अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो ? | Khabarhub Khabarhub

अमेरिकी विश्वविद्यालयमा किन फैलिँदै छ आन्दोलनको आगो ?


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरू केही सातायता आन्दोलनका केन्द्रबिन्दु बनेका छन् ।

प्यालेस्टाइनमा इजरायलले चलाएको हमासविरोधी सैन्य कारबाहीमा हजारौँ निर्दोष नागरिक मारिने क्रम नरोकिएपछि अमेरिकी विश्वविद्यालयहरू आन्दोलनका केन्द्र बनेका छन्।

१७ अप्रिलमा न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयबाट सुरु भएको आन्दोलनको आगो अहिले देशभर पुगेको छ ।

देशका कयौँ प्रतिष्ठित विश्वविद्यालयहरूमा ‘फ्री फ्री फ्री प्यालेस्टाइन’ को नाराबाजी भइरहेको छ । केही विश्वविद्यालयहरूमा प्यालेस्टाइन र इजरायल समर्थक विद्यार्थीहरू कुटाकुटमा उत्रिएका छन् ।

कोलम्बिया विश्वविद्यालयभित्रै हंगामापछि फैलिएको आन्दोलनका क्रममा प्रहरीले ३ सय बढी विद्यार्थीलाई पक्राउ गरेको छ । उता विश्वविद्यालय प्रशासनले सय बढी विद्यार्थीलाई निलम्बन गरेका छन्।

प्रहरी विश्वविद्यालयमै छिरेर कयौँ विद्यार्थीलाई गिरफ्तार गरिरहेको छ । कोलम्बिया विश्वविद्यालयसहितमा प्रहरी र विद्यार्थीहरूबीच दैनिकजसो झडप चलिरहेको छ।

विश्वविद्यालयमा अहिले दिनदिनै प्रहरीको साइरन बज्न थालेको सीएनएनले उल्लेख गरेको छ । पुलिसले सबैभन्दा पहिले कोलम्बिया विश्वविद्यलायमा छिरेर विद्यार्थीहरूमाथि हातपात र धरपकड गरेको थियो । पुलिसको यो क्रममा आन्दोलन फैलिएसँगै रोकिएको छैन।

विश्वविद्यालयभित्रै एकातिर विद्यार्थीका दुई गुट तथा प्रहरीसँग पनि दैनिकजसो भिडन्त चलिरहेको छ।

यही १८ अप्रिलको राति पुलिस साइरन बजाउँदै कोलम्बिया विश्वविद्यलायमा छिर्‍यो । त्यहाँबाट प्रहरीले १०८ जना विद्यार्थीलाई एकसाथ गिरफ्तार गर्‍यो ।

तर कोलम्बिया विश्वविद्यालयमा प्रहरीले गरेको हस्तक्षेपपछि विद्यार्थीको आन्दोलन देशभरका विश्वविद्यालयमा पुगिसकेको छ ।

कोलम्बियापछि क्यालिफोर्निया विश्वविद्यालयमा प्रदर्शन हिंस्रक भएको छ। बीबीसीका अनुसार प्रदर्शनकारीका दुई समूह विश्वविद्यालयभित्रै आपसमा भिडेका थिए ।

इजरायल समर्थक र प्यालेस्टाइन समर्थकहरूबीच घमासान भएको हो । त्यसपछि पुलिसले हस्तक्षेप गरेको छ।

अमेरिकामा आगामी सेप्टेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । यस्तोमा राष्ट्रपति जो बाइडेनका लागि इजरायललाई दिएको समर्थन अहिले गलामा अड्किएको हड्डी जस्तै बनेको छ।

उनीसामु अब वाक स्वतन्त्रताको रक्षासँगै देशमा अराजकता फैलिन नदिने उपाय पनि खोज्नुपर्ने बाध्यता आइपरेको छ।

कसरी सुरु भयो आन्दोलन?

१७ अप्रिलमा कोलम्बिया विश्वविद्यालयमा कोलम्बिया स्टुडेन्ट्स जस्टिस फर प्यालेस्टाइन समूहले आन्दोलन थालेको थियो।

उक्त समूहका विद्यार्थीहरूले सामाजिक सञ्जाल एक्समा लेख्दै सेन्टर क्याम्पसमा कब्जा गरेको सन्देश पठाउँछन् ।

‘हामी गाँजामा चलिरहेको नरसंहारमा कोलम्बियाको भागेदारी लिन चाहँदैनौँ’, उनीहरूले भनेका थिए ।

त्यसपछि विद्यार्थीहरूले कलेजमा टेन्ट लगाउन थाले । विश्वविद्यालय प्रशासनको टाउको दुखाउने गरी त्यहाँ अहिले पनि आन्दोलन जारी छ ।

आन्दोलनकारी विद्यार्थीहरूले विश्वविद्यालयस्थित सेन्टर क्याम्पस कब्जा गरेपछि १८ अप्रिलमा खाली गर्न भनियो । तर उनीहरू नमानेपछि प्रहरीले टेन्ट टाँगेर सेन्टर क्याम्पस कब्जा गरेका १०८ विद्यार्थीलाई गिरफ्तार गर्‍यो ।

कोलम्बिया युनिभर्सिटीले विद्यार्थीलाई हटाउन खोजेको थियो तर उनीहरू प्रहरी बोलाएर गिरफ्तार गर्न लगाइयो ।

यो गिरफ्तारीले अमेरिकाभर हङ्गामा भयो। त्यसपछि कोलम्बियाको आन्दोलन मिसिगन युनिभर्सिटीमा पनि पुग्यो। मिसिगन हुँदै आन्दोलनको आगो अहिले देशभरका सबै कलेज र विश्वविद्यालयमा फैलिइसकेको छ ।

अहिले आन्दोलन युनिभर्सिटी अफ मिसिगन र युनिभर्सिटी अफ नर्थ क्यारोलाइनामा पनि जारी छ ।

आन्दोलन चर्किएपछि २२ अप्रिलमा कोलम्बिया युनिभर्सिटीमा पठनपाठन नै रोकियो। भौतिक रुपमा उपस्थित भएर हुने पठनपाठनलाई अघि बढाउन प्रशासन असफल भयो ।

त्यसपछि न्यूयोर्क युनिभर्सिटीमा पनि विद्यार्थीहरूले क्याम्प लगाए । कोलम्बियामा जस्तै त्यहाँ पनि प्रशासनले पुलिस बोलाएर विद्यार्थीलाई गिरफ्तार गरायो ।

त्यसलगत्तै राष्ट्रपति जो बाइडेनले यहुदीविरोधी प्रदर्शनको निन्दा गरे । उनले प्यालेस्टाइनमा भइरहेको इजरायली ज्यादतीको पनि स्मरण गर्दै मतदाता फकाउने कोसिस गरे ।

अहिले राष्ट्रपति बाइडेन बीचको बाटो खोजिरहेका छन् । आफ्नो गर्दन जोगाउने गरी उनी विकल्पको खोजीमा थिए, अहिले पनि उनको कोसिस त्यही छ ।

बाइडेनले शान्त पार्न नसकेपछि २४ अप्रिलमा कोलम्बिया युनिभर्सिटीमा प्रदर्शन बढ्यो। प्रशासनले क्याम्पस खाली गर्न भने पनि विद्यार्थीहरूले टेरेनन्।

युनिभर्सिटीले इजरायललाई फाइदा पुग्ने कम्पनीसँग सम्बन्ध तोडे मात्रै आफूहरू आन्दोलनबाट पछि हट्ने अडान लिएर बसे ।

तर त्यही राति हाउस अफ रिप्रिजेन्टेटिभका सभामु्ख माइक जोनसोन कोलम्बिया युनिभर्सिटीमा पुगे । जहाँ उनले सरकारले दिइरहेको अनुदान रोक्ने चेतावनी प्रशासनलाई दिए ।

उनले विद्यार्थीहरू हमासको पक्षमा प्रदर्शन गरिरहेको भन्दै त्यसलाई शर्मनाक पनि भने । त्यही समय अमेरिकाका कयौँ ठाउँमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरिरहेको थियो।

जोनसनको चेतावनीबीच टेक्ससमा झडप हिंस्रक भयो। तनावबीच कोलम्बिया युनिभर्सिटीमा २६ अप्रिलमा विद्यार्थीसँगको भएको वार्ता फेल भयो ।

त्यसपछि २९ अप्रिलमा क्याम्पस प्रशासनले क्याम्प हटाउन दिउँसो २ बजेसम्मको समय दियो । २९ अप्रिलमा प्रदर्शनकारीलाई निलम्बित गरिएपछि ३० अप्रिलमा विद्यार्थीले कोलम्बिया युनिभर्सिटीको ह्यामिल्टन हल कब्जा गरे।

उनीहरूले उक्त भवनमा फ्री प्यालेस्टाइनको ब्यानर पनि टाँगे । आफूहरूका माग पूरा नभएसम्म हलबाट नबाहिरिने अडान उनीहरूले राखे । ३० अप्रिल राति विश्वविद्यालयमा प्रहरीलाई छिर्न दिइयो। त्यसपछि र्‍याम्प लगाउँदै, साइरन बजाउँदै छिरेको प्रहरीले विद्यार्थीलाई गिरफ्तार गरियो । कोलम्बिया युनिभर्सिटीले विद्यार्थीको आन्दोलनलाई गैरजिम्मेवार भन्यो ।

यसबीचमा लस एन्जलसस्थित युनिभर्सिटी क्यालिफोर्नियामा विद्यार्थीका २ समूह कुटाकुटमा उत्रिए । युनिभर्सिटी अफ टेक्ससबाट २९ अप्रिलको राति ८० विद्यार्थी पक्राउ परे ।

युनिभर्सिटी अफ नर्थ क्यारोलाइना च्यापल हिलबाट ३० अप्रिल राति ३८ जना विद्यार्थी पक्राउ गरियो । फ्लोरिडा स्टेट युनिभर्सिटीबाट पनि ३० अप्रिल राति ५ विद्यार्थी पक्राउ परे ।

पोर्टल्यान्ड युनिभर्सिटीको पुस्तकालयमा अहिले पनि प्रदर्शनकारी बसेका छन् । अहिले प्रो प्यालेस्टाइन आन्दोलन अमेरिकाबाट बेलायत, फ्रान्स, अस्ट्रेलिया र इजिप्टका कलेजसम्म पुगिसकेको छ ।

के छन् माग?

विद्यार्थीहरूले इजरायली नरसंहार रोक्न गाजामा युद्धविराम हुनुपर्ने अडान राखेका छन् ।

उनीहरूले अमेरिकी युनिभर्सिटी र कलेज इजरायली युनिभर्सिटी तथा कम्पनीसँगको सम्बन्ध तोड्नुपर्ने अडान पनि राखेका छन् ।

उता अमेरिकी कलेजले इजरायली कम्पनीलाई फाइदा पुग्ने कार्यक्रम बन्द गर्नुपर्ने अर्को माग पनि छ । अमेरिकी कलेजले इजरायली सेनालाई फाइदा हुने रिसर्च रोक्नुपर्ने माग पनि आन्दोलनकारीले सरकारसँग राखेका छन् ।

के होला आन्दोलन?

सीएनएनका अनुसार यो आन्दोलन लामो समय चल्ने अवस्था छैन । केही विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले निलम्बन गरिदिएको छ ।

त्यहीकारणा धेरै विद्यार्थीलाई निलम्बनको डरले सताएको छ । दर्जनौँ विद्यार्थी निलम्बित भएकाले अब उनीहरू कक्षामा जान पाउँदैनन् । परीक्षामा पनि हसभागी हुँदैनन् । उनीहरूलाई असाइन पनि दिइँदैन ।

उता सभामुख माइक जोनसनले कलेजहरू आन्दोलन रोक्न असफल भए संसद्‍बाट दिने गरिएको आर्थिक सहयोग रोक्ने चेतवानी दिएका छन् ।

केही सातामै जारी सेमेस्टर पनि सकिन लागेको छ । यस्तो अवस्थामा विश्वविद्यालय नखुलेपछि आन्दोलन रोकिन सक्छ ।

कोलम्बियामै किन प्रदर्शन?

कोलम्बिया अमेरिकाको पुरानो युनिभर्सिटी हो । न्यूयोर्कमा रहेको यो विश्वविद्यालयमा इतिहासमा कयौँ ठूला आन्दोलन भएका छन् । यहाँ कसैले कुनै मुद्दा उठाएर आन्दोलन गरे संसारले देख्छ र सुन्छ ।

सन् १९६० मा काला जातिका विद्यार्थीको प्रदर्शन यही विश्वविद्यालयबाट सुरु भएको थियो । इराक युद्धमा पनि यो विश्वविद्यालयमा प्रदर्शन भएको थियो ।

यो कलेजले वाक स्वतन्त्रताको वकालत गर्दै आएको छ । न्यूयोर्कमा रहेको कलेजमा केही सानो आन्दोलन भए पनि विश्वभर फैलिन्छ । अन्य विश्वविद्यालय यही किसिमको आन्दोलनले विश्वको ध्यान नतान्न सक्छ।

विवाद

अहिले अमेरिका दुई गुटमा बाँडिएको छ । चुनावको मुखमा स्वतन्त्र प्यालेस्टाइन पक्षधर र इजरायल समर्थकका रुपमा अमेरिकाको जनमत बाँडिएको छ ।

एउटा समूहले प्रदर्शनकारीले आतंकवादीलाई साथ दिएको भन्दैछन् । तर अर्का समूह वाक स्वतन्त्रताको कुरा उठाइरहेका छन्।

अमेरिकामा बाइडेन जस्तै १९६७ अघि जन्मिएको जमात इजरायललाई पूरा साथ दिनुपर्ने पक्षमा छ । तर त्यसयता जन्मिएकाहरूबीच इजरायललाई लिएर मत विभाजित छ।

६० माथिका अमेरिकीहरू इजरायललाई अझै बलियो बनाउनुपर्ने पक्षमा छन् । तर नयाँ पुस्ता अमेरिकाले इजरायललाई बोकिरहनु आवश्यक नहुने तर्क गरिरहेकमा छन् ।

अमेरिकामा जनमत विभाजित भइरहेको अवस्थामा डोनाल्ड ट्रम्पले यसलाई बोकेका छन् । जो बाइडेन प्रशासन इजरायल मामिलामा संकटतिर जाँदै गर्दा ट्रम्पले यसलाई मसालेदार मुद्दा बनाएका छन्।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  २ : ५८ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले