामाजिक सञ्जाल चलाउन फुर्सद भएका मान्छे चाहियो नि । अहिले त फेसबुकमा कहिले जन्मदिनको शुभकामना भन्यो, कहिले श्रद्धाञ्जली भन्यो, कहिले शीघ्र स्वास्थ्य लाभको कामना भन्यो, कहिले बधाई भन्यो ९० प्रतिशत त्यही हुन्छ । बाँकी राम्रा सूचनाहरू आउँछन् । त्यसैले सामाजिक सञ्जाललाई नै संगठन मान्न हुँदैन । सत्यको मिडिया वा प्रिन्ट मिडियालाई विस्थापित गर्न सक्ने साधनका रूपमा स्विकार्न सकिँदैन । फेसबुकले स्वतन्त्रता पाउनु पर्छ तर त्यसका आफ्नै सीमाहरू छन् ।

कांग्रेसका डम्बर खड्काको यो तेस्रो पराजय हो । पहिला प्रदेशसभामा पनि उठिसकेको, पछि संघीय संसद् पनि उठिसकेको र अहिले फेरि उठ्नु भयो । एउटै मान्छेलाई देउवाको खल्तीबाट उम्मेदवारी दिने त्यस मान्छेमाथि पनि पार्टीले विचार गर्नुपथ्र्याे । योगदान होला डम्बरजीको तर म ’क’ श्रेणीको ठेकेदार हुँ धन सम्पत्ति छ । धन सम्पत्तिकै आडमा पनि चुनाव जित्न सक्छु भन्ने लागेको थियो होला तर त्यो भएन ।

यिनै कारण हुनसक्छ, जनताले डम्बरभन्दा सुहाङलाई राम्रो माने । कांग्रेसलाई पनि एउटा सन्देश यो हो कि कि पुराना त्यागी खारिएका काम गर्न सक्ने शिक्षित योग्य नेता छान्न सक्नु पर्‍यो । धनीमानीलाई प्रश्रय दिने प्रवृत्ति जुन कांग्रेसमा विकास भएको छ, त्यसलाई पुनर्विचार गर्नुपर्छ । नत्र हानी गर्छ र हिजोका दिनमा कांग्रेसबाट त्याग बलिदान गर्ने व्यक्तिहरू पार्टीबाट किनारा लाग्छन् ।

यो चुनावले एमालेलाई थप उत्साही बनायो । किनकि बझाङमा पनि अहिले सुदूर पश्चिमको गठबन्धनको सरकार छ । एक एक भोटको पनि महत्त्व छ । तर अब ओलीको भाषण गजब गजबको आउँछ । नेपालमै राम जन्मेको भनेर प्रमाणित गर्न तम्सिन खोज्ने मान्छे । अरु भन्दा ओलीको भाषणमा कन्टेन्ट नभए पनि मनोरञ्जन हुन्छ । उहाँको भाषा शब्द व्यङ्ग्य सुन्न मान्छे हौसिन्छन् ।

तर एमालेले इलाममा त्यो क्षेत्रमा अत्यन्त योग्य सांसद डा.शिवमाया तुम्बाहाम्फे लाग्नु भयो र कांग्रेसमा त्यो किसिमको प्रतिबद्धता लेखिएन । त्यहाँको वस्तुस्थिति बुझ्ने मान्छे नै भएन कांग्रेसको । जे जति गर्‍यो तर एक चौथाइ बल कांग्रेसको पुगेन ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १ : ४४ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको