डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह  « Khabarhub

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह 


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो ।

‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् । ‘डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ’, उनले भनिन्, ‘प्रत्येक वडामा नियमित रूपमा सरसफाइको काम भइरहेको छ ।’

डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताइन् । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनको भनाइ छ ।

स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् ।

 आवश्यक परे महानगरले डेङ्गी नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ । ‘बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैनन्’, उनले भनिन् ।

डेङ्गीको मुख्य लक्षण 

डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखा पर्दछ ।

टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखाइपर्नेलगायत लक्षण रहेका स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनले जानकारी दिइन् । एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्ने उनको भनाइ छ ।

डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने , काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने, पानी ट्याङ्की, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्नेलगायत उपाय अपनाउनुपर्ने कामपाको भनाइ छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : २९ बजे

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती

घट्दै मादलको माग, सङ्कटमा परम्परागत पेसा

धनकुटा – तिहार भन्ने बित्तिकै देउसी–भैलो, गीतसङ्गीत र रमाइलोको पर्व

सयपत्री फूलबाट वार्षिक चार लाख आम्दानी

गुल्मी – बढ्दो बसाईसराईका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै

आजका समाचार : लक्ष्मी पुजामा झिलिमिली काठमाडौँ, सरकारमाथि कांग्रेसको आरोपै आरोप र सेनेगलमा डुङ्गा डुब्दा २१ जनाको मृत्यु

लक्ष्मी पूजाको रात झिलिमिली देखियो काठमाडौँ (तस्बिर) हिन्दु धर्मावलम्बीको दोस्रो