तस्बिर एएनआई

अन्तर्राष्ट्रिय

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

By खबरहब

October 02, 2024

नयाँदिल्ली– पश्चिमी भारतको  पुणे जिल्लाको बावधन नजिक बुधबार हेलिकप्टर दुर्घटना हुँदा  हेलिकप्टरमा सवार तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । 

हेलिकप्टर हेरिटेज एभियसनले सञ्चालन गरेको प्रहरी तथा अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् । अधिकारीहरुका अनुसार मुम्बईको दक्षिणपूर्वमा रहेको पुणे सहरको बाहिरी इलाकामा स्थानीय समय अनुसार बिहान ६ः४५ बजे दुर्घटना हुँदा हेलिकप्टरमा आगो लागेको थियो ।  ।

दुर्घटनामा हेलिकप्टरमा सवार दुई जना पाइलट र एक जना इन्जिनियरको मृत्यु भएको प्रमुख अग्नि नियन्त्रक अधिकारी  देवेन्द्र पोटफोडले पत्रकारहरू समक्ष बताएका छन्।  उनले आफुहरु घटनास्थलमा पुग्दा, हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका सबै भागहरू छरिएको देखेको उल्लेख गरेका छन् ।  

उनले दुर्घटनामा मृत्यु वरण गरेका तीनैजनालाई निकाली उनीहरूलाई प्रहरीलाई हस्तान्तरण गरेको बताएका छन्।  हेलिकप्टर विपक्षी राष्ट्रवादी काङ्ग्रेस पार्टीले भाडामा लिएको र मुम्बईतर्फ गइरहेको स्रोतले जनाएको छ ।  

दुर्घटनाको आधिकारिक कारण पत्ता लागेको छैन यद्यपि स्थानीय मिडियाले दुर्घटनाको समयमा यस क्षेत्रमा घना कुहिरो लागिरहेकोले दुर्घटना भएको रिर्पोटिङ गरेका छन् ।