ओलीले प्रचण्डलाई भने, ‘तपाईं राष्ट्रिय नायक हो, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्’ | Khabarhub Khabarhub

ओलीले प्रचण्डलाई भने, ‘तपाईं राष्ट्रिय नायक हो, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्’



काठमाडौं- नेपाली कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

उक्त भेटवार्तामा ओलीले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर नयाँ समीकरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’

ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले संविधानका नराम्रा पक्षलाई सुधारेर निर्वाचन प्रणालीलाई सापेक्ष बनाएर लैजाने बताएका थिए ।

जवाफमा प्रचण्डले आफूले संविधानअनुसार ३० दिनभित्रमा विश्वासको मत लिने अडानसहित राजीनामा नदिने बताएका छन् ।

प्रचण्डनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले ३० दिनभित्रमा विश्वासको मत लिनुहुन्छ, राजीनामा दिन्न भनिसक्नुभएको छ, दुई नेताबीच त्यही विषयलाई लिएर छलफल भएको हो।

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

प्रचण्डले ओलीलाई ‘एक वर्षपछि यहाँ नै प्रधानमन्त्री बनिहाल्नुहुन्थ्यो, किन यति चाँडै सरकार परिवर्तनको खेलमा लाग्नुभयो भनेर प्रश्न पनि गरेका थिए।

जवाफमा ओलीले नेपाली जनताले नै स्थायी र दिगो सरकारका लागि कांग्रेस-एमाले गठबन्धन गरेर संविधानका त्रुटि सच्याउने जनादेश दिएको बताए । उनले निर्वाचन प्रणालीलाई पनि परिवर्तन गर्नुपर्ने भएकाले राष्ट्रको आवश्यकताअनुसार कांग्रेस-एमाले सरकार बनाउन लागिएको जवाफ दिएका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले आफ्नो अडान छोडेनन्। उनले सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण आफूले संविधानअनुसार विश्वासको मत लिने बताएका थिए ।

ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो, ‘हेर्नुहोला म ३० दिनभित्रमा विश्वासको मत लिन्छु र फेरि कम्फर्टेबल सरकार चलाउँछु।’

त्यसपछि ओलीले अहिले यो सम्भव हुने कुरा नगर्न प्रचण्डलाई भनेका थिए । त्यसपछि ओली र प्रचण्डको कुराकानी सकिएको थियो।

कुराकानी सकेपछि प्रचण्ड तत्कालै आफूले राजीनामा नदिने भन्ने विषयमा जानकारी गराउन राष्ट्रपति भवन निवास शीतल निवास पुगेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आफूले राजीनामा नदिने र प्रक्रिया अनुसार नै ३० दिनभित्रमा विश्वासको मत लिने जानकारी गराएका छन् ।

यता ओली भने खाना खाएर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा सहभागी हुन जाँदैछन्।

सत्ता सहकार्य नजिक कांग्रेस-एमाले, ओलीलाई देउवाको प्रस्ताव : तपाईं प्रधानमन्त्री बन्नू

एमाले र कांग्रेसका दोस्रो तहका नेता जेठ मसान्तबाट नयाँ गठबन्धन सरकार बनाउन होमवर्क गरिरहेका थिए ।

तर, सोमबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिपत्रमा हस्ताक्षर गरेर नयाँ सरकारका लागि तयारी गरिसकेका छन् ।

कांग्रेसबाट ८८ र एमालेबाट ७९ संसदहरूको समर्थनमा केपी ओली प्रधानमन्त्री हुन लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ ।

उक्त सहमतिअनुसार कांग्रेसले १० वटा मन्त्रालय लिनेछ भने एमालेले प्रधानमन्त्रीसहित ९ वडा मन्त्रालय लिने टुङ्गिएको छ।

प्रमुख सचेतक लेखकले पनि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै आजको विकल्प भएको बताएका छन्।

प्रचण्डको बहिर्गमन : राजीनामा नदिँदा के हुन्छ ?

यस्तै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने कुरामा ढुक्क रहेको उल्लेख गरेका छन् ।

उनले खबरहबसँग भने,  ‘प्रधानमन्त्रीले आफ्नो ओजलाई कायम राख्न पनि राजीनामा दिएर नायक बन्नु हुनेछ भन्ने लागेको छ ।’

यता प्रचण्ड नेतृत्वको सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने बताइसकेको छ। रास्वपाले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने पनि जनाएको छ ।

यस्तै एमालेका मन्त्रीहरूले पनि मंगलबार नै राजीनामा बुझाउने तयारी गरेका छन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि समर्थन फिर्ता लिने तयारी भएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : १३ बजे

प्रधानमन्त्री मोदीको विश्वकप विजेता भारतीय क्रिकेट टिमसँग भेट

काठमाडौं– टी– २० विश्वकपको उपाधि जितेको भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू)

काठमाडौं– वर्षा सुरु भए सँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका

एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले

‘संघीय निजामती सेवा ऐन समयमा नआउँदा कर्मचारी व्यवस्थापनमा समस्या देखियो’ 

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती