अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी भन्छन्- वार्ता र कूटनीतिका माध्यमबाट द्वन्द्वको समाधान हुनुपर्छ 

By खबरहब

September 02, 2024

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता र कूटनीतिका माध्यमबाट पश्चिम एशियामा जारी द्वन्द्वको समाधान हुनुपर्ने बताएका छन् ।

गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणसँगै शुरु भएको युद्धको समाधान वार्ता र कूटनीतिबाट नै हुनुपर्ने उनको भनाइ छ ।

सो क्षेत्रमा जारी युद्धका क्रममा हालसम्म ४० हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने एक लाखभन्दा धेरै घाइते भएका छन् ।

इण्डियाब्लुम्सका अनुसार प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिका माध्यमबाट समाधान खोज्न इजरायली समकक्षी बेन्जामिन नेतान्याहूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले सबै बन्दीको रिहाइ हुनुपर्ने बताउँदै मानवीय सहायताका सामग्रीको आपूर्ति पनि सहज हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय हमास इजरायलबीच युद्ध विरामका लागि वार्ता भए पनि सफल भने हुन सकेको छैन ।