ब्रेकिङ स्टोरी

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले सुनाए कार्ययोजना

By खबरहब

September 02, 2024

काठमाडौं– इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना सुनाएका छन् ।

सोमबार सिंहदरबारस्थित समितिको बैठकमा उनले सांसदहरूमाझ कार्ययोजना सुनाएका हुन्।

पण्डितले अनुमोदित भएर राजदूत भएमा बृहत्तर राष्ट्रिय स्वार्थ र हितका लागि नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवम् मजबुत बनाउन प्रयत्न गर्ने बाचा गरेका छन् ।

उनले सूचना प्रविधि र कृषिको क्षेत्रमा इजरायली विशेषज्ञबाट नेपालले धेरै राम्रो लाभ लिनसक्ने बताए । त्यसतर्फ युवाहरूलाई विशिष्ट तालिम तथा प्रशिक्षणको अवसर ल्याउने पनि उनले बताए ।

वैदेशिक रोजगारीका लागि इजरायल आकर्षक गन्तब्य रहेको बताउँदै पण्डितले यसमा पनि सुधारका लागि काम गर्ने आश्वासन दिए ।

प्रस्तावित राजदूत पण्डितले नेपालीलाई कृषि क्षेत्रको अध्ययन, भ्रमणको थप अवसरका लागि पहल गर्ने बताएका छन् । जनशक्ति विकास, लगानी, पर्यटन र सहयोगको क्षेत्रमा इजरायलसँग काम गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।