आईजीपीबारे विवादित भनाइपछि प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई सचेत गराए

By खबरहब

September 02, 2024

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले प्रहरी महानिरीक्षकबारे पोखरामा शनिबार दिएको अभिव्यक्तिले विवादमा परेका छन् । उनको अभिव्यक्तिको आलोचना भइरहेको छ ।

शनिबार प्रेस चौतारीले पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले प्रहरी समायोजनसम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनेका थिए ।

यसलाई लिएर मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि विवादित विषय नबोल्न चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय समाचार समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको जानकारीदिए

‘मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो, गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराएँ,’ उनले भने ।

भाषा प्रयोग गर्दा विवादमा आउनेगरी नबोल्न आफूलाई प्रधानमन्त्रीले सचेत गराएको उनले बताए । मन्त्री गुरुङले आफूले पनि त्यसबारे महशुस गरेको बताए ।